News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले चुनावमा पराजय भोग्नुमा विगतका विसंगतिको चाङ बोकेर चुनावमा जाँदा विशेष महाधिवेशनको विपक्षमा रहेको शक्तिले गरेको असहयोग प्रमुख कारण रहेको उपसभापति विश्वप्रकाश शर्माले विश्लेषण गरे।
- शर्माले कांग्रेस पराजित हुनुमा पार्टीभित्रको गुटगत समस्या, पुरानै सांगठनिक संरचना, सामाजिक सञ्जालको एल्गोरिदम, गठबन्धनको असर र नागरिक असन्तुष्टि प्रमुख कारण रहेको बताए।
- उपसभापति शर्माले सभापति गगन थापाले राजीनामा दिनु नपर्ने र पार्टीको नयाँ नेतृत्वलाई छोटो अवधिमा दिग्विजयको परिणाम खोज्नु न्यायसंगत नहुने स्पष्ट पारे।
६ चैत, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनमा पराजय भोग्नुमा विगतका विसंगतिको चाङ बोकेर चुनावमा जाँदा विशेष महाधिवेशनको विपक्षमा रहेको शक्तिले गरेको असहयोग प्रमुख कारण रहेको प्रारम्भिक विश्लेषण गरेको छ ।
निर्वाचनपछि पहिलोपटक बसेको केन्द्रीय समितिको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले चुनावी पराजयको प्रारम्भिक समीक्षा पेस गरेका छन् । कांग्रेसले अपेक्षाअनुसार परिणाम प्राप्त नगर्नुमा २७ वटा कारणसहित उपसभापति शर्माले विश्लेषण गरेका छन् ।
दुई दिनअघि सभापति पदबाट राजीनामा गरेका गगन थापा अनुपस्थित रहेका कारण उपसभापति शर्माले बैठकको अध्यक्षता गरेका थिए । पार्टी पराजित हुनुमा ‘साइलेन्स किलिङ’ र ‘स्याबोटेज’ को असर रहेको शर्माको विश्लेषण छ । कांग्रेसका उम्मेदवारलाई पराजित गर्न पार्टीकै एउटा पक्षको नाम नलिई उनले स्पष्ट संकेत गरेका छन् ।
उम्मेदवार नबनेका र बन्न नपाएका नेताहरूको गम्भीर असहयोग गरेको शर्माले आरोप लगाएका छन् । पूर्वसभापति शेरबहादुर देउवा उम्मेदवार बन्न खोजे पनि टिकट दिइएको थिएन । पूर्व संस्थापनका कतिपय नेताहरूले आफ्नै दलको उम्मेदवार पराजित गर्न भूमिका खेल्दा नतिजामा असर पुगेको विशेष महाधिवेशन पक्षधरको विश्लेषण छ ।
अर्को पक्षको असहयोगबारे शर्माको विश्लेषण छ, ‘विशेष महाधिवेशनको विपक्षमा रहनु व्यक्तिको स्वतन्त्रता थियो । तर रूख चिह्नका उम्मेदवारलाई सघाउने कुरा विशेष महाधिवेशनसँगको विमति या अन्य कुनै पनि बहानामा पन्छाउन मिल्ने कुरा थिएन । आफू पटकपटक उम्मेदवार बनेको क्षेत्रमा एक पटक अर्को साथी उम्मेदवार बन्दा विजयका लागि सघाउनु सामान्य नैतिक दायित्व थियो ।’
कतिपय नेताहरू मौन बसेर ‘साइलेन्स किलिङ’ को भूमिका खेलेको शर्माको निचोड छ । पूर्वसभापति देउवासहित नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहले अहसयोग गरेको विशेष महाधिवेशन पक्षधरको बुझाइ छ ।
कांग्रेसका उम्मेदवार पराजित गर्न भूमिका खेल्नेलाई अनुशासनको कारबाही हुनसक्ने संकेत गर्दै उपसभापति शर्मा भन्छन्, ‘कतिपयले तदर्थता अनि कतिपयले ‘स्याबोटेज’ को कर्ममा सक्रियता राख्नुभयो । पार्टीलाई यसले सामान्य असर त गर्यो नै, सबैभन्दा ठूलो असर सम्बन्धित व्यक्तिकै आगामी राजनीतिलाई पुर्याएको छ । मौनता र निष्क्रियता उपर नैतिक प्रश्न उठिरहेको छ नै, असहयोगको भूमिका अनुशासनको छानबिन दायरामा छँदैछ ।’
निर्वाचनबाट आशातित परिणाम प्राप्त नहुनुमा विशेष महाधिवेशनले पार्टीमा नवीन दृष्टिकोणसहित नयाँ नेतृत्व स्थापित गरेको सन्देश मतदाताकहाँ पुर्याउन समय अभाव पनि कारण रहेको औंल्याइएको छ । नागरिकमा रहेको लामो समयदेखिको असन्तुष्टिलाई छोटो अवधिमा विश्वासमा ल्याउन समयाभाव भएको शर्माले चुनावी समीक्षामा लेखेका छन् ।
पुरानै ढर्राको सांगठनिक संरचना पनि पराजयमा कारण रहेको विश्लेषणसहित शर्मा भन्छन्, ‘आम निर्वाचनमा होमियौं । अन्ततः हाम्रो पुरानो ढाँचाले नवीन चुनौती धान्न सकेन । हाम्रो पराजयको एक सांगठनिक कारण थियो ।’ विशेष महाधिवेशन नभएको भए चुनावमा ऊर्जाका साथ खट्ने परिस्थिति पनि नहुने हुँदा यो भन्दा खराब नतिजा बेहोर्नुपर्ने विश्लेषण शर्माको छ । विशेष महाधिवेशनले नवीन रक्तसञ्चार गरेको शर्मा दाबी गर्छन् ।
कांग्रेसले भोगेको पराजयमा वर्षौंदेखिका विसंगतिका चाङले काम गरेको उपसभापति शर्माको निचोड छ । कांग्रेस पराजित हुनुको कारण एकल व्यक्ति विशेष महाधिवेशनबाट समिति नभएको शर्माको दाबी छ ।
‘विशेष महाधिवेशन सम्पन्न भएको पाँच दिनमा उम्मेदवारी दर्ता अनि पचासौं दिनमा निर्वाचन थियो । विशेष महाधिवेशन मार्फतको परिवर्तनले पार्टीको ‘ग्रास रुट’ सम्म ऊर्जा भर्न सकियो । तर परिवर्तनको त्यो सन्देश यो छोटो अवधिमा नागरिकको मन मस्तिष्कसम्म पुर्याउन सकिएन,’ हार बेहोर्नुमा शर्माको विश्लेषण छ, ‘लामो समयदेखिको नागरिक असन्तुष्टिलाई यो छोटो अवधिमा ‘यू टर्न’ गराएर विश्वासमा बदल्न सकिएन ।’
निर्वाचन पराजयमा सबैको हिस्सेदारी रहेको उल्लेख गर्दै उपसभापति शर्माले सभापतिले पद छोड्नु आवश्यक नरहेको बताएका छन् । सभापति थापाको राजीनामा दिनु नपर्ने कारणबारे उनी भन्छन्, ‘डढेलो लागेको जंगलमा आगो निभाउन अन्तिममा पुगेको व्यक्तिलाई आगो ननिभ्दा आगलागीको दोष बोकाउनु न्यायसंगत बिल्कुलै हुँदैन ।’
‘पराजित हुनुमा श्रृङ्खवद्ध विकृति कारण रहे’
उपसभापति शर्माले कांग्रेस पराजित हुनुमा विगतका सरकार, चुनावी गठबन्धन, नियुक्तिमा राजनीतिक भागबन्डा, कांग्रेस-एमाले सरकार गठन, सामाजिक सञ्जालको एल्गोरिदम लगायतका कारण रहेको औंल्याएका छन् ।
२०७४ सालमा जनताले स्थिर सरकारको आशा गरेर तत्कालीन नेकपालाई मत दिए पनि पाँच वर्ष सरकार चालाउन नसकेसँगै नागरिकमा वितृष्णा बढ्न थालेको उपसभापति शर्माको बुझाइ छ । २०७९ सालमा कुनै दलले बहुमत प्राप्त गरेन । ठूलो दल बनेको कांग्रेसले सरकार बनाउन असफल रह्यो ।
‘नयाँ संविधान निर्माणपश्चात् २०७४ को निर्वाचनबाट बनेको करिब दुई तिहाइको सरकारलाई समुन्नतिको मार्गमा ‘नवीन डिपार्चर’ को सुनौलो अवसर थियो । नागरिकको आशालाई विश्वासमा बदलेर समुन्नतिमा फड्को मार्ने त्यो समय र त्यो सम्भावना नराम्रो दुर्घटनामा विसर्जित भयो,’ शर्मा चुनावी पराजयमा विगत स्मरण गर्दै भन्छन्, ‘पाँच वर्षे प्रधानमन्त्री र स्थिर सरकार हामीले दिन नसकेपछि आजित मतदाताले यसपटक अर्कोतर्फबाट स्थिरता भेट्न सकिन्छ कि भन्ने मन बनाए । हाम्रो पराजयको एउटा कारण यो पनि थियो ।’
प्रधानमन्त्रीमा उनै अनुहार पटकपटक दोहोरिँदा पनि नागरिकमा पुराना दलप्रति विकर्षण हुन पुगेको शर्मा बताउँछन् । २०७९ को निर्वाचनबाट सबैभन्दा ठूलो दल हुँदासमेत सरकारको नेतृत्व गर्न पनि पनि नसकेको र प्रतिपक्षमा बस्न पनि नबस्दा क्षति पुगेको शर्माको ठम्याइ छ ।
कांग्रेसको पराजयमा विगतमा चुनाव केन्द्रित गठबन्धनले पनि काम गरेको शर्माको निर्क्योल छ । संसद् र संविधान रक्षाका लागि बनेको गठबन्धन चुनाव जित्नका लागि पनि प्रयोग भएपछि त्यसले पार्टी पंक्तिमा गम्भीर असन्तुष्टि बिजारोपण गर्दा हार बेहोर्नु परेको शर्माले चुनावी समीक्षामा उल्लेख गरेका छन् ।
नागरिकमा बढेको असन्तुष्टि स्थानीय तहको चुनावमा काठमाडौं, धरान र धनगढी हुँदै गत निर्वाचन र भदौ २३-२४ को जेनजी विद्रोहमा देखिएको भए पनि पार्टीले समयमै त्यसलाई सम्बोधन गर्न नसकेको शर्माको विश्लेषण छ ।
उनी भन्छन्, ‘जेनजी विद्रोहमा असन्तुष्टिको ज्वाला विस्फोट भएपछि पनि हामीले ‘आपतकालीन स्थिति’ ठहर गर्दै पार्टी भित्र परिवर्तनको ढोका खोलेनौं । करिब सवा सय दिन आन्तरिक बहसमा खेर फाल्यौं ।’
कांग्रेस र एमालेको सरकार हुँदा प्रतिपक्षी स्वर कमजोर हुँदा नागरिकहरू आफ्ना गुनासा, विमति, असन्तुष्टि व्यक्त गर्न सडक पुग्ने अवस्था बनेको शर्माले चुनावी समीक्षामा लेखेका छन् । ‘संसद् बाहिरको स्वर सामाजिक सञ्जालमार्फत थप बलियो बन्न सुरु भयो । त्यो स्वरले जेनजी विद्रोहमा प्रमुख भूमिका निभायो, अनि त्यही स्वर फागुन २१ गते हामी विरुद्धको मतमा रुपान्तरण हुन पुग्यो,’ शर्मा भन्छन् ।
निर्वाचन पराजयमा विगतमा कांग्रेसले गरेका सुधारका कार्यहरूको प्रभावकारी प्रभाव गर्नबाट चुक्नु पनि कारण रहेको शर्माले बैठकमा पेस गरेको प्रतिवेदनमा भनिएको छ । पार्टीमा विचारभन्दा व्यक्तिलाई केन्द्रमा राख्दा गुटगत समस्या भएको र त्यसले चुनावी हानि पुर्याएको शर्माको निर्क्योल छ ।
राज्यका अंगहरूमा अति राजनीतीकरणले नागरिकमा वितृष्णा बढ्दा निर्वाचनमा पराजय भोग्न कारण थपिएको शर्माले उल्लेख गरेका छन् । ‘गठबन्धनका सरकारहरू बन्न थालेपछि ‘मेरिटोक्रेसी’ भन्दा सोझै भागबन्डामा त्यस्ता संस्थाहरू पीडित बन्न पुगे । विश्वविद्यालयको नेतृत्व, राजदुत नियुक्ति र कयौं संवैधानिक नियुक्तिमा भागबन्डा, कयौं सामाजिक संघसंस्थाहरू राजनीतीकरणबाट प्रभावित भए,’ विकृत पद्धतिबारे शर्मा भन्छन् ।
राज्य सञ्चालन गर्ने व्यक्तिको ‘ग्रेसफुल एक्जिट’ नहुने, भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापित हुन नसक्दा निर्वाचनको परिणाम प्रतिकूल आएको शर्माको बुझाइ छ ।
‘३५ वर्षमा केही भएन भन्ने भाष्य स्थापित गरियो’
निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विगत ३५ वर्षमा नागरिकका पक्षमा पुराना दलले केही पनि नगरेको भाष्य जबरजस्ती स्थापित गर्दा पराजय हुनु अर्को कारण रहेको शर्माले लेखेका छन् । रास्वपाले बनाएको भाष्यबारे शर्मा भन्छन्, ‘३५ वर्षमा देशमा केही नभएको भाष्यसँगै यी सबै वर्षहरूमा कांग्रेस नै लगातार शासनमा थियो कि भने जस्तो गरी जबर्जस्त ढंगले नागरिक पंक्तिमा सम्प्रेषण गरियो, जसलाई चिर्न हामीले सकेनौं ।’
विगतमा कांग्रेसले गरेका कार्य नागरिकलाई बुझाउन नसक्दा पनि पराजय भोग्नु परेको शर्माको बुझाइ छ । कांग्रेसको नेतृत्वमा सशस्त्र द्वन्द्वको अन्त्य, लोकतान्त्रिक प्रणाली पुनर्स्थापित, संविधान निर्माण लगायतका कार्यलाई नागरिकलाई बुझाउन नसकिएको शर्मा बताउँछन् ।
‘कांग्रेसकै नेतृत्वमा देशले नयाँ संविधान र नयाँ बाटो पायो । अनेकन जातीय, भेगीय र धार्मिक द्वन्द्व हुने अवस्थामा मुलुक पुग्दै थियो । कांग्रेसले नै संयम र परिपक्वता साथ देशलाई सद्भाव र सहिष्णुतामा डोर्यायो,’ शर्मा भन्छन्, ‘अनेकन प्रतिकूलताबीच निश्चय नै देशले अपेक्षित प्रगति हासिल गर्न सकेन तर यी सबका बाबजुद आज मुलुकमा जे-जति आर्थिक र भौतिक विकास भएको छ, त्यो कि त कांग्रेसको नेतृत्वमा भएको छ, कि कांग्रेसको नीतिबमोजिम भएको छ ।’
‘लोकप्रियतावाद’ को लहर समयमा बुझ्न नसक्नु पराजय भोग्नुको अर्को कारण शर्माले औंल्याएका छन् । पुराना सबै खराब र हामी आएपछि सब ठिक हुन्छ भन्ने भाष्यले पुराना सबैलाई खलनायकका रूपमा चित्रण गरिएको शर्मा बताउँछन् । सामाजिक सञ्जालको एल्गोरिदमको कैदबाट मुक्त गर्न कांग्रेस चुकेका कारण पराजय भोग्नु परेको थप कारण शर्माले लेखेका छन् ।
कुनै एउटा दलले चुनाव जितेको अवस्थामा कामका लागि विदेशिनु नपर्ने प्रचारले समेत कांग्रेस पराजित हुनुमा भूमिका खेलेको शर्माको ठम्याइ छ । ‘अमुक दलले चुनाव जिते बाहिर जानु पर्दैन भन्ने प्रचारित मनोविज्ञानले तिनको पीडा र परिवारलाई भावनात्मक आवेग साथ छोयो,’ चुनावी समीक्षामा शर्मा लेख्छन् ।
विशेष महाधिवेशनबाट आएको नेतृत्व पराजयको कारण नभएको दाबीसहित पार्टीको कमान्ड सभापति गगन थापाले छोड्न नहुने पक्षमा शर्मा देखिएका छन् । सभापतिले राजीनामा दिनु नपर्ने कारणबारे शर्मा भन्छन्, ‘विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व आएको पचास दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत र व्यक्तिप्रति न्याय हुन्न, अनि प्रतिकूलता चिरेर पार्टीलाई अनुकूलतामा पुर्याउने कमान्ड छोडेर सभापतिले पदत्याग गर्नु संगठनप्रति न्याय हुन्न ।’
प्रतिक्रिया 4