ललितपुरको लुबुमा अवस्थित एउटा स्टुडियोभित्र पसिनाको गन्ध र संगीतको तालको अनौठो सङ्गम भइरहेछ । त्यहाँ केही युवाहरू शरीरलाई यसरी मोडिरहेका छन्, मानौं उनीहरू हावासँग संवाद गरिरहेका हुन्।
खासमा ७ जनाको समूहमा रहेका उनीहरूले नृत्यको अभ्यास गरिरहेका हुन् । तर उनीहरूको नजरमा त्यो नृत्यभन्दा बढी केही हो । लेखिँदै गरेको एउटा कथा हो । एउटा विद्रोह र सपना हो । मुलत: अन्तर्राष्ट्रिय मञ्चसम्मको दूरी तय गर्न गरिरहेको तयारी हो।
यस समूहको नाम हो – इनेट सोल । जसको अर्थ हुन्छ, अर्गानिक आत्मा । आफूहरूले कलाकारको भित्रैदेखि निस्कने स्वभाविक र अर्गानिक कलालाई प्रस्तुत गर्ने भएकाले यो नाम राखेको उनीहरूको भनाइ छ ।
यो समूहमा रेनुका घर्ती मगर (माथागढी, पाल्पा), रोशन खाती (बिर्तामोड २, झापा), मणि के. राई (रोङ, इलाम), मुस्कान राउत (दावाँ ४, भोजपुर), प्रेमचन्द पाण्डेय (यशोधरा ८, कपिलवस्तु), लुनिभा महर्जन (त्रिपुरेश्वर, काठमाडौं) र प्रवृत्ति सुब्बा (टिकाथली, इमाडोल) गरी सात जना छन् ।
आज यो समूहलाई हामीले प्रेमचन्दको आँखाबाट हेर्ने छौं:
कपिलवस्तुको त्यो ‘नचनिया’ बालक
प्रेमचन्द पाण्डे, जो आज यो समूहको एउटा बलियो खम्बा भइसके, उनको यात्रा कपिलवस्तुको यशोधरा गाउँपालिकाबाट सुरु हुन्छ । कक्षा ९ मा पढ्दादेखि नै उनलाई नाटक र मञ्चले तान्न थालेको थियो । गाउँमा ‘बुद्ध नाट्य संघ’ नामक समूह थियो, जहाँ उनका साथीहरू सडक नाटक गर्थे । प्रेमचन्द पनि त्यहीँ मिसिए ।
तराईको समाजमा एउटा छोराले नाच्नु वा नाटक गर्नुलाई सहज रूपमा लिइँदैनथ्यो । यही कारण उनले आफ्नो गाउँमा एउटा शब्द सुन्नु पर्यो – नचनिया ।
‘हाम्रोतिर नाटक गर्ने र नाच्ने केटा मान्छेलाई नचनिया भनिन्छ । मलाई पनि त्यही भनिन्थ्यो । तर यो एउटा पुरानो सोच मात्र हो’ प्रेमचन्द सम्झिन्छन् ।

यता उनको भित्री इच्छा मञ्चमै बाँच्ने थियो । र, उनले आफ्ना साथीहरू धिरज चौहान र अरविन्द कुमार मौर्यसँग मिलेर ‘बुद्ध थिएटर’ नामक संस्था दर्ता गरेर गाउँमै थिएटरको जग बसाल्ने कोसिस गरे ।
१८-१९ वर्षकै उमेरमा प्रशासन कार्यालय गएर संस्था दर्ता गर्ने उनीहरूको त्यो जोश लोभलाग्दो थियो ।
शिल्पीको मञ्चदेखि नृत्यको स्टुडियोसम्म
प्लस-टु सकेपछि प्रेमचन्द नाटक नै सिक्न भनेर काठमाडौं आए । र, शिल्पी थिएटरमा एक वर्षको कोर्समा भर्ना भए । त्यहाँ उनले थप दुई वर्ष बसेर काम पनि गरे । त्यही समयमा नाटकबाहेक मञ्चको प्राविधिक पाटो (प्रकाश र मञ्च व्यवस्थापन) पनि सिके ।
‘नेपालमा कलाकार भएर मात्र बाँच्न गाह्रो छ । जीवनलाई सहज बनाउन केही एक्स्ट्रा सिप हुनुपर्छ’ उनी भन्छन्, ‘अनि मैले अन्य कुरा पनि सिकेको थिएँ ।’
त्यो बीचमा उनले केही नाटक गरे । नाटकको यही यात्रामा उनको भेट कोरियोग्राफर मणि के. राईसँग भयो । एक थिएटर नेपालको प्रस्तुतीमा मण्डला थिएटरमा मञ्चन भएको खमारी नामक नाटकमा उनले एउटा फिजिकल प्ले (शारीरिक अभिनयमा आधारित नाटक) गरेका थिए । त्यही नाटकको दौरान मणिले प्रेमचन्दभित्रको नृत्यको सम्भावना देखेका थिए ।

तर, त्यसबेला प्रेमले नृत्यको प्रस्तुती गरेका थिएनन् । उता मणि के. राई हिपहप ब्याकग्राउन्डबाट आएका भए पनि उनले आफ्नो ‘सोल’ कन्टेम्पोररी नृत्यमा भेटेका थिए ।
कुरैकुरामा उनीहरूबीच नृत्यलाई अगाडि बढाउने कुरा भयो । इननेट सोल यसअघि नै जुटिसकेको समूह थियो । त्यसमा प्रेमचन्द मिसिन पुगे ।
‘इनेट सोल’
मणि सहितका अन्य डान्सरहरूले २०८१ तिर यो समूहलाई औपचारिकता दिएका थिए । अहिले यो समूहमा भएकाहरूको उमेर १८ देखि ३० वर्षको बीचमा छ । समूहले मुलत: विभिन्न नृत्य प्रतियोगितामा भाग लिने र कार्यक्रमहरूमा प्रस्तुती दिँदै आइरहेको छ।
समूहमा मुख्य कोरियोग्राफर मणि छन् । तर, समूहमा सबैको भूमिका उतिनै भएको प्रेमको भनाइ छ । पछिल्लो समय नेपालमा नृत्य समूह टिक्न गाह्रो भइरहँदा इनेट सोल भने केही व्यावसायिक पनि हुन खोजेको छ । किनकि, सुरुवातदेखि नै यो समूहले आफूलाई अब्बल साबित गर्दै आएको छ।
केही समयअघि मात्रै उनीहरूले भारतमा भएको ‘अल्कराइजर’ नामक इभेन्ट जितेर आए । त्यसपछि नेपालमा भएको ‘वर्ल्ड अफ डान्स’ को फ्रेन्चाइजी प्रतियोगितामा उनीहरूले ‘बेस्ट कोरियोग्राफी’ र ‘बेस्ट कस्ट्युम’ को अवार्ड जिते ।
थाइल्याण्डको सपना
अहिले यो समूह ३१ असारदेखि ३ साउनसम्म थाइल्याण्डमा हुने वर्ल्ड अफ डान्सको ग्लोबल इभेन्टको तयारीमा छ । यस प्रतियोगितामा २५ भन्दा बढी देशका डान्सरहरू सहभागी हुँदैछन् । नेपालको तर्फबाट जेडी तमु जजको रूपमा जाँदैछन् भने ‘इनेट सोल’ प्रतिस्पर्धीको रूपमा ।
तर, इनेट सोलको हकमा यात्रा सहज नभएको प्रेम सुनाउँछन् । समूह ठूलो हुनु र त्यसमा आर्थिक पाटो देखिएकाले गाह्रो भएको उनको भनाइ छ । यही कारण उनीहरू अहिले स्पोन्सर खोजिरहेका छन् । फ्लाइट टिकट, रजिस्ट्रेसन शुल्क र खान, बस्नका लागि ठूलो रकम आवश्यक पर्ने उनको भनाइ छ ।

‘हामी घर-घरबाट फण्ड रेज गरिरहेका छौं, लोकल ब्रान्डहरूसँग सहकार्य खोजिरहेका छौं’ प्रेमचन्द आफ्नो समस्या सुनाउँछन् ।
समूहका एक सदस्यको परीक्षा परेका कारण उनीहरू यसपटक ‘मिनी क्रु’ विधामा प्रतिसपर्धा गर्दैछन् । उनीहरूले प्रस्तुत गर्ने कन्टेम्पोररी नृत्यमा कुनै पनि प्रोप्स प्रयोग गर्न पाइनेछैन । शरीरको भाषाले नै जजहरूको मन जित्नुपर्नेछ ।
क्लोजअपमा प्रेमचन्द
प्रेमचन्दको बुझाइमा नृत्य हातगोडा हल्लाउनुबाहेक अर्थोक केही पनि हो । थिएटरको पृष्ठभूमिबाट आएका कारण उनी नृत्यलाई एउटा भाषाको रूपमा हेर्छन् ।
‘नृत्य भनेको एउटा स्टोरी टेलिङ हो । यसमा इमोसन र एक्सप्रेसनको ठूलो भूमिका हुन्छ’ उनी व्याख्या गर्छन् ।
उनका अनुसार डान्स र थिएटरबीचको सम्बन्ध गहिरो छ । जसरी समाज परिवर्तन गर्न थिएटर एउटा माध्यम हो, नृत्यले पनि मुभमेन्टको माध्यमबाट ठूला सन्देशहरू प्रवाह गर्न सक्छ ।
उनीहरूले गर्ने कन्टेम्पोररी नृत्यमा ‘फ्लोर वर्क’, ‘लिफ्ट’ र ‘बडी फ्लो’ को संयोजन हुन्छ । यसका लागि उनीहरू आफ्नै संगीत बनाउँछन् र हरेक बिटमा शरीरको कथा बुन्छन् ।
‘हाम्रो टिमको विशेषता भनेकै हामी क्यारेक्टर समात्छौं । कस्ट्युम र इमोसनले त्यो क्यारेक्टरलाई जीवन्त बनाउँछ,’ प्रेमचन्दको बुझाइ छ । उनी नृत्यलाई नेपाली समाजले हेर्ने दृष्टिकोण अझै पनि पूर्णरूपमा परिवर्तन नभएको महसुस गर्छन् । तर आफ्ना सिनियर डान्सरहरूले अझ बढी एक्सपोजर दिनुपर्ने उनको ठम्याइ छ ।

प्रतिक्रिया 4