३ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पारस खड्काले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएको लिखित पत्र बुझाएपछि मात्र नयाँ निर्णय लिइने बताएको छ ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सशर्त निलम्बन फुकुवा गरेपछि आइतबार बसेको पहिलो बैठकमा कप्तानी छाड्ने पारसको निर्णयबारे कुराकानी भएको थियो । ‘राजीनामा आधिकारिक रुपमा नआएकाले कुनै निर्णय भएन’ अध्यक्ष चतुरबहादुर चन्दले भने ।
पारसले २८ असोजमा कप्तानी छाड्ने घोषणा गरेका थिए । अनौपचारिक भेटघाटहरुमा आफूहरुले राजीनामा फिर्ता लिन पारसलाई आग्रह गर्दै आएको चन्दले सुनाए ।
तर पारस निर्णय फिर्ता लिने मुडमा छैनन् । साथै क्रिकेट संघमा लिखित राजीनामा पनि दिएका छैनन् ।
पारसलाई क्रिकेट संघले नै कप्तान नियुक्त गरेको र उनले औपचारिक रुपमा जानकारी नगराएसम्म केही निर्णय गर्न नसक्ने क्यान अध्यक्ष चन्दले बताए । उनले अघि भने, ‘आधिकारिक रुपमा केही आएको छैन । के आधारमा हामीले निर्णय गर्ने ?’
क्यानको बैठकले प्राविधिक, प्रतियोगिता सञ्चालन, मिडिया समन्वय र आर्थिक समिति पनि गठन गरेको छ ।
प्राविधिक समिति संयोजकमा सन्जयराज सिह, प्रतियोगितामा प्रशान्त बिक्रम मल्ल, मिडियामा अशोकनाथ प्याकुरेल र आर्थिक समितिको संयोजकमा कोषाध्यक्ष रोशनकुमार सिंह छन् ।
बैठकमा मैदान सञ्चालन गर्न दिन राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई आग्रह समेत गरेको छ ।
यस्तै विधानअनुसार रोक्का भएको खाता सञ्चालनका लागि पनि राखेपलाई आग्रह गरेको छ ।
प्रतिक्रिया 4