२० असार, धनकुटा । हात वा खुट्टा गुमेपछि धेरैले अरुको सहारामा बाच्नु परेको हुन्छ । कतिपयले हात र खुट्टा गुमेपछि धेरै गुनासो गर्ने तथा आत्मविश्वास पनि गुमाइसकेको पनि पाइन्छ । धनकुटाको महालक्ष्मी नगरपालिकाको वडा नं. ८ नेता चोकका ७५ वर्षीय दलबहादुर पौडेल र धनबहादुर श्रेष्ठको भने कथा फरक रहेको छ ।
पौडेलको एउटा र श्रेष्ठको दुवै खुट्टा गुमेका छन् । उनीहरु दुवै जना डोको बुनेर जिवनयापन गरिरहेका छन् । जीवनले उनीहरुबाट खुट्टा, सम्पत्ति र सहज जीवन खोसे पनि श्रम गर्ने इच्छा र आत्मसम्मानका साथ बाँच्ने अठोट भने खोस्न सकेको छैन ।
पौडेलको जीवनमा २०६४ साल निकै दुखद बन्ने पुग्यो । खुट्टामा लागेको सामान्य घाउ निको भएन । उपचारका अनेक प्रयास गरिए, तर अन्तत: चिकित्सकले खुट्टाका औंलाभन्दा केही माथि काट्नुपर्ने निर्णय सुनाए । त्यो निर्णयले उनको एउटा खुट्टा मात्र होइन, वर्षौँको मिहिनेतले जोडेको घरजग्गा पनि खोस्यो । उपचार खर्च जुटाउन गाउँमा रहेको घर र थोरै खेतबारी बेच्नुपर्यो । जन्मथलो छाडेर नेता चोकमा बसाइँ सर्नुपर्यो ।
जीवन एकाएक शून्यजस्तो भएको पौडेलको भनाइ छ । तर त्यही कठिन मोडमा युवावस्थामा सिकेको सीपले प्रयोग गरेर उनले बाच्ने सहारा बनाइ रहेका छन् । ‘घरजग्गा गयो, खुट्टा पनि गयो । तर, हातले काम गर्न सक्ने अवस्था थियो । त्यसैले यही डोको बुनेर जीवन चलाइरहेको छु’, उनले भने, ‘अहिले पनि तीन दिनमा दुईवटा डोको तयार गर्दै आएको छु । एउटाको मूल्य ३ सय रुपैयाँ पर्छ । यही आम्दानीले दैनिक गुजारा चलिरहेको छ ।’
पौडेलको पारिवारिक जीवन पनि सहज रहेन । दुई श्रीमतीमध्ये एक जनाले उनी बिरामी हुनुअघि नै साथ छोडेकी थिइन भने अर्की श्रीमतीको निधन भइसकेको छ । उनकी एक्ली छोरीको विवाह भइसकेको छ । जसले गर्दा उनी एक्लै बस्दै आएका छन् । उमेरले ७५ वर्ष पार गरिसकेका वृद्ध त्यो पनि एउटा खुट्टा गुमेको छ तर, उनी डोको बुनेर जिवन चलाइ रहेका छन् । उनका लागि डोको बुनाइ केवल जीविकोपार्जनको साधन मात्र होइन, एक्लोपनसँग लड्ने साथी पनि बनेको छ ।

पौडेलजस्तै त्यही गाउँका धनबहादुर श्रेष्ठको संघर्ष पनि कम छैन । टिटानस रोगका कारण करिब १० वर्षअघि श्रेष्ठको दाहिने खुट्टा काट्नुपर्यो । त्यसको पाँच वर्षपछि अर्को खुट्टा पनि जोगाउन सकिएन । हिँडडुल गर्न नसक्ने भएपछि धेरैले उनको जीवन अब अरूको भरमा बित्ने ठान्नु स्वभाविक थियो । तर श्रेष्ठले त्यसलाई स्वीकार गरेनन् वा अरुको सोचाइलाई चुनौति दिए । उनले पनि डोको बुन्न सिके र विगत एक दशकदेखि यही काम गर्दै आएको बताए । ‘शरीरले साथ नदिए पनि हातले काम गर्न सक्छु भन्ने लाग्यो’, उनले भने, ‘त्यसैले अरुको भर पर्नुभन्दा आफ्नै श्रम गर्ने निर्णय गरेँ ।’
श्रेष्ठको परिवारमा श्रीमान श्रीमती मात्रै रहेका छन् । श्रीमती डिप्रेसनको उपचार गराइरहेकी छन् । डोको बिक्रीबाट आउने थोरै आम्दानी र सरकारले दिने सामाजिक सुरक्षा भत्ताले नै औषधि, उपचार र दैनिक घरखर्च चलिरहेको छ । धेरै कमाइ नभएपनि हात फैलाउनु नपरेको श्रेष्ठको भनाइ छ ।
डोको बुन्न राम्रो गुणस्तरको बाँस चाहिन्छ । एउटा राम्रो बाँसबाट दुईवटा डोको बनाउन सकिन्छ । एउटा घना बाँस गाउँमा करिब ५० रुपैयाँमा पाइन्छ । त्यसलाई चिर्न, सुकाउन, तयार पार्न र बुन्न निकै समय लाग्छ । तीन दिनको मेहनतपछि तयार भएको डोको करिब ३ सय रुपैयाँमा बिक्री हुन्छ । मूल्य धेरै नदेखिए पनि यही रकम उनीहरुको जीवन धान्ने आधार बनेको छ ।

स्थानीय चेतन कार्कीका अनुसार दलबहादुर पौडेल र धनबहादुर श्रेष्ठ गाउँका सबैभन्दा मेहनती व्यक्तिमा पर्छन् । ‘उहाँहरुको अवस्था देखेर दया होइन, सम्मान लाग्छ । यस्तो कठिन परिस्थितिमा पनि मेहनत गरेर बाँच्नुभएको छ’, कार्कीले भने, ‘ हामी सबैले उहाँहरुबाट धेरै कुरा सिक्नुपर्छ ।’ त्यसो त आवश्यक पर्दा गाउँलेहरुले बाँस ल्याइदिने, डोको बजारसम्म पुर्याइदिने र अन्य सहयोग गर्ने गरेको कार्कीको भनाइ छ ।
महालक्ष्मी नगरपालिकाले पनि आवश्यकता अनुसार उनीहरुको स्वास्थ्य उपचारमा सहयोग गर्दै आएको जनाएको छ । नगरपालिकाका अनुसार उनीहरुको संघर्षबाट प्रेरणा लिएर नगरपालिका भित्र रहेका अन्य शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई उनीहरुको क्षमता अनुसार आयआर्जनका तालिम, सीप विकास तथा आवश्यक प्रविधि उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका प्रमुख ध्रुबराज रायले जानकारी दिए ।
कतिपय मानिसलाई शारीरिक अशक्तता हुनु भनेको जीवनको अन्त्य नै भएको जस्तो लाग्न सक्छ । तर, पौडेल र श्रेष्ठका लागि भने शारीरिक अशक्तता नयाँ अध्यायको सुरुवात बनेको छ । उनीहरुले खुट्टा गुमाए, सम्पत्ति गुमाए तर, आत्मविश्वास, श्रमप्रतिको विश्वास र आत्मसम्मान गुमाएनन् । उनीहरुले डोको बुन्ने हातहरुले आफ्नो जीवनलाई पनि पुन: गाँसिरहेका छन् । डोको बिक्रीबाट आउने पैसाले उनीहरुको घर मात्र धानेको छैन । श्रम, सीप, र आत्मविश्वास भए शारीरिक अशक्तताले रोक्न सक्दैन भन्ने सन्देश पनि दिएको छ ।
प्रतिक्रिया 4