News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आफूलाई गगन थापाको ससुरा भनेर हुने टिप्पणीप्रति आपत्ति जनाएका छन्।
- केसीले २०१८ साल वैशाख ७ गतेबाट जेलजीवन सुरु गरेको र आफ्नो छुट्टै पहिचान रहेको बताए।
- उनले सभापति गगन थापाले पेश गरेको राजीनामाबारे केही नबोल्ने स्पष्ट पारेका छन्।
६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित समानुपातिक सांसद अर्जुननरसिंह केसीले आफूलाई गगन थापाको ससुरा भनेर हुने गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले २०१८ सालबाटै आफूले जेलजीवन सुरु गरेको र आफ्नो छुट्टै पहिचान रहेको दाबी गरे ।
सो क्रममा उनले सञ्चारकर्मीप्रति आक्रोश पनि व्यक्त गरे ।
‘म गगन थापाको ससुरा भएर अर्जुननरसिंह केसी भएको हो ?,’ आक्रोश मिश्रण गर्दै केसीले भनेका छन्, ‘तपाईंहरू मध्ये कतिले नै लेख्नुहुन्छ, लौ ससुरालाई बनाउन लाग्यो भनेर ।’
उनले आफ्नो राजनीतिक जीवनबारे थप व्याख्या गर्दै भने, ‘मैले जुन यात्रा र संघर्ष गरेर आएँ, २०१८ साल वैशाख ७ गतेबाट जेलजीवन यात्रा सुरु गरेर साढे ६ ७ वर्ष जेल बसेँ । गगनजी आफ्नो व्यक्तित्वले उदय हुनुभएको छ भने म मेरो आफ्नै क्षमताले ।’
साथै, उनले सभापति गगन थापाले उपसभापतिमार्फत पेश गरेको राजीनामाबारे केही नबोल्ने बताए ।
‘केन्द्रीय कार्यसमितिले निर्णय गर्ने कुरा अहिले मैले भनेँ भनेँ, तपाईंहरूमध्ये कोही न कोहीले गगनको ससुराले गर्न पर्दैन भन्यो भन्नुहुन्छ, त्यसकारण म भन्दिनँ,’ केसीले भनेका छन् ।
प्रतिक्रिया 4