News Summary
Generated by OK AI. Editorially reviewed.- शक्तिशाली पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यका र पश्चिम नेपालका जिल्लामा हावाहुरीसहित पानी परिरहेको छ।
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी प्रदेशमा विशेष सतर्कता अपनाउन भनेको छ।
- मौसमविद्हरूले शनिबार रातिसम्म पानी पर्ने क्रम जारी रहने र आइतबारदेखि मौसममा सुधार हुने अनुमान गरेका छन्।
६ चैत, काठमाडौं । शक्तिशाली पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा समेत पानी परिरहेको छ ।
यसको प्रभावले पश्चिम नेपालका जिल्लाहरुसँगै गण्डकी र बागमतीमा हावाहुरीसँगै पानी परिरहेको छ । र, यो प्रणाली क्रमश: पूर्व सरिरहेको छ ।
यसको प्रभाव क्षेत्रमा दिउँसै अन्धकार भएको थियो । दाङ, रुपन्देही, काठमाडौं उपत्यका सहितका जिल्लामा दिउँसै अन्धकार भएकाले सवारी चालकहरु बत्ती बालेर हिंड्नुपरेको थियो । काम विशेषले बाहिर रहेकाहरुको दैनिकी पनि प्रभावित भएको थियो ।
भूमध्यसागरबाट अफगानिस्तान, पाकिस्तान, भारतको उत्तराखण्ड हुँदै सुदूरपश्चिमबाट यो प्रणाली नेपाल प्रवेश गरेको हो । यसको बाटो परेको पाकिस्तानबाट बढी क्षति भएको विवरणहरू आएका छन् ।
नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश प्रदेशमा अहिले हावाहुरी, मेघगर्जन चट्याङ सहित पानी परिरहेको छ । काठमाडौंका केही स्थानमा असिना पानी परेको छ ।
कोशी प्रदेशमा आजको तुलनामा भोलि शनिबारको दिन बढी प्रभाव पर्ने पूर्वानुमान गरिएको छ । त्यसैले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणले विशेष सतर्कता अपनाउन भनेको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद हरिप्रसाद दहालका अनुसार यस्तो अवस्था भोलिसम्म पनि कायम रहने सम्भावना छ । ‘आइतबारदेखि मौसममा क्रमिक सुधार हुन्छ’, उनले भने ।
मौसमका अध्येता डा. धर्मराज उप्रेतीका अनुसार अहिले मनसुन सुरु हुनु भन्दा अगाडिको समय (प्रिमनसुन) चलिरहेको छ । फागुन १७ गतेयताको प्रिमनसुन समयमा यो तेस्रो वेभ यो । यो वेभ अघिल्ला दुईवटा प्रणालीभन्दा शक्तिशाली छ ।
उनका अनुसार पानी पर्ने क्रम शनिबार रातिसम्मै जारी रहने छ । ‘बीचबीचमा केही कम भए पनि पानी पर्ने क्रम तत्काल रोकिने देखिँदैन,’ उनले भने ।
भारतको बिहारतर्फ विकसित अर्को प्रणाली उत्तरतिर सरिरहेकाले मधेश र कोशी प्रदेशमा पनि पानी पर्ने उनले बताए ।
‘अहिलेसम्मको अवस्था हेर्दा शनिबार राति वा आइतबार बिहानबाट मौसममा सुधार हुने अनुमान गर्न सकिन्छ’, उनले भने
प्रतिक्रिया 4