Comments Add Comment

सप्तरीका सरकारी कार्यालय र सभासदको घरमासमेत कालो झण्डा !

Black-Day-At-Saptari

एसके शान

३ असोज, सप्तरी । मुख्य तीन दलले आइतबार दीपावली मनाउन निर्देशन दिए पनि सप्तरी लगायतकबा जिल्लामा अर्कै उल्लास छ, विरोध र ‘कालो दिन’ को ।

आइतबार बिहानैदेखि यहाँ कालो दिवस मनाउनेको भिड उल्लेख्य देखिएको छ । सदरमुकाम राजविराजसहितका ठाउँमा जताततै कालोझण्डा, कालो पोशाक, हात र टाउकोमा कालोपट्टी बाँधेर कतै नाराबाजी त कतै र्‍याली र सभा गरिरहेका छन् ।

कालो दिवस मनाउन मधेसी र थारुका नेता/कार्यकर्ता मात्र होइन, मजदूर, सर्वसाधारण, जातीय संगठन पनि सडकमा ओर्लिएका छन् । उनीहरु सबैले कालो कपडा र पट्टी लिएका देखिन्छन् । कोही मोटरसाइकलमा त कोही साइकलमै कालो झण्डा लगाएर सडकमा उत्रेका छन् ।
मुख्य तीन दलको अगुवाइमा पारित गरिएको संविधान जारी गरेर दीपावली मनाउने तरखर गरिरहँदा सप्तरीसहितका जिल्लामा कालो दिवस मनाउनेको भीड अत्यधीक देखिएको छ । गाउँदेखि शहरहरसम्म कालोझण्डा र कालो वस्तु व्याप्त देखिएको छ ।

नेतादेखि कार्यकर्तासम्म

Black-Day-At-Saptari-2

संघीय समाजवादी फोरम नेपालकी उपाध्यक्ष रेणु यादव टाउकोमा कालोपट्टी बाँधेर बिहानै राजविराजको सडकमा देखापरिन् । उनीसँगै जिल्लामा रहेका विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव, महिला मञ्चकी महासचिव पुनम यादवसहितका मधेशी र थारुका नेता/कार्यकर्ताहरु टाउकोमा कालोपट्टी बाँधेर बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताहरुले हरेक चोकमा कालो झण्डा झुण्डयाएका छन् । राजविराजको गजेन्द्र चोक, जनआन्दोलन चोक, रुपनी मोड, छिन्नमस्ता मोड, कुनौली मोडमा कालो झण्डा झुण्डयाइएको छ । राजविराज-भारदह सडक खण्ड अन्तर्गत र्फसेठ, बभनगामाकट्टी, मंसापुर, हनुमाननगर, योगिनियाँमा कालो झण्डा गाडिएको छ भने हुलाकी राजमार्गअन्तर्गत जमुनी मधेपुरा, मलेकपुर, पत्थगरगाडा, अर्नाहामा कालो झण्डा गाडिएको छ । छिन्नमस्ता सडक खण्डको बोरिया, बरहीबीरपुर, इटहरी बिष्णुपुरमा पनि कालो झण्डा गाडिएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदह, कञ्चनपुर, महुली, रुपनी, शम्भुनाथ, कठौना, कल्याणपुर, कुसहा र कदमाहामा ठूला-ठूला कालो झण्डा सडकमै गाडिएको छ ।

सरकारी कार्यालयमा पनि कालो झण्डा

सरकारले हरेक सरकारी कार्यालयमा दीपावली मनाउने भने पनि सप्तरी सदरमुकाम राजविराजका सरकारी कार्यालयमा समेत कालो झण्डा गाडिएको छ ।

जिल्ला प्रशासन कार्यालय, पुनरावेदन र जिल्ला अदालत, हुलाक कार्यालय, वन, मालपोत, भूमीसुधार, सिंचाई, घरेलु तथा साना उद्योग, टेलिकमसहिका सम्पूर्ण कार्यालयमा कालो झण्डा गाडिएको मधेसी मोर्चा सप्तरीका संयोजक दिनेश यादवले बताए ।

पार्टी कार्यालय र सभासद्को घरमा पनि

Black-Day-At-Saptari-1

प्रदर्शनकारीहरुले मुख्य तीन पार्टीको कार्यालय र सभासदका घरमा पनि कालोझण्डा गाडेका छन् । प्रदर्शनकारीले नेपाली कांग्रेसको पार्टी कार्यालयमा तथा एमाले सभासद ताराकान्त चौधरीको पातो गाविसस्थित घरमा कालो झण्डा गाडेका छन् । प्रदर्शनकारीले एमाले र एमाओवादीको पार्टी कार्यालयमा पनि कालो झण्डा गाड्ने बताएका छन् ।

उनीहरुले यसअघि नै सदरमुकाम राजविराजस्थित एमाओवादी सभासद उमेश यादव, का्रग्रेस सभासद रंजित कर्ण र सुरेन्द्र यादवसहितको घरमा कालो झण्डा गाडिसकेका छन् ।

पत्रकारहरुको हातमा पनि कालोपट्टी

सप्तरीका पत्रकारहरुले पनि हातमा कालोपट्टी बाँधेर कालो ब्यानरसहित राजविराजमा आइतबार प्रदर्शन गरेका छन् । पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक ग्यारेन्टीको माग गर्दै पत्रकारहरु कालोपट्टी बाँधेर सडकमा आएका हुन् ।

प्रेस यूनियन, मधेसी पत्रकार समाज, मधेसी पत्रकार संघ, मैथिली पत्रकार परिषद्, राष्ट्रिय मिडिया पत्रकार सञ्जाल र आदिवासी जनजाति पत्रकार महासंघको संयुक्त ब्यानरमा पत्रकारहरुले प्रदर्शन गरेका हुन् । स्थानीय शिब मन्दिर प्राङ्गणबाट निस्केको पत्रकारहरुको बिरोध र्‍याली नगरको बिभिन्न भाग परिक्रमा गर्दै स्थानीय जनआन्दोलन चोकमा पुगेर टुँगिएको थियो ।

यस्तै स्थानीय एफएमहरुले आज र भोली साँझ ७ बजेदेखि ७.१५ बजेसम्म १५ मिनेट शोक धुन बजाउने र शोकधुन बजाउनु अघि ‘स्वायत मधेश प्रदेशसहितको आन्दोलनमा सहादत प्राप्त गरेका शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं’ भन्ने शोकधुन बजाउने बताइएको छ ।

सप्तरीका शिक्षकहरुले पनि आइतबार प्रदर्शन गरेका छन् । जारी आन्दोलनप्रति ऐक्यबद्वता जनाउँदै नीजि तथा सामुदायिक विद्यालयका शिक्षकहरुले जुलुस निकालेका छन् । स्थानीय केशो अनिरुद्वबति माविबाट निकालिएको शिक्षकहरुको र्‍याली नगरको बिभिन्न भाग परिक्रमा गरेको थियो ।

सामाजिक सञ्जाल पनि कालै

मधेसी समुदायको सामाजिक सञ्जाल पनि कालोमय देखिएको छ । फेसबुक चलाउनेहरुले आफ्नो प्रोफाइल फोटो कालो बनाएका छन् । कतिपले यो संविधान चाहिँदैन भन्दै संविधानमै कालो बनाएर पोष्ट गरेका छन् । अधिकांश फेसबुक प्रयोगकर्ताले कालो झण्डा अथवा कालो वस्तु पोष्ट गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment