News Summary
Generated by OK AI. Editorially reviewed.- वैज्ञानिक अनुसन्धानका अनुसार राति ढिलो खाना खाने बानीले मोटोपना, मधुमेह, मुटुरोग, फ्याटी लिभर र निद्रासम्बन्धी गम्भीर समस्या निम्त्याउन सक्छ।
आजभोलिको व्यस्त जीवनशैलीमा समयमै खाना खानु धेरैका लागि चुनौती बनेको छ । लामो समय काम, ट्राफिक जाम, अनियमित कामको तालिका वा रातिसम्म अध्ययन गर्ने बानीका कारण धेरै मानिसले राति ८, ९ वा १० बजेपछि मात्र खाना खाने गर्छन् । यसमध्ये धेरै जना खाना खानेबित्तिकै सुत्छन् ।
तर पछिल्ला वर्षहरूमा प्रकाशित वैज्ञानिक अनुसन्धानहरूले ढिलो राति खाना खाने बानीलाई मोटोपना, मधुमेह, मुटुरोग, फ्याटी लिभर, एसिडिटी र निद्राको समस्यासँग जोडेका छन् । अनुसन्धानकर्ताहरू भन्छन् ‘के खानुहुन्छ भन्ने मात्र होइन, कहिले खानुहुन्छ भन्ने पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।’
शरीरको जैविक घडीअनुसार खानाको समय मिलाउँदा पाचन, मेटाबोलिज्म, रक्तचिनी नियन्त्रण, हर्मोनको सन्तुलन र निद्राको गुणस्तर सबैमा सकारात्मक प्रभाव पर्छ ।
हाम्रो शरीरको जैविक घडी किन यति महत्त्वपूर्ण छ ?
हाम्रो शरीरमा सर्केडियन रिदम भनिने प्राकृतिक जैविक घडी हुन्छ, जसले करिब २४ घण्टाको चक्रमा शरीरका अधिकांश कामलाई नियन्त्रण गर्छ । यही घडीले हामी कहिले भोकाउने, कहिले निद्रा लाग्ने, कहिले हर्मोन उत्पादन हुने र कहिले ऊर्जा बढी प्रयोग हुने भन्ने निर्धारण गर्छ ।
सूर्यको उज्यालोसँगै शरीर सक्रिय बन्छ । बिहानदेखि दिउँसोसम्म पाचन प्रणालीले सबैभन्दा प्रभावकारी रूपमा काम गर्छ । यस समयमा इन्सुलिन राम्रोसँग काम गर्ने भएकाले शरीरले ग्लुकोजलाई ऊर्जा बनाउन सजिलै प्रयोग गर्न सक्छ ।
तर साँझ पर्दै जाँदा मेलाटोनिन निद्रा ल्याउने हर्मोन बढ्न थाल्छ र शरीर आरामको तयारीमा लाग्छ । यही समयमा धेरै खाना खाँदा पाचन प्रणालीमा अतिरिक्त भार पर्छ ।
अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसार रातिको समयमा शरीरको मेटाबोलिज्म स्वाभाविक रूपमा सुस्त हुने भएकाले उही खाना बिहानभन्दा राति खाँदा फरक प्रभाव पर्न सक्छ ।
ढिलो राति खाना खाँदा शरीरमा के हुन्छ ?
खाना पेटमा पुगेपछि त्यसलाई पचाउन पेट, आन्द्रा, कलेजो, अग्न्याशय र विभिन्न हर्मोनले संयुक्त रूपमा काम गर्छन् । तर शरीर आरामको तयारीमा रहेको समयमा पेटमा ठूलो मात्रामा खाना पुगेपछि यो प्रक्रिया प्रभावकारी हुन सक्दैन ।
फलस्वरूप खाना लामो समयसम्म पेटमै रहन पुग्छ । पेटको एसिड माथि फर्किन सक्छ । रक्तचिनी लामो समयसम्म उच्च रहन सक्छ । अतिरिक्त क्यालोरी बोसोका रूपमा सञ्चित हुन सक्छ । साथै रातभर शरीरले आराम गर्नुपर्ने बेला पाचन प्रक्रियामा व्यस्त हुनुपर्छ ।
रातिको खाना र कलेजोको सम्बन्ध
कलेजो शरीरको सबैभन्दा सक्रिय अङ्गमध्ये एक हो । यसले पोषक तत्वको प्रशोधन, विषाक्त पदार्थ हटाउने, ग्लाइकोजन भण्डारण गर्ने, बोसोको मेटाबोलिज्म र सयौँ जैविक प्रक्रियामा भूमिका खेल्छ ।
फ्याटी लिभरको जोखिम
राति अतिरिक्त क्यालोरी सेवन गर्दा ती ऊर्जा तुरुन्तै खर्च हुँदैनन् । विशेषगरी चिल्लो, गुलियो र धेरै क्यालोरीयुक्त खाना नियमित रूपमा राति ढिलो खाँदा बोसो कलेजोमा जम्न थाल्न सक्छ । समयमै नियन्त्रण नगरिए ननअल्कोहलिक फ्याटी लिभरको जोखिम बढ्न सक्छ, जुन अहिले विश्वभर तीव्र रूपमा बढिरहेको समस्या हो ।
रक्तचिनी र इन्सुलिनमा असर
रातिको समयमा शरीरको इन्सुलिन संवेदनशीलता घट्छ भन्ने कुरा अनुसन्धानले देखाएको छ । यसको अर्थ, एउटै खाना बिहान खाँदा भन्दा राति खाँदा रक्तचिनी धेरै बढ्न सक्छ । लामो समयसम्म यस्तो अवस्था रहिरहेमा इन्सुलिन रेसिस्टेन्स, प्रि–डायबिटिज र टाइप–२ मधुमेह हुने सम्भावना बढ्न सक्छ ।
ढिलो खाना र पेटको बोसोबीचको सम्बन्ध
स्पेन, अमेरिका र बेलायतमा भएका विभिन्न अध्ययनहरूले देखाएका छन्– राति ढिलो खाना खाने मानिसमा बडी मास इडेक्स ‘बिएमआई’ र पेटको बोसो बढी हुने सम्भावना देखिएको छ । राति खाना खाएपछि अधिकांश मानिस बस्ने, टिभी हेर्ने वा सुत्ने गर्छन् । त्यसैले खाना खाएर प्राप्त ऊर्जा खर्च हुँदैन।
बढी क्यालोरी सेवन
ढिलो रातसम्म जागा बस्ने व्यक्तिमा चिप्स, चकलेट, बिस्कुट, कोल्ड ड्रिंक र मिठाई जस्ता अतिरिक्त स्न्याक्स खाने सम्भावना धेरै हुन्छ । यसलाई वैज्ञानिकहरूले लेट नाइट स्न्याक्स भन्छन् ।
ढिलो खाना र एसिडिटी
राति खाना खाएर तुरुन्तै सुत्दा पेटको एसिड माथि खानानलीमा फर्किन सक्छ । यसले छाती पोल्ने, डकार आउने, मुखमा अमिलो पानी आउने, घाँटी दुख्ने र राति खोकी लाग्ने जस्ता समस्या बढाउन सक्छ ।
यदि यस्तो अवस्था लामो समय रह्यो भने ‘ग्यास्ट्रोएसोफेजियल रिफ्लक्स डिजिज’ हुने जोखिम बढ्न सक्छ ।
निद्रामा पर्ने असर
राति अबेर खाना खाँदा शरीरले आराम गर्नुपर्ने समयमा पाचनमा ऊर्जा खर्च गरिरहेको हुन्छ । यसले निद्रा ढिलो लाग्ने, बीच–बीचमा ब्यूँझने, गहिरो निद्रा कम हुने र बिहान थकान हुने जस्ता समस्या निम्त्याउन सक्छ ।
अर्को दिन पनि ध्यान केन्द्रित गर्न कठिन हुने, स्मरणशक्ति कमजोर हुने, चिडचिडापन बढ्ने र काम गर्ने क्षमता घट्ने समेत हुन सक्छ ।
मुटुको स्वास्थ्यमा पनि असर
केही अध्ययनहरूले राति ढिलो खाना खाने बानीलाई उच्च रक्तचाप, , खराब कोलेस्टेरोल, ट्राइग्लिसेराइड बढ्ने र मेटाबोलिक सिन्ड्रोमसँग सम्बन्धित देखाएका छन् । यद्यपि यस विषयमा अझै थप अनुसन्धान भइरहेको छ ।
के राति ८ बजेपछि कहिल्यै खाना खानु हुँदैन ?
सबैको काम गर्ने समय एउटै हुँदैन । नाइट शिफ्टमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्तर्राष्ट्रिय समयअनुसार काम गर्ने व्यक्तिका लागि ढिलो खाना खानुपर्ने अवस्था आउन सक्छ । यस्तो अवस्थामा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सुत्नुभन्दा कम्तीमा २–३ घण्टा अगाडि खाना खानु हो ।
यदि ढिलो खानुपरे के खाने ?
यदि राति धेरै ढिलो भइसकेको छ भने दाल, तरकारी, सुप, ओट्स, सलाद जस्ता खानेकुरा रोज्नु राम्रो हुन्छ । यस्ता खानेकुरा सजिलै पच्छन् र पेटमा कम भार पार्छन् । राति खानबाट बच्नुपर्ने खानामा पिज्जा, बर्गर, चाउचाउ, धेरै चिल्लो मासु, तारेका परिकार, धेरै मसलेदार खाना, अत्यधिक मिठाई आदि हुन् ।
स्वस्थ डिनरका लागि वैज्ञानिक सुझाव
–डिनरलाई दिनको सबैभन्दा ठूलो भोजन नबनाउने
–सकेसम्म राति ७–८ बजाभित्र खाना खाने प्रयास गर्ने
–सुत्नुभन्दा २–३ घण्टा अगाडि खाना खाने बानी बसाल्ने
–डिनरमा प्रोटिन, फाइबर र स्वस्थ बोसो समावेश गर्ने
–खाना खाएपछि १५–२० मिनेट हल्का हिँड्ने
–राति अत्यधिक कफी, चिया, मदिरा वा चिनी धेरै भएको पेय पदार्थ नखाने
–मोबाइल वा टेलिभिजन हेर्दै खाना खाने बानी कम गर्ने, किनकि यसले आवश्यकताभन्दा बढी खाना खाने सम्भावना बढाउँछ
प्रतिक्रिया 4