Comments Add Comment

कस्तो गभर्नर चाहन्छन्, राष्ट्र बैंकका कर्मचारी ?

Governer2

पुष्प दुलाल

२४ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर छान्न सरकारले दुई हप्ता अघिनै अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस कमिटि  गठन गरिसकेको छ ।

संस्थापक गभर्नर हिमालयशमशेर जबरा र अर्थविज्ञ् पार्थिवेश्वर तिमल्सिना सदस्य रहेको कमिटिले आगामी केहीदिन भित्रै सरकारलाई तीन जनाको नाम सिफारिस गर्नेछ । तीनजनामध्ये एक जनालाई सरकारले आगामी पाँचवर्षे कार्यकालका लागि गभर्नर नियुक्ति गर्ने छ ।

गभर्नर बन्न कांग्रेस निकट अर्थशास्त्रीहरु तीब्र दौडमा छन् । प्रधानमन्त्री र अर्थमन्त्री कांग्रेसको भएकाले कांग्रेस निकट अर्थशास्त्रीमध्येबाटै गभर्नर नियुक्ति हुने निश्चित छ । आगामी चैत ६ गतेदेखि डा. युवराज खतिवडाको कार्याकाल सकिँदै छ ।

गभर्नर वित्तीय क्षेत्रको निकै ग्ल्यामर पद हो । राज्यमन्त्रीसरहको राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पद छाडेर गभर्नर भएपछि डा. युवराज खतिवडाले ग्ल्यामर भएकाले नै गभर्नर बनेको बताएका थिए । माैद्रिक नीतिको तयार गरी कार्यान्वयन गर्नु र सरकारको आर्थिक सल्लाहकारको भूमिका निर्वाह गर्नु गभर्नरको मुख्य दायित्व हो ।

योसँगै गभर्नरले वित्तीय स्थायित्व कायम राख्न, मुल्यवृद्धि नियन्त्रण गर्न, अधिकतम आर्थिक वृद्धि प्राप्त गर्ने मौद्रिक नीति परिचालन गर्न, बैंक तथा वित्तीय संस्थाहरुको नियमन तथा सुपरिवेक्षण गरी आवश्यक कारवाही गर्न र लगानीको वातावरण तयार गर्न अहम भूमिका खेल्छ । गभर्नरको हस्ताक्षरमा राष्ट्रले पैसा (नोट) छाप्छ ।

अस्थिर राजनीतिक अवस्था भएकाले सरकार र मन्त्रीहरु परिवर्तन भइरहन्छन् । यस्तो अवस्थामा गभर्नरको भूमिका अर्थतन्त्रको मुख्य ड्राइभरकोरुपमा स्थापित भइरहेको छ । त्यसैले, नयाँ गभर्नरको छनोट प्रक्रिया अघि बढेसँगै सरोकारवालाहरुले कस्तो गभर्नर आउने हो भनेर चासो र चिन्ता व्यक्त गर्न थालेका छन् ।

नेपाल राष्ट्र बैंक गभर्नरको कार्यालय हो । उ राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत दुबै हो । गभर्नरले राष्ट्र बैंकको नियमभित्र रहेर र त्यहाँका कर्मचारीहरुलाई परिचालन गरेर आफ्ना नीतिहरु लागू गर्नुपर्छ ।

राष्ट्र बैंकका काम/कारवाहीलाई प्रभावकारीरुपमा अघि बढाउन कस्तो गभर्नर चाहिएको छ ? अनलाइनखबरले राष्ट्र बैंकमा कार्यरत तल्लोदेखि विशिष्ट तहसम्मका कर्मचारीलाई सोधेको छ । प्रस्तुत छ, उनीहरुको जवाफ उनीहरुकै शब्दमा ।

१४ सय कर्मचारीको अभिभावक हुनसक्ने

मनमोहनकुमार श्रेष्ठ, कार्यकारी निर्देशक

Manamohankumar shrestha

सबैलाई समेटेर लान सक्ने खुबी भएको व्यावसायिक व्यक्तिलाई गभर्नर बनाउनु पर्छ । जसले मात्रै निस्पक्ष भएर राम्रोलाई पुरस्कृत गर्ने र गलत काम गर्नेलाई कारवाही गर्नसक्छ । राजनीतिक आस्थाका आधारमा नियुक्ति गरिने गभर्नरले सबैलाई समेट्न अलि कठिन हुन्छ ।

त्यसैगरी, देशलाई वित्तीय क्षेत्रको विश्वार र पहुँच बढाउन सक्ने चिन्ता र सोच भएको गभर्नर चाहिएको छ । त्यसका लागि राष्ट्र बैंककै कर्मचारीहरुको मनोवल उच्च बनाउनु पर्ने हुन्छ । त्यसैले नयाँ गभर्नरले राष्ट्र बैंकमा कार्यरत १४ सय कर्मचारीको अभिभावक हुनसक्ने क्षमता राख्नुपर्छ । एकेडेमिक र म्यानेजम्यान्ट दुबैमा सफल हुनसक्ने संभावना भएको व्यक्तिलाई सरकारले गभर्नर बनाओस् ।

मात्तिने र आत्तिनेको काम छैन

त्रिलोचन पंगेनी, कार्यकारी निर्देशक

Trilochan panganiसरकारले मुलुकको अर्थव्यवस्था सम्बन्धी राम्रो ज्ञान र व्यावसायिक कार्य दक्षता भएको व्यक्तिलाई नयाँ गभर्नर नियुक्ति गर्नुपर्छ । त्यस्तो गभर्नरले मात्रै राष्ट्र बैंकको स्वतन्त्रता कायम राख्न सक्छ । यो पद राजनीतिक नियुक्ति भएकाले कतिपय गभर्नरहरुले राष्ट्र बैंक भित्रै राजनीतिकरण गर्ने गरेका उदाहारणहरु पनि छन् । केन्द्रिय बैंकको नीति नियम र राष्ट्रिय आवश्कयताभन्दा पनि राजनीतिक दलका एजेण्डा कार्यान्वयन गराउन गभर्नर उद्यत भएकोसमेत देख्न पाइयो । व्यावसायिक कार्यक्षमता भएको व्यक्तिले मात्रै संस्था भित्र र बाहिर राजनीतिकरण हुन दिँदैन ।

गभर्नरले आफ्ना सरोकारवालाहरुको कल्याणका लागि काम गर्नुपर्छ । उनीहरुको गुनासा तथा सुझाव ग्रहण गर्नु पर्छ । त्यस्तै, गभर्नर आफ्नो सकरात्मक कुराको तारिफ गर्दा उत्साहित भएर मात्तिने र आलोचनात्मक टिप्पणी सुन्नै नचाहने प्रवृत्तिको हुनु हुँदैन ।

अडान लिन सक्ने हैसियत हुनुपर्छ

भिष्मराज ढुंगाना, कामु कार्यकारी निर्देशक

Bhismaraj-Dhunganaहामीलाई राष्ट्र बैंक बुझेको, व्यावसायिकरुपमा काम गर्नेहरुलाई प्रोत्साहित गर्ने, स्वदेश र विदेशमा आफ्नो प्रभाव कायम राख्न सक्ने, वित्तीय स्थायित्वको बाटोलाई अझ मजबुत बनाउने नयाँ गभर्नर चाहिएको छ ।

त्यस्तै, सही कुराका लागि संस्थागत अडान लिन सक्ने हैसियत भएको गभर्नर आयो भने कर्मचारीहरुलाई काम गर्न सजिलो हुन्छ ।

अनावश्यक दबाब थेग्न सक्ने

लक्ष्मीप्रपन्न निरौला, कामू कार्यकारी निर्देशक

Laxmi prapna nirulaपहिलो कुरा त गभर्नरजस्तो महत्वपूर्ण पदमा अर्थतन्त्र, बाहृय तथा, आन्तरिक क्षेत्र र बैंकिङ क्षेत्रलाई राम्ररी बुझेको हुनुपर्छ । दोस्रो, कुरा नयाँ गभर्नर अनावश्यक दवाव थेग्न सक्ने हुनुपर्छ । अविकसित अवस्थामा रहेको नेपालजस्तो देशमा बढी दबाब आउँछन् ।

त्यस्तै, अन्तराष्ट्रिय दातृ संस्था, विश्व बैंक, आइएमएफ, एडीबीलगायतका संस्थाहरुसँग सुमधुर सम्बन्ध राखेर नेपालको अधिकतम लाभ लिन सक्ने हुनुपर्‍यो । आधुनिक केन्द्रिय बैंक बनाउन र आफ्नो कार्यकालमा पेपर करेन्सी रिप्लेस गर्न सक्ने भिजन र क्षमता गभर्नर भयो भने राष्ट्र बैंकको गरिमा अझ उँचो हुन्छ ।

राजनीतिक प्रभावमुक्त हुन सक्ने

भाष्करमणि ज्ञावाली, पूर्वकार्यकारी निर्देशक

Bhaskarmani Gawaliकेन्द्रिय बैंकको गभर्नर वित्तीय प्रणलीको संरक्षक, सम्वर्द्धक, नियामक एवं सुपिरवेक्षकसमेत हुने हुँदा यो काम गर्न व्यवसायिकरुपमा सक्षम व्यक्ति गभर्नर हुनुपर्छ । नेपालको सन्दर्भमा जतातजै राजनीतिक भागबण्डाको बाहुल्य रहेको परिवेक्षमा राष्ट्र बैंक ऐनले निर्दिष्ट गरेझैंँ गभर्नर राजनीतिमा नलागेका, उच्च नैतिक चरित्र भएको व्यक्ति गभर्नर बन्नु पर्छ ।  साथै राष्ट्र बैंक सञ्चालनमा सामिूहिक निर्णय पद्धति र सबैकुराको लिखित कार्यविधि रहेको हुँदा कुशल संयोजनको भूमिका निर्वाह गर्नुपर्छ ।

यसैगरी विगत केही वर्षहरुदेखि व्यवसायी र बैैंकर एउटै व्यक्ति हुन गई यस्तो व्यक्ति राजनीतिमासमेत आवद्ध भएकाले बैंकिङ क्षेत्र जोखिमयुक्त बन्न पुगेको छ । यस्तो हुँदा बैंकिङ क्षेत्रमा धेरै कसूरजन्य कामहरु भएको हुँदा त्यस्ता व्यक्तिलाई राजनीतिक प्रभावबाट मुक्त भई कारवाही गर्नसक्ने क्षमता गभर्नरमा हुनुपर्छ । नियुक्तिकर्ताले समेत त्यस्तो वातावरण बनाउन जरुरी छ ।

व्यावसायिकरुपमा दक्ष हुनु पर्छ

शिवनाथ पाण्डे, निर्देशक

Shivanath pandayशैक्षिक योग्यताको भरमा मात्रै नभएर अनुभवी, बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन र सुपरिवेक्षण गरेर वित्तीय स्थायित्व कायम गर्न सक्ने, आन्तरिक व्यवस्थापनमा चुस्त भएको र व्यावसायिक व्यक्तित्वलाई नयाँ गभर्नर चयन गर्नु पर्छ । यस्तो व्यक्ति गभर्नर भएमा कर्मचारीहरुमा हौसला र उर्जा बढ्छ र उत्पादकत्वमा वृद्धि हुन्छ ।

कर्मचारीको मोरल सकरात्मक भएमा समग्र वित्तीय प्रणालीमा सकरात्मक असर पर्छ । र, सर्वसाधारणमो बैंकिङ प्रणलीमा पहुँच बढ्छ । योसँगै देशको समग्र आर्थिक विकासमा सकरात्मक प्रभाव पर्ने विश्वास गर्न सकिन्छ ।

आर्थिक उदारीकरणलाई आत्मसाथ गर्दै वित्तीय क्षेत्रलाई राष्ट्रको विकासमा अधिकतम प्रयोग गर्न सक्ने व्यक्तिको छनोट हुनुपर्छ ।

जागिरे प्रवृत्तिको हुनु हुँदैन

बासुदेव अधिकारी, निर्देशक

Bashudev adhakariराष्ट्र बैंकलाई चाहिने गरेको व्यावसायिक गभर्नर चाहिएको हो । केन्द्रिय अर्थशास्त्रभन्दा पनि वित्तीय स्थायित्व अहिलेको जल्लोबल्दो विषय भएकाले यसलाई सुहाउँदो गभर्नर चाहिन्छ । जागरि मात्रै खाने गभर्नर हामीलाई चाहिएको छैन ।

राष्ट्र बैंकका मल्टिपल स्टेकहोल्डर छ । स्टेकहोल्डरसँग सहकार्य गर्दै राष्ट्रिय आवश्कयता अनुरुपका कदम चाल्न सक्ने क्षमता गभर्नरसँग हुनुपर्छ । नेपाल अन्तराष्ट्रिय फाइनान्सिलय सिस्टमकमो एउटा अंग हो । उसले मार्गदर्शन गरेका कुराहरु नेपालको वातावरणअनुकुल ढालेर आफैले बुझेर लागू गर्न सक्ने हैसियत पनि गभर्नरमा हुनुपर्छ ।

हामी विकासशिल अर्थतन्त्रमा छौं । धेरै कन्ट्रोल गरियो भने उत्प्रेरणा मिल्दैन र धेरै उदार भयो भने पनि अराजकता (अनुशासनहिनता) बढ्छ । दुबै कुराले अर्थतन्त्तलाई डामाडोल बनाउँछ । आजका दिनमा हामी यी दुबै विषयलाई सन्तुलित गर्ने दिशामाउन्मूख छौं । अबको गभर्नर यसलाई अझ सजगताकासाथ अघि बढाउनसक्नु पर्छ ।

अन्त्यमा, संस्थाको प्रगतिको लागि कर्मचारीको मनोवल निकै महत्वपूर्ण भएकाले नयाँ गभर्नर राष्ट्र बैंकका कर्मचारीहरुको भावना बुझेर सही व्यवस्थापन गर्न सक्ने हुनुपर्छ ।

गभर्नरको पोलिटिकल ब्याकिङ बलियो

पदमराज रेग्मी
अध्यक्ष, कांग्रेस निकट कर्मचारी संगठन

Padamraj regmiनयाँ गभर्नर सबैको सल्लाह लिने तर आफ्नै विवेकले निर्णय गर्न सक्ने हैसियत राख्ने हुनुपर्छ । हाल जुन सरकारले नियुक्ति गर्‍यो त्यही सरकारको नीति केन्द्रिय बैंकमा लागू गर्ने प्रवृत्ति छ । तर, गभर्नरजस्तो गरिमामय पदमा रहेको व्यक्तिले राष्ट्र बैंकको नियम/कानूनभित्र रहेर नेतृत्व दिनसक्ने हैसियत पनि राख्नु पर्छ ।
राजनीतिक अस्थिरता भएकाले सरकार र मन्त्रीहरु छोटो समयमै परिवर्तन भइरहन्छन् । यस्तो अवस्थामा आर्थिक क्षेत्रको स्थिर नेतृत्व भनेको गभर्नर मात्रै हो । पहिलो कुरा मन्त्री परिवर्तन हुने वित्तीकै गभर्नरले आफ्नो रुप फेर्नु हुँदैन । र, उसलाई बलियो राजनीतिक व्याकिङ पनि आवश्यक छ । राजनीतिक व्याकिङ नभएका गभर्नरहरु मन्त्रीले धम्क्याउँदा डराउँछन् । तर राजनीतिक व्याकिङ छ भने राष्ट्र बैंक गभर्नरले नै हाँक्छन । अहिले कांग्रेसका अर्थमन्त्री भए पनि उनको प्रभाव राष्ट्र बैंकमा खासै देखिएको छैन ।

अर्को महत्वपूर्ण कुरा के छ भने गभर्नरजस्तो व्यक्तिले कर्मचारीहरु र सरोकारवालालाई राजनीतिक आस्थाका आधारमा फरक व्यवहार गर्नु हुँदैन । अहिलेका गभर्नर डा. युवराज खतिवडा हुँदा कर्मचारीलाई राजनीतिक आस्थाका आधारमा फरक व्यवहार भयो । उनी कुरो राम्रो गर्ने तर व्यवहार नराम्रो गर्ने गर्थे । आगामी गभर्नरको चरित्र बढी लोकतान्त्रीक हुनुपर्छ ।

गुलियो बोलेर तीतो व्यवहार गर्नु भएन

राजेन्द्र रिमाल
महासचिव, एमाओवादी निकट कर्मचारी संगठन

Rajindra rimalबैंकको ६ दशक लामो इतिहासलाई हेर्दा आगामी गभर्नर नेपाल राष्ट्र बैंकको मात्र नभई मुलुककै केन्द्रीय बैंकको गभर्नरको रुपमा प्रस्तुत हुने व्यक्तिलाई नियुक्त गर्नुपर्दछ । बैंकका सामान्य गतिबिधि देखि झिना मसिना विषयमा विद्धता छाँट्ने व्यक्तिलाई अब सरकारले बैैंकको गभर्नरको रुपमा नियुक्त गर्ने परिपाटी बन्द गर्नुपर्दछ ।गभर्नरले ऐनमा मात्र नभएर साँच्चिकै सरकारको सल्लाहकार र मुलुकको वृहत्तर हितको निम्ति समर्पित भावना बोक्नुपर्दछ ।

मुलुकका विभिन्न निकायको जिम्मेवारी लिँदै कालान्तरमा पार्टी राजनीति गरेर अर्थमन्त्री बन्न खोज्ने सिँढीको रुपमा गभर्नरको पदलाई दाउमा नराख्ने सच्चा अर्थशास्त्रीलाई मात्र गभर्नर बनाउनुपर्दछ । अझ एक वाक्यमा भन्ने हो भने गुलियो भाषा बोलेर तीतो व्यवहार गर्ने प्रवृत्तिका कोही पनि गभर्नरको आकांक्षी नबने मुलुक, जनता र राष्ट्र बैंकको जय हुने थियो कि !

गभर्नर राष्ट्र बैंक र बैंकिङ क्षेत्र मात्रै बुझेको नभई समग्र अर्थतन्त्र विज्ञ हुनुपर्छ । विज्ञ मान्छेले मात्रै सही निर्णय गर्न सक्छ । तर, महत्वपूर्ण कुरा के छ भने सबै विज्ञ मान्छेले सही र परिपक्क निर्णय गर्न सक्दैनन् । त्यसैले विज्ञ र सही निर्णय गर्न सक्ने क्षमता भएको व्यक्तिलाई नै गभर्नर बनाउदा राष्ट्र बैंकको गरिमा अझ माथि पुग्छ ।

राजनीतिकरुपमा बायस हुनु हुँदैन

प्रल्हाद गिरी, सहायक निर्देशक

Prlhad giriनयाँ गभर्नर वित्तीय क्षेत्रलाई सही र कुशल व्यवस्थापन गर्न सक्ने हुनुपर्छ । जसको कार्यकालमा जारी गरेका निर्देशनहरु गल्ती भए भन्दै संसोधन नै गर्न नपरोस् । वित्तीय क्षेत्र भनेको निकै संवेदनशिल क्षेत्र हो, त्यसैले केन्द्रिय बैंकले लिएका नीतिहरु स्थिर हुनुपर्छ । नीतिहरु स्थिर भएनन भने लगानीकर्ताहरु निरुत्साहित हुन्छन् । त्यसैले, वित्तीय स्थिरता कायम गर्दै वित्तीय पहुँच विस्तार गर्न सक्ने क्षमता र भिजन भएको गभर्नर चाहिन्छ ।

गभर्नर, राजनीतिकरुपमा बायस हुनु हुँदैन । सबैलाई खुसी बनाएर सँगै हिँड्न सक्ने खुबी गभर्नरमा हुनुपर्छ । राजनीतिकरुपमा बासय हुने गभर्नर हुँदा व्यवस्थापनमा रहेका उच्च व्यक्तिहरु पनि विभिन्न लाइनमा बाँडिन्छन र केन्द्रिय बैंकको काम कारवाही धेरैहदमा प्रभाववित हुने गर्छ । अबको गभर्नरले यो प्रवृत्तिको अन्त्य गर्नै पर्छ ।

उत्पादकत्वको वृद्धि मानव संसाधानको उच्च्तम परिचालनबाट हुन्छ त्यसका लागि उपयुक्त व्यक्तिलाई उपयुक्त विभाग/कार्यालयमा राख्नुपर्छ । उपलब्ध सीमित साधन र स्रोत प्रयोग गरेर अधिकतम लाभ लिनुपर्छ भन्ने अर्थशास्त्रको सिद्दान्तको पूर्णरुपमा फलोअप गर्नुपर्छ । र, संस्थाका तल्लो तहमा कार्यरत कर्मचारीको रचनात्मक सुझावलाई आत्मसात गर्ने र आलोचनालाई स्वस्थ्यरुपमा ग्रहण गर्न सक्ने गभर्नर हुनुपर्छ ।

घरजग्गा र सेयर बजारबाट वित्तीय क्षेत्र जोगाउन सक्ने

ढुंडीराज मिश्र

महासचिव, एमालेनिकट कर्मचारी संगठन

गभर्नरका लागि पहिलो शर्त त वित्तीय क्षेत्र बुझेको र मौदि्रक नीति तयार गरि परिचालन गर्न सक्ने हैसियत राख्ने हुनुपर्छ । वित्तीय क्षेत्र भर्खर-भर्खर विकास भइरहेको छ । यसबीचमा केही समस्याहरु पनि आए । समस्या समाधानका लागि राष्ट्र बैंकले संख्या घटाउन मर्जर र एक्विजिसनको नीति अबलम्बन गरेको छ । अबको गभर्नरले यो नीतिलाई प्राथमिकताका साथ निरन्तरता दिनुपर्छ ।

अहिले देखिएको वित्तीय क्षेत्रलाई संभावित जोखिममा पार्न सक्ने घरजग्गा र सेयर बजारबाट जोगाउनु पर्‍यो । त्यस्तै, संस्थालाई बलियो बनाउन गभर्नरले कुशल प्रशाशक पनि हुनै पर्छ ।

राजनीतिक पार्टीको सदस्यता लिएको हुन भएन । र, राष्ट्र बैंकभित्र आफू पनि राजनीतिकरण नगर्ने र अरुलाई पनि गर्न नदिने गभर्नर आउनु पर्छ ।

हिम्मतिलो गभर्नर चाहिएको छ

तेजप्रसाद शर्मा
अध्यक्ष, नेकपा-माओवादी निकट कर्मचारी संगठन

पछिल्लो समयमा बढिरहेको बैंकिङ अपराध रोक्न सक्ने हिम्मत भएको निडर नयाँ गभर्नर राष्ट्र बैंकलाई चाहिएको छ ।  त्यस्तै, अहिले पनि आधाभन्दा बढी जनताले बैंकिङ सेवा पाएका छैनन् । यो अर्थमा गाउँ-गाउँसम्म वित्तीय सेवा पुर्‍याउने भिजन भएको गभर्नर हामीलाई चाहिएको छ । आगामी अर्थव्यस्था यस्तो हुनुपर्छ भनेर राजनीतिक दलहरुलाई सुझाव र दबाब दिनसक्ने हैसियत नयाँ गभर्नरले राख्नुपर्छ । अर्थव्यवस्थाको स्वरुप निश्चित भयो भने हाम्रा नीतिहरु प्नि स्थिर हुन्छन् ।

अहिलेका गभर्नर जस्तो स-सानो कुरामा पनि चासो लिने र हदैसम्मको राजनीतिकरण गर्ने व्यक्ति नयाँ गभर्नर बनेर आयो भने खतिवडाका पालादेखि ओरालो लाग्न सुरु गरेको राष्ट्र बैंकको गरिमा अझै तल र्झछ । त्यसैले सरकारले सचेत भएर व्यावसायिक व्यक्तिलाई नयाँ गभर्नर बनाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment