News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो एक दशकमा सडक दुर्घटनामा परी २४ हजार ६४० जनाले ज्यान गुमाएका छन् ।
- चितवनको सिमलतालमा २८ असार २०८१ मा दुई वटा यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ५९ जना यात्रु बेपत्ता भएका थिए ।
- धादिङको झ्याप्लेखोलामा १२ असोज २०८१ मा पहिरोमा परी तीन वटा सवारी साधनका ३५ यात्रुको मृत्यु भएको छ ।
नेपालमा जनधनको ठूलो क्षतिको एउटा प्रमुख कारण सडक दुर्घटना हो। नेपाल संसारकै सर्वाधिक दुर्घटना हुने देशमा पर्छ। सडक दुर्घटनाबाट गत एक दशकमा २४ हजारभन्दा बढीको ज्यान गयो। पछिल्लो पाँच वर्षमा २ हजार ६६१ पैदलयात्रुको मृत्यु भएको छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार ५ देखि २९ वर्ष उमेर समूहका बालबालिका तथा युवाहरूको मृत्युको प्रमुख कारण सडक दुर्घटनाबाट हुने चोटपटक हो। विश्वभर सडक दुर्घटनाबाट हुने कुल मृत्युको ९२ प्रतिशत हिस्सा निम्न तथा मध्यम आय भएका देशहरूमा हुन्छ।
नेपालमा दैनिक सात जनाको ज्यान लिइरहेको दुर्घटनाको असर मानवीय क्षतिमा सीमित छैन; यसबाट सामाजिक, आर्थिक र स्वास्थ्य क्षेत्रसमेत प्रत्यक्ष रूपमै प्रभावित छन्। कतिपयले दुर्घटनाको सम्पूर्ण दोष चालकलाई दिने गर्छन्। तर यथार्थमा सुरक्षित यात्रामा सडक, सवारीसाधन र प्रयोगकर्ता (चालक, यात्री, पैदलयात्रु) जिम्मेवार हुन्छन्।
यी तीन पक्षसँग जोडिएका व्यक्तिहरूलाई सजग, सचेत र आवश्यक परे कारबाही गर्ने दायित्व राज्यको हो। सुरक्षित यात्राका लागि आवश्यक पर्ने कानुन, त्यसको प्रभावकारी कार्यान्वयन, सुरक्षित सवारी र सडक, जिम्मेवार प्रयोगकर्ता र दुर्घटनापछि प्रभावकारी उपचार तथा उपचारपछि पुनर्स्थापना अनिवार्य छ।
१६ असार, काठमाडौं । नेपालका सडकहरूले हजारौं जीवन निलेका छन् । कतै एउटै परिवारका सदस्यहरू एकै पटक समाप्त भएका छन् । कतै बस नदीमा खस्दा यात्रुहरू बेपत्ता भएका छन् ।
हरेक सडक दुर्घटनामा मृतक संख्या, घाइते संख्या र क्षति विवरणको तथ्यांक हुन्छ । तर केही दुर्घटनाहरू संख्याले मात्रै वर्णन गर्न नसकिने पनि हुन्छन् ।
किनकि, दुर्घटनाले परिवार नै समाप्त हुन्छ, गाउँ शोकमा डुबाउँछ । वर्षौंसम्म पनि आफन्तहरूलाई प्रतीक्षामा दिन बिताउन बाध्य बनाउँछ । नेपालको सडक इतिहासमा यस्ता धेरै दुर्घटना भएका छन् ।
दुर्घटनामा एउटै परिवारका सदस्यहरू एकै पटक समाप्त भएका छन् । कतिपय दुर्घटनामा आजसम्म पनि केही यात्रुको अवस्था अज्ञात छ । यसको पछिल्लो उदाहरणका रूपमा चितवनको सिमलतालमा भएको बस दुर्घटनालाई लिन सकिन्छ ।
सिमलतालले निलेका बसहरू
चितवनको सिमलतालमा माथिबाट खसेको पहिरोले २८ असार २०८१ बिहानै दुई वटा यात्रुबाहक बसलाई त्रिशूली नदीले बगायो । एउटा बस काठमाडौंबाट रौटहटको गौरका लागि छुटेको थियो भने अर्को वीरगञ्जबाट काठमाडौं आउँदै थियो ।
बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स बिहानको साढे ती बजे त्रिशूली नदीमा बगे । केही सेकेन्डमै बसमा सवार यात्रुहरू नदीमा बिलाए ।
काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्समा ३६ र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एञ्जल डिलक्समा २६ गरी ६२ यात्रु सवार थिए । जसमध्ये गणपति डिलक्सका तीन जना यात्रु नन्दन दास, जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता हाम फालेर बाँचेका थिए । बाँकी ५९ यात्रु बेपत्ता भएका थिए ।

दुवै बस नदीको गहिराइमा कहाँ पुगे, कसरी पुगे भन्ने प्रश्नको उत्तर लामो समयसम्म भेटिएन । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र भारतबाट आएको विशेषज्ञ टोलीले खोजी अभियान चलाए ।
कतिपय शव सयौं किलोमिटर टाढा भारतको बिहारबाट फेला परे । तर अझै केही यात्रुको अवस्था पूर्ण रूपमा स्पष्ट हुन सकेको छैन । सरकारले सिमलताल बस दुर्घटनाको अध्ययन गर्न गठन गरेको समितिको प्रतिवेदनअनुसार दुर्घटनामा परेका २४ जनाको शव भेटिएको थियो ।
बाँकी ३५ जना यात्रुको अवस्था आजसम्म पनि अज्ञात छ । सिमलताल दुर्घटनाले नेपालका नदीमा खसेका सवारी साधन र यात्रुहरू प्राय: पूर्ण रूपमा फेला नपर्ने देखाएको छ ।
पूर्वगृहमन्त्रीको अवस्था अझै अज्ञात
दुर्घटना मृत्युको समाचार मात्र नभएर धेरै परिवार र आफन्तका लागि अन्त्य नहुने प्रतीक्षासमेत बन्ने गरेको छ । जसको अर्को उदाहरण हो– पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार जिप दुर्घटना ।
पोखराबाट काठमाडौं आउने क्रममा ९ असोज २०७३ मा घिमिरे परिवार चढेको बा९च १५३१ नम्बरको जिप चितवनको दारेचोकस्थित घोप्टेभिर नजिकैबाट खोलामा खसेको थियो ।

दुर्घटनापछि बेपत्ता पूर्वगृहमन्त्री घिमिरे अझै फेला परेका छैनन् । दुर्घटनामा घिमिरेकी आमा चैतन्यकुमारी, भाइ मोहन घिमिरे, आफन्त नारायणप्रसाद काफ्ले, अंगरक्षक सशस्त्र प्रहरी नायव निरीक्षक रामचन्द्र कार्कीको मृत्यु भएको थियो ।
दुर्घटनाको भोलिपल्ट सरकारले नेपाल प्रहरीका पूर्वआईजीपी कुवेरसिंह रानाको संयोजकत्वमा छानबिन आयोग गठन गरेको थियो । आयोगमा प्रहरीका तत्कालीन एआईजी केदारप्रकाश साउद, सशस्त्र प्रहरीका एआईजी प्रेमकुमार शाही, गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थी र सडक विभागका नायव महानिर्देशक दयाकान्त झा सदस्य थिए ।
आयोगले प्रतिवेदनमा घटनाका दिन घिमिरे आफैंले जिप चलाएको पुष्टि गर्दै ‘तीव्र गतिमा रहेको जिप विपरीत दिशाबाट आएको ट्रकलाई अचानक देखेपछि देब्रे लेनतिर जाने क्रममा अनियन्त्रित भई दुर्घटना भएको’ उल्लेख थियो ।
परिवारका सदस्य एकै पटक समाप्त
नेपालका धेरै सडक दुर्घटनाले एउटै परिवारका सदस्यलाई एकै पटक खोसेका छन् । जसमध्येमै पर्छ– ३० चैत २०७२ मा डोटीको बाङ्डुग्रीसैन–जिजोडामाडौं सडकखण्डमा भएको जिप दुर्घटना ।
नयाँ वर्षको पूर्वसन्ध्यामा राति ९ बजे बाङ्डुग्रीसैनबाट जिजोडामाडौंतर्फ जाँदै गरेको ना१ज ३२९४ नम्बरको जिप दुर्घटना हुँदा पद्मकन्या क्याम्पस (काठमाडौं) का तीन प्राध्यापकसहित ८ जनाको मृत्यु भयो ।

दुर्घटनामा परी पद्मकन्या क्याम्पसका प्राध्यापक, साहित्यकार एवं डोटेली लोक संस्कृतिका अनुसन्धानकर्ता ६२ वर्षीय डा. जयराज पन्त, उनकी धर्मपत्नी ५५ वर्षीया सहप्राध्यापक गुड्डी पन्त तथा भाइबुहारी ५२ वर्षीया सावित्रा पन्तको पनि मृत्यु भएको छ । गुड्डी र सावित्रा दुवै पद्मकन्या क्याम्पसमै प्राध्यापनरत थिए ।
दुर्घटनामा डा. पन्तका काका पशुसेवा निर्देशनालयका पूर्वनिर्देशक डा. गणेशराज र उनका भाइ ५९ वर्षीय केशवराजको पनि मृत्यु भएको थियो ।
उनीहरू आफ्नो जन्मथलो तत्कालीन जिजोडामाडौं गाविस—८ जैनोली गाउँमा ३ वैशाखदेखि सप्ताह यज्ञको आयोजना गर्ने योजनाअनुसार बाङ्डुग्रीसैनबाट जिजोडामाडौंतर्फ जाँदै गर्दा दुर्घटनामा परेका थिए ।
५ कात्तिक २०८० मा पाल्पाको तानसेन–रानीमहल सडकखण्डको वैकुण्ठ भिरमा जिप दुर्घटना हुँदा एकै परिवारका ६ जनाको मृत्यु भयो । एक जना गम्भीर घाइते भए । दुर्घटनामा परेका सातै जना पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१६ रजहरका स्थायी बासिन्दा रहेको प्रहरीले पुष्टि गरेको थियो ।
उनीहरू एकै परिवारका श्रीमान्, श्रीमती, सम्धिनी, बुहारी र दुई नाति थिए । दुर्घटनामा ६५ वर्षीय कृष्णबहादुर लोहनी र उनकी ५५ वर्षीया श्रीमती पार्वती लोहनी, उनीहरूकी ३५ वर्षीया बुहारी सविना धिताल र सविनाकी आमा ५५ वर्षीया चुनु धितालको मृत्यु भयो ।
लोहनी परिवारले अढाई वर्षका ईसव लोहनी र ११ वर्षका सबिसलाई पनि गुमायो । उनीहरू कृष्णबहादुरका नाति थिए । दुर्घटनामा कृष्णबहादुरका छोरा ३६ वर्षीय ईश्वर गम्भीर घाइते भएका थिए । उनले जिप चलाइरहेका बेला दुर्घटना भएको थियो ।
भेरी र कर्णालीका त्रासदी
पश्चिम नेपालका भेरी र कर्णाली नदीहरू पनि यस्ता दुर्घटनाका मौन साक्षी हुन् । २०७१ मंसिर पहिलो साता जाजरकोट सदरमुकाम खलंगाबाट सुर्खेतको राकम जाँदै गरेको ना३ख १४०८ नम्बरको बस भेरी नदीमा खस्दा ४७ जनाको मृत्यु भएको थियो ।
साविकको भुर गाविसमा यात्रुवाहक बस सडकबाट झण्डै ५० मिटर तल भेरी नदीमा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए ।
७ मंसिर २०७१ मा भेरी नदीबाट ४२ जनाको थप शव फेला परेसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुगेको थियो ।

दुर्घटनामा एउटै गाउँका १२ जना र एकै परिवारका पाँच जना नदीमा बेपत्ता भएका थिए । बेपत्तामध्ये अधिकांश वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा थिए ।
२९ भदौ २०६० मा सुर्खेत–सल्यान खडकखण्डबाट यात्रुबाहक बस भेरी नदीमा खस्दा ४३ जनाको मृत्यु भएको थियो । १९ जना घाइते भएका थिए ।
सुर्खेतको छिन्चुबाट सल्यानको सल्ली बजार जाँदै गरेको बस भेरी नदीमा खस्दा कम्तीमा ४३ जनाको मृत्यु भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘एबीसी’मा प्रकाशित छ ।
यसैगरी, ५ चैत २०६६ मा भएको किटु बस दुर्घटनालाई कर्णाली लोकमार्ग सञ्चालनमा आएपछिको सबैभन्दा ठूलो र विभत्स दुर्घटना मानिन्छ । उक्त दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो ।

कालिकोटको हुल्मबाट काँक्रेबिहार यातायातको बस ४७ जना यात्रु बोकेर सुर्खेतका लागि छुटेको थियो । बसमा मालिक, गाडी चालकसहित ५० जना सवार थिए । हुल्मबाट अघि बढेको गरेको बस बिहान ८ बजे किटु नजिक पुग्यो ।
साँघुरो र चिप्लो बाटोमा छोडेर बसको दायाँ भागको टायर बाहिर गइसकेको थियो । ब्रेक हान्ने चालकको प्रयास सफल हुन सकेन । बस सडकबाट कर्णाली नदीमा खस्यो ।
सुदूरपश्चिम स्तब्ध बनेको दुर्घटना
सडक दुर्घटनाको सवालमा सुदूरपश्चिम प्रदेश पनि अछुतो छैन । नेपाली प्रहरीको तथ्यांकले सुदूरपश्चिमा पनि विभिन्न समयमा भयावह सडक दुर्घटनाहरू भएको देखाउँछ ।
जसमध्ये एक हो– डोटीको छतिवन–५ कटपते (जोरायल) बस दुर्घटना । डोटीको जोरायलबाट कैलालीको धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको ना३ख ५७०७ नम्बरको बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको थियो ।
दशैं मनाएर फर्किरहेका झण्डै डेढ सय यात्रु बोकेको उक्त बस दुर्घटनामा ६२ जना घाइते भएका थिए । २० असोज २०७१ भएको दुर्घटनाबाट सुदूरपश्चिम स्तब्ध बनेको थियो । उक्त दुर्घटना सुदूरपश्चिम क्षेत्रको सबैभन्दा घातक सडक दुर्घटनामध्ये एक मानिन्छ ।
झ्याप्ले खोलामा पुरिएका ३५ ज्यान
२०८१ को असोजको दोस्रो साता काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भारी वर्षा हुँदैथियो । वर्षाले एक सय भन्दा बढीको ज्यान लिइसकेको थियो ।
त्यसैक्रममा १२ असोजको राति खबर आयो, नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्लेखोलामा यात्रुसहित तीन गाडी पुरिए । दुर्घटनास्थल धादिङको धुनीबेसी नगरपालिका–९ मा पर्दछ ।

पछि त्यो दुर्घटनामा ४ बालबालिका ३५ जनाको मृत्यु भएको थियो । जसमा बुटवलबाट काठमाडौं आउँदै गरेको विंगरमा सवार १४ जना, नारायणघाटबाट काठमाडौं आउँदै गरेको माइक्रो बसमा १६ जना र गोरखाबाट काठमाडौं आउँदै गरेको बसमा सवार ५ जनाको मृत्यु भएको थियो ।
दुर्घटनाको तथ्यांक
नेपाल प्रहरीको तथ्यांकले पछिल्लो एक दशकमा भएका सडक दुर्घटनामा परेर २४ हजार ६४० जनाको मृत्यु भएको देखाउँछ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७८–२०७९ मा सबैभन्दा बढी दुई हजार ८८३ जनाको सडक दुर्घटनामा मृत्यु भएको छ ।
यस्तै, आर्थिक वर्ष २०७२–०७३ मा सबैभन्दा कम सवारी साधन दुर्घटनामा परेका छन् । एक वर्षको अवधिमा भएका १६ हजार ५०२ सवारी दुर्घटनामा दुई हजार ६०० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीको तथ्यांकले आर्थिक वर्ष २०८१–०८२ मा ४३ हजार १६५ सवारी साधन विभिन्न मितिमा दुर्घटनामा परेका छन् । ती दुर्घटनाहरूमा दुई हजार ५४९ जनाको मृत्यु भएको प्रहरी तथ्यांकले देखाउँछ ।

प्रहरीका अनुसार दुर्घटनामा परी ६ हजार ९७६ जना गम्भीर र ३७ हजार २८३ जना सामान्य घाइते भएका छन् । आर्थिक वर्ष २०८१–०८२ मा भएका दुर्घटनाबाट १७२ चौपायाको मृत्यु र ४४ चौपाया घाइते भएका छन् ।
आर्थिक वर्ष २०८०–०८१ मा भएका ३५ हजार ४०४ सवारी दुर्घटनामा दुई हजार ३६९ जनाले ज्यान गुमाएमा छन् । यस्तै ६ हजार १६० गम्भीर र २५ हजार ९९६ जना सामान्य घाइते भएका छन् ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७९–०८० मा देशभर ३७ हजार ३९२ सवारी साधनहरू दुर्घटनाग्रस्त भएका छन् । ती दुर्घटनामा परी दुई हजार ३६८ जनाको मृत्यु, पाँच हजार ७३८ गम्भीर र २४ हजार ४८८ सामान्य घाइते भएका छन् ।
प्रहरीको प्रतिवेदनले सडक दुर्घटनाका तथ्यांकहरू वर्षेनी फेरिएको देखिन्छ । तर नदीले निलेका ती बस र परिवारै सकिएका कथाहरू स्मृतिबाट कहिल्यै मेटिने छैनन् ।
यस्ता घटनामा मृत्यु हुने व्यक्तिको संख्यामात्र होइन, परिवारको भविष्य नै समाप्त हुन्छ । कमाउने सदस्य गुम्छन्, बालबालिका टुहुरा हुन्छन् । कहिलेकाहीँ घरका सबै सदस्य समाप्त हुँदा घर नै सुनसान बन्छ ।
प्रतिक्रिया 4