Comments Add Comment

गढीमाई मेलामा पशुबली रोक्न लण्डनमा प्रदर्शन

lumley

२६ असोज, काठमाडौं । बेलायती फौजमा कार्यरत गोर्खा सैनिकलाई समान अधिकार दिलाउने अभियानको नेतृत्व गरिरहेकी चर्चित अभिनेत्री जोअन्ना लुम्लेले बाराको गढीमाई मेलामा दिइने लाखौं लाख पशुपन्छीको बली रोक्न नेपाल सरकारलाई आग्रह गरेकी छन् ।

लुम्लेले गढीमाईमा दिइने पशुवली विरुद्ध विश्वव्यापी आवाज उठाउने अभियानसमेत सञ्चालन गरेकी छन् ।

उनले शनिबार लण्डनस्थित नेपाली दूतावासमा पनि पशुवलीमाथि प्रतिबन्ध लगाउन नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको डेली मेलले जनाएको छ ।

लुम्लेको नेतृत्वमा पशुवलीविरुद्ध प्लेकार्डसहित लण्डन दूतावास अगाडि र्‍यालीसमेत प्रदर्शन गरिएको थियो । र्‍यालीलाई सम्बोधन गर्दै लुम्लेले भनिन्-यो अमानवीय घटना हिन्दू धर्मको मूलधारभित्र पर्दैन ।

गोर्खा सैनिकको पक्षमा निरन्तर लड्दै आएकी यी चर्चित स्टारले भनिन्-म नेपाललाई माया गर्छु, नेपाली जनता र नेपाली भूमी दुबैलाई ।

उनले नेपालजस्तो गौरवपूर्ण मुलुकका लागि प्रकृतिका हजारौं हजार निर्दोष सृष्टिहरुलाई अमानवीय तरिकाले हत्या गर्ने कुरा नसुहाउने बताइन् ।

बलीविरुद्ध इन्टरनेट अभियान

यसअघि वश्वमै सबैभन्दा धेरै पशु बली दिइने गढीमाई मेलामा यस वर्षदेखि पशु हत्या रोक्न अन्तर्राष्ट्रिय इन्टरनेट लबिङ शुरु भएको थियो ।

फेसबुक ट्वीटरजस्ता सामाजिक सञ्जालबाट शुरु भएको पशु बली विरुद्धको हस्ताक्षर अभियानमा हजारौं नेपालीहरुले पनि साथ दिएका छन् ।

पामेला क्रुजको नामबाट खोलिएको हस्ताक्षर अभियान विश्वभर चलाइएको छ । यो हस्ताक्षर नेपालका राष्ट्रपति डा. रामवरण यादवलाई बुझाइने उल्लेख छ ।

नेपाल सरकार र सरोकारवाला निकायलाई सामुहिक रुपमा गरिने यो क्रुर र अमानवीय पशु हत्या रोक्न दबाव दिने उद्देश्यले अभियान चलाइएको हो ।
यो पेजमा धर्मका नाममा हुने यस्तो क्रुरता अन्त्य गर्दै परम्परामा परिवर्तन ल्याउन माग गरिएको छ ।

बाराको बरियारपुर गाविसस्थित प्रसिद्ध गढीमाई मन्दिरमा हरेक ५ वर्षमा मेला लाग्छ । मेलाका अवसरमा राँगा, बोका, सुँगुर, कुखुरालगायत विभिन्न पशु पन्छीलाई लाखौंको संख्यामा वली दिइन्छ ।

हरेक वर्ष मंसिर शुक्लपक्षसँगै यो मेला लाग्छ । मेलामा करीव ६० हजार राँगा, डेढ लाख भन्दा बढी कुखुरा, र त्यतिकै संख्यामा अन्य पशु पन्छीको वली दिइन्छ ।

गढीमाईको मेलाम दिइने पशु पन्छी बली विश्वमै सबैभन्दा ठूलो हो । यसअघि नेपालभित्रै पनि यो सामुहिक पशुवली विरुद्ध आवाज उठ्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment