News Summary
Generated by OK AI. Editorially reviewed.- पेरिसमा सञ्चालन भइरहेको इस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकप आजदेखि सुरु भएको छ ।
- विश्वभरका ३२ उत्कृष्ट टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालको होरा इस्पोर्ट्सले समूह बी बाट प्रतिस्पर्धा गर्नेछ ।
- कूल ३० लाख ५० हजार अमेरिकी डलर पुरस्कार राशिको यस प्रतियोगितामा विजेताले ४ लाख अमेरिकी डलर प्राप्त गर्नेछन् ।
२१ साउन, काठमाडौं । फ्रान्सको पेरिसमा भइरहेको इस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकप आजदेखि सुरु हुँदैछ ।
पब्जीको विश्वकप अगष्ट ६ देखि १६ सम्म चल्नेछ । जसमा विश्वभरबाट टनोट भएर आएका उत्कृष्ट ३२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालबाट होरा ईस्पोर्ट्सले पब्जी मोबाइल विश्वकपमा प्रतिस्पर्धा गर्नेछ । खेलाडीहरूमा सुरज लामा (नो फियर), आकाश सोताङ राई (स्काइ होरा), शितल राई (स्लीपी), युगेन लामा (माफिया) र प्रवेश गुरुङ (हैतदामी) र सुप्रिम अधिकारी (जिगल) छन् ।
होरा ईस्पोर्ट्सका मालिक सन्जन गौतम (सीआर सेभेन होरा) पनि गएका छन् । प्रवेश गुरुङ उर्फ हैतदामीले होरा ईस्पोर्ट्स मात्र नभएर समग्र नेपालको प्रतिनिधित्व गरेर खेल्ने र राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको बताएका छन् ।
गत जेठमा भएको पब्जी मोबाईल ग्लोबल ओपन (पीएमजीओ) मा १२औं भएको होरा फ्रान्समा हुने ईस्पोर्ट्स विश्वकपमा छनोट भएको हो ।
गत वर्ष साउदी अरेबियाको रियादमा भएको पब्जी मोबाइल विश्वकपमा समेत खेलेको होरा नवौँ हुँदै डेढ करोड भन्दा बढी पुरस्कार जितेको थियो ।
पब्जी मोबाइलमा यस पटक सहभागी ३२ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समुहमा १६-१६ टोली छन् । होरा इस्पोर्ट्समा समूह बी मा छ । होराले अगष्ट ७ शुक्रबारदेखि प्रतिस्पर्धा सुरु गर्नेछ ।
समूह चरणमा हरेक टिमले १२ म्याच खेल्नेछन् । दुवै समुहको शीर्ष ५ मा रहने टोली सिधै ग्रान्ड फाइनल्समा प्रवेश गर्नेछन् । यस्तै छैटौं देखि १३औंसम्म रहने टोलीले सर्भाइल स्टेजमा खेल्नेछन् । फाइनल चरणको खेल अगष्ट १४ देखि १६ सम्म हुनेछ ।
पब्जी मोबाइल विश्वकपको कूल प्राइज मनी ३० लाख ५० हजार अमेरिकी डलर रहेको छ । जसमा विजेताले ४ लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।
इस्पोर्ट्स विश्वकप २०२६ मा २४ ईस्पोर्ट्स खेलका २५ इभेन्ट समावेश छन् । जसअन्तर्गत फ्री फायरमा प्रतिस्पर्धा गरेको डीएआरएस गेमिङ २३ टिममध्ये १७औं भएर ५५०० डलर पुरस्कार जितेको छ ।

प्रतिक्रिया 4