News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिपुरेश्वरको ऐतिहासिक वैद्यगल्लीमा वैद्य परिवारले आयुर्वेदिक र एलोप्याथिक दुवै सेवा दिँदा त्यो स्थान प्रख्यात बनेको विवरण छ।
- राजवैद्य रामदासका छोरा रत्नदासले वि.सं. १९५९ मा कलकत्ताबाट डाक्टरी पास गरी नेपालको पहिलो आधुनिक चिकित्सक बनेको लेखमा उल्लेख छ।
- त्रिपुरेश्वरमा रामदासकै परिवारले खोलेको ‘धन्वन्त्रालय मेडिकल स्टोर’ नेपालकै पहिलो एलोप्याथिक औषधि पसल रहेको थियो ।
काठमाडौंको त्रिपुरेश्वर चोकबाट पूर्वतिर थापाथली चोकतर्फ लाग्दा बायाँपट्टि ऐतिहासिक ‘वैद्यचोक’ रहेको छ । आजभोलि त्यही चोकनजिकै सडक छेउमा पसल गरी बस्नेहरूलाई पनि यसको बारेमा कुनै जानकारी छैन ।
हुन त त्यो चोकसम्म पुग्ने बाटोको नाम नै वैद्यगल्ली राखिएको छ । सरकारी निकायले राखेका नाम अंकित सूचना पाटीहरू पनि खुइलिएर निकै पूराना भएका छन् । १०० वर्षअगाडि गुलजार रहने वैद्यगल्ली तथा वैद्यचोक आजभोलि बिरानो र सुनसान छ ।
वैद्य भन्नाले आयुर्वेदीय चिकित्सा विधिको ज्ञाता भन्ने बुझिन्छ । तिनै चिकित्सा पेशामा संलग्न व्यक्तिहरूको बसोबास रहेको स्थान भएकाले त्यस स्थानलाई ‘वैद्यचोक’ भनिएको देखिन्छ ।
प्रधानमन्त्री जंगबहादुर राणाको समयका प्रख्यात राजवैद्य चक्रपाणीका भाइ दण्डपाणीका सन्तानहरूले त्रिपुरेश्वरमा आएर आफ्नो पेशा गरेका थिए । वैद्य दण्डपाणीका छोरा रामदास राजवैद्य भए । तिनै राजवैद्य रामदासका जेठा छोरा रत्नदासले परम्परागत आयुर्वेदिक चिकित्सा प्रणाली छाडी पाश्चात्य एलोपेथिक पद्धति रोजे ।
कलकत्ताको कर्माइकल मेडिकल कलेजबाट वि.सं.१९५९ सालमा डाक्टरी पास गरेर नेपालको आधुनिक चिकित्साको पहिलो चिकित्सक हुने सौभाग्य रत्नदासले प्राप्त गरे । उनी चिकित्सक भएको खबर राष्ट्रिय समाचार बन्यो । वि.सं. १९५९ साउन ८ गते सोमबारको गार्खापत्रले यसबारे सम्पदकीय लेखेको देखिन्छ । त्यसमा ‘रामदास वैद्यका छोरा रत्नदास कलकत्ताको कलेजमा डाक्टरी पास भयो भन्ने सुनिन्छ । क्या खुसीको बात’ भनी सम्पादकीयमा प्रशंसा गरिएको देखिन्छ ।

तिनै रत्नदासका जेठा र माइला छोरा रघुवर र भरतराजले पनि एलोप्याथी चिकित्सामा ‘डाक्टरी’ पास गरे । यसरी सोही स्थानमा बसेका वैद्य परिवारले आयुर्वेदिक चिकित्सा र एलोप्याथिक चिकित्सा सेवा बिरामीलाई प्रदान गरेकाले सो स्थान ‘वैद्यचोक’ ले प्रख्यात बन्यो ।
त्रिपुरेश्वरमा खुलेको पहिलो आधुनिक औषधि पसल
राजवैद्य रामदासले त्रिपुरेश्वरस्थित आफ्नै घरबाट पनि वैदाङ्ग सेवा प्रदान गरे । छोरा सत्नदासले कलकत्ताबाट एलोप्याथी चिकित्सा पढेर आएपछि उनकै पहलमा त्रिपुरेश्वरमा ‘धन्वन्त्रालय मेडिकल स्टोर’ नामको औषधि पसल खोले । जसलाई ‘डिस्पेन्सरी’ पनि भन्थे । सो औषधि पसलमा सेतु नामका कम्पाउण्डरले औषधि वितरण गर्थे ।
उक्त औषधि पसलमा उपचार गर्न काठमाडौं शहर र काँठ क्षेत्र पाँगा, लुभु, गोदावरीतिरका समेत मानिसहरू आउने गर्थे । दिनमा मात्रै नभएर रातमा समेत बिरामीहरुको भीड लाग्थ्यो ।
डा.रत्नदासले एउटा बिरामीसँग केही शुल्क लिन्थे । पैसा नहुनेलाई निःशुल्क जाँच गरी औषधिसमेत निःशुल्क दिन्थे ।
त्यसबेला धेरै मानिसहरू पेटमा जुका परेर बिरामी पर्थे । रत्नदासको घरको दक्षिणपट्टि त्रिपुरेश्वरको सडकको छेउमा एकलाइनको एकतले टहरामा खोलिएको त्यो औषधि पसल नै नेपालका लागि एलोप्याथिकको पहिलो औषधि पसल थियो ।

वि.सं.२०२० सालमा त्रिपुरेश्वरको सडक विस्तार गर्दा त्यो औषधि पसल भत्काउनु परेको थियो ।
वैद्य परिवारले आयुर्वेदिक क्षेत्रबाट एलोप्याथिक चिकित्सा पद्धतिको पेशा अपनाए । तर पनि त्यो औषधि पसलको नाम दुवै चिकित्सा विधालाई मिलाएर ‘धन्वन्त्रालय मेडिकल स्टोर’ राखेको देखिन्छ ।
आज भन्दा करिब १२० वर्ष अगाडि आधुनिक चिकित्साको औषधि पसल खोली व्यवसाय सुरु गरिएको थियो त्रिपुरेश्वर क्षेत्रमा । सायद त्यसैको प्रभावले हुन सक्छ, अहिले पनि त्यस क्षेत्रमा थुप्रै चिकित्सालय छन् । औषधि तथा स्वास्थ्य उपकरण बिक्रि गर्ने थलोको रुपमा परिचित छ ।
उतिबेला ‘धन्वन्त्रालय मेडिकल स्टोर’ रहेको स्थान वरपर अहिले दर्जनौं औषधि पसल, विभिन्न अस्पताल, तथा स्वास्थ्य सामग्री बिक्री गर्ने पसल छन् ।

प्रभावशाली वैद्यचोकमा वैद्यहरू
सिम्रौनगढका राजा हरिसिंह देवले आफ्ना छोरा गोविन्द नन्दन देवलाई आयुर्वेद शास्त्र पढाइ वि.सं. १३८१ मा भक्तपुरमा बसाएका थिए । लोकको उद्धार गर्नुपर्छ भनी देव चिकित्सक बनाई उनलाई त्यहाँ राखिएको थियो भन्ने इतिहासमा भेटिन्छ । उनकै १३औँ पुस्ता सन्तान राजवैद्य रामदाश हुन् । (जयदेव वैद्य, सबैको जयहोस्, २०७९ : ९)
श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाका पालादेखि राणकालभरि प्रमुख राजवैद्य पद यही परिवारमा धेरै वर्षसम्म कायम रह्यो । भीम शमशेरबाहेक अरू सबै राणा प्रधानमन्त्रीहरूले यही परिवारका व्यक्तिलाई राजवैद्य बनाए । राणा शासनको अन्त्यपछि बीपी कोइराला प्रधानमन्त्री हुँदा पनि उहाँको निजी चिकित्सक यही परिवारका भरतराज वैद्य थिए । यही वैद्य परिवारबाट नेपालको पहिलो डाक्टर रत्नदाश भए ।
रत्नदाश चन्द्र शमशेरका निजी चिकित्सक भए । चन्द्र शमशेरका लागि औषधि उपचार गर्ने मात्रै नभएर दिनमा कति भात दिनुपर्छ भन्ने कुराको समेत डा.रत्नदासबाट सिफारिस हुन्थ्यो । यसरी राणा प्रधानमन्त्रीहरूलाई रिझाएका वैद्य परिवारलाई राणा प्रधानमन्त्रीहरूले मधेशमा प्रशस्त जमिन बिर्ता दिएका थिए ।
जंगबहादुर र चन्द्र शमशेरसँग बेलायत जान पाउनेमा पनि यही परिवारका वैद्य चक्रपाणी र उनका भाइका छोरा डा. रत्नदास रहे ।

नेपालका पहिलो कृषि इन्जिनियर हुतराज वैद्य रत्नदासका कान्छा छोरा हुन् । उनले बागमती नदी र बागमती सभ्यता संरक्षणको अभियान चलाएका थिए । यही कारण उनलाई सम्मानपूर्वक ‘बागमती बा’ भन्ने गरिन्थ्यो ।
स्वास्थ्य सेवा विभागको महानिर्देशक हुने अवसर एकै दाजुभाइ डा. रघुवर वैद्य र डा. भरतराज वैद्यले प्राप्त गरे । वीर अस्पतालको मेडिकल सुररिटेन्डेन्टदेखि टोखाको सेनेटोरियम र विराटनगर अस्पताल, पोखरा अस्पताल र नेपालगन्ज अस्पतालको नेतृत्व गर्ने अवसर उनीहरूले पाए ।, स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनबाट प्राप्त हुने अवसरहरू पनि उनीहरूले पाए ।
डा.रघुवर र डा. भरतराजले कलकत्तामा पढ्दा प्रधानमन्त्री वीर शमशेरले स्थापना गरेको गुठीबाट मासिक ७० भारु भत्ता पाउँथे ।
दुवै दाजुभाइ वि.सं. २०१७ असार ३ गते एकैदिन नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणीमा बढुवा भएका थिए (नेग ४, ३–३–२०१७) । उनीहरूका सहोदर भाइ कृषि इन्जिनियर हतराम वैद्य पनि सोही मितिमा प्रथम श्रेणीमा बढुवा भएका थिए ।
वैद्यचोकमा हुर्किएको प्रभावशाली वैद्य परिवार नेपालमा स्वास्थ्य जनशक्ति उत्पादन गर्ने सवालमा मनकारी देखिएको छ । नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नहोस् भनी डा.रघुवर वैद्यको इच्छाअनुसार मधुरा ‘रत्न छात्रवृत्ति’ स्थापना गरिएको थियो ।
वि.सं. २०५५ सालदेखि हालसम्म निरन्तर गरिब तथा जेहेन्दार एक जना विद्यार्थीलाई प्रत्येक वर्ष एमबीबीएस पढ्न छात्रवृत्ति प्रदान गर्ने गरिएको छ। डा.रघुवर नेपाल चिकित्सक संघका संस्थापक पनि हुन् ।
गुमनाम वैद्य चोक
नेपालको स्वास्थ्यको इतिहासमा विभिन्न रेकर्ड कायम गरेको वैद्य परिवार हुर्किएको वैद्यगल्ली तथा वैद्यचोक अहिले गुमनाम छ । वि.सं. २०५४ सालमा म नेपालको प्रथम इन्जिनियर हुतराम वैद्यसँग वैद्य परिवारको कम्पाउण्डमा छिरेको थिएँ । ३८ वर्षपछि त्यस कम्पाउण्डभित्र छिरेर हेर्नै मौका मिल्यो । त्यसबेलाको चमक अहिले केही पनि छैन ।

राजवैद्य रामदाशले वि.सं. १९५२ मा स्थापना गरेको वैद्यचोकस्थित मार्बलको धन्वन्तरीको प्रतिमा, मन्दिर र शिलालेख अभिभावकविहीन जस्तो देखिन्छ । त्यस जमानाको दरबारजस्ता घरहरूको कुनै रौनकता छैन । तत्काल नभत्किउन भनेर काठको टेको लगाइएको छ । चराले छाडेको गुँडजस्तै उराठलाग्दो देखिन्छ वैद्यगल्ली ।
चोकबाट बाहिर निस्किएर त्यही कम्पाउण्डसँगै जोडिएको कफी पसलका मालिकलाई सोधेँ– यहाँ वैद्यचोक कहानेर पर्छ ? उनले खासै चासो नलिइकन जवाफ दिए– थाहा छैन । यसबाटै थाहा हुन्छ त्यस्तो ऐतिहासिक स्थलको संरक्षण र प्रचारप्रसार हुन सकेको छैन भन्ने कुरा ।
आशा गरौँ नेपालको पहिलो चिकित्सक जन्माउने ‘वैद्यचोक’ को संरक्षणमा कसैले त पक्कै चासो राख्ला ।
प्रतिक्रिया 4