News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा आज असोज १० गते १२औँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदैछ, जुन २०७२ देखि असोज १० मा मनाउन थालिएको हो ।
- सन् २०२१ को राष्ट्रिय अध्ययनअनुसार नेपालमा करिब ३ लाख ३३ हजार ३४३ गर्भपतन भएको अनुमान गरिएको छ, जसमध्ये ४८ प्रतिशत मात्र सूचीकृत सेवा प्रदायकबाट भएको छ ।
- प्रतिनिधिसभामा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३ दर्ता भएको छ, र लेखले सुरक्षित सेवा, गोपनीयता र पहुँच बलियो बनाउनुपर्नेमा जोड दिएको छ ।
‘डाक्टर साब, बच्चा राख्न सक्ने अवस्था छैन । तर कसैलाई थाहा नहोस् है !’
मेरो अगाडि बसेकी युवतीको आवाजमा डर थियो । आज पनि गर्भपतन गराउने निर्णयभन्दा पनि त्यसबारे समाजले गर्ने प्रश्नको डर छ । परिवारको डर । गोपनीयता भंग हुने डर । र, सबैभन्दा ठूलो, गलत ठाउँमा पुगेर ज्यानै जोखिममा पर्ने डर अझै छँदैछ ।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रूपमा यस्ता संवाद मेरा लागि नयाँ होइनन् । वर्षौंदेखि अस्पतालको ओपीडी, आकस्मिक कक्ष र शल्यकक्षमा महिलाका यस्ता कथा सुन्दै आएको छु । कसैको गर्भ अनिच्छित हुन्छ । कसैको आर्थिक अवस्था गर्भ धान्न सक्ने हुँदैन । कसैको वैवाहिक जीवन जटिल हुन्छ । कसैको शैक्षिक तथा अन्य जिम्मेवारीले समय व्यवस्थापन गर्न नसकिने हुन्छ । त कसैको सामाजिक तथा कानुनी जटिलता हुन्छ । कतिपय अवस्थामा गर्भमा रहेको भ्रूणमा गम्भीर समस्या देखिन्छ । कारण फरक हुन्छन्, परिस्थिति फरक हुन्छन्, तर एउटा कुरा समान हुन्छ । उनीहरूलाई सुरक्षित र सम्मानजनक स्वास्थ्य सेवाको आवश्यकता हुन्छ ।
आज असोज १० गते । नेपालको १२औँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस । आज असोज १०, २०८३ हो र नेपालमा आजै राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदैछ । यो दिवस २०७२ सालदेखि असोज १० गते मनाउन थालिएको हो । अर्थात्, आज यसको १२औँ राष्ट्रिय दिवस हो । अन्तर्राष्ट्रिय रूपमा भने २८ सेप्टेम्बरमा अन्तर्राष्ट्रिय सुरक्षित गर्भपतन दिवस मनाइन्छ । त्यसैले नेपालमा आज राष्ट्रिय दिवस र दुई दिनपछि अन्तर्राष्ट्रिय दिवस पर्छ । यो दिन क्यालेन्डरमा एउटा दिवस थप्ने दिन मात्र होइन । हाम्रो स्वास्थ्य प्रणालीलाई ऐना देखाउने दिन पनि हो ।
नेपालमा गर्भपतनले कानुनी मान्यता पाएको २४ वर्ष पुगिसकेको छ । २०५९ सालमा कानुनी सुधारमार्फत निश्चित अवस्थामा गर्भपतनलाई वैधानिकता दिइएको थियो । पछि संविधान र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले सुरक्षित गर्भपतनलाई महिलाको प्रजनन स्वास्थ्य अधिकारको महत्वपूर्ण हिस्साका रूपमा स्थापित गरेको छ ।
कानुनी मान्यता पाएको २४ वर्षपछि पनि एउटा प्रश्न बाँकी छ । कानुनी अधिकार व्यवहारमा कति सुरक्षित छ ?
तीन लाखभन्दा बढी गर्भपतन
नेपालमा गर्भपतनको अवस्थाबारे गरिएको राष्ट्रिय अध्ययनअनुसार सन् २०२१ मा नेपालमा करिब ३ लाख ३३ हजार ३४३ वटा गर्भपतन भएको अनुमान गरिएको थियो । त्यसमध्ये स्वास्थ्य संस्थामा करिब १ लाख ७६ हजार २१६ गर्भपतन भएको तथ्यांक छ । अध्ययनले करिब ४८ प्रतिशत गर्भपतन मात्र सूचीकृत तथा कानुनी सेवा प्रदायकबाट भएको देखाएको थियो । यो तथ्यांकले एउटा गम्भीर प्रश्न उठाएको छ । बाँकी महिलाहरू कहाँ पुगिरहेका छन् ?
यी संख्याको पछाडि एउटा महिला छिन् । एउटा परिवार छ । एउटा निर्णय छ । र कहिलेकाहीँ जीवन र मृत्युबीचको जटिलता पनि छ । त्यसैले सुरक्षित गर्भपतनलाई केवल ‘गर्भपतन गराउने सेवा’ भनेर बुझ्नु पर्याप्त हुँदैन । यो महिलाको स्वास्थ्य, अधिकार, गोपनीयता, सम्मान र जीवनसँग जोडिएको स्वास्थ्य सेवा हो ।

कानुन छ, तर पहुँच कस्तो छ ?
नेपालमा सुरक्षित गर्भपतन सेवा विस्तार भएको छ । औषधिबाट गरिने गर्भपतनको प्रयोग बढेको छ । धेरै महिलाले पहिलेभन्दा सुरक्षित सेवा पाउन थालेका छन् । यो हाम्रो स्वास्थ्य प्रणालीको महत्वपूर्ण उपलब्धि हो । तर सेवा विस्तारसँगै गुणस्तर र पहुँचको प्रश्न अझै बाँकी छ ।
हामीले एउटा ठाउँमा सेवा उपलब्ध छ भनेर मात्र पुग्दैन । गर्भपतन सेवा खोज्ने महिला जहाँ बस्छिन्, त्यहाँबाट त्यो सेवा कति टाढा छ ? सेवा दिने स्वास्थ्यकर्मी प्रशिक्षित छन् कि छैनन् ? औषधि र आवश्यक सामग्री नियमित छन् कि छैनन् ? गोपनीयता कायम हुन्छ कि हुँदैन ? जटिलता आएमा तत्काल उपचार हुन्छ कि हुँदैन ? परिवार नियोजनका साधनसम्बन्धी परामर्श हुन्छ कि हुँदैन ? यी प्रश्नहरूको उत्तरले नै ‘कानुनी सुरक्षित गर्भपतन’ र ‘व्यवहारमा सुरक्षित गर्भपतन’बीचको दूरी निर्धारण गर्छ ।
सुरक्षित गर्भपतन भनेको औषधि मात्र होइन
आजकल औषधिबाट गरिने गर्भपतनबारे जानकारी धेरैलाई छ । मोबाइल फोन र सामाजिक सञ्जालका कारण महिलाहरूले औषधिबारे जानकारी पाउन थालेका छन् । तर इन्टरनेटमा जानकारी पाउनु र सुरक्षित चिकित्सकीय सेवा पाउनु एउटै कुरा होइन ।
कुन अवस्थामा औषधिबाट गर्भपतन उपयुक्त हुन्छ ? गर्भको अवधि कति छ ? गर्भाशयबाहिर गर्भ बसेको अवस्था तथा अन्य जटिलता त छैन ? औषधिको सही प्रयोग कसरी गर्ने ? अत्यधिक रक्तस्राव भयो भने कहाँ जाने ? अपूर्ण गर्भपतन भयो भने के गर्ने ? यी प्रश्नहरूको उत्तर र व्यवस्थापन आवश्यक हुन्छ ।
त्यसैले सुरक्षित गर्भपतन भन्नाले केवल सही औषधि होइन । सही सूचना, सही समय, प्रशिक्षित स्वास्थ्यकर्मी, गोपनीयता, सम्मान, आवश्यक पुनःजाँच र जटिलता व्यवस्थापनसहितको सम्पूर्ण सेवा हो ।
असुरक्षित बाटोको मूल्य
सुरक्षित सेवा नपाउँदा महिलाहरू कहिलेकाहीँ अनधिकृत व्यक्ति, अनधिकृत औषधि वा असुरक्षित प्रक्रियातर्फ धकेलिन सक्छन् । त्यसको परिणाम केवल गर्भपतन असफल हुनु होइन । अत्यधिक रक्तस्राव हुन सक्छ । संक्रमण हुन सक्छ । गर्भाशयमा चोट लाग्न सक्छ । अपूर्ण गर्भपतन हुन सक्छ । कहिलेकाहीँ गम्भीर जटिलता भएर अस्पतालको आकस्मिक कक्षमा पुग्नुपर्छ ।
समयमै सुरक्षित सेवा पाउन सक्ने अवस्थाबाट सुरु भएको समस्या ढिलो उपचारका कारण जटिल बन्न सक्छ । त्यसैले सुरक्षित गर्भपतनको बहसमा ‘सेवा कहाँ छ ?’ भन्दा ‘सेवा कति सुरक्षित, गुणस्तरीय र समयमै छ ?’ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ । नेपालमा सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत संस्था र सूचीकृत स्वास्थ्यकर्मी दुवै आवश्यक छन् ।
सबै महिलाको अनुभव एउटै हुँदैन
अविवाहित युवतीले गोपनीयताको चिन्ता गर्न सक्छिन् । किशोरीले परिवारले थाहा पाउला कि भनेर डराउन सक्छिन् । तर गर्भपतन सेवा अविवाहितलाई मात्र चाहिने होइन । मेरो अनुभवमा विवाहित महिलाहरूले पनि विभिन्न कारणले गर्भपतन सेवा खोज्ने गरेका छन् ।
कसैको परिवारले अर्को बच्चा धान्न नसक्ने अवस्था हुन सक्छ । कसैको स्वास्थ्यमा गर्भधारणले गम्भीर जोखिम निम्त्याउन सक्छ । आर्थिक, शैक्षिक, रोजगारी तथा स्वास्थ्यसम्बन्धी समस्या जस्ता परिस्थिति फरक हुन्छन् ।
वैज्ञानिक, कानुनी, गोप्य, सम्मानजनक र सुरक्षित सेवा दिनु नै हामी स्वास्थ्यकर्मीको जिम्मेवारी हुन्छ । हामी स्वास्थ्यकर्मीको काम महिलाको व्यक्तिगत निर्णयको न्यायाधीश बन्नु होइन । हाम्रो काम उनको स्वास्थ्यको सुरक्षा गर्नु हो ।
कानुनसँगै स्वास्थ्य प्रणाली पनि बदलिनुपर्छ
यस वर्ष नेपालमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी कानुन संशोधनको बहस पनि अगाडि आएको छ । प्रतिनिधिसभामा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३ दर्ता भएको छ । यसले गर्भपतनसम्बन्धी विद्यमान व्यवस्थालाई समयअनुकूल बनाउने बहसलाई फेरि सतहमा ल्याएको छ ।
कानुनमा परिवर्तनको बहस महत्वपूर्ण छ । तर कानुन जति नै राम्रो भए पनि स्वास्थ्य प्रणाली तयार छैन भने अधिकार व्यवहारमा पुग्दैन । त्यसैले अब हामीले केही आधारभूत प्रश्नमा ध्यान दिनुपर्छ ।
के ग्रामीण महिलाले पनि सहजै सुरक्षित सेवा पाउँछिन् ? के आवश्यक औषधि र सामग्री नियमित उपलब्ध छन् ? के पर्याप्त सूचीकृत स्वास्थ्यकर्मी छन् ? के किशोरी र अविवाहित महिलाले गोपनीयताको पूर्ण भरोसा गर्न सक्छन् ? के जटिलता आएमा तत्काल आकस्मिक उपचार र आवश्यक स्वास्थ्य संस्थामा पठाउने व्यवस्था उपलब्ध छ ? के सुरक्षित गर्भपतनसँगै परिवार नियोजनका साधनको परामर्श प्रभावकारी रूपमा जोडिएको छ ?
यी प्रश्नको उत्तर खोज्नु नै अबको वास्तविक चुनौती हो ।
रोकथाम पनि, अधिकार पनि
सुरक्षित गर्भपतनको कुरा गर्दा अर्को पक्ष पनि बिर्सनु हुँदैन । अनिच्छित गर्भधारणको रोकथाम ।
गुणस्तरीय परिवार नियोजन सेवा, आधुनिक गर्भनिरोधक साधनको सहज पहुँच र आकस्मिक गर्भनिरोधकबारे सही जानकारी आवश्यक छ । साथै किशोरकिशोरीका लागि वैज्ञानिक यौन तथा प्रजनन स्वास्थ्य शिक्षा र दम्पतीबीच खुला संवादले अनिच्छित गर्भधारण घटाउन मद्दत गर्छ ।
तर गर्भधारण भइसकेपछि सुरक्षित गर्भपतन चाहिने महिलालाई दोषी ठहराएर रोक्न खोज्नु समाधान होइन ।
रोकथाम आवश्यक छ । तर आवश्यक परे सुरक्षित सेवा पनि आवश्यक छ ।
१२औँ दिवसले हामीलाई के सम्झाओस् ?
सेप्टेम्बर २८ को अन्तर्राष्ट्रिय सुरक्षित गर्भपतन दिवसको यस वर्षको विश्वव्यापी सन्देश पनि स्वास्थ्य प्रणालीलाई बलियो बनाउनेतर्फ केन्द्रित छ । यस वर्षको सन्देशको भाव सुरक्षित गर्भपतनका लागि प्रजनन न्यायलाई अघि बढाउँदै समग्र गर्भपतन सेवाका लागि स्वास्थ्य प्रणालीलाई तत्काल बलियो बनाउनु भन्ने हो ।
अर्थात्, सुरक्षित गर्भपतनलाई केवल कानुनी अधिकारको कागजमा सीमित नराखी व्यवहारमा समयमै, पहुँचयोग्य, किफायती, गोप्य, सम्मानजनक र गुणस्तरीय सेवा बनाउनु आवश्यक छ ।
नेपालले २४ वर्षअघि कानुनी ढोका खोल्यो । अब त्यो ढोकाबाट भित्र पस्ने बाटो पनि सुरक्षित हुनुपर्छ । गर्भपतन सेवा रोज्न बाध्य भएका महिलाहरूको जीवन र अधिकार सुनिश्चित र सुरक्षित बनाउनुपर्छ ।
यसको अर्थ सुरक्षित गर्भपतनको अर्थ गर्भपतनलाई प्रोत्साहन गर्नु होइन । गर्भपतनको आवश्यकता परेको अवस्थामा महिलाको जीवन, स्वास्थ्य, गोपनीयता, सम्मान र कानुनी अधिकारको सुरक्षा गर्नु हो ।
अन्ततः सुरक्षित गर्भपतन एउटा प्रक्रिया मात्र होइन । यो सुरक्षित मातृत्वको एउटा महत्वपूर्ण पक्ष हो । र एउटा सभ्य स्वास्थ्य प्रणालीको पहिचान पनि हो ।
१२औँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवसको शुभकामना ।
प्रतिक्रिया 4