+
+
Shares
पदयात्रा :

जङ्गलले सोधेको एउटा प्रश्न, जसको उत्तर हामीसँग छैन

आजकल धेरै युवाहरू पहाड र जङ्गल पुग्छन्। सामाजिक सञ्जालमा सुन्दर तस्बिर राख्छन्। ‘Nature Lover’, ‘Mountain Therapy’, ‘Weekend Escape’ जस्ता शब्द लेख्छन्। यदि त्यही यात्राको अन्त्यमा प्लास्टिकको बोतल जङ्गलमै फालिन्छ भने त्यो प्रेम होइन, केवल ढोंग हो।

पुष्प भट्ट पुष्प भट्ट
२०८३ असार २७ गते १७:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुन्दरीजलबाट पदयात्रा सुरु गरी धाप ड्याम पुगेका यात्रुहरूले सहरको कोलाहलबाट टाढा प्रकृतिको काखमा रमाइलो अनुभव सङ्गालेका छन् ।
  • धाप ड्यामले पछिल्लो समय काठमाडौँ उपत्यकाको लोकप्रिय पदयात्रा गन्तव्यका रूपमा प्रकृति, पर्यटन र पर्यावरणको सङ्गम बनाएको छ ।
  • यात्राका क्रममा बाटोभरि फालिएको प्लास्टिकजन्य फोहोरले प्रकृतिप्रति युवा पुस्ताको बढ्दो बेवास्ता र जिम्मेवारीको कमीलाई उजागर गरेको छ ।

लामो गफगाफपछि मैले ती बहिनीलाई सोधेँ- ‘सबै केटाकेटीहरू आ-आफ्नो जोडीसँग आइरहेका छन्, तिमी चाहिँ एक्लै ?’

प्रश्न भुइँमा खस्न नपाउँदै उनले हाँस्दै जवाफ दिइन्- ‘उसलाई हिँड्न मन पर्दैन, हिँड्ने साथी पाउनुपर्छ। म त चल्दिहाल्छु।’

त्यो जवाफमा कुनै गुनासो थिएन, कुनै बनावटीपन पनि थिएन। बरु एउटा स्वतन्त्र मनको सरल स्वीकारोक्ति थियो। कसैको पर्खाइमा आफ्नो यात्रा रोकिराख्न नचाहने मान्छेको आत्मविश्वास झल्किरहेको थियो।

एक घण्टादेखि उनी हामीसँगै पाइला मिलाइरहेकी थिइन्। बाटोभरि कहिले उकालोले सास फुलाउँथ्यो, कहिले ओरालोले घुँडामा दबाब दिन्थ्यो। तर, कुराको सिलसिला भने कुनै बेला रोकिएन।

अपरिचित अनुहारहरू बिस्तारै परिचित हुँदै गए। जङ्गलको सन्नाटा हाम्रो हाँसोले भङ्ग गरिरहेको थियो। चराको चिरबिर, हावाले पातहरू हल्लाएको आवाज र बीचबीचमा फुट्ने हाँसो- यात्राले आफ्नै सङ्गीत सिर्जना गरिरहेको थियो।

घना जङ्गलको बीचबाट एक जना केटा र दुई जना केटी आफ्नै सुरमा हिँडिरहेका थिए। उनीहरूको चालमा कुनै हतार थिएन, अनुहारमा कुनै चिन्ता थिएन। यात्रा गन्तव्यका लागि भन्दा पनि यात्राकै आनन्दका लागि गरिँदै थियो जस्तो लाग्थ्यो।

हामीले निहुँ खोज्यौँ– ‘कता पुग्ने योजना छ ?’

यति मात्रै भनिएको थियो। यात्रामा यस्तै सामान्य प्रश्नहरूले कहिलेकाहीँ लामो मित्रताको ढोका खोलिदिन्छन्। उनीहरू पनि सहजै मुस्कुराए। कुराकानी सुरु भयो। कसैले आफ्नो ठाउँको कथा सुनायो, कसैले पहिलो पटक यो पदयात्रा गरेको अनुभव। कसैले बाटोको कठिनाइलाई रमाइलो बनायो, कसैले आफ्नो झोलाभित्रको इमली सबैसँग बाँडिदियो।

भेटको सुरुमै सोधेको थिएँ- ‘तीन जना मात्रै ?’ मित्रताको सुरुवात नै गज्जबको उत्तरबाट भएको थियो– ‘अहिलेसम्म तीन जना मात्रै थियौँ, अब पाँच जना भयौँ।’

त्यसपछि सङ्ख्या मात्रै बढेको थिएन, यात्राको स्वाद पनि बदलिएको थियो। केही समयअघि अपरिचित रहेका अनुहार अब एउटै यात्राका सहयात्री बनिसकेका थियौँ। जङ्गल उही, बाटो उही, उकालो पनि उस्तै थियो, तर मान्छे थपिएपछि यात्रा हलुका भयो। सायद यात्रालाई सजिलो बनाउने बाटो होइन, बाटोमा भेटिने मानिसहरू हुन्।

नाम सोध्नुअघि नै हाँसो साटिएको थियो। घर कहाँ हो भन्नेभन्दा पहिले यात्राको थकाइ बाँडिएको थियो। जीवनमा धेरै सम्बन्धहरू औपचारिक परिचयबाट सुरु हुन्छन्, तर यात्रामा भने सम्बन्धहरू साझा पाइला, साझा पसिना र साझा दृश्यबाट जन्मिन्छन्।

०००

निर्णय हुनुभन्दा पाँच मिनेट अगाडिसम्म पनि आजको दिनबारे कुनै योजना थिएन। शनिबार भनेपछि अलि ढिलो उठ्ने, समाचारका शीर्षकहरू हेर्ने, अधुरा लेखहरू पूरा गर्ने कि दिनभरि केही नगरी आलस्यसँग सम्झौता गर्ने- यस्तै सामान्य सोच थियो। यो शनिबार पनि त्यही लयमा बित्नेछ भन्ने लागेको थियो।

तर, जीवनका सबैभन्दा रमाइला यात्राहरू प्रायः योजनाको कापीमा लेखिएका हुँदैनन्। ती त अचानक बज्ने एउटा फोन, कसैले सहजै सोधेको एउटा प्रश्न, वा मनले एक्कासि गरेको एउटा निर्णयबाट सुरु हुन्छन्।

बिहानै ह्वाट्सएपमा सुरेन्द्रको फोन आयो। फोन उठाउनासाथ कुनै भूमिका बाँधेन। उसको पहिलो वाक्य नै थियो- ‘सुन्दरीजल जाने हो ?’

प्रश्न यति छोटो थियो कि जवाफ भने त्यति सजिलो थिएन। मनको एउटा कुनाले भनिरहेको थियो- ‘आज घरमै बस्। धेरै दिनपछि फुर्सद मिलेको छ।’ अर्को कुनाले भने झ्यालबाहिरको खुला आकाशतिर हेर्दै फुसफुसाइरहेको थियो- ‘यस्तै मौसम फेरि कहिले आउला र ?’

मैले भनेँ– ‘हुन्छ, जाऔँ।’ उताबाट पनि छोटो जवाफ आयो- ‘ल, तयार भएर निस्क।’

त्यतिबेला लाग्यो, कतिपय निर्णयहरू लामो छलफलले होइन, मनले दिएको पहिलो सङ्केतले नै सही दिशा देखाइरहेको हुन्छ। यदि त्यो फोन पाँच मिनेट ढिलो आएको भए, वा मैले ‘अर्को पटक जाऔँला’ भनेको भए, सायद त्यो दिन पनि अरू धेरै शनिबारजस्तै घरका चार भित्ताभित्रै बित्ने थियो।

छोटो तयारीपछि हामी सुन्धारामा भेट्यौँ। काठमाडौँको व्यस्त मुटुमा रहेको त्यो ठाउँबाट हरेक दिन सयौँ मानिस आ-आफ्नो गन्तव्यतर्फ दौडिरहेका हुन्छन्। कसैलाई अफिस पुग्नु थियो, कसैलाई बजार, कसैलाई घर। हामी भने सहरको भिड छाडेर हरियाली खोज्न निस्किएका थियौँ।

हामी बिस्तारै काठमाडौँको पूर्वोत्तर दिशातिर लाग्यौँ। सहरका अग्ला भवनहरू पछाडि छुट्दै गए। सडकको दुवैतिर देखिने सिमेन्टका संरचनाहरू क्रमशः हरियालीले प्रतिस्थापन गर्न थाले। धुलो र धुवाँको गन्धलाई चिसो हावाले बिस्तारै विस्थापित गर्दै लग्यो। हामी सुन्दरीजलतर्फ अघि बढिरहेका थियौँ- नाममा जस्तै सुन्दर, पानीमा जस्तै शीतल र सहरको कोलाहलबाट केही समयका लागि टाढा पुर्याउने एउटा ठाउँतिर।

धाप ड्यामसम्म पुग्ने कुनै योजना थिएन। हाम्रो सोच त सुन्दरीजलबाट अलि माथिसम्म उक्लिने, जङ्गलको चिसो हावा सासमा भर्ने, केही समय प्रकृतिसँग बिताउने र फेरि फर्किने मात्रै थियो। गन्तव्यभन्दा पनि यात्रा नै उद्देश्य थियो। कहाँसम्म पुगिन्छ भन्नेभन्दा पनि बाटोले जहाँसम्म बोलाउँछ, त्यहीँसम्म जाने मनसाय थियो।

सुन्दरीजलको बसपार्क क्षेत्रमा पुग्दा बिहानको घामले भर्खरै पहाडका टुप्पाहरू छोइरहेको थियो। साना पसलहरू एकपछि अर्को खुलिरहेका थिए। चियाको भाँडोबाट उठिरहेको बाफ, तातो तेलमा पाकिरहेका पकौडाको सुगन्ध, सेलरोटीको मिठास र चनाको मसलेदार बास्नाले यात्राको सुरुवातमै भोक जगाइदिएको थियो।

हामीले पनि केही सेलरोटी, उसिनेको चना र बाटोमै खाइने केही हलुका खाजा किन्यौँ। पहाडतिर हिँड्दा झोलामा धेरै सामानभन्दा थोरै खाना र धेरै उत्साह बोकेको राम्रो लाग्छ। आखिर जङ्गलको बीचमा बसेर खाइने सामान्य सेलरोटीको स्वाद पनि सहरका महँगा रेस्टुरेन्टले दिन सक्दैनन्।

सुन्दरीजलको त्यो बसपार्क क्षेत्र बिहानैदेखि असाध्यै व्यस्त थियो। सुरुमा कुनै विशेष कार्यक्रम होला कि भन्ने लागेको थियो, तर केही बेरमै थाहा भयो– शनिबार पो रहेछ! काठमाडौँका लागि शनिबार भनेको सायद घरभित्र बस्ने दिनभन्दा बढी बाहिर निस्किने दिन बनिसकेको छ। त्यो भिडलाई हेर्दा लाग्थ्यो, सहरका हजारौँ मानिस एकैपटक प्रकृतिसँग भेट गर्न निस्किएका छन्।

झन् एउटा रोचक कुरा के देखियो भने, भिडको ठूलो हिस्सा नयाँ पुस्ताको थियो। अहिले धेरैले भन्ने गरेको ‘जेन-जी’ (Gen-Z) पुस्ता! कसैको काँधमा सानो ट्रेकिङ ब्याग थियो, कसैले क्यामेरा झुन्ड्याएको थियो। कोही मोबाइलको अगाडिको क्यामेरामा आफैँलाई कैद गर्न व्यस्त थिए, कोही साथीहरूको समूहसँग ठट्टा गर्दै उकालो चढिरहेका थिए। कतै ब्लुटुथ स्पिकरबाट हलुका सङ्गीत बजिरहेको थियो, कतै हाँसोको फोहोरा छुटिरहेको थियो।

काठमाडौँका लागि शनिबार भनेको सायद घरभित्र बस्ने दिनभन्दा बढी बाहिर निस्किने दिन बनिसकेको छ। त्यो भिडलाई हेर्दा लाग्थ्यो, सहरका हजारौँ मानिस एकैपटक प्रकृतिसँग भेट गर्न निस्किएका छन्।

हामीले भने त्यो भिडलाई पछाडि छाड्ने प्रयास गर्दै आफ्नै गतिमा पाइला चालिरहेका थियौँ। शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जतर्फ जाने उकालो सुरु भएसँगै दृश्य झन् रोचक बन्दै गयो। तलबाट माथितिर हेर्दा मानिसहरूको लामो लस्कर घुमाउरो बाटोमा यति सुन्दर ढङ्गले फैलिएको थियो कि टाढाबाट हेर्दा कमिलाको ताँती सरिरहेको जस्तो देखिन्थ्यो।

कसैले छिटो उक्लिन खोजिरहेको थियो। कसैले प्रत्येक मोडमा रोकिएर सास फेरिरहेको थियो। कोही बाटोको छेउमा बसेर पानी पिइरहेका थिए। कोही साथीलाई ‘अब १५ मिनेट मात्रै बाँकी छ’ भन्दै हौस्याइरहेका थिए। पहाडले सबैलाई एउटै परीक्षा लिइरहेको थियो, तर सबैले आ-आफ्नै क्षमताअनुसारको गतिमा परीक्षा दिइरहेका थिए।

अलि माथि पुगेपछि बाटो एकाएक रोकियो। अगाडि नेपाली सेनाको चेकपोस्ट थियो। शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार भएकाले सबै यात्रु त्यहीँ रोकिनुपर्थ्यो। सेनाका जवानहरू निकै व्यवस्थित रूपमा सबैलाई पालैपालो प्रवेश गराइरहेका थिए। हतार पनि थिएन, अनावश्यक कडाइ पनि थिएन। अनुशासन भने स्पष्ट देखिन्थ्यो।

सुरुमा एक सय रुपैयाँको पास लियौँ। अलि अगाडि पास र परिचयपत्र देखायौँ। चेकपोस्ट पार गरेपछि सहर औपचारिक रूपमा पछाडि छुटिसकेको थियो। अगाडि थियो- घना जङ्गल, चिसो हावा, चराको गीत र मानिसले भन्दा प्रकृतिले धेरै बोल्ने संसार। त्यो क्षणदेखि हाम्रो यात्रा केवल एउटा पदयात्रा रहेन। त्यो बिस्तारै सहरको कोलाहलबाट प्रकृतिको मौनतातर्फ, हतारबाट धैर्यतर्फ र भिडबाट आफ्नै मनसँगको संवादतर्फ रूपान्तरण हुँदै गइरहेको थियो।

बिना कुनै पूर्वयोजना धाप ड्याम नै त्यो दिनको गन्तव्य बनिसकेको थियो। सुरुमा त सुन्दरीजलबाट अलि माथिसम्म उक्लिएर फर्किने सोच थियो। तर पहाडका बाटाहरूले मानिसको योजनाभन्दा मनको कुरा धेरै सुन्छन्। एउटा मोड पार गरेपछि अर्को मोडले बोलाउँछ, अर्को उकालो चढेपछि फेरि अर्को दृश्यले रोक्छ। यही क्रममै कसैले भन्यो, ‘यतिसम्म आइसकेपछि धाप ड्याम नै पुगौँ न !’

हामीले एकअर्काको अनुहार हेर्यौँ। कसैले अस्वीकार नगरेपछि गन्तव्य त्यही क्षण तय भयो। यात्रामा यस्तै निर्णयहरू सबैभन्दा सुन्दर हुन्छन्। न कुनै विस्तृत तयारी, न समयको हिसाब। केवल पाइलाले बाटो रोज्छ र बाटोले गन्तव्य।

०००

धाप ड्याम पछिल्ला केही वर्षयता काठमाडौँ उपत्यकाको सबैभन्दा लोकप्रिय पदयात्रा गन्तव्यमध्ये एक बनेको छ। शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जभित्र गोकर्णेश्वर नगरपालिका-१ मा अवस्थित यो मानव निर्मित विशाल जलाशय अहिले केवल पानी सङ्कलन गर्ने संरचना मात्र होइन, प्रकृति, पर्यटन र पर्यावरणको अद्भुत सङ्गम बनेको छ।

यस बाँधको मूल उद्देश्य वर्षायाममा जम्मा भएको पानी सञ्चित गरेर हिउँदमा बागमती नदीको प्रवाहलाई निरन्तरता दिनु थियो। उपत्यकाको जीवनरेखा मानिने बागमती नदीमा हिउँद लागेपछि बिस्तारै जलस्तर कम हुँदै जाने समस्यालाई केही हदसम्म समाधान गर्ने सोचका साथ यो परियोजना अघि बढाइएको थियो। विकासको योजनाका रूपमा निर्माण गरिएको संरचनाले बिस्तारै अर्को परिचय पनि बनायो- पर्यटन।

आज धाप ड्याम धेरैका लागि जलाशयभन्दा बढी एउटा अनुभव बनेको छ। काठमाडौँबाट केही घण्टाको यात्रामै सहरको कोलाहल छाडेर यति फराकिलो पानीको सतह, वरिपरि हरियो जङ्गल र माथि खुला आकाश देख्न पाउनु आफैँमा एउटा विलासिताजस्तो लाग्छ।

करिब १५ हेक्टर क्षेत्रफलमा फैलिएको धाप ड्यामले वरिपरिको प्राकृतिक दृश्यलाई अझ भव्य बनाइदिएको छ। तालको किनारमा उभिएर हेर्दा पानीले आकाशलाई आफ्नै काखमा बोकेको जस्तो अनुभूति हुन्छ। मौसम सफा भएका दिनमा उत्तरतिरका हिमशृङ्खलाहरू क्षितिजमा सेता रेखाजस्तै देखा पर्छन्। कहिले गणेश हिमाल, कहिले लाङटाङ क्षेत्रका शिखरहरू बादलसँग लुकामारी खेलिरहेका हुन्छन्। मौसमले साथ दिएको दिन भने ती हिमालहरू यति स्पष्ट देखिन्छन् कि, सहरको धुवाँधुलोबाट हेर्दा सम्भव नै नलाग्ने दृश्य आँखैअगाडि उभिन्छ।

धाप ड्याम पुग्ने यात्रा पनि गन्तव्यजत्तिकै रमाइलो छ। शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज हुँदै सुन्दरीजल, मुलखर्क र हिलेभञ्ज्याङ पार गर्दै अघि बढ्नुपर्छ। प्रत्येक मोडले फरक दृश्य देखाउँछ, प्रत्येक उकालोले फरक अनुभव दिन्छ। कतै जङ्गल यति बाक्लो हुन्छ कि, घामको किरण पनि छिचोलिएर मात्र भुइँमा पुग्छ। कतै रूखका हाँगाबीचबाट देखिने उपत्यकाले केही बेर उभिएर हेर्न बाध्य बनाउँछ।

काठमाडौँबाट हेर्दा यो यात्रा टाढाको जस्तो लागे पनि दुरी त्यति धेरै छैन। चाबहिलबाट धाप ड्यामसम्म करिब ३५ किलोमिटरको दुरी पर्छ। अर्को विकल्पका रूपमा चाबहिल-साँखु–जरसिंहपौवा हुँदै पनि पुग्न सकिन्छ, जहाँ करिब ३३ किलोमिटरको यात्रा तय गर्नुपर्छ। सडकमार्गबाट पुग्नेहरूका लागि यी विकल्प सहज छन् भने पदयात्रा रुचाउनेहरूका लागि सुन्दरीजल हुँदै जाने गोरेटो अझ आकर्षक मानिन्छ।

०००

गोरेटो बाटो समात्दै हामी बिस्तारै माथि उक्लिरहेका थियौँ। जङ्गलले बिस्तारै हामीलाई आफ्नो काखभित्र समेट्दै लगिरहेको थियो। अग्ला रूखहरू, चिसो हावा, चराचुरुङ्गीको मधुर स्वर र पातहरूबीचबाट छिर्न खोजिरहेका घामका किरणहरूले यात्रालाई सुन्दर बनाइरहेका थिए। प्रकृतिले आफ्नो सौन्दर्यमा कतै कुनै कसर बाँकी राखेको थिएन।

तर, त्यो सौन्दर्यलाई बीचबीचमा केही दृश्यहरूले चिर्दै थिए। गोरेटोको छेउमा पल्टिएको प्लास्टिकको पानीको बोतल, केही पर चाउचाउको खाली खोल, इनर्जी ड्रिङ्कका क्यान, चिप्सका प्याकेट, चकलेटका र्यापर र अन्य प्लास्टिकजन्य फोहोर। हरियो वनको काखमा ती सबै यति असुहाउँदा देखिन्थे कि क्षणभरका लागि मन नै खिन्न भयो।

जङ्गल आफैँ फोहोर भएको होइन। उसले त आफ्नो काखमा हरियाली, स्वच्छ हावा र निर्मल वातावरण हुर्काएको थियो। फोहोर त हामी मानिसहरूले बोकेर ल्याएका थियौँ। प्रकृतिले हामीलाई शुद्ध अक्सिजन दियो, शीतलता दियो, शान्ति दियो। बदलामा हामीले उसैलाई प्लास्टिक, बोतल र कचरा उपहार छाडेर फर्कियौँ।

समस्या फोहोर सफा गर्ने मानिसको अभाव होइन, समस्या त फोहोर गर्ने बानी हो। हामी प्रायः भन्छौँ- ‘सफाइ गर्नुपर्छ।’ तर सायद त्योभन्दा पहिला भन्नुपर्ने वाक्य हो– ‘फोहोर गर्नै हुँदैन।’

किनभने जहाँ फोहोर हुँदैन, त्यहाँ सफाइ अभियानको आवश्यकता नै पर्दैन। एउटा खाली पानीको बोतल झोलाभित्र बोकेर तलसम्म ल्याउन कति गाह्रो होला ? एउटा चकलेटको र्यापर खल्तीमा राख्न कति ठूलो त्याग गर्नुपर्ला ? तर हामीमध्ये धेरैलाई त्यो सानो जिम्मेवारी पनि बोझ लाग्दो रहेछ।

बाटोभरि देखिने ती प्लास्टिकका टुक्राहरूले एउटा प्रश्न बारम्बार मनमा उठाइरहेका थिए– हामी वास्तवमै प्रकृतिप्रेमी हौँ कि केवल प्रकृतिसँग फोटो खिच्न मन पराउने पुस्ता ?
आजकल धेरै युवाहरू पहाड र जङ्गल पुग्छन्। सामाजिक सञ्जालमा सुन्दर तस्बिर राख्छन्। ‘Nature Lover’, ‘Mountain Therapy’, ‘Weekend Escape’ जस्ता शब्द लेख्छन्। तर यदि त्यही यात्राको अन्त्यमा प्लास्टिकको बोतल जङ्गलमै फालिन्छ भने त्यो प्रेम होइन, केवल ढोंग हो।

बाटोका धेरै ठाउँमा स्पष्ट अक्षरमा लेखिएको थियो– ‘प्लास्टिकजन्य पदार्थ निषेध।’ तर ती अक्षरहरू पाटीमै सीमित देखिन्थे। व्यवहारमा भने निषेधभन्दा बेवास्ता धेरै थियो। हामीले देखेका केही यात्रुलाई विनम्रतापूर्वक सम्झायौँ पनि। कतिले मुस्कुराएर टिपे, कतिले वास्तै गरेनन्। कतिका अनुहारमा त ‘तपाईंलाई के मतलब ?’ भन्ने भावसमेत देखिन्थ्यो। त्यो प्रयास ‘हात्तीको मुखमा जिरा’ जस्तै थियो। केही जनाको बानी बदलिँदा पनि हजारौँ मानिसको प्रवृत्ति एकैदिन बदलिने थिएन।

निकुञ्जभित्र रहेको चन्दननाथ गणका एक जना सेनाका अधिकृतसँग पनि यस विषयमा कुराकानी गर्यौँ। उनले पनि आफ्नो ठाउँबाट भइरहेको प्रयासबारे बताए, आफ्नो क्षेत्राधिकारको विषय पनि प्रस्ट्याए, यस्तै व्यावहारिक कठिनाइहरू सुनाए।

उनका कुरा पनि गलत लागेन। निकुञ्जको क्षेत्र विशाल छ, प्रत्येक यात्रुको पछि एक जना कर्मचारी खटाउन सम्भव छैन। नियम बनाउन सकिन्छ, बोर्ड राख्न सकिन्छ, जरिवाना तोक्न सकिन्छ। तर अन्ततः जङ्गल जोगाउने जिम्मेवारी जङ्गल घुम्न जाने प्रत्येक व्यक्तिको काँधमै आउँछ।

वास्तवमा सफाइ भनेको कुचो समात्ने काम मात्र होइन। सफाइ एउटा संस्कार हो, एउटा चेतना हो, एउटा सभ्य समाजको ऐना हो। हामीले घरभित्र फोहोर फाल्दैनौँ, किनकि त्यो हाम्रो घर हो। तर जङ्गललाई किन आफ्नो घर ठान्दैनौँ ? आखिर हामीले सास फेर्ने अक्सिजन त्यही जङ्गलले दिएको हो। पानीका मुहान जोगाइदिएको पनि त्यही जङ्गलले हो। चराचुरुङ्गी, वन्यजन्तु र असङ्ख्य जीवहरूको साझा घर पनि यही हो।

त्यहाँ पुग्ने अधिकांश मानिसहरू अशिक्षित थिएनन्। उनीहरू विद्यालय, कलेज र विश्वविद्यालय पढेका युवा थिए। धेरैजसोको हातमा महँगा मोबाइल थिए, आधुनिक ट्रेकिङ जुत्ता थिए, ब्रान्डेड झोला थिए। ज्ञानको कमी थिएन, साधनको कमी पनि थिएन, कमी थियो त केवल व्यवहारको।हामीले शिक्षा हासिल गरेका छौँ, तर त्यसलाई संस्कारमा रूपान्तरण गर्न अझै बाँकी रहेको देखियो। कागजमा वातावरण संरक्षणका बारेमा धेरै पढेका छौँ, तर जङ्गलको बीचमा एउटा प्लास्टिकको बोतल खल्तीमा राखेर फर्कने बानी अझै बस्न सकेको देखिएन। प्रकृतिलाई प्रेम गर्नु भनेको केवल उसको काखमा पुगेर तस्बिर खिच्नु होइन। प्रेम भनेको उसलाई जस्तो अवस्थामा भेट्यौँ, कम्तीमा त्यसभन्दा नराम्रो अवस्थामा नछाड्नु हो।

०००

यात्राको सबैभन्दा सुन्दर पक्ष गन्तव्य होइन, बाटोमा भेटिने मानिसहरू हुन्। हिमाल, जङ्गल, ताल र नदी त त्यहीँ रहिरहन्छन्, तर यात्रामा भेटिएका अनुहारहरू कहिल्यै दोहोरिँदैनन्। हरेक यात्राले नयाँ मानिससँग परिचय गराउँछ र प्रत्येक परिचयले जीवनमा एउटा सानो कथा थपिदिन्छ।

त्यो दिन पनि सयौँ मानिसहरू भेटिए। कसैसँग पाँच मिनेट मात्रै पाइला मिल्यो, नाम सोध्न नपाउँदै बाटो छुट्टियो। कसैसँग आधा घण्टा हिँड्यौँ। कुराकानी हुँदै जाँदा लाग्यो, वर्षौँदेखि चिनेजानेको मान्छे हो। कसैसँग त करिब एक घण्टासम्म एउटै गतिमा उकालो चढ्यौँ। बाटोभरि जीवनका कुरा भए, कामका कुरा भए, राजनीति, साहित्य, यात्राको रमाइलो र काठमाडौँको भागदौडका कुरा भए। त्यसपछि एउटा मोड आयो, कसैको गन्तव्य अगाडि थियो, कसैको पछाडि। मुस्कुराएर ‘फेरि भेटौँला’ भनियो। दुवैलाई थाहा थियो- सायद फेरि कहिल्यै भेट नहुन पनि सक्छ।

यात्रामा यस्तै हुन्छ। जीवनका कतिपय सम्बन्धहरू वर्षौँको चिनजानपछि पनि गहिरा बन्दैनन्, तर केही सम्बन्धहरू एक घण्टाको सहयात्रामै आत्मीय लाग्न थाल्छन्।

बाटोको एउटा उकालोमा पुग्दा एक जना दाइले हाम्रा लागि गाडी रोकिदिए। हामीले औपचारिक धन्यवाद दियौँ र गाडीमा बस्यौँ। करिब तीन किलोमिटरको त्यो यात्रा धेरै लामो थिएन। तर त्यसले सम्झायो– सहयोगको मूल्य दुरीले होइन, भावनाले नापिन्छ। अपरिचित मानिसले कुनै स्वार्थबिना दिएको त्यो सानो सहयोग यात्राको एउटा सुन्दर सम्झना बन्यो।

कुनै एक ठाउँमा अर्को दृश्यले मन छोयो। बाटोको छेउमा एक जना हजुरबा आफ्नै बारीका ताजा लोकल काँक्रा बेच्दै बस्नुभएको थियो। अनुहारमा गाउँले सरलता, आँखामा अपनत्व। हामी रोकियौँ। काँक्राको स्वाद सोध्नु पनि नपरी उहाँले एउटा काटेर हातमा थमाइदिनुभयो। ‘पहिला खानुस्, मिठो लागेपछि मात्रै लिनुस्।’

त्यो काँक्राको स्वाद केवल माटोको थिएन, त्यो गाउँको आत्मीयताको स्वाद थियो। सहरमा पैसा तिरेर पनि किन्न नसकिने मिठास थियो त्यसमा। सायद त्यसैले पहाडका यात्राहरूमा अपरिचित मानिसहरू पनि छिट्टै आफ्ना लाग्न थाल्छन्। सहरमा वर्षौँ छिमेकी भएर बस्दा पनि बोलचाल नहुने अवस्था हुन्छ। तर पहाडको एउटा उकालोमा दुई मिनेट रोकिएर पानीको बोतल साट्दा, एकअर्कालाई ‘अलि मात्रै बाँकी छ’ भन्दै हौस्याउँदा वा एउटा सेलरोटी आधा-आधा बाँडेर खाँदा मानिसहरूबीच एउटा अदृश्य सम्बन्ध गाँसिन्छ।

सायद प्रकृतिको सबैभन्दा ठूलो जादु यही हो। उसले अपरिचितलाई पनि सहयात्री बनाइदिन्छ।

धाप ड्यामबाट फर्कँदा मौसम फेरिन थालिसकेको थियो। सुन्दरीजलको बजार पुग्दा सिमसिमे पानी पर्न सुरु भयो। पसलका टिनका छानामाथि पानीका थोपा झरिरहेका थिए। सडक भिज्दै थियो, यात्रुको भिड बिस्तारै ओत खोज्दै थियो। हामीले पनि केही बेर पानी हेर्यौँ। त्यो झरीले दिनभरिको पसिना धोइरहेको जस्तो अनुभूति भयो।

काठमाडौँतिर लाग्दा पानी अझै बढ्दै गयो। चाबहिल पुग्दासम्म त पानी दर्किसकेको थियो। बिहान हामीले छाडेको सहर र बेलुकी फर्केर भेटेको सहर एउटै भए पनि अनुभूति फरक थियो। सडक उही थियो, मानिसहरू उही थिए, गाडीको भिड उस्तै थियो, तर हाम्रो मन भने केही हलुङ्गो भएको थियो। शरीर थाकेको थियो, जुत्तामा माटो लागेको थियो, काँधमा झोला अझै उस्तै भारी थियो, तर मनभित्र भने एउटा अनौठो शान्ति थियो, जुन सायद प्रकृतिले मात्रै दिन सक्छ।

आज त्यो यात्रालाई सम्झँदा सबैभन्दा पहिले धाप ड्यामको पानीको सम्झना आउँदैन। न त्यो उकालो, न त्यो जङ्गल, न त्यो बाटो। सबैभन्दा पहिले सम्झना आउँछन्- ती अनुहारहरू।

ती दाइ जसले केही किलोमिटरको लिफ्ट दिए। ती हजुरबा जसले लोकल काँक्राको मिठाससँगै आत्मीयता पनि चखाए। ती बहिनी जसले खाजा खाएको पैसा सुटुक्क गएर आफैँ तिरिन्। र, बाटोभरि पाँच मिनेट, आधा घण्टा वा एक घण्टासम्म सँगै हिँडेका ती असङ्ख्य सहयात्रीहरू।

आज ती सबै कहाँ होलान्, थाहा छैन। सायद उनीहरू पनि आफ्नो-आफ्नो जीवनको व्यस्त यात्रामा फर्किसके। कसैले अर्को पहाड उक्लँदै होला, कसैले कार्यालयको कुर्सी समातिसक्यो होला, कसैले अर्को शनिबारको योजना बनाइरहेको होला।

तर मेरा लागि उनीहरू अहिले वास्तविकभन्दा बढी स्मृति बनेका छन्। कहिलेकाहीँ लाग्छ, त्यो दिन भेटिएका सबै अनुहारहरू कुनै सपनामा देखिएका पात्रहरू थिए। बिहानको कुहिरोसँगै आए, केही घण्टा जीवनको एउटा पानामा बसे, अनि बेलुकाको वर्षासँगै बिस्तारै हराएर गए।

यात्राहरूको यही सौन्दर्य हो। कसैलाई साथ लिएर फर्कन सकिँदैन, केवल सम्झनाहरू मात्र साथ आउँछन्। र, ती सम्झनाहरू समयसँगै फिका हुँदैनन्, बरु झन् सुन्दर हुँदै जान्छन्। किनकि यात्रा सकिन्छ, तर यात्राले जन्माएका कथाहरू कहिल्यै सकिँदैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?