६ चैत, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने सदस्यहरूले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकार गर्ने पक्षमा धारणा राखिरहेको बताएका छन् । शुक्रबार दिउँसोबाट सुरु भएको केन्द्रीय समिति बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता चालिसेले यस्तो बताएका हुन् ।
‘पार्टी सभापतिको राजीनामा पार्टी बैठकमा विधिवत् रूपमा आएको छ । त्यसमाथि साथीहरूले धारणा राख्ने क्रम चलिरहेको छ,’ चालिसेले भने, ‘उहाँले नैतिकताको कुरा उठाए पनि यो परिस्थिति सम्हालिने, जिम्मेवारी लिने र पार्टी पुनर्निर्माण गर्ने हो भनेर बहुसंख्यक साथीहरूले राजीनामा अस्वीकृत गर्नुपर्छ भनिरहेका छन् ।’
अहिलेको निर्वाचन नतिजा सभापति थापाको कमजोरीसँग जोडिएर नआएको पनि उनले दाबी गरे । ‘निर्वाचनको परिणाम व्यक्तिसँग जोडिएको थिएन । लामो समयदेखिको थियो । ५० दिनको समय मात्रै सम्हाल्ने मौका पाएका हौँ । ५० दिनको मेहनत पर्याप्त थिएन । त्यसैले यो परिणाम आएको हो,’ चालिसेले भने ।
प्रतिक्रिया 4