१८ असार, काठमाडौं । रुस र युक्रेनबीच अर्को चरणको युद्धबन्दी साटासाट गर्नका लागि वार्ताहरू भइरहेको र दुवै पक्षका बन्दीहरूको नामावली प्रमाणीकरण गर्ने काम जारी रहेको रुसकी मानव अधिकार ओम्बुड्सवुमन याना लान्त्रातोभाले जानकारी दिएकी छन्।
रुसको दैनिक पत्रिका ‘इज्वेस्तिया’ लाई दिएको अन्तर्वार्तामा लान्त्रातोभाले बन्दी साटासाटको काम निरन्तर अगाडि बढिरहेको र चाँडै नै नयाँ चरणको आदानप्रदान हुनेमा आफू आशावादी रहेको बताएकी छन्।
सुरक्षा संवेदनशीलता र अन्तिम नतिजालाई असर पुग्न सक्ने भएकाले साटासाट गरिने निश्चित मिति र विस्तृत विवरणहरू अहिले नै अग्रिम रूपमा सार्वजनिक गर्न नमिल्ने उनले प्रष्ट पारेकी छन्।
यद्यपि, दुवै देशका अधिकारीहरूबीच नियमित सम्पर्क भइरहेको, सूचीहरूमा काम भइरहेको र चाँडै नै यसको सकारात्मक परिणाम आउने विश्वास उनले व्यक्त गरेकी छन्।
यसअघि गत जुन २६ का दिन मात्रै रुसी रक्षा मन्त्रालयले युक्रेनको नियन्त्रणमा रहेका १६० जना रुसी सैनिकहरूलाई मुक्त गराई स्वदेश फिर्ता ल्याएको र त्यसको बदलामा १६० जना नै युक्रेनी सैनिकहरूलाई हस्तान्तरण गरिएको रिपोर्ट सार्वजनिक गरेको थियो।
प्रतिक्रिया 4