+
+
Shares

अनशनरत नर्स रानाभाटको समर्थनमा सहकर्मीको धर्ना (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते ११:५१

१९ साउन, काठमाडौं । आमरण अनशनरत नर्स ज्योति रानाभाटको समर्थनमा मंगलबार वीर अस्पतालका नर्सहरूले धर्ना दिएका छन् । अस्पताल परिसरमा भेला भएका नर्सहरूले विभिन्न मागसहितका प्लेकार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले ‘उचित तलब हाम्रो अधिकार’, ‘बिरामीको सुरक्षा सुनिश्चित गर’, ‘हाम्रो बिपी नघटाऊ’, ‘तलब बढाऊ’, ‘नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ’ र ‘गुणस्तरीय नर्सिङ, गुणस्तरीय स्वास्थ्य’ लगायतका नाराले लेखिएका पर्चा प्रदर्शन गरेका छन् ।

उनीहरूले नर्सिङ पेशामा देखिएका समस्या समाधान गर्न सरकार र सम्बन्धित निकायलाई तत्काल पहल गर्न आग्रह गरेका छन् ।

१५ बुँदे माग राख्दै साउन १४ गतेदेखि नेपाल नर्सिङ काउन्सिल परिसरमा आमरण अनशन सुरु गरेकी रानाभाटको स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबार उनलाई वीर अस्पताल भर्ना गरिएको थियो ।

सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र रानाभाटका प्रतिनिधिबिच भएको छलफल मागको विषयमा छलफल भएको थियो । उक्त छलफलमा तयार पारिएको मस्यौदामा भने रानाभाटले अस्वीकार गरेकी थिइन् ।

ड्राफ्टमा अधिकांश माग सम्बोधनमा कार्यदल गठन गरेर समस्याको हल गर्ने उल्लेख थियो । तर, यो प्रस्ताव आफूलाई स्वीकार्य नहुने रानाभाटले बताएकी छिन् ।

रानाभाटले भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी नेपाल नर्सिङ परिषद्, गुणस्तरीय नर्सिङ शिक्षा, निष्पक्ष लाइसेन्स परीक्षा, सम्मानजनक सेवा–सुविधा तथा सुरक्षित स्वास्थ्य प्रणाली निर्माणको माग अघि सारेकी छन् ।

उनका अनुसार नर्सिङ तथा मिडवाइफ्री सेवा नेपालको स्वास्थ्य प्रणालीको मेरुदण्ड भए पनि न्यून पारिश्रमिक, असुरक्षित रोजगारी, अपर्याप्त दरबन्दी, नेतृत्वको अभाव तथा विभेदकारी कानुनी व्यवस्थाका कारण नर्सिङ पेशा गम्भीर संकटमा पुगेको छ ।

उनले अघि सारेका प्रमुख मागमा सरकारी, निजी तथा मेडिकल कलेजमा कार्यरत नर्स र मिडवाइफका लागि नेपाल सरकारको भन्दा कम नहुने न्यूनतम पारिश्रमिक र सेवा–सुविधाको कानुनी सुनिश्चितता, वैज्ञानिक मापदण्डअनुसार पर्याप्त दरबन्दी सिर्जना, नर्सिङ तथा मिडवाइफ्री सेवा ऐन तत्काल जारी, करार प्रथाको अन्त्य, समान पदोन्नति तथा नेतृत्वको अवसर, प्रमुख नर्सिङ तथा मिडवाइफ्री अधिकृतको व्यवस्था, उच्च जोखिमयुक्त विभागमा कार्यरत नर्सलाई जोखिम भत्ता, नर्सिङ अडिट प्रणालीको कार्यान्वयन, सुरक्षित कार्य वातावरण तथा सम्मानजनक मातृत्व सेवाको सुनिश्चितता समावेश छन् ।

रानाभाटले आफ्ना माग कुनै एक पेशागत समूहको सुविधा प्राप्तिका लागि मात्र नभई बिरामीको सुरक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, सुरक्षित मातृत्व तथा संविधानले प्रत्याभूत गरेको स्वास्थ्य अधिकारको प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष जोडिएको दाबी गरेकी छन् । रानाभाटको समर्थनमा देशका विभिन्न अस्पतालका नर्सहरू पनि क्रमशः ऐक्यबद्धता जनाउन थालेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?