News Summary
Generated by OK AI. Editorially reviewed.- इरानको एयर डिफेन्स युनिटले अमेरिकी एमक्यू-९ ड्रोन खसालेको दाबी गरेको छ भने अमेरिकाले भने यसमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
- अमेरिका र इरानबीचको बढ्दो तनावका कारण होर्मुज स्ट्रेटमा जहाजहरूको आवतजावत ठप्प हुँदा विश्व बजारमा कच्चा तेलको मूल्यमा अस्थिरता देखिएको छ।
- इरानले अमेरिकामाथि बुशहर आणविक केन्द्रलगायतका स्थानमा हमला गरेको आरोप लगाएको छ भने अमेरिकाले भने पछिल्ला विष्फोटहरूमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ।
२६ असार, काठमाडौं । इरानले आफ्नो एयर डिफेन्स प्रणालीले अमेरिकी एमक्यू-९ ड्रोन खसालेको दाबी गरेको छ। इरानी समाचार एजेन्सीका अनुसार बुधबार आईआरजीसीको एयर डिफेन्स युनिटले उक्त ड्रोन पत्ता लगाएर त्यसलाई इन्टरसेप्ट गरी नष्ट गरेको हो।
यद्यपि, अमेरिकाले यस दाबीमाथि हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। विगत २ दिनमा अमेरिकाले इरानका १७० भन्दा बढी सैन्य केन्द्रहरूमा मिसाइल र ड्रोन हमला गरेको दाबी गरेको छ।
अमेरिकाका अनुसार यी हमलाहरूमा एयर डिफेन्स प्रणाली, मिसाइल र ड्रोन भण्डार, सैन्य स्पिड बोट र होर्मुज स्ट्रेट वरपर रहेका सैन्य केन्द्रहरूलाई निसाना बनाइएको थियो।
इरानका एक अधिकारीका अनुसार अमेरिकाले बुशहर आणविक केन्द्रलाई निसाना बनाउँदै हवाई हमला गरेको छ, तर केन्द्रमा कुनै क्षति भने पुगेको छैन।
यसैबीच, आईआरजीसीले अमेरिकालाई चेतावनी दिँदै होर्मुज स्ट्रेटमा दखल नदिन भनेको छ। यदि अमेरिकी हमला जारी रहेमा त्यहाँ सामान्य आवतजावत पुनर्बहाली हुन नसक्ने र यसको असर विश्वव्यापी अर्थतन्त्रमा पर्ने इरानको भनाइ छ।
अमेरिकाको हमलापछि जवाफी कारबाही गर्दै इरानले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य केन्द्रहरूमा मिसाइल प्रहार गरेको छ। यद्यपि, यी देशहरूले कयौँ मिसाइल र ड्रोनहरू खसालेको दाबी गरेका छन्।
अमेरिकाले उत्तरी इरानमा चीन र रुससँग जोडिएको एक रणनीतिक रेलवे पुलमा क्रुज मिसाइल प्रहार गरेको इरानले दाबी गरेको छ। इरानले यसलाई ‘युद्ध अपराध’ भनेको छ।
इरानको बुशहर, कोनारक र सिरिकमा विष्फोट
इरानको दक्षिणी भागमा बिहीबार धेरै ठाउँमा विष्फोट भएका छन्। सरकारी मिडियाका अनुसार बुशहर आणविक केन्द्र वरपर, कोनारक र सिरिक लगायतका क्षेत्रमा विष्फोट भएका हुन्। इरानले यसको दोष ‘दुश्मन’ लाई लगाए पनि कुनै देशको नाम तोकेको छैन।
यता, अमेरिकी अधिकारीले यी नयाँ हमलाहरूमा अमेरिकी सेना सामेल नरहेको र वासिङ्टन अझै पनि तेहरानसँग कूटनीतिक समाधान चाहने बताएका छन्। विज्ञहरूले यसको पछाडि इजरायलको हात हुन सक्ने अनुमान गरेका छन्।
इरानमाथि दुई दिनसम्म ठूलो स्तरमा हमला गरेपछि अमेरिकाले बिहीबार कुनै नयाँ ‘एयरस्ट्राइक’ नगरेको दाबी गरिएको छ। अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्प प्रशासन अब तनाव कम गर्ने र आणविक मुद्दामा वार्ताको बाटो खुला राख्ने प्रयासमा छ।
कतार, पाकिस्तान र अन्य क्षेत्रीय देशहरूले अमेरिका र इरानबीच तनाव कम गराई प्राविधिक स्तरको वार्ता पुनः सुरु गराउन मध्यस्थता गरिरहेको बताइएको छ।
होर्मुजबाट तेल ट्याङ्करको आवतजावत लगभग ठप्प
रोयटर्सका अनुसार, अमेरिका र इरानबीच तनाव पुनः बढेपछि बिहीबार होर्मुज स्ट्रेटमा जहाजहरूको आवतजावत ठप्प भयो। यसले विश्वव्यापी तेल आपूर्तिलाई लिएर चिन्ता बढाएको छ भने कच्चा तेलको मूल्य करिब १ प्रतिशतले बढेको छ।
अल जजिराका अनुसार, इरानले एकै रातमा कम्तीमा १ करोड ब्यारेल कच्चा तेल र फ्युल आयल निर्यातका लागि पठाएको छ। अमेरिकाले पुनः नौसैनिक नाकाबन्दी लगाउन सक्ने आशङ्कामा इरानले यो कदम चालेको हो।
अमेरिका र इरानबीच जारी द्वन्द्वका बाबजुद शुक्रबार सुरुवाती कारोबारमा कच्चा तेलको मूल्यमा सामान्य गिरावट आएको छ। ब्रेन्ट क्रुडको मूल्य ६ सेन्ट (०.०८ प्रतिशत) ले घटेर ७६.२४ डलर प्रति ब्यारेलमा झरेको छ भने अमेरिकी डब्लुटीआई क्रुड ४ सेन्ट (०.०६ प्रतिशत) ले घटेर ७२.०४ डलर प्रति ब्यारेलमा कारोबार भएको छ। यद्यपि, साताव्यापी रूपमा हेर्दा तेलको मूल्य अझै बढेकै अवस्थामा छ।
प्रतिक्रिया 4