+
+

प्रविधि जगतमा कोरोनाको गम्भीर असर, रद्द भयो मोबाइल वर्ल्ड कंग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ७ गते ११:२२

प्रविधि उद्योगको सबैभन्दा ठूलो वार्षिक मेला मानिने मोबाइल वर्ल्ड कंग्रेस यो वर्ष नहुने भएको छ ।

कोरोना भाइरसको संक्रमणको त्रासका बीच विश्वका दर्जनौं प्रविधि कम्पनीहरूले सहभागिता नजनाउने भएसँगै स्पेनको बार्सिलोनामा हुने मोबाइल वर्ल्ड कंग्रेस यस वर्ष रद्द गरिएको हो ।

बार्सिलोनामात्र नभई आयोजक राष्ट्र स्पेनभर नै सुरक्षित तथा स्वस्थ वातावरण हुँदाहुँदै पनि कोरोना भाइरस संक्रमणको विषयमा विश्वव्यापी चासोका साथै यात्रालगायतका अन्य परिस्थितिका कारण यो वर्षको मोबाइल वर्ल्ड कंग्रेसको कार्यक्रम आयोजना गर्न सम्भव नभएको आयोजक तथा मोबाइल अपरेटर पैरवी समूह जीएसएमएले जनाएको छ ।
यो वर्षको मोबाइल वर्ल्ड कंग्रेस आगामी फेब्रुअरी २४ देखि २७ सम्म आयोजना हुने कार्यतालिका थियो ।

मोबाइल वर्ल्ड कंग्रेसमा विश्वका २४ सयभन्दा धेरै कम्पनीका १ लाखभन्दा धेरै प्रतिनिधि सहभागी हुने तय भएको थियो । साथै मेलामा करिब ६ हजारको संख्यामा चीनबाट प्रविधि क्षेत्रका सहभागीहरु आउने कार्यक्रम थियो ।

यो मेलामा प्रविधि क्षेत्रका दिग्गज कम्पनीहरुले आफ्ना नयाँ प्रडक्टहरु सार्वजनिक गर्दै आएका छन् ।

यद्यपि, बुधबारसम्म आइपुग्दा विश्वका कैयन् दिग्गज कम्पनीहरुले यो मेलामा सहभागी हुन नसक्ने जानकारी गराएसँगै आयोजकले कार्यक्रम रद्द गरेको हो । अमेजन, इरिक्सन, फेसबुक, सोनी, इन्टेल, सिस्को, नोकिया तथा एलजीलगायतका कम्पनीहरुले मोबाइल वर्ल्ड कंग्रेसमा सहभागी हुन नसक्ने जानकारी गराएका थिए ।

एक विज्ञप्तिमा अमेजनले भनेको छ, ‘नोवेल कोरोना भाइरसको संक्रमण फैलिएको तथा यसप्रति बढ्दो चिन्ताका कारण अमेजनले योपटकको मोबाइल वर्ल्ड कंग्रेसमा सहभागिताबाट हात झिकेको छ ।’ यसअघि उक्त मेलामा अमेजनको क्लाउड वेब सर्भिसले फाइभ जी कनेक्टिभिटी, आर्टिफिसियल इन्टेलिजेन्सलगायतका दर्जन बढी सत्रहरु आयोजना गर्ने कार्यक्रम थियो ।

योपटकको मोबाइल वर्ल्ड कंग्रेस रद्द हुनु ठूलो निरासाको विषय रहेको विश्लेषकहरुले जनाएका छन् । कोरोना भाइरसले विश्वको अर्थतन्त्रलाई कसरी असर पुर्‍याउँदैछ भन्ने कुराको पछिल्लो उदाहरण मोबाइल वर्ल्ड कंग्रेस रद्द हुनु पनि रहेको विश्लेषकहरुको भनाइ छ ।

स्मरणरहोस् यसअघि कोरोना भाइरसकै कारण अप्रिल १९ मा सांघाईमा हुने फर्मुला वान कार दौडका साथै मार्चमा हङकङमा हुने विश्व कला प्रदर्शनीसमेत रद्द भइसकेका छन् ।

कोरोना भाइरसका कारण चीनमा उत्पन्न प्रतिकूल परिस्थितिले विश्वको प्रविधि उद्योगहरुमा ठूलो नकारात्मक असर पुगिरहेको छ । विश्वका कैयन् दिग्गज कम्पनीका उत्पादन कारखानाहरु चीनमै रहेका कारण भाइरसको मार प्रविधि कम्पनीहरुलाई परेको हो । प्रविधि कम्पनीका यी उत्पादन कारखानाहरु उच्च तालिमप्राप्त जनशक्ति तथा निकै महत्त्वपूर्ण पूर्वाधारका कारण तत्कालै सजिलैसँग चीनबाट अन्त्यत्र सार्नसमेत सम्भव छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?