Comments Add Comment

तन्नेरीलाई जीप फ्लायरमै डेटिङ र हनिमुन

Zip-Flyer-3
नविन अर्याल
१६ भदौ, पोखरा । प्रेमीकालाई आकाशमा उडाउने सपना कस्लाई पो हुँदैन र ! धेरैले तारा झार्ने सपना पनि बाँड्छन् । तर, साँच्चिकै मनको मान्छेसँगै आकाशबाट धर्तीमा झर्नुको मज्जा बेग्लै हुन्छ । यही अनुभूति सँगाल्न देशकै पहिलो साहसिक मनोरञ्जनात्मक खेल जीप फ्लायरमा तन्नेरी युवा युवतीहरुको भिड लाग्न थालेको छ ।

सम्झँदै ज्यान सिरिङ्ग गराउने जीप फ्लायरका लागि पोखराको सराङकोटमा तन्नेरी पुस्ताहरुकाे भीड बढ्दो छ । हाइग्राउन्ड एडभेञ्चर्स प्रालिले सराङकोटदेखि हेम्जासम्म जीप फ्लायर गराउँदै आएको छ ।

‘दुई वर्षअघि सञ्चालनमा आउँदा जीप फ्लायरको बारेमा नेपालीहरुलाई बुझाउन निकै गाह्रो परेको थियो’ कम्पनीका सेल्स इन्चार्ज दीप गुरुङ सम्झन्छन्- ‘अहिले जीप फ्लायर गर्नेमा विदेशी पर्यटकभन्दा नेपालीहरु बढी हुन थालेका छन् ।’

पोखरा आफैमा डेटिङ तथा हनिमुन मनाउन आउने ठाउँ हो । यहाँ देश विदेशबाट डेटिङ तथा हनिमुनका लागी भनेर हजारौं पर्यटक आउने गर्छन् । उनीहरुमध्ये अधिकांश जोडी जीप फ्लायरको मज्जा लिएर फर्किने गरेको सेल्स इन्चार्ज गुरुङको भनाई छ ।

कम्पनीले पनि यस्ता जोडा जोडीहरुलाई एकै पटक दुई सीटमा राखेर जीप फ्लायर गराउँछ । एकैसाथ आफ्नो मन परेको मान्छेसँग रमाउँदै सराङकोटबाट झण्डै दुई किलोमिटर तल हेम्जामा र्झन पाउँदा उनीहरु निकै रमाउने गरेको गुरुङले बताए । त्यसो त जीप फ्लायरको लक्षित वर्ग पनि तन्नेरी युवा युवतीहरु नै हुन् ।

सुन्दरतामा रमाउँदै जीप फ्लायर

आफैमा सुन्दर सराङकोट डाँडाबाट आँखै अगाडी लमतन्न परेका हिमाल र सुन्दर हेम्जा गाउँ हेर्दै घना जंगल माथिबाट जीपमा बसेर खस्नुको मज्जा बेग्लै हुन्छ । यो विश्वकै सबैभन्दा तीब्र गतिको, लामो र अग्लो थ्रिलर जीप फ्लायर भएको कम्पनीको दाबी छ ।

zip-flyer-4

करिव २ किलोमिटर लामो दुरी भएको जीप लाइनमा ६ सय मिटर भर्टिकल ड्रप छ । स्पिड व्यक्तिको वेट र हावाको गतिमा निर्भर हुन्छ । अधिकतम १२० किलोमिटर प्रतिघण्टको गति रहने जिप लाइनमा ल्यान्डिङ हुन २ मिनेट लाग्ने दीप गुरुङ बताउँछन् ।

गोल्छा समुह अन्तर्गतको हाइग्राउन्ड एडभेञ्चर्स प्रालि र मंगलम इन्टरप्राइजेजले जीप फ्लायर सञ्चालनमा ल्याएका हुन् । गाेल्छा समुहका भरत गोल्छा र शरद गोल्छाले जीप फ्लायर हेर्दै अाएका छन् । अमेरिकी प्रविधिमा आधारित जीप फ्लायरमा १५ करोडकाे हाराहारीमा लगानी रहेको छ ।

जीप फ्लायरमा तन्नेरी युवा युवतीमात्र होइन १२ देखि ७५ वर्षसम्मका वृद्ध वृद्धासमेत आउने गरेका छन् । तुलनात्मक रुपमा यूवा पुस्ताकाे उपस्थिती बढी हुने भएपनि जीप फ्लायरले सबै उमेर समूहका मान्छेलाई आकषिर्त गर्न सफल भएको छ ।

कम्पनीका अनुसार यहाँ ९ वर्षको नेपाली बच्चा र ७५ वर्षकी विदेशी वृद्ध महिलाले जीप फ्लायर गरिसकेका छन् । शारिरिक र मानसिकरुपमा फिट भएको मान्छेलाई जीप फ्लायर गर्न दिने सेल्स इन्चार्ज गुरुङले जानकारी दिए ।

नेपालीहरुको सहभागिता बढ्दै गइरहेको छ । पर्यटका लागि अफ सिजन मानिने महिनामा नेपालीहरुको बाहुल्यता रहने र अनसिजनमा विदेशीहरुको बाहुल्यता रहने गर्छ ।  समग्रमा जीप फ्लायरमा स्वदेशी तथा विदेशीको संख्या बराबर हुने गर्छ ।

काे-काे जान्छन

कलेजका विद्यार्थीहरु, कर्पोरेट हाउस, सरकारी कर्मचारी, विदेशी पर्यटक आफुहरुको ग्राहक भएको गुरुङले बताए । गत महिना सराङकोट पुगेका पर्यटन मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराई त्यहाँ पुगेपछि मात्र जीप फ्लायर गर्ने निर्णय गरेका थिए ।

‘पोखराबाट आउँदा जीप फ्लायर गर्ने योजना थिएन’ भट्टराईले अनलाइनखबरकर्मीसँग भनेका थिए- ‘यहाँ आएपछि जीप फ्लायर गर्ने मन लाग्यो ।’ तर, दूर्भाग्य उनी चढ्ने बेलामा जीप फ्लायरमा टेक्निकल समस्या आएपछि त्यत्तिकै फर्किनु परेको थियो । त्यतिबेला काठमाडौंबाट जीप फ्लायर मात्र गर्ने उद्देश्यले आएको ८ जनाको टोली पनि जिल्लिएको थियो ।

भिडियाे हेर्नुहाेस्

झट्ट हेर्दा केवुलकार जस्तो देखिए पनि जीप फ्लायर साहसिक मनाेरञ्जनात्मक पर्यटकीय खेल हो । ‘अग्लो डाँडाबाट तल हाम फाल्दा जीप फ्लायरमा पनि बञ्जीमा जस्तो थ्रिल पैदा हुन्छ, मस्ती हुन्छ’ दीप गुरुङ भन्छन- ‘जीप फ्लायर पर्यटकका लागि डिजाइन गरिएको हो ।’

जीप फ्लायरको दैनिक क्षमता ७०/८० जना रहेको छ । सिजनमा फुल प्याक हुने भएपनि अफसिजन तथा वर्षामा दैनिक ४० जनासम्मले जीप फ्लायर गर्ने गर्छन । पानी परेका बेलामा टेक्निकल समस्या आउने हुँदा जीप फ्लायर बन्द गरिन्छ ।

विदेशीहरूमा अष्ट्रेलियनहरू स्वभावैले साहसिक हुने हुँदा जीप फ्लायरमा पनि उनीहरुको बाहुल्यता हुने गरेको छ । कम्पनीका अनुसार अमेरिकन, जर्मन, युरोपियनहरुको पनि जीप फ्लायरमा उल्लेख्य उपस्थिती हुने गरेको छ ।

कति तिर्नुपर्छ ?

जीप फ्लायर गर्नका लागी नेपाली नागरिकले ट्रान्सपोर्टेसन र सर्टिफिकेटसहित ३ हजार ८९० रुपैयाँ तिर्नुपर्छ । त्यसको अलवा प्याकेजमा फोटो, भिडियो र प्रिन्ट फोटो लिएमा १८ सय ९९ रुपैयाँ छुट्टै बुझाउनुपर्छ ।

अफिसबाटै प्याकेज लिएमा १० प्रतिशत छुट पाइने गुरुङले बताए । प्याकेज लिनेले टिसर्टमा ५० प्रतिशत छुटमा जीप फ्लायरको टिसर्ट पाउँछन् । अन्यथा भिडियोमात्र लिएमा ९ सय ९९ रुपैयाँ र फोटोमात्र लिएमा ६ सय ५० रुपैयाँ लाग्छ ।

zip-flyer-5

विदेशीहरुले भने जीप फ्लायर गर्नका लागि ६ हजार ४९० रुपैयाँ बुझाउनुपर्छ । जसमा यातायात र सर्टिफिकेट इन्क्ल्यूड हुन्छ । फोटो, भिडियो र टिसर्टका लागी भने छुट्टै शुल्क बुझाउनुपर्छ ।

सराङकोट यात्रा नै साहसिक

लेकसाइडबाट सराङकोट पुग्न ४० मिनेटको यात्रा तय गर्नुपर्छ । कम्पनीले नेपाली हुलास मुस्ताङ गाडीमा सराङकोट पुर्‍याउँछ । पोखराबाट सराङकोटसम्म पुग्नु नै एडभेञ्चर ट्रिप हुने दीप गुरुङ बताउँछन् । साँघुरो र ठाडो बाटो हुँदै सराङकोट पुग्दा निकै एक्साइटमेन्ट हुन्छ ।

सराङकोट पुगेपछि समग्र पोखरा, फेवाताल, हिमालहरु, प्यारागलाइडिङ उडेको दृश्यहरु हेर्न पाइन्छ । सराङकोट स्टेसनमा कम्पनीको एउटा क्याफे छ, जहाँ हल्का पेय पदार्थ लिएर इन्ज्वाए गर्न सकिन्छ ।

त्यहाँबाट अन्नपूर्ण हिमश्रृङ्खला हेर्न सकिन्छ । जम्प गर्ने स्थानबाट पोखरा भ्याली सबै देखिन्छ । जीप फ्लायर गर्दा मुनी जंगल र अगाडी हेम्जाको सुन्दर गाउँ देखिन्छ । जसले गर्दा जीप फ्लायरमा जाने पर्यटक पूर्ण सन्तुष्ट भएर फर्किने गर्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment