+
+
Shares

नुहाउने यी ५ बानीले ल्याउन सक्छ छालामा समस्या

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते ११:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धेरै तातो पानीले लामो समय नुहाउँदा छालाको प्राकृतिक चिल्लोपन हटेर सुरक्षा तह कमजोर भई सुक्खापन तथा रातोपनको समस्या उत्पन्न हुनसक्छ।

धेरैलाई लाग्छ, बारम्बार नुहाउँदा वा राम्ररी साबुनले शरीर सफा गर्दा छाला अझ स्वस्थ हुन्छ । तर वास्तविकता भने फरक हुनसक्छ । नुहाउने क्रममा गरिने केही सामान्य गल्तीले छालाको प्राकृतिक चिल्लोपन हटाएर यसको सुरक्षा तह कमजोर बनाउन सक्छ ।

परिणामस्वरूप छाला सुक्खा हुने, तन्किएको महसुस हुने, खस्रो देखिने र संवेदनशील बन्ने समस्या बढ्न सक्छ । त्यसैले, छालालाई स्वस्थ र कोमल राख्न सही तरिकाले नुहाउनु, उपयुक्त साबुन प्रयोग गर्नु र समयमै मोइस्चराइजर लगाउनु अत्यन्त आवश्यक हुन्छ ।

१. धेरै तातो पानीले नुहाउने

धेरैलाई तातो पानीले लामो समयसम्म नुहाउन मन पर्छ । विशेषगरी चिसो मौसममा यो अझ सामान्य बानी हो । तर यही बानीले छालाको सबैभन्दा बढी क्षति गर्न सक्छ ।

तातो पानीले छालामा रहेको प्राकृतिक तेल हटाइदिन्छ । यो तेल हराएपछि छाला सुक्खा, तन्किएको र कहिलेकाहीँ पाप्रा पर्ने अवस्था आउन सक्छ । पहिलेदेखि नै सुक्खा छाला भएकाहरूमा यो समस्या झन् बढ्न सक्छ ।

सन् २०२२ मा जनरल अफ किल्निकल मेडिसिनमा प्रकाशित अध्ययनले पनि धेरै तातोपानी र लामो समयसम्म पानीको सम्पर्कमा रहँदा छालाको सुरक्षा तह कमजोर हुने, छालाबाट पानी छिटो वाष्पीकरण हुने र रातोपन तथा सुक्खापन बढ्ने देखाएको छ ।

२. कडा साबुन र धेरै सुगन्ध भएका उत्पादन प्रयोग गर्ने

सबै साबुन छालाका लागि समान हुँदैनन् । कडा रसायनयुक्त साबुन, एन्टिब्याक्टेरियल साबुन वा धेरै सुगन्ध भएका बडीवासले छालाको सुरक्षा तहलाई कमजोर बनाउन सक्छ ।

यस्ता उत्पादन नियमित प्रयोग गर्दा छालामा जलन, सुक्खापन र एलर्जीको सम्भावना बढ्छ । विशेषगरी संवेदनशील वा सुक्खा छाला भएकाले हल्का, सुगन्धरहित र छालामैत्री क्लिन्जर प्रयोग गर्नु उपयुक्त हुन्छ ।

सन् २०२१ मा कन्टयाक डर्मटाइटिसमा प्रकाशित अनुसन्धानले सुगन्धयुक्त उत्पादनका कारण विशेषगरी महिला र संवेदनशील छाला भएकामा एलर्जीको जोखिम बढी हुने देखाएको छ ।

३. लुगा वा तौलियाले जोडले घोट्ने

कतिपय मानिस नुहाउँदा लुफा, ब्रस वा स्क्रबरले छाला जोडले घोट्छन् । नुहाइसकेपछि पनि तौलियाले छिटो सुकाउने भन्दै कडा रूपमा रगड्ने बानी हुन्छ ।

यस्तो गर्दा छालाको बाहिरी तहमा सानो चोट पुग्न सक्छ, जसले जलन, रातोपन र सुक्खापन बढाउँछ । यसको सट्टा नरम तौलियाले हल्का थिच्दै वा बिस्तारै पुछेर छाला सुकाउनु राम्रो मानिन्छ ।

जर्नल अफ वन्ड, ओस्टोमी एण्ड कन्टिनेन्स नर्सिङमा प्रकाशित अध्ययनले पनि पटक–पटक छाला घोटेर सफा गर्दा छालाको सुरक्षा तहमा क्षति पुग्ने उल्लेख गरेको छ ।

४. दिनमा धेरै पटक नुहाउने

गर्मी मौसममा पसिना धेरै आउने भएकाले कतिपय मानिस दिनमा दुईदेखि तीनपटकसम्म नुहाउँछन् । यसले केही समय ताजगीको अनुभूति गराए पनि छालाको प्राकृतिक तेल बारम्बार हटाइदिन्छ ।

यदि प्रत्येक पटक साबुन प्रयोग गरिन्छ भने छालाको चिस्यान झन् छिटो हराउन सक्छ । धेरै पटक नुहाउनै परे हल्का क्लिन्जर प्रयोग गर्नु र हरेक पटक मोइस्चराइजर लगाउनु आवश्यक हुन्छ ।

५. नुहाएपछि मोइस्चराइजर नलगाउने

नुहाइसकेपछि छालामा केही समय प्राकृतिक चिस्यान बाँकी हुन्छ । यही समयमा मोइस्चराइजर लगाएमा त्यो चिस्यान छालाभित्र लामो समयसम्म सुरक्षित रहन्छ ।

यदि नुहाएर धेरै समयपछि मात्र मोइस्चराइजर लगाइयो भने छालाको ओसिलोपन बिस्तारै हराइसकेको हुन्छ । त्यसैले, नुहाएको केही मिनेटभित्रै मोइस्चराइजर लगाउनु सबैभन्दा प्रभावकारी मानिन्छ ।

सन् २०२२ मा जर्नल अफ कस्मेटिक डर्माटोलोजीमा प्रकाशित अध्ययनले मोइस्चराइजरले छालाको चिस्यान कायम राख्न र पानीको अत्यधिक वाष्पीकरण रोक्न सहयोग गर्ने देखाएको छ ।

कसले विशेष सावधानी अपनाउनुपर्छ ?

निम्न समस्या भएका व्यक्तिले नुहाउने बानीमा अझ बढी ध्यान दिनुपर्छ–

– एक्जिमा भएका व्यक्ति

– सोरायसिस भएका व्यक्ति

– मधुमेह भएका व्यक्ति

– प्राकृतिक रूपमा सुक्खा छाला भएका

– संवेदनशील छाला भएका व्यक्ति

– वृद्धवृद्धा, जसको छालाको प्राकृतिक चिल्लोपन उमेरसँगै घट्दै जान्छ

छालालाई स्वस्थ राख्न नुहाउँदा के ध्यान दिने ?

केही सामान्य परिवर्तनले पनि छालालाई लामो समयसम्म स्वस्थ र हाइड्रेटेड राख्न मद्दत गर्न सक्छ ।

– नुहाउने समय ५–१० मिनेटभित्र सीमित राख्ने

– धेरै तातो होइन, मनतातो पानी प्रयोग गर्ने

– हल्का र सुगन्धरहित साबुन वा क्लिन्जर रोज्ने

– लुडो वा ब्रसले छाला जोडले नघोट्ने

– नरम तौलियाले बिस्तारै थिच्दै छाला सुकाउने

– नुहाएको ३–५ मिनेटभित्र मोइस्चराइजर लगाउने

– धेरै पसिना आएर पटक–पटक नुहाउनुपरे हल्का क्लिन्जर प्रयोग गर्ने

– प्रत्येक पटक नुहाएपछि मोइस्चराइजर लगाउने बानी बसाल्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?