Comments Add Comment

बाबुराम सीमित राजनेतामध्ये एक हुन् : रामेश्वर खनाल

११ भदौ, काठमाडौं । सभापति सुशील कोइरालाबाट माला लगाएर सोमबार नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका पूर्वअर्थसचिव रामेश्वर खनालले एमाओवादी नेता डा. बाबुराम भट्टराईलाई सीमित राजनेता मध्येका एक भएको बताउनुभएको छ । नेपाली कांग्रेसमा औपचारिकरुपमा प्रवेश गरेको भोलिपल्ट खनालले अनलाइनखबरसँग कुरा गर्दै भन्नुभयो-‘राष्ट्रिय विकासको चिन्तन भएका सीमित राजनेतामध्ये बाबुराम भट्टराई एक हो ।’

Rameshwor-Khanalविगतमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकारको भूमिकामा रहनुभएका खनालले बाबुरामको मुल्यांकन गर्दै भन्नुभयो- ‘डा. भट्टराईसँग मैले लामो संगत गर्ने मौका पाएँ । उहाँ आर्थिक विषयमा बढी कुरा गर्ने, राजनीतिमा कम कुरा गर्ने, आर्थिक विकासका लागि साम्यवादी विचार त्याग गरेको व्यक्तिगतरुपमा ठीक व्यक्ति हो ।’नवकांग्रेस खनालले भट्टराईका साथै कांग्रेस र एमालेमा पनि राम्रा मान्छेहरु रहेको प्रतिक्रिया दिनुभएको छ । ‘डा. रामशरण महत, सुरेन्द्र पाण्डे, प्रकाशचन्द्र लोहनी र भट्टराई जुनसुकै दलमा भए पनि देशको विकासका लागि समर्पित व्यक्तित्व हुन् । आर्थिक विकासमा उहाँहरुको सोचको म प्रशंसा गर्दछु ।’ खनालले भन्नुभयो ।

अनलाइनखबरले खनालसँग गरेको संक्षिप्त कुराकानी :

 तपाईं कांग्रेसमा प्रवेश गर्नुको कारण के हो ?

ठूलो राजनीति गर्न म कांग्रेस प्रवेश गरेको होइन । गाउँगाउँमा युवाहरुलाई सकारात्मक सोचबारे चेतना फैलाउन एउटा प्लेटर्फम हुन्छ भनेर मात्रै हो । राजनीतिमा इमान्दारिता, निष्ठा र मेहनत मेरो प्रतिवद्धता हो । म कुनै सुविधाका लागि आएको पनि होइन ।अहिले बहुसंख्यक युवामा एक किसिमको नकारात्मक विचार र क्रियाकलाप प्रगाढ भयो, त्यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने मेरो सोच हो । युवाहरु बन्द हड्ताल, विरोध र अवरोधमा संलग्न हुने र पारिवारिक जिम्मेवारी पाएपछि खाडी र मलेशियामा काम गर्न जानुपर्ने संस्कार देखियो । त्यो गलत चेतनालाई उल्टाएर यो गलत काम हो, देशभित्रै विकासको लागि युवा वर्ग सक्रिय हुनुपर्छ भन्ने चेतना फैलाउने मेरो योजना छ । आफ्नै नागरिकको विरुद्ध नाकावन्दी लगाउनु हुन्न भन्ने चेतना बाँड्ने मेरो प्रमुख काम हो । त्यसका लागि मैले नेपाली कांग्रेसको फोरम उपयुक्त ठानेँ ।

 एउटा दलको सदस्य भएर त्यस्तो अभियान चलाउँदा सबै युवालाई समेट्न सकिन्छ र ?

म एक किसिममा कांग्रेसको कार्यकर्ता भएँ तर गाउँगाउँमा सकारात्मक जनचेतना अभिवृद्धि गराउने र तर्कपूर्ण कुरा गर्ने मेरो काम कांग्रेसका लागि होइन, दलसँग सम्बन्ध नभएको मानिसहरुका लागि पनि हो । देशको विकास गर्नुपर्छ, आफ्नै नागरिकविरुद्ध नाकाबन्दी गर्न हुन्न भन्ने मेरो विचारमा कसैको असहमति नहुनुपर्ने हो ।

तपाईं धेरै मानिसको लोकपि्रय हुनुहुन्छ, तर, अब एउटा पार्टीको सदस्य भएपछि बाँकी दलको शत्रु हुनु भएन ?

मैले कसैलाई शत्रु ठानेको छैन । त्यसैले मलाई कसैले शत्रु नठान्लान् । मेरो एजेण्डा देशको विकास गर्नुपर्छ भन्ने हो । त्यसमा कुनै पार्टीको विरोध छैन । कोही पनि व्यक्ति ३२ लक्षणले युक्त हुँदैन, म पनि छैन । मेरो नराम्रो कामको आत्मालोचना पनि गर्छु, बाहिरबाट हुने सकारात्मक आलोचना स्वीकार पनि गर्छु । म कुनै पार्टी वा व्यक्तिको आलोचना गर्दिनँ, त्यसैले मैले शत्रु कमाउनुपर्ने कारण छैन ।

दलको सदस्य भएपछि तपाईंको स्वतन्त्र अभिव्यक्तिमा बन्देज लाग्दैन ?

मेरो स्वतन्त्र अभिव्यक्तिमा बन्देज लाग्दैन । म सधैं स्वतन्त्र अभिव्यक्ति दिन्छु, मैले कसैप्रति आग्रह पूवाग्रह राखेर गाली गलौच गर्दिनँ । त्यसका लागि कांग्रेस प्रवेश गरेको होइन । मैले जाने बुझेको विषय आर्थिक मामिला हो । त्यसमा कुरा गर्दा म स्वतन्त्र नै हुन्छु, कुनै दलप्रति मेरो पूर्वाग्रह छैन ।

आर्थिक विषयवस्तुमा स्वतन्त्र वहस नगरिकन आम मानिसको जिविका, आम मानिसको व्यापार व्यवसायमा सकारात्मक प्रभाव पार्नै सकिन्न । पार्टीको विचार बनाउन पनि स्वतन्त्र विचारको छलफल हुनुपर्छ । मैले कसैलाई होच्याउनका निमित्त विचार राख्ने होइन, सैद्धान्तिक वहस गर्ने क्रममा स्वतन्त्रता आवश्यक पर्छ ।

तपाईंले संवैधानिक निकायको नेतृत्व लिएको भए सार्वजनिक प्रशासनमा सुधार हुन्थ्यो भनी अपेक्षा गर्नेलाई के जवाफ दिनुहुन्छ ?

विगतमा संवैधानिक निकाय किन प्रभावकारी हुन नसक्नुको कारण राजनीतिक वृत्तबाट त्यहाँ सहयोग नपुग्नु नै हो । यद्यपि अहिले अख्तियार प्रमुखले गरेको कार्य राम्रो देखिएको छ, बाहिरबाट विश्लेषण गर्दा कुनै पूर्वाग्रह देखिएको छैन । तर, राजनीतिक तहबाट सकारात्मक सहयोग भएन भने संवैधानिक निकाय पनि प्रभावकारी हुँदैनन् । पहिले राजनीतिक वृतमा केही सुधार गर्नुपर्छ, राजनीतिमा सुधार आयो भने मात्र संवैधानिक निकाय प्रभावकारी हुन्छन् भनेर म राजनीतिमा प्रवेश गरेको हुँ ।

तपाईले भनेजस्तो गर्नका लागि आगामी चुनावमा कांग्रेसको बहुमत आउने सम्भावना देख्नुहुन्छ ?

कांग्रेसमा सकारात्मक बहस हुन सक्यो भने अरु पार्टीमा पनि बहस सुरु हुन्छ । सकेसम्म कांग्रेस बहुमतमा आएर संविधान निर्माण भयो भने राम्रो । त्यसो हुन नसके पनि राम्रो विचार जुनसुकै ठाउँमा आए पनि राम्रो हुन्छ । देशको विकासको निमित्त मैले संवैधानिक निकाय र प्रशासनको सुधारको कुरा गर्ने हो ।

आखिर सबै दलको उदेश्य मुलुकको विकास नै हो । कसैले त्यो उदेश्य अरुको विचार सुनेर शान्तिपूर्ण ढंगले कार्य गरेर पूरा गर्न चाहन्छन् भने कसैले फरक तरिकाले गर्छन् । उग्र विचार गलत हो भनेर हामीले चेतना प्रवाह गर्नुपर्छ ।

डा. बाबुराम भट्टराईप्रति तपाईंको व्यक्तिगत विचार के छ ?

डा. भट्टराईसँग मैले लामो संगत गर्ने मौका पाएँ । उहाँ आर्थिक विषयमा बढी कुरा गर्ने, राजनीतिमा कम कुरा गर्ने, आर्थिक विकासका लागि साम्यवादी विचार त्याग गरेको व्यक्तिगत रुपमा ठीक व्यक्ति हो । तर, दलगत रुपमा उहाँको कुरा छुट्टै हो ।

राष्ट्रिय विकासको चिन्तन भएका सीमित राजनेतामध्ये बाबुराम भट्टराई एक हो । डा. रामशरण महत, सुरेन्द्र पाण्डे, प्रकाशचन्द्र लोहनी र भट्टराई जुनसुकै दलमा भए पनि देशको विकासका लागि समर्पित व्यक्तित्व हुन् । आर्थिक विकासमा उहाँहरुको सोचको म प्रशंसा गर्दछु ।

प्रस्तुती : रमेश घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment