News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल मेडिकल काउन्सिल र सिबिआईले चिकित्सा क्षेत्रमा भइरहेका गैरकानुनी अभ्यास तथा क्रस–प्राक्टिस नियन्त्रण गर्न विशेष सक्रियता अघि बढाएका छन्।
पछिल्ला दिनहरूमा नेपाल मेडिकल काउन्सिल (एनएमसी) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) को संयुक्त सक्रियतामा चिकित्सा क्षेत्रमा भइरहेका गैरकानुनी अभ्यासहरुलाई नियन्त्रण गर्ने प्रयास गरेको देखिन्छ ।
यस्ता केही कारबाहीहरूले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा तातो बहस सिर्जना गरेको छ । प्राकृतिक चिकित्सा (न्युरोप्याथी) विधामा उच्च शिक्षा हासिल गरेकी एक चिकित्सक पक्राउ परेपछि यो बहसले थप नयाँ मोड लिएको हो ।
यस घटनालाई लिएर एकातिर नियामक निकायहरू जनस्वास्थ्यको सुरक्षाका लागि चालिएको कानुनी कदम भनेर स्वागत सहितको दाबी गरिरहेका छन् । अर्कोतिर वैकल्पिक चिकित्सा क्षेत्रका संघ–संस्थाहरू यसलाई आफ्नो विधामाथिको प्रहार र मानमर्दनका रूपमा हेरिरहेका छन् । यो संवेदनशील मोडमा भावनामा बगेर कसैको पक्ष वा विपक्षमा उभिनुभन्दा ‘उपाधि’, ‘अध्ययन’ र ‘अभ्यासको दायरा’ बीचको कानुनी र व्यावहारिक भिन्नतालाई सूक्ष्म रूपमा केलाउनु आवश्यक छ ।
‘डाक्टर’ उपाधिको प्राज्ञिक र क्लिनिकल पाटो
ऐतिहासिक रूपमा ‘डाक्टर’ शब्द ल्याटिन भाषाको ‘डोकेरे’ (Docere) बाट आएको हो । यसको अर्थ ‘सिकाउनु’ वा ‘शिक्षक’ हुन्छ । मध्यकालमा यो उपाधि विश्वविद्यालयमा वर्षौंसम्म गहन अनुसन्धान गरी ‘विद्यावारिधि’ (पिएचडी) गर्ने प्राज्ञिक व्यक्तित्वहरूलाई मात्र दिइन्थ्यो । पछि, चिकित्सा क्षेत्रका अभ्यासकर्ताहरूको सामाजिक प्रतिष्ठा र विशिष्टतालाई सम्मान दिँदै यो उपाधि दिइयो ।
नेपालको शैक्षिक र कानुनी प्रणालीमा पनि ‘डाक्टर’ (Dr.) उपाधि धेरै विधामा प्रयोग हुन्छन् । विश्वविद्यालयबाट कुनै पनि विषयमा ‘पीएचडी’ गर्ने प्राज्ञिक व्यक्तित्वहरूलाई डाक्टर उपाधि दिइन्छ । आधुनिक चिकित्सा (एलोपैथिक) र दन्त चिकित्साका स्नातकहरू (एमबीबीएस, बीडीएस) लाई नेपाल मेडिकल काउन्सिलमा दर्ता गरेर डाक्टरको उपाधिसहित चिकित्सा अभ्यासका अनुमति समेत प्रदान गरिन्छ ।
त्यस्तै आयुर्वेद चिकित्सामा बिएएमएस, योग तथा प्राकृतिक चिकित्सामा बिएनवाईएस, पशुचिकित्सामा विभिएससी, होमियोप्याथिकमा बिएचएमएस जस्ता स्नातकहरू आ–आफ्नो काउन्सिल र विश्वविद्यालयको नियमानुसार डाक्टर लेख्ने गर्छन् । समाजमा यी सबै विधाको आफ्नै विशिष्ट महत्व र गरिमा छ।
समस्या उपाधिमा होइन, विधा लुकाउने प्रवृत्तिमा हो
अहिले देखिएको मुख्य विवाद कसैको शैक्षिक योग्यता ‘सक्कली कि नक्कली’ भन्ने मात्र होइन । बरु आफूले अध्ययन नै नगरेको विषयको अभ्यास गर्नुसँग जोडिएको छ ।
नेपालमा आम सर्वसाधारणको मनोविज्ञानलाई कतिपय व्यक्तिहरूको प्रस्तुतिका कारण भ्रम छरेको जस्तो देखिन्छ । हाम्रो समाजमा नामको अगाडि ‘डा.’ देख्नेबित्तिकै उसलाई ‘एलोपेथिक वा आधुनिक चिकित्सा विज्ञानको डाक्टर’ बुझ्ने र स्टेथोस्कोप देख्नेबित्तिकै आधुनिक चिकित्साकै अपेक्षा गर्ने गरिन्छ ।
यही सामाजिक भ्रमको छायाँमा परेर कतिपय गैर–एलोपेथिक चिकित्सकहरूले क्लिनिकको साईनबोर्ड, प्रेस्क्रिप्सन प्याड वा सामाजिक सञ्जालमा आफ्नो वास्तविक विधा स्पष्ट नखुलाई केवल ‘डाक्टर’ मात्र लेख्ने गरेको पाइन्छ ।
औपचारिक अध्ययन एउटा विधामा गर्ने, तर अभ्यास अर्को आधुनिक चिकित्सा (एलोपेथिक) विधिमा गर्ने प्रवृत्ति बढ्दो छ । यसलाई ‘क्रस–प्राक्टिस’ भनिन्छ, जुन अपराध हो ।
यसले आम नागरिकमा भ्रम त पैदा गर्छ नै, अध्ययन नै नगरेको विधिको औषधि चलाउँदा बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम पर्न सक्छ । साथै, यसले सम्बन्धित विधा जस्तै प्राकृतिक चिकित्साको आफ्नै मौलिकता र विश्वसनीयतामा समेत आँच पुर्याउछ ।
अन्तर्राष्ट्रिय अभ्यास कस्तो छ ?
छिमेकी मुलुक भारत तथा अन्य विकसित मुलुकमा उपाधि र अभ्यासको यो अस्पष्टतालाई निकै कडा कानुनद्वारा व्यवस्थित गरेका देखिन्छ । अमेरिकाका अधिकाशं राज्यहरू तथा पश्चिमा मुलुकहरूमा पनि न्याचुरोप्याथी (एन डी. डाक्टर वा न्याचुरोप्याथी मेडिसिन), काइरोपाक्टिस (डीसी) वा पोडियाट्री (डीपी) गरेकाहरूले ‘डाक्टर’ उपाधि प्रयोग गर्छन् । तर उनीहरूले बिरामीसँगको हरेक सञ्चार र साइनबोर्डमा आफ्नो विधा अनिवार्य खुलाउनुपर्छ।
यदि कसैले विधा नखुलाई भ्रम सिर्जना गरेमा वा आफ्नो दायराभन्दा बाहिरको एलोपेथिक औषधि प्रेस्क्राइब गरेमा त्यसलाई ’मिसरिप्रिजेन्टेसन’ र गम्भीर कानुनी अपराध मानिन्छ ।
छिमेकी मुलुक भारतमा परम्परागत र वैकल्पिक चिकित्सा (आयुष, एवाईयुएसएच) का लागि छुट्टै बलियो कानुनी संयन्त्र छ । उपचारका विभिन्न पद्धतिहरु छन् । तर कन्फ्युजन छैन । भारतको सर्वोच्च अदालतले ‘पुनम वर्मा विरुद्ध डा. अश्विन पटेल (१९९६)’ र ‘डा. मुख्तियार चन्द विरुद्ध पञ्जाब राज्य (१९९८)’ को ऐतिहासिक मुद्दाहरूमा स्पष्ट फैसला सुनाएको थियो । फैसलाले जुनसुकै विधाको चिकित्सक भए पनि आफूले जुन विधा अध्ययन गरेको हो, त्यही विधामा मात्र सीमित रहनुपर्छ भन्ने स्पष्ट पारिसकेको छ । एक विधाको डाक्टरले अर्को विधाको उपचार ( क्रस–प्राक्टिस ) गर्नु पूर्णतः गैरकानुनी र मेडिकल लापरबाही ठहरिन्छ ।
नियमनको स्वागत र प्रणालीगत खोट सुधारको आवश्यकता
जनस्वास्थ्यको सुरक्षा र चिकित्सा क्षेत्रको मर्यादा कायम राख्न नेपाल मेडिकल काउन्सिलले हालै (मे २०२६÷जेठ २०८३ मा) जारी गरेको कडा निर्देशन र प्रहरी प्रशासनले कानुनसम्मत रूपमा चालेका कदमहरू स्वागतयोग्य छन् । चिकित्सकहरूको छाता संगठन र नियामक निकाय आफ्नो कर्तव्यमा दृढ हुनैपर्छ । तर केवल कारबाही मात्र यो समस्याको दिगो समाधान होइन । यस प्रकरणले हाम्रो नियमन प्रणालीमा रहेको एउटा ठूलो नीतिगत खोट वा अस्पष्टतालाई पनि उजागर गरेको छ । यसलाई सच्याउन सम्बन्धित निकायहरूको ध्यानाकर्षण हुनु जरुरी छ ।
पहिलो विधागत पहिचानको अनिवार्य कानुनी व्यवस्था हुनुपर्छ । राज्य र सम्बन्धित सबै स्वास्थ्य काउन्सिलहरू (नेपाल मेडिकल काउन्सिल, नेपाल आयुर्वेद मेडिकल काउन्सिल आदि) मिलेर एउटा साझा र स्पष्ट निर्देशिका जारी गर्नुपर्छ । जसमा जुनसुकै विधाको चिकित्सकले पनि आफ्नो नामको अगाडि वा पछाडि आफ्नो विधा अनिवार्य रूपमा र स्पष्ट देखिने गरी लेख्नुपर्ने कानुनी बाध्यता हुनुपर्छ ।
दोस्रो काउन्सिलहरू बीचको समन्वय हुनुपर्छ । एलोपेथिक बाहेकका अन्य चिकित्सा विधाको अध्ययन, अनुमति र अभ्यासको सीमा कति हुने भन्ने कुरामा सबै काउन्सिलहरूबीच स्पष्ट र वैज्ञानिक कार्यक्षेत्र निर्धारण हुनुपर्छ । कुनै पनि चिकित्सा पद्धति आफैंमा सानो वा ठूलो हुँदैन । एलोपेथीको आफ्नै आकस्मिक र आधुनिक उपचारको पाटो छ भने आयुर्वेद र प्राकृतिक चिकित्साको जीवनशैली सुधार र दीर्घकालीन स्वास्थ्यमा आफ्नै अतुलनीय योगदान छ ।
नियामक निकायको उद्देश्य कुनै विधा विशेषलाई निरुत्साहित गर्ने हुनुहुँदैन र चिकित्सकहरूको उद्देश्य पनि आफ्नो विधा लुकाएर अर्को विधाको अभ्यास गर्ने हुनुहुँदैन । विधागत सीमा र उपाधिको प्रयोगबारे समयमै स्पष्ट, पारदर्शी र वैज्ञानिक मापदण्ड बनाएर लागू गर्न अत्यन्त आवश्यक छ । अनि मात्र चिकित्सा क्षेत्रमा विधिको शासन कायम हुनेछ र नेपाली नागरिकको स्वास्थ्य अधिकारको वास्तविक सुरक्षा हुनेछ ।
प्रतिक्रिया 4