१३ जेठ, काठमाडौं । बोलौं, सबै कुरामा आलोचना गरेको जस्तो हुन्छ । नबोलौं, भद्रगोलै भद्रगोल छ । सोमबार प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश ५ लाई ६ विकेटले हराएपछि पत्रकारहरुसामू उपस्थित हुँदा प्रदेश ३ का कप्तान पारस खड्का यस्तै दोधारमा देखिए ।
त्यसैले राष्ट्रिय टोलीका कप्तानसमेत रहेका पारसले बीचबीचमा बसेर प्रतिक्रिया दिए, ‘प्रतियोगिता भइसकेपछि हामीसँग अर्को उपाय भएन । तर, आगामी दिनमा यस्तो गल्ती नहोस् ।’
एउटै प्रतियोगिता कहिँ म्याट त कहिँ पिचमा भइरहेको छ । मूलपानीको तल्लो मैदान तयार नभएपछि अन्तिम क्षणमा म्याट राखेर खेलाइएको छ ।
यसले ब्याटिङमा समस्या त भएको छ नै बल पनि स्वीङ भइरहेको छ भने आउट फिल्ड पनि कमजोर छ । स्ट्याण्ड, शौचालयलगायतका अत्यावश्यक संरचना पनि तयार भएको छैन ।
तर, आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्यस्तै अवस्थामा म्याच खेलायो । क्रिकेट करियरमा म्याटमा खेलेको स्मरण गर्दै पारसले भने, ‘पछिल्लो पटक विराटनगरमा सातौं राष्ट्रिय प्रतियोगिता खेलेका थियौं । त्यसपछि अहिले खेल्दैछु ।’
क्रिकेट एशोसिएसन नै नभएको बेला भएको सबैभन्दा ठूलो एकदिवसीय प्रतियोगिता भएकाले खेलाडीहरु यो अवसर गुमाउन चाहँदैनथे । तर, मैदानको अवस्था निकै दयनीय थियो ।
नेपाली राष्ट्रिय खेलाडीहरुले म्याटमा खेल्दै नखेलेको वा खेल्न नहुने होइन । तर, एकदिवसीय मान्यता पाइसकेको अवस्थामा म्याचमा खेलाउँदा जाने सन्देश सकारात्मक पक्कै रहेन ।
मूलपानीको तल्लो मैदानमा क्रिकेट खेलान भनेर झण्डै २४ लाख खर्च गरिएको बताइएको छ । तर, त्यो भन्दा निकै कम खर्चमा मुलपानीकै माथिल्लो मैदान तयार हुने अवस्था थियो ।
राखेप नेतृत्वले दुबै मैदान खेल्न योग्य भयो भन्ने सन्देश दिन खोज्दा म्याटमा खेल्नुपर्ने अवस्था आएको छ ।
हेर्नुहोस् थप तस्वीरहरु
तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4