+
+
WC Series
चितवन राइनोज 2025
22/3 (5.4)
VS
पोखरा एभेन्जर्स 2025
0/0
Shares

राजनीतिक सहमतिका आधारमा सीमाकंन हेरफेर गर्ने तीनदलको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १४ गते १९:०५

Prachanda, susil koirala and kp Oli
१४ असोज, काठमाडौं । प्रमुख तीनदल राजनीतिक सहमतिका आधारमा प्रदेशहरुको सीमांकन हेरफेर गर्न सहमत भएका छन् । यसले मधेसी मोर्चासँग सहमति हुने सम्भावनालाई बढाएको छ ।

मधेसी मोर्चासँग अनौपचारिक बैठक बस्नुअघि तीन दलका शीर्षनेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकले वार्ताको वातावरण बनाउन मधेसी मोर्चाले राखेको शर्तप्रति सकारात्मक रहेको बताएको छ ।

वार्ताको वातावरण बनाउने कुरामा पोजेटिभ्ली प्रस्तुत हुने सहमति भएको छ, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अनलाइनखबरसँग भने ।

मधेसी मोर्चाले विगतमा भएको ८ र २२ बुँदे सहमति कार्यान्वयनको राजनीतिक प्रतिवद्धता माग गर्दै आएको छ । साथै उसले तराईका दंगाग्रस्त जिल्लाहरुमा खटिएका सेना फिर्ता लिनुपर्ने, आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, घाइतेको उपचार गर्नुपर्ने र पक्राउ परेका नेता कार्यकर्तालाई मुद्दा चलाउन नहुने सर्त राखेको छ ।

सरकारले सेनालाई ब्यारेकमा फर्काउने प्रक्रिया सुरु गरिसकेको छ भने मृतकका परिवारलाई १० लाख दिने र घाइतेको उपचार खर्च व्यहोर्ने निर्णय मन्त्रिपरिषदबाटै गरिसकेको छ ।

प्रमुख तीनदल मधेसी मोर्चाले उठाउँदै आएको सीमांकनसहितको मागमा पनि केही लचिलो भएर प्रस्तुत भएको छ ।

तीनदलले तत्काल संविधान संशोधन गरेर समानुपातिक समावेशी र निर्वाचन क्षेत्रसम्वन्धी विषय सम्बोधन गर्न सकिने बताएका छन् । नयाँ संविधानमा संशोधन गरेर सामाजिक न्यायको हकमा समानुपातिक समावेशी राख्ने र हालको जिल्लाको भूगोलमा एक निर्वाचन क्षेत्र नहट्ने गरी बाँकी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने तीनदलको प्रस्ताव छ ।

सीमाकंनको हकमा पनि लचिलो भएर प्रस्तुत हुने तीन दलको निर्णय छ । सात प्रदेशको सीमांकन हेरफेर गर्न यसअघि नै सहमत भइसकेका तीनदलले राजनीतिक सहमतिका आधारमा प्रदेशहरुको सीमा हेरफर गर्न सकिने प्रस्ताव मधेसी मोर्चासमक्ष राख्ने निर्णय गरेको छ ।

तीनदलको बैठकपछि एमाओवादी उपाध्यक्ष एवं वार्ता टोली सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशले भने, सीमाकंनको हकमा सीमांकन आयोगको प्रतिवेदनलाई समेत ध्यानमा राखेर राजनीतिक सहमतिका आधारमा सीमांकन गर्ने प्रस्ताव मधेसी मोर्चासमक्ष राख्ने सहमति भएको छ ।’

तीनदलको प्रस्ताव लिएर तीन सदस्य वार्ता टोली मधेसी मोर्चाका नेता एवं तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई भेट्न जाँदैछन् । भेट तमलोपाको कार्यालय बिजुली बजारमा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?