Comments Add Comment

नेपाली फुटबल टिम आज मलेसिया जाँदै

६ भदौ, काठमाडौं । विश्वकप छनोटको दोस्रो चरणको खेलअघि मैत्रीपूर्ण खेल खेल्न नेपाली फुटबल टिम शुक्रबार मलेसियातर्फ गएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन गरी मलेसियन क्लब जोहोर डारुल टाजिमसँगको मैत्रीपूर्ण खेल खेल्ने नेपाली टिमलाई विदाइ गरेको छ । नेपाली टिम शुक्रबार राति त्यसतर्फ प्रस्थान गर्नेछ ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र राष्ट्रिय खेलकुद परिषद (राखेप) का निमित्त सदस्यसचिव राजेश गुरुङले नेपाली टिमलाई विदाइ गरेका हुन् । विदाइ गर्दै एन्फा अध्यक्ष कर्माछिरिङले विश्वकप छनोटमा नेपाली टिमले राम्रो नतिजा ल्याउने दाबी गरे ।

उनले भने, ‘यो मैत्रीपूर्ण खेलले विश्वकप छनोटको लागि सघाउने छ । हामीले केही महिना अघि कुवेतसँग मैत्रीपूर्ण खेल खेल्यौ, चाइनिज ताइपेसँग पनि खेल्यौं । जोर्डनसँग पनि हामीले खेलेको अनुभव छ । हाम्रो लागि भनेको नयाँ प्रतिद्वन्द्वी हो, अष्ट्रेलिया । सबै खेलाडीलाई देशको इज्जतको लागि खेल्न आग्रह गर्छु ।’

यता, पहिलो पटक कप्तानीको जिम्मेवारी भने सुजल श्रेष्ठले पाएका छन् । नियमित कप्तान विराज महर्जनको फिटनेसमा समस्या देखिएपछि उनी टिममा परेनन् । उनी टिममा नपरेसँगै मैत्रीपूर्ण खेलको लागि को बन्छ नेपालको कप्तान ? भन्ने प्रश्न उठेको थियो । मुख्य प्रशिक्षक योहान कालिनले सुजललाई कप्तान बनाउने निर्णय गरेका हुन् ।

पहिलो पटक मैत्रीपूर्ण खेलका लागि कप्तानको भूमिका पाएका सुजल आफुलाई दबाब नहेको बताउँछन् । सुजलले भने, ‘मैदानमा उत्रिने हामी ११ जना नै कप्तान जस्तो लाग्छ । त्यसैले मलाई खासै दबाब छैन ।’

त्यस्तै, सुजलले विश्वकप छनोटको लागि लामो समयदेखि तयारी भइरहेको कारण नतिजा सकरात्मक आउने पनि बताए । ‘तयारी राम्रो भइरहेको छ । प्रशिक्षकले हामीलाई नयाँ तरिकाले अभ्यास गराइरहनु भएको छ । हामीलाई एउटा मैत्रीपूर्ण खेलको आवश्यक थियो । त्यसको लागि मलेसियन क्लबसँग खेल्दैछौं । यो हाम्रो लागि कमीकमजोरी सुधार गर्ने अवसर हो ।’

यता, मुख्य प्रशिक्षक योहान कालिन पनि मलेसियन क्लबसँगको मैत्रीपूर्ण खेल नेपालको लागि अवसर भएको बताउँछन् ।

प्रशिक्षक योहानले भने, ‘अभ्यास निकै राम्रो भएको छ । हाम्रो लागि यो मैत्रीपूर्ण खेल एउटा अवसर हो । यसले अझ निखार्ने मौका पाउने छौं ।’

विश्वकप छनोट अन्तर्गत दोस्रो राउण्डमा नेपाल रहेको समूह ‘बी’ मा कुबेत, जोर्डन, चाइनिज ताइपे र अष्ट्रेलिया रहेका छन् ।
नेपालले आफ्नो पहिलो अवे खेल कुबेतसँग उसैको भूमिमा भदौ १९ गते खेल्दैछ ।

नेपाली फुटबल टिम

गोलकिपर : विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ

डिफेन्डर : अनन्त तामाङ, देबेन्द्र तामाङ, सुमन अर्याल, रजिन धिमाल, अजित भण्डारी, सरोज दाहाल र दिनेश राजवंशी ।

मिडफिल्डर : सुजल श्रेष्ठ (कप्तान) अञ्जन विष्ट, सुनिल बल, हेमन गुरुङ, विशाल राई, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र रवि पासवान ।

फरवार्ड : विमल घर्तिमगर, विमल राना, अभिषेक रिजाल र नवयुग श्रेष्ठ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment