+
+
Shares
काठमाडौंमा युवकमाथि खुकुरी प्रहार घटना : :

बाँकेबाट समातिए ‘टाइगर’, प्रयोग गर्थे मलेसिया बस्ने युवकको सिम कार्ड

रुकुम पुगेर मोबाइल र सिम परिवर्तन गरेका उनी त्यहाँबाट बाँके झरेका थिए । बाँकेबाटै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ असार १६ गते २३:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको सामाखुसीमा युवकमाथि खुकुरी प्रहार गर्ने गोविन्द चन्दलाई घटनाको ११ दिनपछि प्रहरीले बाँकेबाट पक्राउ गरेको छ ।
  • पक्राउ परेका चन्दविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

१६ असार, काठमाडौं । काठमाडौं महानगरपालिका–२३ सामाखुसी टाउन प्लानिङ नजिक आत्मज्ञान अगाडिको सडकमा युवकमाथि खुकुरी प्रहार भएको ११ औं दिनपछि एक जना पक्राउ परेका छन् ।

खुकुरी प्रहार गरेको आरोपमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ घर भएका टाइगर भनिने २५ वर्षीय गोविन्द चन्द पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टाइगरलाई बाँकेबाट पक्राउ गरी काठमाडौं ल्याएको छ । पक्राउ परेका चन्दलाई अनुसन्धानका लागि प्रहरी वृत्त महारागजञ्ज पठाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए ।

उनले ४ असारको सम्साँझै सडकमै पश्चिम रुकुमको बाफिकोट गाउँपालिका–४ घर भई काठमाडौं छाउनी बस्ने २२ वर्षीय टोपजंग वलीमाथि खुकुरी आक्रमण गरेका थिए ।

टाउको र पाखुरामा खुकुरी आक्रमण हुँदा उनी गम्भीर घाइते भएका थिए । नम्बर नखुलेको मोटरसाइकलमा आएका उनले वलीमाथि आक्रमण गरेका थिए । सो क्रममा टाउकोको बाँया भाग पाखुरामा गम्भीर चोट लागेको थियो ।

आक्रमणपछि लेर भुइँमा ढलेका उनी छटपटाएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनी अहिले ग्रिन सिटी अस्पतालमा उपचारत छन् ।

कुनै क्लु समेत फेला नपरेको अवस्थामा लामो मेहनतबाट टाइगरलाई समाउन सकिएको एसएसपी खड्काको भनाइ छ । ‘यसमा कुनै क्लु नै फेला परेको थिएन । मोटरसाइकल नम्बर समेत खुलेको थिएन । हामीले लामो समयको प्रयासबाट व्यक्ति पहिचान गरेर पक्राउ गर्न सफल भएका हौं’ एसएसपी खड्काले भने ।

पक्राउ परेका टाइगरविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रयोग गर्थे मलेसिया बस्ने युवकको सिम कार्ड

अहिले पक्राउ परेका टाइटरले वलीलाई सम्पर्क गर्दै मोटरसाइकल किनबेच गर्नुपर्ने भन्दै भेट्न खोजेका थिए । पटक पटक फोन गरेपछि भेट्न निधो भएको थियो । त्यसपछि आत्मज्ञान पछाडि रहेको खाली जग्गामा भेट गरी करिब १० मिनेट कुरा भएको थियो ।

कुराकानी भइरहँदा उनले आफूले ल्याएको दाउले आक्रमण गरेका थिए । त्यसपछि उनी मोटरसाइकल चढेर फरार भए ।

घटनाको अनुसन्धानमा खटिएको अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न तथ्य फेला भेला पार्याे । सो क्रममा मोटरसाइकल किन्न भन्दै टाइगरले गरेको फोन नम्बर उनको नभई सुजल खत्रीको नाममा रहेको भेटिएको छ ।

उक्त सिम रुकुमकै खगेन्द्र रावलले सञ्चालन गरेको आधुनिक मोबाइल सेन्टरबाट खरिद गरिएको समेत प्रहरीले पत्ता लगाएको छ । यता सिम आफ्नो नाममा रहेका सुजल भने गत मेदेखि नै मलेसियामा रहेको समेत अनुसन्धानमा खुलेको छ ।

यो सिममा प्रयोग भएको पछिल्लो रिचार्ड समेत टोखाको माण्डव्य किराना पसबाट किनेको समेत प्रहरीले पत्ता लगायो । जहाँ अहिले पक्राउ परेका टाइगर सीसीक्यामेरामा कैद भएका छन् ।

माण्डव्य किराना पसलको ठिक अगाडि रहेको चिया चौतारीमा समेत टाइगरको उपस्थित देखिन्छ । यही लोकेसनबाट टाइगरले वलीलाई साँझ ६ बजे पहिलो पटक र ६ः४५ बजे दोस्रो पटक कल गरेको प्रहरीले पत्ता लगाएको थियो ।

त्यसपछि भने टाइगर गणेशस्थान हुँदै पवित्रनगर गोंगबुस्थित घटनास्थल गएका थिए । घटनास्थल पुगेपछि फेरि वलीलाई २ पटकसम्म फोन सम्पर्क गरेका थिए । भेट गर्ने भनिएको स्थान पत्ता नलागेपछि उनले फोन गरेको देखिएको एक अनुसन्धान अधिकारी बताउँछन् ।

त्यसपछि गोंगबुको आवास क्षेत्रमा पुगी वलीलाई साथमै लिई आक्रमण भएको ठाउँमा पुगेका थिए । त्यहाँ १० मिनेट जति संवाद भएपछि टाइगरले आक्रमण गरेका थिए । आक्रमणपछि गोंगबु, याकुपा मार्ग हुँदै मित्रनगर गेटबाट उनी फरार भएका थिए ।

त्यहाँबाट उनी ठमेल पुगेका थिए । त्यसपछि भने उनी रुकुम पुगेका थिए । रुमुम पुगेर फेरि टाइगरले त्यही आधुनिक मोबाइल पसलबाट मोबाइल सेट खरिद गरेका थिए । प्रहरीले पहिचान नपाओस् भन्ने उद्देश्यले नयाँ सेटमा अर्को नम्बरको सीम समेत हालेका थिए ।

रुकुम पुगेर मोबाइल र सिम परिवर्तन गरेका उनी त्यहाँबाट बाँके झरेका थिए । बाँकेबाटै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

टाइटरले आक्रमण गर्दा लगाएको कपडा यसअघि लगाएर टिकटक बनाएर हालेको समेत भेटिएको छ । आफ्नो पहिचान पत्तो नहोस् भन्ने उद्देश्यले यसअघि नै मलेसिया गएका व्यक्तिको सिम कार्ड प्रयोग गर्नेदेखि ठाउँ परिवर्तन गर्दै बस्ने, सिम कार्ड, मोबाइल सेट समेत परिवर्तन गरेको देखिएको प्रहरीले जनाएको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?