२४ वैशाख, काठमाडौं । मनमोहन मेमोरियल अन्तर प्रदेश यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश दुईले जितेको छ ।
टियु क्रिकेट मैदानमा मंगलबार (आज) भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ४ विकेटले पराजित गर्दै प्रदेश दुईले उपाधि जितेको हो । १३४ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश दुईले २६.२ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेटायो । प्रदेश दुईको जितमा रोहन विकले ३६ रनको योगदान दिए । बलिङतर्फ सुदूरपश्चिमका आशिष भट्टले तीन विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३० ओभरमा ९ विकेटको क्षतिमा १३३ रन बनाएको थियो । सुदूरपश्चिमका लागि सुवास ऐरले ४७ रन बनाए । त्यस्तै, सन्दीप बिष्टले २८ रनको योगदान दिएका थिए । बलिङतर्फ बी पटेल र निखिल सिंहले समान ३-३ विकेट लिए ।
विजेता प्रदेश दुईले दुई लाख ५० हजार नगदसहित ट्रफि हात पारेको छ । त्यस्तै, उपविजेता सुदूरपश्चिम प्रदेशले १ लाख २५ हजार पाएको छ । त्यस्तै, प्रतियोगिताको प्लेयर अफ द सिरिज सुवास ऐर घोषित भए । त्यस्तै, बेष्ट ब्याट्सम्यान आइस भट्टराई घोषित हुदा बेष्ट बलर दिपक बोहरा चुनिए ।
प्रतिक्रिया 4