+

त्यो १५८ रनले मेरो जीवन नै परिवर्तन भयो : ब्रेण्डन म्याकुलम

२०७७ वैशाख  ६ गते ११:२१ २०७७ वैशाख ६ गते ११:२१
त्यो १५८ रनले मेरो जीवन नै परिवर्तन भयो : ब्रेण्डन म्याकुलम

६ वैशाख काठमाडौं । आजभन्दा ठिक १२ वर्षअघि अर्थात् सन् २००८ को अप्रिल १८ मा भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु भएको थियो ।

त्यसपछि आईपीएल शैलीमा विश्वमा अन्य धेरै टी-२० लिगहरू हुन थाले । तर, आईपीएलजत्तिको चर्चित हुन सकेको छैन ।

१२ वर्षअघि आइपीएल सुरु हुँदा पहिलो खेल कोलकता नाइट राइडर्स र रोएल च्यालेन्जर्स बैङ्गलोरबीच भएको थियो । कोलकताको कप्तान सौरभ गांगुली र बैङ्गलोरका कप्तान राहुल द्रविड थिए ।

आईपीएल इतिहासकै पहिलो खेल स्वभाविक रुपमा सम्झना हुने नै भयो । तर, अर्को एक कारणले पनि यो खेल अझ चर्चित र विशेष बनेको छ । त्यो हो कोलकताबाट खेलेका ब्रेण्डन म्याकुलमले बनाएको अविजित एक सय ५८ रन ।

पहिलो खेलमे म्याकुलमले विष्फोटक व्याटिङ गरे । उनले ७३ बल खेल्दै १३ छक्का र १० चौकाको मद्दतमा अविजित एक सय ५८ रन बनाए । पछि क्रिस गेलले एकै खेलमा अविजित एक सय ७५ रन बनाएपछि मात्र म्याकुलम दोस्रोमा झरे ।

उक्त खेल कोलकताले १४० रनले जितेको थियो । कोलकताले पहिले ब्याटिङ गर्दै तीन विकेट गुमाएर दुई सय २२ रन बनाएको थियो । जवाफमा बैङ्गलोर १५.१ ओभरमा मात्र ८२ रनमा अलआउट भयो । बैङ्गलोरमा नवौं नम्बरका ब्याट्सम्यान प्रविन कुमारले अविजित १८ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन छुन सकेनन् ।

उक्त इनिङ्स र खेलपछि सौरभ गांगुलीले भनेको कुरा म्याकुलमले अझै सम्झिरहेका छन् । गांगुलीले त्यो खेलपछि म्याकुलमको जीवन नै परिवर्तन भएको उनलाई बताएका थिए । ‘मलाई धेरै कुराहरू पूरा याद त छैन तर गांगुलीले त्यो रात के भने भन्ने याद छ’ यस सिजनको आईपीएलका लागि कोलकताको मुख्य प्रशिक्षक बनिसकेका म्याकुलमले भने ।

‘दादाले भन्नुभयो, ‘तिम्रो जीवन सधैँको लागि परिवर्तन भएको छ’, र उहाँले के भन्न खोजेको मलाई राम्रोसँग थाहा थिएन । तर, म त्यसमा शतप्रतिशत सहमत थिएँ । त्यसपछि साहरुख खानले दिन, हप्ता, महिना जति फलो गरे अनि भने तिमी सधैँ नाइट राइडर्ससँग हुनेछौँ’  म्याकुलमले आईपीएलको १२ वर्ष पूरा हुनु अघिल्लो दिन केके आरडट कमसँगको कुराकानीमा त्यस घटना सम्झिए ।

म्याकुलमले कोलकता छाडेपछि कोची टस्कर्स केरला, चेन्नई सुपर किंग्स, गुजरात लायन्स अनि बैंगलोरबाट समेत खेले । तर कोलकताले दिएको अवसरलाई उनले बिर्सेका छैनन् ।

‘कुनै समय थियो म कोलकतासँग थिएँ त्यसपछि म रिलिज भएँ । तर, हामीले राम्रोसँग छाडेका थियौँ । फ्रेन्चाइजले मलाई प्रदान गरेको अवसरमा म धेरै आभारी छु । फेरि मुख्य प्रशिक्षकको रुपमा अवसर आएको छ । मलाई लाग्छ यो अर्को अवसर हो’ ३८ वर्षका म्याकुलमले भने । उनले न्युजिल्याण्ड टोलीका लागि १०१ टेस्ट, दुई सय ६० ओडीआई र ७१ टी २० आई खेलेका छन् ।

म्याकुलमले आईपीएलको पहिलो खेल सुरु हुनुअघि केही नर्भस भएको समेत बताए । ‘मेरो क्रिकेट करियरमै म त्यति धेरै नर्भस भएको थिइनँ । तर, त्यो समयमा भएँ । म धेरै नर्भस भएको थिएँ । मेरो विचारमा हामी कसैलाई थाहा थिएन यो कस्तो टुर्नामेन्ट हुँदैछ । हामी सबैले यसलाई मन पराएका थियौँ । तर, सारा विश्वको आँखा त्यो रात बैङ्ग‍लोरमै केन्द्रित थियो’ उनले भनेका छन् ।

उनले त्यो माहोलमा सहभागी हुने अवसर पाउँदा आनन्द लागेको बताए । ‘तपाईं करियरमा विभिन्न क्षणहरुको कुरा गर्नुहुन्छ । त्यो रात मेरो जीवन त्यो तीन घण्टामा पूरा परिवर्तन भयो’ म्याकुलमले भने ।

उनले अगाडि भनेका छन्, ‘यसले मेरो परिवारको जीवन सधैँका लागि परिवर्तन गरिदियो । म धेरै भाग्यमानी अनुभव गरिरहेको छु । त्यो रात मैले जे गरेँ मलाई लाग्दैन म त्यो उपलब्धिको लायक थिएँ । मेरो टिममेटविना मैले त्यो गर्न सम्भव थिएन । यो एउटा अनौठो क्षण थियो जब तपाईं पछाडि फर्कनुहुन्छ र भन्नुहुन्छ ‘कति भाग्यमानी म ?’

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय