३२ जेठ, काठमाडौं । बोरुसिया मोन्चेनग्लाडबाकलाई पराजित गर्दै लिग लिडर बायर्न म्युनिखले जर्मन बुण्डेसलिगाको उपाधि यात्रालाई सहज बनाएको छ । शनिवार भएको खेलमा बायर्नले चौथो स्थानको मोन्चेनग्लाडबाकलाई २-१ ले पराजित गरेको हो ।
खेलमा रोचक के रह्यो भने तीनै गोल बायर्नका खेलाडीले गरे । मोन्चेनग्लाडबाकका खेलाडीले गरेको गोल भने भिएआरले मान्यता दिएन ।
बायर्नका लागि जिर्जे र लियो गोरेट्ज्काले गोल गरे । बायर्नकै बेन्जामिन पाभार्भडले एक आत्मघाती गोल गरे ।
बायर्न घरेलु मैदान एलिएन्ज एरेनामा खेलको १६औं मिनेटमा मोन्चेनग्लाडबाकका जोनास होफमानले गोल गरेका थिए । तर भिएआरले उक्त गोललाई मान्यता नदिँदा अग्रता लिने अवसर गुम्यो ।
२६औं मिनेटमा जोसुअ जिर्कजीले गोल गर्दै बायरनलाई अग्रता दिलाए । रोवर्ट लेवान्डोस्की र थोमस मुलरे लगातार पहेँलो कार्डका कारण खेल्न नपाएपछि जिर्कजेले पहिलो रोजाइमा स्थान बनाएका थिए । बायर्नकै पाभार्डले ३७औं मिनेटमा आत्मघाती गोल गर्दा पहिलो हाफको खेल १-१ को बराबरीमा सकिएको थियो ।
तर खेल सकिन ४ मिनेट बाँकी छँदा गोरेट्ज्काले निर्णायक गोल गर्दै बायर्नलाई २-१ को जित दिलाए। जितपछि ३१ खेलबाट ७३ अंक जोड्दै बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डमाथि ७ अंकको अग्रता बनाएको छ । समान खेलबाट डर्टमण्डको ६६ अंक छ ।
अब बायर्नलाई उपाधि जित्न एक जित मात्रै आवश्यक छ । लिगमा अब तीन चरणका खेल बाँकी छन् ।
प्रतिक्रिया 4