+
नेपाली क्रिकेट :

ओडीआई क्रिकेटमा बढ्दै दबाब, अबको बाटो कस्तो ?

२०८३ साउन  १६ गते २१:०३ २०८३ साउन १६ गते २१:०३

नेदरल्यान्ड्स भ्रमणले नेपालको सबैभन्दा ठूलो कमजोरी फेरि उजागर गरेको छ- विदेशी कन्डिसनमा प्रतिस्पर्धात्मक क्रिकेट खेल्न नसक्नु ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा नेपाल लगातार चार खेलमा पराजित भएको छ ।
  • विदेशी कन्डिसनमा नेपाली ब्याटरहरूको कमजोर प्रदर्शन र खराब फिल्डिङका कारण टोलीले शृङ्खलामा हार व्यहोर्नुपरेको हो ।
  • अब नेपालको मुख्य लक्ष्य ओमान र क्यानडाविरुद्धको अन्तिम शृङ्खलामा जित हासिल गरी ओडीआई मान्यता जोगाउने रहेको छ ।

१६ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत भर्खरै सकिएको नेदरल्यान्ड्स भ्रमण नेपाली क्रिकेट टोलीका लागि निराशाजनक रह्यो ।

नामिबिया र घरेलु टोली नेदरल्यान्ड्ससँग लगातार चार खेल गुमाएपछि नेपाल शीर्ष चारमा पुग्ने दौडबाट लगभग बाहिरिएको छ । अब टोलीको सम्पूर्ण ध्यान ओडीआई मान्यता जोगाउने लक्ष्यमा केन्द्रित भएको छ ।

अब लिग २ का कुल ४ शृङंखला मात्र बाँकी छन् । तीमध्ये एक शृङ्खलामा नेपालले अक्टोबरमा ओमान र क्यानडाविरुद्ध चार खेल खेल्न बाँकी छ ।

त्यही शृङ्खलाले नेपालको आगामी चार वर्षको ओडीआई भविष्य निर्धारण गर्नेछ ।

तर नेदरल्यान्ड्स भ्रमणले नेपालको सबैभन्दा ठूलो कमजोरी फेरि उजागर गरेको छ- विदेशी कन्डिसनमा प्रतिस्पर्धात्मक क्रिकेट खेल्न नसक्नु ।

विदेशी कन्डिशनमा फेरि उही समस्या

नेदरल्यान्ड्स भ्रमणमा नेपालले ब्याटिङदेखि फिल्डिङसम्म अपेक्षित प्रदर्शन गर्न सकेन । स्वीङ, सीम र अतिरिक्त बाउन्स भएको विकेटमा नेपाली ब्याटरहरू सहज देखिएनन् । विशेषगरी शर्ट बलविरुद्ध उनीहरू बारम्बार संघर्षरत देखिए ।

विगतमा पनि बाहिरी कन्डिशनमा अपेक्षित प्रदर्शन गर्न नसकेको नेपालले धेरै खेल हारेको छ । आएका जितहरू पनि अधिकांश घरेलु मैदानमा छन् ।

लिग २ मा हालसम्म खेलेका ३२ खेलमध्ये नेपालले ११ खेल मात्र जित्दा १९ खेलमा पराजित भएको छ । तीमध्ये ७ जित घरेलु मैदानमा आएका छन् भने ४ जित घरबाहिर आएका छन् । घरेलु मैदानमा खेलेका १२ खेलमध्ये ७ खेल जितेको नेपालले घरबाहिर खेलेका २० खेलमा ४ जित निकाल्दा १४ खेलमा पराजित भयो ।

यी तथ्याङ्कबाट नेपाल घरबाहिर खेल्न संघर्ष गरिरहेको देखाउँछ ।

टोलीका कप्तान रोहित पौडेलले हारको कारण विदेशी कन्डिसनलाई मात्र बनाउन नमिल्ने बताउँछन् ।

‘कन्डिसन एउटा फ्याक्टर हो । तर त्यसलाई मात्र एक्सक्युज बनाउन मिल्दैन । जुन हिसाबले हामीले ब्याटिङ गर्‍यौं र हाम्रो अप्रोच थियो, त्यसमा इन्टेन्ट नै देखिएन’ उनले भने ।

रोहितका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने टोलीले जुनसुकै कन्डिसन स्वीकार गरेर त्यसअनुसार आफूलाई ढाल्न सक्नुपर्छ ।

‘इन्टरनेसनल क्रिकेट खेलिरहँदा सबै कुरा एसेप्ट गरेर खेल्नुपर्छ। अपोजिसन पनि त्यही विकेटमा खेलिरहेको हुन्छ। हामी त्यसमा पछाडि पर्‍यौं’ उनले भनेका छन् ।

ब्याटिङ र फिल्डिङमा दोहोरो चिन्ता

चार खेलमध्ये दुई खेलमा नेपाल १५७ रनमै अलआउट भएको थियो । पहिलो खेलमा कप्तान रोहित पौडेलले ३१ तथा दीपेन्द्रसिंह ऐरीले ३० रन बनाए पनि अन्य ब्याटरले साथ दिन सकेनन् । दोस्रो खेलमा आरिफ शेखले ९० बलमा ४१ रन र गुल्शन झाले २९ रन बनाए पनि त्यो प्रतिस्पर्धात्मक योगफल बनाउन पर्याप्त भएन ।

तेस्रो र चौथो खेलमा नेपालले टस जितेर बलिङ रोजेको भएपनि लक्ष्य पछ्याउन नसकेर हार्‍यो । तेस्रो खेलमा नेपाल जितको नजिक पुगेर ३ रनले पराजित भयो । यसले गेम फिनिस गर्न पनि चुनौती रहेको प्रष्ट पारेको छ ।

ओपनिङ जोडीले पनि अपेक्षाअनुसार सुरुआत दिलाउन सकेका थिएनन् । कुशल भुर्तेल, आसिफ शेख र इशान पाण्डे लगातार सानो स्कोरमा आउट हुँदा मध्यक्रममाथि दबाब बढ्यो । व्यक्तिगत अर्धशतक कुनै पनि नेपाली ब्याटरहरूबाट बन्न सकेन ।

भर्खरै सम्पन्न शृङ्खलामा नेपालका लागि व्यक्तिगत उच्च स्कोर ४५ रहेको थियो । आसिफ शेखले तेस्रो खेलमा नामिबिया विरुद्ध ४५ रन बनाएका थिए । सोही खेलमा कप्तान रोहित पौडेलले ४१ रन बनाएका थिए भने त्यसअघि नेदरल्यान्ड्ससँगको खेलमा आरिफ शेखले ४१ रन बनाएका थिए ।

नेपाली ब्याटरहरू कोही सेट हुनै नसक्ने, कोही सेट भएर लामो इनिङ खेल्न नसक्ने, कोही डट बलको दबाब झेल्न नसकेर अनावश्यक शट खेलेर आउट हुने समस्या देखिएका थिए ।

रोहितले डट बलको दबाब र रन बनाउने मानसिकताको अभावले नेपाललाई पछाडि धकेलेको बताए । ‘ब्याटिङमा इन्टेन्ट देखिएन । साना–साना मोमेन्ट क्याप्चर गर्न सकेनौं । पहिलो खेलमै थोरै रन थप्न सकेको भए त्यो विकेटमा २१०–२२० रन निकै कठिन लक्ष्य बन्न सक्थ्यो’ उनले भने ।

ब्याटिङसँगै फिल्डिङ पनि नेपालको कमजोर पक्ष बन्यो । केही महत्त्वपूर्ण क्याच छुटे भने त्यसको फाइदा विपक्षी टोलीले उठायो ।

‘बलिङ युनिटको हिसाबले हामी डिसेन्ट थियौं । तर फिल्डिङ हाम्रो स्तरको भएन । एउटा खेलमा दुई–तीनवटा मुख्य क्याच छुट्यो भने त्यही ब्याटरले ७०–८० रन बनाएर म्यान अफ द म्याच लिन्छ । फिल्डिङले पनि खेल जिताउँछ र हराउँछ’ रोहितले बताए ।

ओडीआई मान्यता जोगाउने दबाब

लगातार चार हारले नेपालको शीर्ष चारमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ । अब टोलीको मुख्य लक्ष्य ओडीआई मान्यता जोगाउनु हुनेछ ।

नेपालले अब खेल्न बाँकी ४ मध्ये १ मात्र खेल हारेपनि शीर्ष ४ को सम्भावना स्वत: सकिनेछ । अथवा ओमानले खेल्न बाँकी ८ खेलमध्ये १ मात्र जितेमा पनि नेपालको सम्भावना सकिनेछ ।

हाल लिग २ अंकतालिकामा ३२ खेलमा २४ अंक जोडेर छैटौं स्थानमा रहेको नेपालभन्दा तल क्यानडा २८ खेलमा समान २४ अंकका साथ बसिरहेको छ । क्यानडाले पनि नेपाललाई उछिनेर अगाडि गएमा नेपाल सातौंमा झर्नेछ ।

लिग २ को सातौं र आठौं स्थानमा रहेमा ओडीआई मान्यता नै जोखिममा पर्नेछ । लिग २ मा शीर्ष ६ मा पर्ने टोलीको ओडीआई स्टाटस स्वत: जोगिँदा उनीहरूसहित सातौं र आठौं टोली विश्वकप छनोट प्लेअफमा खेल्नेछन् ।

प्लेअफमा ती चार टोलीसँगै च्यालेन्ज लिगबाट आएका चार टोली प्रतिस्पर्धा गर्नेछन् । उक्त प्लेअफमा शीर्ष ४ मा पर्ने टोली एकदिवसीय विश्वकपको छनोटमा प्रवेश गर्नेछन् । यस्तै च्यालेन्ज लिगबाट आएका टोलीभन्दा माथि फिनिस गर्न सके ओडीआई मान्यता सुरक्षित हुनेछ ।

नेपाल यो घुमाउरो बाटोभन्दा पनि सोझै जारी लिग २ को शीर्ष ६ मा परेर ओडीआई मान्यता जोगाउने लक्ष्यमा हुनेछ । यसो भएमा प्लेअफ लिगमा पनि केही दबाब कम हुनेछ ।

कप्तान रोहित पौडेलले चार हारपछि अंकतालिकामा ठूलो असर पारेको र अबको लक्ष्य ‌ओडीआई मान्यता जोगाउने रहेको बताएका छन् ।

‘दुई खेल जितेको भए हामी पाँचौं स्थानमा पुग्न सक्थ्यौं । तर अब अन्तिम शृङ्खला मात्रै बाँकी छ । त्यहाँ राम्रो नतिजा निकालेर ओडीआई स्टाटस जोगाउन सक्यौं भने त्यो नेपाल क्रिकेटका लागि ठूलो उपलब्धि हुनेछ’ उनले भनेका छन् ।

नेपालले अक्टोबरमा ओमान र क्यानडासँग दुई–दुई खेल खेल्नेछ । ती चार खेलको नतिजाले नेपाल लिग–२ को अन्तिम वरीयतामा कहाँ रहने भन्ने मात्र होइन, ओडीआई मान्यता जोगिने–नजोगिने समीकरण पनि निर्धारण गर्नेछ ।

अबको बाटो

नेदरल्यान्ड्स भ्रमणले नेपालको कमजोरी स्पष्ट देखाइदिएको छ । विदेशी कन्डिसनमा अझ राम्रो तयारी, सर्ट बलविरुद्धको अभ्यास, स्ट्राइक रोटेसन, सकारात्मक ब्याटिङ मानसिकता, फिल्डिङमा पुरानै स्तर फर्काउने र उपयुक्त टिम कम्बिनेसन बनाउने काम अब नेपाली टोलीका लागि विकल्प होइन, आवश्यकता बनेको छ ।

रोहित पनि आगामी शृङ्खलाअघि तयारी सुधार गर्नुपर्नेमा जोड दिन्छन् । ‘अझ राम्रो तयारी गर्न सकिन्थ्यो । आउने टुरहरूमा त्यसमा काम गर्नुपर्छ । शर्ट बल कसरी खेल्ने, विदेशी कन्डिसनमा कसरी एडजस्ट गर्ने र मानसिक रूपमा कसरी बलियो बन्ने भन्नेमा सुधार गर्नुपर्छ’ उनले भने ।

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवालले पनि तयारी र घरेलु संरचनामा अझ सुधार गर्नुपर्ने कुरा औंल्याउँछन् । ‘डोमेस्टिक सेटअप अझै राम्रो बनाउँदै लैजानुपर्छ, हालका लागि अब बाँकी खेलमा कसरी राम्रो गर्न सकिन्छ त्यही अनुसार सुधार त गर्नैपर्छ’ अग्रवालले भनेका छन् ।

नेदरल्यान्ड्स भ्रमण नेपाली क्रिकेटका लागि एउटा कडा चेतावनी बनेको छ। अब प्रश्न चार खेल हार्नु मात्र होइन, ती हारबाट सिकेर अक्टोबरको निर्णायक शृङ्खलाअघि आफूलाई कति बदल्न सकिन्छ भन्ने हो । किनभने त्यसपछिका चार खेलले नेपालको अर्को चार वर्षको ओडीआई यात्राको दिशा तय गर्नेछन् ।

अक्टोबरको उक्त शृङ्खलाअघि नेपालले अस्ट्रेलियामा गएर टप एन्ड (टी-२०) सिरिज खेल्ने तालिका छ । टी-२० खेलेपछि त्यस फर्म्याटबाट ओडीआईमा लय कायम बनाउन नेपालसामु अर्को चुनौती पनि रहनेछ ।

ओडीआई क्रिकेट नेपाली क्रिकेट टोली लिग २ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय