+
फिफा विश्वकप २०२६ :

नर्वेका हालान्डलाई रोक्न सक्ला आइभरी कोष्ट ?

२०८३ असार  १६ गते १४:४६ २०८३ असार १६ गते १४:४६

दुवै टोली यो खेलमा जित निकाल्दै विश्वकपमा आफ्नो यात्रालाई अन्तिम १६ (राउन्ड अफ १६) मा पुर्‍याउने दाउमा छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत आज राति पौने ११ बजे नर्वे र आइभरी कोष्टबीच प्रतिस्पर्धा हुँदैछ ।
  • सन् १९९८ पछि पहिलोपटक नकआउट चरणमा प्रवेश गरेको नर्वेले स्टार स्ट्राइकर एर्लिङ हालान्डको नेतृत्वमा मैदानमा उत्रँदै छ ।
  • समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलोपटक नकआउट चरणमा पुगेको आइभरी कोष्टले आफ्नो बलियो रक्षापंक्ति र काउन्टर-अट्याकको रणनीति अपनाउनेछ ।

१६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको खेलमा आज नर्वे र आइभरी कोष्ट भिड्दै छन् । अमेरिकाको डलास स्टेडियममा हुने उक्त खेल नेपाली समय अनुसार राति पौने ११ बजेबाट सुरु हुनेछ । दुवै टोली यो खेलमा जित निकाल्दै विश्वकपमा आफ्नो यात्रालाई अन्तिम १६ (राउन्ड अफ १६) मा पुर्‍याउने दाउमा छन् ।

विश्वकप इतिहासमा आफ्नो चौथो सहभागिता जनाइरहेको आइभरी कोष्ट समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलोपटक नकआउट चरणमा प्रवेश गरेको हो । आइभरी कोष्टले इक्वेडर र कुरासाओलाई हराउँदै दोस्रो चरणको यात्रा तय गरेको हो भने समूह चरणकै अर्को खेलमा जर्मनीसँग पराजित भएको थियो ।

नर्वेले पनि समूह चरणमा दुई खेलमा जित र एक खेलमा हार बेहोर्दै नकआउट चरणमा स्थान बनाएको हो । इराक र सेनेगललाई पराजित गरेको नर्वे फ्रान्ससँग भने पराजित भएको थियो । समूहको दोस्रो स्थानमा रहँदै नर्वे सन् १९९८ पछि पहिलोपटक विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो ।

आइभरी कोष्ट आफ्ना पछिल्ला ५ खेलमध्ये ४ खेल जित्दै र मात्र १ खेल हार्दै बलियो लयमा देखिएको छ । विश्वकप समूह चरणको अन्तिम खेलमा आइभरी कोष्टले कुरासाओलाई २–० ले हराएको थियो ।  जसमा दुवै गोल निकोलस पेपेले गरे । त्यसअघि जर्मनीसँग २–१ ले पराजित भएको आइभरी कोष्टले पहिलो खेलमा इक्वेडरलाई १–० ले हराएको थियो । विश्वकप अघिका मैत्रीपूर्ण खेलहरूमा फ्रान्समाथि २–१ र स्कटल्याण्डमाथि १–० को जित निकालेकाले आइभरी कोष्ट उच्च मनोबलका साथ मैदान उत्रनेछ ।

नर्वेले भने आफ्ना पछिल्ला ५ खेलमध्ये ३ खेल जितेको छ भने एक खेल बराबरी र एक खेलमा हार बेहोरेको छ । टोलीमा व्यापक परिवर्तन गरी समूह चरणको अन्तिम खेल खेलेको नर्वे फ्रान्ससँग ४–१ को ठूलो अन्तरले पराजित भएको थियो । त्यसअघि नर्वेले सेनेगललाई ३–२ र इराकलाई ४–१ ले हराएको थियो । विश्वकप अघिका मैत्रीपूर्ण खेलहरूमा उसले मोरोक्कोसँग १–१ को बराबरी र स्वीडेनमाथि ३–१ को जित निकालेको थियो ।

आइभरी कोष्टका मुख्य प्रशिक्षक इमर्स फाएले सुरुवाती तीन खेलमा आफ्नो युवा टोलीलाई राम्रोसँग परिचालन गरेका थिए । उनीहरूको खेलमा शारीरिक शक्तिको राम्रो प्रयोग देखिन्छ । अग्रपंक्तिमा यान डियोमान्डे, निकोलस पेपे र अमाद डियालो जस्ता खेलाडीहरूले गति र सटिकता थप्ने भएकाले उनीहरू विपक्षी डिफेन्सका लागि खतरनाक साबित हुन सक्छन् । आइभरी कोष्टका लागि पाएका अवसरहरूलाई गोलमा परिणत गर्नु महत्त्वपूर्ण हुनेछ । नर्वे आक्रामक फुटबल खेल्न रुचाउने भएकाले त्यसको फाइदा उठाउँदै काउन्टर–अट्याकमार्फत गोल गर्ने दाउमा आइभरी कोष्ट हुनेछ ।

नर्वेका मुख्य प्रशिक्षक स्टाले सोल्बाकेनले फ्रान्स विरुद्धको अन्तिम समूह खेलमा टोलीमा १० वटा ठूला परिवर्तन गरेका थिए । नर्वे दुई जितका साथ पहिले नै अर्को चरणमा पुगिसकेकाले उक्त हारले समग्र तालिकामा कुनै असर पारेन । नर्वेले इराक र सेनेगल विरुद्ध कुल सात गोल गरेको थियो । जसमा स्टार स्ट्राइकर एर्लिङ हालान्ड एक्लैले चार गोल गरेका थिए ।

 

नर्वेका लागि हालान्ड टोलीका सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुनेछन् । हालान्डले सुरुवाती २ खेलबाटै ४ गोल गरिसकेका छन् । तर, अन्य खेलाडीहरू पनि उत्तिकै निर्णायक बन्न सक्छन् । मार्टिन ओडेगार्ड, अलेक्ज्याण्डर सोर्लोथ, एन्टोनियो नुसा र ओस्कार बब बलका साथ विपक्षीका लागि घातक बन्न सक्ने खेलाडी हुन् । प्रशिक्षक सोल्बाकेन आफ्नो टोली गोलका लागि हालान्डमा मात्रै निर्भर नरहोस् भन्ने चाहन्छन् । म्यानचेस्टर सिटीका यी स्ट्राइकरमाथि गोल गर्ने दबाब त हुनेछ । तर रक्षात्मक रूपमा बलियो आइभरी कोष्टलाई भत्काउन सामूहिक प्रयासको आवश्यकता पर्ने भएकाले अन्य खेलाडीहरूले पनि जिम्मेवारी लिनुपर्ने देखिन्छ ।

आइभरी कोष्टको मिडफिल्डमा र्फ्याङ्क केसी र इब्राहिम सांगारेको जोडीले रक्षापंक्तिलाई बलियो सुरक्षा प्रदान गर्नेछन् । जसले विपक्षीलाई रोक्न र काउन्टर–अट्याक गर्न सहज बनाउनेछ । आइभरी कोष्टले समूह चरणका ३ खेलमा मात्र २ गोल खाएको छ । अर्कोतर्फ, नर्वेको डिफेन्स भने चिन्ताको विषय बनेको छ । नर्वेले तीन खेलमा सात गोल बेहोरिसकेको छ । डिफेन्सको यही कमजोरीको फाइदा आइभरी कोष्टले उठाउन सक्छ । हालान्ड र रचनात्मक मिडफिल्डर मार्टिन ओडेगार्ड टोलीमा फर्किएसँगै उनीहरू आइभरी कोष्टका लागि निकै घातक बन्न सक्छन् ।

फुटबल इतिहासमा यी दुई टोली पहिलोपटक एकआपसमा भिड्न लागेका हुन् । यस खेलको विजेताले अन्तिम १६ मा ब्राजिलको सामना गर्नेछ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय