+
+
Shares

फार्मेसी सञ्चालकलाई गृहमन्त्रीले सोधे, ‘भाडा कसलाई तिर्नुहुन्छ ?’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते ८:५०

२२ असार, विराटनगर । गृहमन्त्री सुधन गुरुङले कोशी अस्पतालको सरकारी जग्गामा बनेका अतिक्रमित संरचना तत्काल खाली गराउन निर्देशन दिएका छन् । आइतबार साँझ अस्पतालको निरीक्षणका क्रममा उनले गणेश मन्दिरको भवनमा सञ्चालित एक फार्मेसीका सञ्चालकसँग ‘भाडा कसलाई तिर्नुहुन्छ ?’ भन्दै प्रश्नसमेत गरेका थिए ।

शनिबारदेखि कोशी प्रदेशको दौडाहामा रहेका गृहमन्त्री गुरुङ स्वास्थ्यमन्त्री निशा मेहतासँग आइतबार साँझ कोशी अस्पताल पुगेका थिए । अस्पताल परिसरको निरीक्षणका क्रममा उनी गणेश मन्दिर व्यवस्थापन समितिले निर्माण गरेको भवनमा सञ्चालित उज्ज्वल फार्मेसीमा पुगे ।

त्यहाँ गृहमन्त्रीले फार्मेसी सञ्चालक अरुण ठाकुरलाई ‘भाडा कति तिर्नुहुन्छ ? कसलाई तिर्नुहुन्छ ?’ भनेर सोधे । ठाकुरले गणेश मन्दिर व्यवस्थापन समितिलाई मासिक ६० हजार रुपैयाँ भाडा बुझाउँदै आएको बताए।

त्यसपछि गृहमन्त्रीले ‘यो त सरकारी जग्गा हो नि’ भने । सञ्चालकले त्यसबारे स्पष्ट जवाफ दिन सकेनन् । त्यसलगत्तै गृहमन्त्री गुरुङले ‘सरकारी जग्गामा बसेपछि समितिलाई भाडा बुझाउने होइन’ भन्दै अस्पताल प्रशासनलाई अतिक्रमित संरचना तत्काल खाली गराउन निर्देशन दिए ।

कोशी अस्पतालको बहुमूल्य जग्गामा विभिन्न संघसंस्थाले स्थायी संरचना निर्माण गरी प्रयोग गरिरहेका छन्। ती संरचनामा निर्माण गरिएका सटर भाडामा लगाइएका छन् ।

गत ५ असारमा कोशी अस्पताल प्रशासनले अतिक्रमित संरचना १५ दिनभित्र खाली गर्न सूचना जारी गरेको थियो । उक्त समयावधि सकिएपछि गृहमन्त्रीको निर्देशनसँगै अस्पतालले पुन: एक साताभित्र संरचना खाली गर्न आग्रह गरेको छ ।

‘१५ दिनको समय सकियो । अब एक साताभित्र संरचना खाली गर्नुहोस् भनेका छौं,’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चन्द्रभाल झाले भने, ‘अस्पतालका दुईवटा नयाँ भवन निर्माणाधीन छन् । अहिले सेवा विस्तारका लागि पर्याप्त ठाउँ छैन । अतिक्रमण हटाएर त्यही स्थानमा अस्पतालका सेवा विस्तार गर्छौं ।’

उनले गणेश मन्दिर भने नहटाइने स्पष्ट पारे । ‘मन्दिर हामीलाई चाहिने नै हो । त्यसलाई भत्काउने होइन, अस्पतालले नै व्यवस्थापन गर्ने हो,’ उनले भने ।

अनुगमनमा सहभागी स्वास्थ्यमन्त्री निशा मेहताले पनि अतिक्रमण हटाएरै छाड्ने बताइन् ।

‘अस्पतालले दिएको समयसीमा सकिँदासमेत संरचना खाली नहुनु दु:खद हो,’ उनले सञ्चारकर्मीसँग भनिन्, ‘अबको एक हप्ताभित्र यो ठाउँ खाली हुन्छ । हामी यसलाई कार्यान्वयन गरेरै छाड्छौं ।’

अस्पतालका अनुसार विराटनगर–७, अस्पताल चोकस्थित कोशी अस्पतालको नाममा रहेका कित्ता नम्बर १२, १५, २२, ११, २६ र २३ को बहुमूल्य जग्गामा नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंक, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी प्रयोग गरिरहेका छन् । ती संस्थाले ३० भन्दा बढी सटर निर्माण गरेर भाडामा लगाएका छन् ।

अस्पतालका अनुसार नेपाल क्षयरोग निवारण संस्थाले ६ कट्ठा ८ धुर जग्गा प्रयोग गरेको छ भने नेपाल रेडक्रस सोसाइटीले करिब दुई कट्ठा जग्गामा संरचना निर्माण गरेको छ ।

गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले पनि सडकतर्फ सटर निर्माण गरेर भाडामा लगाएका छन् । व्यस्त बजार क्षेत्रमा रहेका कारण ती सटरबाट उल्लेख्य भाडा उठ्ने गरेको अस्पतालको भनाइ छ ।

यसअघि गृहमन्त्री गुरुङले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण गर्दै प्रतिष्ठानभित्र निर्वाणा कन्ट्रीले भाडामा लिएर सञ्चालन गरेको गल्फ क्लब तथा अन्य अतिक्रमित संरचना खाली गराउन पनि निर्देशन दिएका थिए ।

त्यसलगत्तै सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, प्रतिष्ठानका निमित्त उपकुलपति डा. इन्द्र लिम्बूलगायतको टोलीले संरचना खाली गर्ने प्रक्रिया अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?