Comments Add Comment

‘लेखेर राख्नोस्, सैनिक शासन लाग्छ, राजतन्त्र फर्किन्छ’

प्रकाश काेइराला, वीपीपुत्र एवं पूर्वमन्त्री

वीपी कोइरालाका छोरा प्रकाश कोइराला एकजना ‘उदार तानाशाह’को खोजीमा छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको मन्त्रिमण्डलमा सहभागी भएपछि नेपाली कांग्रेसबाट उनी टाढिएका हुन् । तर, वीपीपुत्र प्रकाशलाई अहिले पनि दृढ विश्वास रहेछ, नेपालमा चाँडै राजतन्त्र फर्कन्छ र त्यो राजगद्दीमा हिमानी या हृदयेन्द्र बस्ने सम्भावना छ ।

वीपीको संगतमा परेर राजनीतिक विश्लेषण गर्न सिकेका प्रकाशसँग अनलाइनखरले ‘करेन्ट पोलिटिक एनालाइसिस’ सम्बन्धी घुमाई-फिराई प्रश्न गर्दा उनले अहिलेको व्यवस्थामा परिवर्तन हुने दाबी दोहोर्‍याए । अब हरेक कुराको फैसला सडकबाटै हुने उनले विश्लेषण सुनाए ।

Prakash Koirala
सुशील कोइरालाले सरकार चलाउन नसकेको र संविधान पनि बनाउन नसकेको निश्कर्ष निकाल्दै प्रकाशले अब केही समय राष्ट्रपति शासन लागू हुने र त्यसपछि सैनिकले शासन गर्ने अनि राजतन्त्र फर्किने दाबी गरे । एमाले अध्यक्ष केपी ओलीलाई सरकार चलाउन सक्षम ‘कुशल प्रशासक’ भन्दै कोइरालाले खुलेरै प्रशंसा गरे –

तपाई वीपी कोइरालाका छोरा, अचेल कांग्रेसका नेताहरु सल्लाह माग्न आउँदैनन् ?

कहिलेकाहिँ सम्मानीय प्रधानमन्त्री ज्यूकहाँ गइराख्छु । आफूलाई लागेका कुराहरु भन्छु ।

तपाईसँग अहिलेको राजनीतिक समस्याबाट निकास पाउने केही उपायहरु पनि छन् कि ?

हेर्नोस्, नेपालको अहिलेको जुन किसिमको राजनीतिक स्थिति छ, यो धेरै दिन रहँदैन । अब यो ‘वल्र्ड अर्डर’मा पर्न गयो । त्यसैले नयाँ परिस्थिति जन्मिइसकेको छ ।

के हो त्यो नयाँ परिस्थिति ?

नयाँ परिस्थिति भन्नाको अर्थ यो माघ ८ पछि यहाँ धेरै ठूलो राजनीतिक उथल-पुथल हुन्छ । संविधान जारी भए पनि उथल पुथल हुन्छ, नभए पनि हुन्छ । तर, संविधान जारी नहुने सम्भावना बढी देखिएको छ । कांग्रेस, एमालेका नेतृत्व वर्गका मान्छेले नै भनेका छन् कि संविधान बन्दैन । संविधान बन्छ भनेर उनीहरुले नेपाली जनतालाई जुन भ्रम पारिरहेका छन्, त्यो मलाई विश्वास लाग्दैन । संविधान आउँदैन भन्ने मेरो नतिजाले देखेको छ । किनभने कुनै पनि बुँदामा यिनीहरु मिलेकै छैनन् ।

माघ ८ मा संविधान आएन भने के हुन्छ ?

आएन भने यो संविधानसभाको पाँच वर्षको म्यान्डेट छ । बाँकी ४ वर्ष सरकार चलाउने या सत्तामा बस्ने प्रयास हुन्छ जस्तो लाग्छ ।
माघ ८ पछि सुशीलको ठाउँमा केपी ओली प्रधानमन्त्री बन्छन् ? एमालेले सुशीललाई ठाउँ छाडिदेऊ भन्छ कि भन्दैन ?
त्यो त भन्छ भन्छ । सरकार बन्ने बेलामा जेजे सम्झौता भएको छ, त्यो अनुसार त उहाँ (सुशील)ले जानुपर्‍यो ।

संविधान बनेपछि पो सुशीलले छाड्ने भनेको थियो, नबनी नछाड्ने भन्लान् नि कांग्रेस नेताहरुले ?

त्यो त हो । तर, त्यहाँ यो पनि भनिएको थियो कि एक वर्षभित्र हामी संविधान बनाउँछौं । एक वर्षमा संविधान नबनाउने उनीहरुले कल्पना पनि गरेका थिएनन् । एक वर्षको म्याद त अब सकिँदैछ त ।

तपाईचाँहि के भन्नुहुन्छ ? संविधान नबने पनि माघ ८ पछि सुशीलले ओलीलाई छाडिदिनुपर्छ ?

म के भन्छु भने उहाँहरुको जे सम्झौता भएको थियो, त्यही गर्नुपर्छ । हेर्नुहोस्, राजनीतिमा अलिकति पनि नैतिकता भएन भने त्यसको कुनै पनि अर्थ हुँदैन । यदि मैले एक वर्षमा मैले छाडिदिन्छु र खड्ग ओलीजीलाई दिने भन्ने सम्झौता भएको छ भने मलाई लाग्छ उहाँले त्यसमा अडिग हुनुपर्‍यो ।

तपाईसँग भेट हुँदा प्रधानमन्त्रीले के भन्नुहुन्छ ?

मैले त उहाँसित कुरा गर्दा संविधान आउँदैन भनेर उहाँको मुखैमा भनेको छु मैले । उहाँलाई मैले यहाँसम्म भनेको हुँ कि तपाईको मुखमा संविधानबाहेक अरु केही छैन । तर, के भइरहेको छ भने सरकार चलिरहेको छैन । सरकार पूरै प्यालाइज्ड छ । तपाईले के गर्नुभयो ? संविधान पनि तपाईले बनाउन सक्नुभएन र सरकार पनि दिन सक्नुभएन । भोलि तपाईलाई दुईवटा आक्षेप लाग्छन् । तपाईलाई इतिहासले छाड्दैन । एउटा कमजोर किसिमको प्रधानमन्त्री, जसले राम्ररी शासन गर्न सकेन र अर्को, संविधान पनि दिन सकेन । भन्दाखेरि तपाई टोटल फेलियरको नमूना हुन जानुहुन्छ । वल्कि के गर्नोस् भने संविधान ल्याउने प्रयास गर्नोस्, तर त्यतिकै महत्व तपाईले सरकार चलाउनेतिर पनि दिनुपर्‍यो । यहाँ कस्तो परेको छ भने सरकारै छैन जस्तो अनुभूति मान्छेहरुलाई हुन थालिरहेको छ ।

Prakash Koirala-1

केपी ओलीलगायतले संविधानसभा नियमावलीका धारा निलम्बन गरेर भए पनि माघ ८ मै संविधान बनाउन जोड गरिरहेको सुनिन्छ । तपाईलाई कस्तो लाग्छ, त्यसरी माघ ८ मै संविधान बनाउन ठीक कि एक दुई महिना ढीलो गरेर सहमतिमा बनाउन ठीक ?

हेर्नोस्, ७/८ वर्ष बितिसक्यो । संविधान त बन्दैन । जो आओस् ।

केपी ओली नै आए पनि संविधान बन्दैन ?

सुन्नोस् न, केपी ओली आएको खण्डमा एउटा थोकचाँहि निश्चित छ, सरकार चाँहि उहाँले राम्ररी चलाउनुहुन्छ । संविधान बनाउन सक्नुहुन्छ, सक्नुहुन्न त्योचाँहि म भन्न सक्दिँन । तर, संविधान आउँदैन । केपीले गरेर पनि संविधान आउँदैन । तर, मैले केपी ओलीलाई गृहमन्त्री हुँदाखेरि नै देखेको थिएँ, उहाँमा मैले एउटा कुशल प्रशासकको क्षमता पाएँ । उहाँ निर्णय गर्न सक्ने व्यक्ति हो । मुलुक अहिले अनिर्णयमा बसेको छ । डेफिनेट्ली केपी ओली बेटर एड्मिनिस्ट्रेर वा प्रधानमन्त्री भएर जानुहुन्छ । संविधान नभए पनि सरकार चलाउने पक्षमा उहाँ सक्षम देखिनुहुन्छ ।

सभामुखलाई अधिकार दिएर पेलेर भए पनि संविधान जारी गर्दा के हुन्छ ? सत्तापक्षसँग दुई तिहाइ बहुमत पनि त छ नि आखिर ?

हेर्नोस्, ८ वर्षदेखि सहमतिको राजनीति भयो । तर, मैले त्यति राम्रो स्थिति देखिराखेको छैन । मलाई कता-कता के लागिरहेको छ भने यो व्यवस्था नै कता-कता पुरानो व्यवस्थामा परिणत हुन थालिरहेको छ । अब यो व्यवस्था नै रहँदैन । अब यसमा आमूल परिवर्तन हुन्छ ।

कस्तो आमूल परिवर्तन ?

आमूल परिवर्तन भन्नाले एउटा ठूलो ग्रुपले हिन्दु राष्ट्र हुनुपर्छ भनिरहेको छ । अर्को गु्रप छ, जसले ०४७ सालको संविधान फिर्ता लिएर आउनुपर्छ भनिरहेको छ । मैले मोटामोटी ०४७ सालकै संविधान आउने सम्भावना देखिराखेको छु ।
यसको के आधार छ ?

नेपालमा हेर्नोस् राजनीतिक आधार भनेको विदेशी आधार हो । यहाँ नेपाली जनताले तय गरेको मलाई थाहा छैन ।

तपाईले भन्न खोज्नुभएको के हो ? केपी ओलीले केही समय सरकार चलाउँछन्, संविधान बन्दैन अनि को आउँछ ? कमल थापा ?

मैले २५ वर्षदेखि नेपालको राजनीतिमा के देखिरहेको छु भने नेपालमा जुन परिवर्तन भइरहेको छ, यो सडकबाट भइरहेको छ । सडक आन्दोलनबाट परिवर्तन भइरहेको छ । जनमतबाट भइरहेको छैन । यसलाई म क्रान्ति भन्दिँन । यसलाई सडक क्रान्ति भन्नोस् । सडकलाई तताइदिने, अनि त्यसपछि परिवर्तन गराइदिने । यो हामीले बोकेको राजनीतिक लिगेसी अनुरुप नै म के हेरिरहेको छु भने सडक फेरि तातिँदैछ । त्यसैले यो अहिलेको ढाँचा अवश्य रहँदैन । नयाँ ढाँचा आउने सिलसिलामा छ ।

कसले तताउँछ सडक ? को आउँछ त्यो ‘नयाँ ढाँचा’को नेतृत्वमा ?

हेर्नोस् यसमा खाली दलहरुमात्रै छैनन् । बाहिरका तत्वहरु पनि छन् यहाँ । र, यसचोटि पनि सडक तातिन्छ । विदेशी शक्तिहरु त्यसमा होमिन्छन् । यो निश्चित छ ।

तातिएको सडकले के गर्छ ?

सडकले के गर्छ ? सडककै आन्दोलनले हामीलाई दिल्लीमा पुर्‍याएको होइन ? प्रचण्डजीले १० वर्ष जुन क्रान्तिकारी आन्दोलन गर्नुभयो, आखिर त्यो केमा परिणत भएको छ भन्दा सडक आन्दोलनमा परिणत भएको छ । सडक आन्दोलनले कहाँ पुर्‍यायो भन्दा नयाँ दिल्ली पुर्‍यायो । १२ बुँदे सम्झौता त्यहाँ भयो ।

हेर्नोस्, कुनै पनि आन्दोलनको स्वरुप के हुन्छ भने जुन मुलुकमा आन्दोलन हुन्छ, त्यही मुलुकमा त्यसको अन्त्य पनि हुन्छ । हामीकहाँ के भयो भने यहाँ सडक तातिन्छ, त्यसको सम्झौताचाँहि नयाँ दिल्लीमा हुन्छ ।

तपाईको भनाइको मतलव सडक तातिएपछि यो केस नरेन्द्र मोदीसम्म पुग्छ ?

मोदीको आगमनले दुई/तीनवटा कुरा प्रष्ट पारिदिएको छ । मोदीले के भेनेका छन् भने १७ वर्षसम्म भारतको नेपालप्रतिको जुन नीति थियो, त्यसमा म संशोधन गर्छु । योभन्दा पहिले नेपालमा भद्रगोल थियो, भद्रगोलै गराएको हो । मोदी आएपछि नेपालीहरुलाई धेरै आशा भयो । नयाँ मान्छे आएको छ, नयाँ विचार लिएर आएको छ । मोदीले त म हस्तक्षेप गर्दिँन भनेका छन् ।

तर, म तपाईलाई के भन्छु भने हस्तक्षेप उतैबाट हुन्छ । किनभने नेपाली नेता र दलहरुलाई त बाहिरको कुरा सुन्ने बानी परिसकेको छ । विदेशीहरुको कुरा सुन्ने बानी परिसकेको छ । विदेशी गुहार्ने त यिनीहरुलाई बानी नै लागिसकेको छ । त्यस्तै उनी (विदेशी) हरुलाई पनि बानी लागिसकेको छ । जुन मुलुकले २५ वर्षसम्म यहाँको राजनीतिलाई आफ्नो लगाममा राख्यो, त्यो हिन्दुस्तानले सजिलैसँग त्यो लगाम छाड्ला भन्ने मलाई विश्वास छैन ।

मोदीजीको अत्यन्त राम्रो चाहना भएता पनि उहाँलाई यहाँको जुन भद्रगोल स्थिति छ, त्यसलाई त मिलाउनुपर्‍यो नि त । किनभने यहाँका सबै नेतृत्व वर्गले दक्षिणतिर हेर्छन् । भारततिर हेर्छन् । र, मोदीले स्पष्टसँग के बुझेका छन् भने नेपालमा राजनीतिक स्थायित्व छैन, नेपालमा जवसम्म राजनीतिक स्थायित्व आउँदैन, तबसम्म हिन्दुस्तानको विकास पनि राम्रोसँग गर्न सकिँदैन । त्यसैले उनले हस्तक्षेप नै गर्नर्ै खोज्छन् । हेर्नोस् न पहिले आउँदा मोदीले के संसदमा भनेका थिए, पछि नेपाल आउँदा के भने ?

केपी ओलीले मधेसी र माओवादीलाई चिढ्याएका छन्, त्यसैले सबैको मन जित्न सक्ने शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने आवाज पनि सुनिँदैछ, सुशीलपछि देउवा प्रधानमन्त्री बन्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?

म यो सम्भावना त्यति देख्दिँन । यहाँ चाहे केपी ओलीजी आउनुहोस्, चाहे शेरबहादुरजी आउनुहोस्, जबसम्म बाहिरका तत्वहरु खेल्छन्, त्यतिबेलासम्म केही हुँदैन ।

तपाईले दिल्लीको समर्थन देउवालाई हुँदैन कि भन्न खोज्नुभएको हो ? उहाँले मिलाउँदै हुनुहुन्छ भन्ने सुनिँदैछ…..

उहाँले मिलाएर त भएन नि । इण्डियाको सपोर्टमा प्रधानमन्त्री हुने यो त राम्रो पनि होइन नि । तपाई आफ्नो खुट्टामा उभिएर राजनीति गर्नोस् न । आफ्नो खुट्टामा उभिएर प्रधानमन्त्री बन्नोस् न । त्यो पो त खुबीको कुरा हो । बाहिरका मान्छेले मलाई प्रधानमन्त्री बनाइदिन्छ कि भन्ने नेपालको राजनीति कुन ठाउँमा पुगेको छ ? किन हामी बाहिर मात्रै हेर्छौं ? यो त अत्यन्त नराम्रो कुरा हो ।

देउवा प्रधानमन्त्री बन्ने सम्भावना नभए सुशील कोइरालाले नै जेठसम्म चलाउने सम्भावना छ कि छैन ?

म त तपाईलाई भनिरहेको छु, यहाँ त परिवर्तन हुँदैछ । यो चार वर्ष त कुनै हालतले जाँदैन । मैले माघ ८ पछि नै ठूलो परिवर्तनको संकेत देख्न थालेको छु । यहाँ फेरि सडक आन्दोलन हुन्छ । सडक आन्दोलन भएका बेलामा मलाई कताकता के लागिरहेको छ भने शायद रामवरण यादवजीले ‘प्रसिडेन्सियल रुल’ लगाउँछन् । किनभने सबैथोक भद्रगोल छ । नेपालमा कुनैथोक मिलेको छैन ।

यो स्थितिबाट देशलाई निकाल्नका लागि मैले बुझेअनुसार केही समय राष्ट्रपतीय शासन लाग्छ । त्यसपछि सदन भंग हुन्छ । सदन भंग हुनेवित्तिकै सबै सडकै मा त पुग्छन् । सडक आन्दोलनको नेतृत्व त पहिलेदेखि नै वैद्यजीले गरिरहनुभएको छ । त्यस्तो स्थिति उत्पन्न हुन लाग्यो भने पहिलेकै जस्तो सबै दल मिल्छन् र राष्ट्रपतिको विरोध गर्न थाल्छन् । ठाउँठाउँमा पहिलेजसरी चक्काजाम र ढुंगामुढा हुन थाल्छ । अनि त्यसपछि राष्ट्रपतिले के गर्ने ? राष्ट्रपतिले आर्मीका मान्छेलाई डाक्छन् डाक्छन् । आर्मी रुलको संकेत पनि मैले देख्न थालेको छु । त्यसपछि सिभिलियन राष्ट्रपति रहन्छन्, सेनाले ल एण्ड अर्डर गर्न थाल्छ । र, त्यही स्थितिको पुनरावृत्ति हुन्छ, जुन ज्ञानेन्द्र सरकारका पालामा भएको थियो । त्यसपछि मुलुक फेरि नयाँ एग्रिमेन्टतिर जान्छ ।

कस्तो हुन्छ त्यो एग्रिमेन्ट ?

भारतले १२ बुँदे सम्झौता गराउँदा अमेरिका र अन्य राष्ट्रहरुको पनि समर्थन लिएको थियो । भारतको एजेन्डा गणतन्त्रमात्रै थियो, पश्चिमाहरुले धर्म निरपेक्ष पनि राख्नुपर्छ भने । संघीयता पनि थप्न लगाए । भारतको मूल चाहना के थियो भने राजतन्त्र जाओस्, त्यसपछि देखा जाएगा । तर, यो ८/९ वर्ष अगाडिको कुरा हो, तर अब अन्तरराष्ट्रिय स्थितिमा धेरै फेरबदल आइसकेको छ, अब भारतले नेपालबारे समर्थन जुटाउनका निम्ति पश्चिमा मुलुकको अनुहार हेर्दैन । उसले चीनलाई हेर्छ । चीन जब ल्याटिन अमेरिका पुग्छ, अफि्रका पुग्छ भने उसले नेपाललाई छाड्छ ? छाड्दैन ।
तपाईको विश्लेषणले के भन्छ ? सुशील कोइराला यो देशको दोस्रो राष्ट्रपति बन्दैनन् ?

मैले त सम्मानीय प्रधानमन्त्रीलाई गएर भनें, शासन गर्नोस् तपाई । संविधान आउँछ कि आउँदैन, त्यो आफ्नो ठाउँमा छ । तपाईले गरेर मात्रै संविधान आउनेवाला छैन । तर, शासन त गरेर देखाउनोस् । उहाँले भन्नुभएको थियो, त्यो त सही भनिस् । मैले के भन्न खोजेको हो भने कमसेकम शासन त गरोस् कसैले ।

तर, राष्ट्रपति त सेरेमोनियल भएको हुनाले सुशील त्यहाँ फिट हुनुहोला कि ? नत्र कांग्रेसले शीतलनिवासमा कसलाई पठाउने त ?

यो कुरा त धेरै पहिले चलेको थियो । यसमा मलाई एकचोटि शेखर कोइरालाले नै राष्ट्रपतिमा सुशील कोइराला गइदिए हुन्थ्यो भनेका थिए । तलाई त्यही प्राक्टिकलजस्तो लागेको थियो, त्यही गर्नुपर्दथ्यो । मैले त्यतैतिर लाग् भनेको पनि थिएँ शेखरलाई । तर, उहाँ प्रधानमन्त्री हुनुभयो । तर, अब यो जोड घटाउ, यो रहनेवाला छैन । मान्छेहरु अघाइसकेका छन् ।

के अब शीतलनिवास नै भत्किनेवाला छ ?

निश्चित छ । अन्तरराष्ट्रिय स्थिति नै भत्किन थालिसकेको छ । नेपाल एकदम कमजोर छ । फेलियर स्टेट हुन लागिसक्यो । मैले तपाईलाई पहिले पनि भनिसकें, अब चीन पनि फ्याक्टर रहन्छ नेपालमा । ८ वार्ष्अगाडि नेपालको राजनीतिमा चीन काहिँ थिएन ।

योबेलामा नेताहरुलाई दिने तपाईको सल्लाह के छ त ?

मैले बुझेअनुसार मुलुकको स्थिति अन्त्यन्तै नाजुक छ हेर्नोस् । मुलुक झन् झन् कमजोर भएको छ । त्यसैले राष्ट्रपतिले विशेषाधिकार प्रयोग गर्न बाध्य हुन्छन्, त्यसपछि दलहरु विद्रोहमा जान्छन् जान्छन् । त्यसलाई जनपथ र सशस्त्र प्रहरीले सक्दैन, त्यसपछि आर्मीलाई नै डाक्नुपर्छ ।

आर्मीलाई डाकिसकेपछि के हुन्छ, म भन्न सक्दिँन । यहाँ सैनिक शासनको ठूलो सम्भावना बढ्दै गएको मैले देखिरहेको छु । तपाई थाइल्याण्डमा हेर्नोस् न । भारतभन्दा पहिल्यै प्रजातन्त्र आएको ठाउँ हो त्यो । अहिले आर्मी रुल छ त्यहाँ । इजिप्टमा हेर्नोस् । पाकिस्तानमा पनि अब सायद सैनिक शासन आउँछ कि ? नेपाललाई पनि ठिकठाक पार्ने हो भने दलहरु त टोटल फेलियर भइसके । टोटल फेलियर । यिनीहरुबाट केही हुन्छ भन्ने मलाई लाग्दैन ।

तर, सुशील कोइराला, केपी ओली र सुवास नेम्वाङ मिलेर डाङडुङ गरेर भए पनि संविधान जारी गरिदिए मुलुकले निकास पाउँथ्यो कि भन्ने पनि मत बढ्दै गएको छ नि देशमा ? तपाईलाई कस्तो लाग्छ ?

त्यो पनि घुमाई फिराई त्यही हो । त्यस्तो भएको खण्डमा सडक आन्दोलन त हुन्छ हुन्छ । मधेस जाला, त्यसपछि माओवादी जान्छन् । यो के दोहोरिइरहेको छ भने राजा ज्ञानेन्द्रले लिएका बेलामा पनि यस्तै थियो । कुनै दलहरु मिलेका थिएनन् । राजाले प्रयास गर्दाखेरि पनि दलहरु नमिल्ने, सबैलाई प्रधानमन्त्री हुनुपर्ने, १०/१२ जना उम्मेदवार थिए ।
त्यसैले राजासँग कुनै उपाय नभएको हुनाले राजाले त्यो कार्यकारिणी अधिकार लिए । अब त्यही स्थिति रामवरणजीले लिनुपर्छ ।

अहिलेचाँहि ज्ञानेन्द्र शाहको भूमिका केही छैन हैन ? शान्तले बसिरहेको देखिन्छ….

त तपाईलाई भनिदिन्छु, यो मुलुकमा राजतन्त्र आउँछ, लेखेर राख्नोस् तपाई । कसैले रोक्न सक्दैन । हिन्दुस्तानले पनि रोक्न सक्दैन । पाँच वर्ष त म भन्दिँन, ६/७ महिनाभन्दा बढ्ता लाग्दैन । ज्ञानेन्द्र नै आउँछन् भन्ने छैन, त्यहाँ हिमानी पनि हुन सक्छिन्, या नाति पनि हुन सक्छन् । तपाई हेर्नोस् न त्यही पृथ्वीनारायण शाहको शालिक तोड्ने यी नेताहरु पृथ्वी जयन्तीमा प्रधानमन्त्री जानुभएन ? सब नेताहरु पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment