News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्दा प्रयोग गरेको कालो ब्यान्ड वास्तवमा स्वास्थ्य निगरानी गर्ने \'हुप\' नामक आधुनिक स्मार्ट वेयरेबल उपकरण रहेको छ।
१५ साउन, काठमाडौं । बिहीबार प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्दा बायाँ हातमा लगाएको कालो ब्यान्डले धेरैको ध्यान तान्यो।
सामाजिक सञ्जालमा प्रतिक्रिया दिने कतिपयले तराईमा भएको घटनाको शोक जनाउन त्यो बाँधेको भनेर पनि भन्न भ्याए । कसैले कालो फेटा रुपमा हेरे ।
तर त्यो वास्तवमा स्वास्थ्य निगरानी गर्ने अत्याधुनिक स्मार्ट उपकरण (हुप–फिटबिट) थियो । यो उपकरणले प्रयोगकर्ताको शरीरका जैविक संकेत २४ सै घण्टा मापन गर्छ । यसले स्वास्थ्य, व्यायाम, निद्रा, तनाव र शरीरको पुनःस्थापना अवस्थाबारे निरन्तर जानकारी दिन्छ ।
प्रविधिको तीव्र विकाससँगै मानिसहरूले आफ्नो स्वास्थ्यको निगरानी गर्ने तरिका पनि बदलिँदै गएको छ । केही वर्षअघिसम्म रक्तचाप, मुटुको धड्कन वा स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्नुपर्ने अवस्था थियो । अहिले शरीरमा लगाइने सानो उपकरणले दिनभर शरीरबाट आउने जैविक संकेत संकलन गरेर प्रयोगकर्तालाई आफ्नै स्वास्थ्यको विस्तृत चित्र देखाउन थालेको छ । यस्ता उपकरणलाई ‘स्मार्ट वेयरेबल’ भनिन्छ ।
स्मार्ट घडी, फिटनेस ब्यान्ड तथा स्वास्थ्य ट्र्याकरमध्ये अहिले विश्वभर सबैभन्दा चर्चित उपकरणमा हुप र फिटबिट पर्छन् । यी उपकरणले स्वास्थ्यसम्बन्धी तथ्यांक मात्र संकलन गर्दैनन्, कृत्रिम बुद्धिमत्ताको सहायताले ती तथ्यांकको विश्लेषण गरेर प्रयोगकर्तालाई व्यक्तिगत स्वास्थ्य सुझावसमेत दिन्छन् । त्यसैले अहिले धेरैले यस्ता उपकरणलाई ‘डिजिटल स्वास्थ्य प्रशिक्षक’ को रूपमा पनि लिन थालेका छन् ।
हुप के हो ?
हुप स्क्रिन नभएको स्वास्थ्य तथा तन्दुरुस्ती निगरानी गर्ने स्मार्ट उपकरण हो । सामान्य स्मार्ट घडीजस्तो यसमा समय हेर्न, फोन उठाउन वा सन्देश पढ्न मिल्दैन । यसको सम्पूर्ण उद्देश्य शरीरको अवस्था बुझ्नु र प्रयोगकर्तालाई स्वस्थ जीवनशैली अपनाउन सहयोग गर्नु हो ।
यसलाई सामान्यतया नाडीमा लगाइन्छ । आवश्यक परे विशेष प्रकारका पहिरनभित्र पनि प्रयोग गर्न सकिन्छ ।
हुप अहिले विश्वका धेरै व्यवसायिक खेलाडी, ओलम्पियन, धावक, साइकल चालक, जिम प्रशिक्षकदेखि स्वास्थ्यप्रति सचेत व्यक्तिसम्मले प्रयोग गरिरहेका छन् । उनीहरूको प्रशिक्षण तालिका, आरामको समय र शारीरिक क्षमता व्यवस्थापनमा यो उपकरण प्रभावकारी सहायक बनेको छ ।
हुपले कसरी काम गर्छ ?
यसको कार्यप्रणाली मुख्य रूपमा चार चरणमा आधारित हुन्छ ।
पहिलो चरण : निरन्तर स्वास्थ्य निगरानी
हुप दिनरात शरीरमा लगाइरहने उपकरण हो । यसले २४सै घण्टा शरीरको अवस्था मापन गर्छ । प्रयोगकर्ता हिँडिरहेको, दौडिरहेको, कार्यालयमा बसेको होस् वा निदाइरहेको होस् यसले निरन्तर तथ्यांक संकलन गरिरहन्छ ।
दोस्रो चरण : जैविक संकेत संकलन
उपकरणभित्र रहेका अत्याधुनिक अप्टिकल सेन्सर, एक्सेलेरोमिटर, जाइरोस्कोप र तापक्रम सेन्सरले शरीरका विभिन्न जैविक संकेत मापन गर्छन् ।
यसले मुख्य रूपमा निम्न सूचकहरू मापन गर्छ
–मुटुको धड्कन
–मुटुको धड्कनबीचको अन्तर
–आराम अवस्थाको मुटुको धड्कन
–श्वासप्रश्वास दर
–शरीरको तापक्रम
–निद्राको अवधि र गुणस्तर
–दैनिक शारीरिक गतिविधि
–व्यायामको तीव्रता
–तनावको अवस्था
तेस्रो चरण : कृत्रिम बुद्धिमत्ताबाट विश्लेषण
संकलित तथ्यांकलाई कृत्रिम बुद्धिमत्ताले विश्लेषण गर्छ । त्यसपछि प्रयोगकर्ताको शारीरिक अवस्थाअनुसार व्यक्तिगत सुझाव दिन्छ।
जस्तै:-
–आज कति व्यायाम गर्नु उपयुक्त हुन्छ ?
–शरीरलाई आराम चाहिएको छ कि छैन ?
–आज कति समय सुत्नुपर्छ ?
–शरीर पूर्ण रूपमा पुनःस्थापित भएको छ कि छैन ?
यसले प्रयोगकर्ताको दीर्घकालीन स्वास्थ्य प्रवृत्ति पनि अध्ययन गर्दै समयसँगै अझ व्यक्तिगत सुझाव दिन थाल्छ ।
चौथो चरण : स्वस्थ जीवनशैली निर्माण
हुपको उद्देश्य केवल तथ्यांक देखाउनु होइन, व्यवहार परिवर्तन गराउनु पनि हो । यदि निद्रा अपुग भएको छ भने बढी सुत्न सुझाव दिन्छ । अत्यधिक व्यायामका कारण शरीर थाकेको देखिए आराम गर्न सिफारिस गर्छ । यो मुख्य रूपमा आराम अवस्थाको मुटुको धड्कन र निद्राको गुणस्तरका आधारमा तयार गरिन्छ ।
फिटबिट के हो ?
फिटबिट विश्वकै सबैभन्दा लोकप्रिय स्वास्थ्य निगरानी गर्ने ब्रान्डमध्ये एक हो । फिटबिटका विभिन्न मोडल उपलब्ध छन्, जसले स्मार्ट घडी र स्वास्थ्य ट्र्याकर दुवैको काम गर्छन् । हुपभन्दा फरक, फिटबिटमा समय हेर्न, सूचना प्राप्त गर्न, फोन कल व्यवस्थापन गर्नेदेखि स्वास्थ्य निगरानीसम्मका सुविधा हुन्छन् ।
फिटबिटले के–के गर्छ ?
यसले दैनिक स्वास्थ्य र गतिविधिसम्बन्धी विभिन्न सूचक मापन गर्छ ।
–दैनिक पाइला
–क्यालोरी खर्च
–मुटुको धड्कन
–निद्राको गुणस्तर
–रक्तमा अक्सिजन तनावको स्तर
–ईसीजी (केही मोडलमा)
कतिपय मोडलले मुटुको धड्कन असामान्य देखिए प्रयोगकर्तालाई तुरुन्त सूचना पनि दिन सक्छन् ।
यी उपकरणले कसरी शरीरको निगरानी गर्छन् ?
हुप र फिटबिट दुवैमा अत्याधुनिक अप्टिकल सेन्सर हुन्छन् ।
हरियो वा इन्फ्रारेड प्रकाश छालाभित्र पठाइन्छ । रगतको प्रवाहसँगै फर्किने प्रकाशको मात्रा परिवर्तन हुन्छ । यही परिवर्तनको विश्लेषण गरेर मुटुको धड्कन, रक्त प्रवाह, अक्सिजनको मात्रा तथा अन्य जैविक संकेतको अनुमान गरिन्छ ।
त्यसैगरी एक्सेलेरोमिटर र जाइरोस्कोपले शरीरको चाल, हिँडाइ, दौड, निद्रा र गतिविधि पहिचान गर्छन् भने तापक्रम सेन्सरले शरीरको तापक्रममा आएको परिवर्तन मापन गर्छ ।
स्वास्थ्यमा के फाइदा ?
यस्ता स्मार्ट वेयरेबल उपकरणका धेरै सम्भावित फाइदा छन्।
–राम्रो निद्रा विकास गर्न सहयोग
–नियमित व्यायाम गर्ने बानी बसाल्ने
–तौल नियन्त्रणमा सहयोग
–मुटुको धड्कनको निरन्तर निगरानी
–तनाव व्यवस्थापन
–अत्यधिक थकानको समयमै पहिचान
–शरीरको पुनःस्थापना अवस्था बुझ्न सहयोग
–दीर्घकालीन स्वास्थ्य प्रवृत्ति विश्लेषण
कतिपय अवस्थामा शरीरमा संक्रमण वा स्वास्थ्य समस्या सुरु हुनुअघि नै मुटुको धड्कन, तापक्रम वा श्वासप्रश्वासमा आएको परिवर्तनले चेतावनीसमेत दिन सक्छ ।
त्यसैले यिनले दिएको जानकारीलाई स्वास्थ्यप्रति सचेत बनाउने साधनका रूपमा लिनुपर्छ । कुनै असामान्य लक्षण देखिएमा चिकित्सकसँग परामर्श गर्नु आवश्यक हुन्छ ।
प्रतिक्रिया 4