Comments Add Comment

चिनियाँ कार्ड खेल्ने हो ? एकपटक यता ध्यान दिनोस् !

अरुणकुमार सुवेदी

अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी

तेलबाट उत्पन्न तनावले नेपालको विदेश नीति र रणनीतिक क्षमतामाथि सघन बहस सुरु भएको छ । एउटा छिमेकी राष्ट्र भारतप्रति भाषा र शब्दका अनुशासनहीन प्रयोगले तनाव र आक्रोशको सीमा र सघनता सहजै आंकलन गर्न सकिन्छ । गतहप्ता यसै परिप्रेक्षमा तेल कुटनीति र नेपालको विदेशनीति माथि लेखिएको लेखप्रति व्यापक पाठक प्रतिक्रिया प्राप्त भयो ।

नेपालले चीन र भारतसँग निर्वाह गरेको सम्बन्ध र पाएको व्यवहारको कसीमा नेपालको यी दुई राष्ट्रसँगको भूत र वर्तमानको विश्लेषण एवं भविष्यको सम्बन्धको सम्भावनाबारे पूरक लेखका रुपमा यो अर्को लेख आएको छ ।

इतिहासको कसीमा नेपाल चीन सम्बन्ध :

बडामहाराज पृथ्वीनारायण शाहद्वारा भारतमा राज्य गर्न आएका इसाई (फिरंगी) शासकविरुद्ध हिन्दु सांस्कृतिक राष्ट्र खडा गर्ने क्रममा नेपाल स्थापित भएको हो । यो एकीकरणको अभियानकै क्रममा बहादुर शाहले हिमाल पारि तिब्बतमा पनि आक्रमण गरेका छन् । यही आक्रमण नै आधुनिक नेपाल र तत्कालीन चीनवीच राज्यस्तरीय युद्ध र सम्बन्धको पहिलो कारण हो ।

आधुनिक नेपालको चीनसँग पहिलो जम्काभेट कुनै मन्त्रीका लागि नभएर भोट तिब्बतमाथि आधिपत्य गर्ने युद्धका कारणले भएको थियो

विगतमा हिमालय श्रृंखलाभन्दा दक्षिणमा विस्तार भइरहेको नेपाल राष्ट्र र आफ्नो साम्राज्य विस्तार गरिरहेको अंग्रेजप्रति चीनले कुनै चासो नराखिरहेको अवस्था थियो । यसैवीच नेपालको तर्फबाट दामोदर पाण्डे र पछि अभिमानसिंह बस्नेतको नेतृत्वमा तिब्बतमाथि चढाइ गरिएपछि चीनका छिन बंशीय राजा एकाएक जागे । अर्थात आधुनिक नेपालको चीनसँग पहिलो जम्काभेट कुुनै मन्त्रीका लागि नभएर भोट तिब्बतमाथि आधिपत्य गर्ने युद्धका कारणले भएको थियो । पछि छिन महाराजको फौजसँग परास्त भएपछि नेपालले वेत्रावति सन्धि गरेको थियो ।

त्यही बेत्रावति सन्धिले नेपाल र भोट दुबैले चीनको छिन महाराजको आधिपत्य स्वीकार गरी कोशेली पठाउनेे, दूत पठाउने शर्तहरु राखिए ।

साथै नेपाल र भोटमाथि अरु कसैले आक्रमण गरेमा चीनले आफु समेतमाथिको आक्रमण ठानी त्यस्तो आक्रमणविरुद्ध लड्ने कुरा  सन्धिमा उल्लेख गरिएको थियो ।

चीनसँगका सन्धिका आधारमा अंग्रेजलाई हराउने सपना देखिरहन्थे भीमसेन थापा

त्यही वेत्रावति सन्धि नै नेपाल र चीनको पहिलो मैत्री सन्धि हो । पछि भीमसेन थापाको उदयपछि, लगभग २१/२२ वर्षपछि चीनसँगको यही सन्धिका आधारमा उत्तरी भारतका केही रजबाडाहरुसँग मिलेर ठूलो सैन्य आक्रमण गरीअंग्रेजलाई भारतवर्षबाटै हराउने सपना देखिरहन्थे भीमसेन थापा ।

तर, जब अंग्रेजसँग नेपालको युद्ध सुरु भयो, तब भोटका तत्कालीन शासकमार्फत दक्षिणको फिरंगी बादशाहले दुःख दिएको हुँदा सैनिक सहायता पठाउने आग्रहको सन्देश नेपालले चीनका वादशाहसमक्ष पुर्‍यायो । तर, यसको जवाफमा चीनका छिन महाराजले दक्षिणको बादशाहसँग मिलेर बस्नू, हामी हिमाल पारि आउन्नौं भन्ने सन्देश  नेपाललाई पठाएको कुरो इतिहासमा दर्ज नै छ ।

परिणामस्वरुप नेपालले अंग्रेजसँग सुधौली सन्धी गर्‍यो र  एक तिहाइ भू-भाग गुमायो । धेरै योद्धाहरु पनि गुमायो । त्यसपछि लामै समय राज गरे पनि त्यही अदुरदर्शी कुटनीति र रणनीतिको परिणामस्वरुप भीमसेन थापाको अन्त्य त्यस्तै त्राशदीपूर्ण रुपमा भयो ।

जंगबहादुरको उदयपछि फेरि उनले आफ्ना भाइहरुको नेतृत्वमा तिब्बतमाथि आक्रमण गरे । त्यसपछि युद्धमा हार खाएको तिब्बतसँग थापाथली सन्धि भयो, जसले रणबहादुर शाहका पालाको वेत्रावति सन्धिलाई पूरै उल्ट्यायो । यो खबरले बेजिङका बादशाह नेपालसँग फेरि रिसाए । र, नेपालमाथि आक्रमण गर्न ठूलो फौज पठाई नेपाललाई पराजित गरी पुनः अर्को वेत्रावति सन्धी गरी भोट तिब्बतलाई नेपालबाट स्वाधीन बनाए ।

चीनसँगको हार र बेत्रावति सन्धिपछि जंगबहादुरले बृटिश-भारतसँग सम्बन्ध सुधार गरेको पाइन्छ । परिणामस्वरुप नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) लिन र बेलायत भ्रमणमा गई ३१ तोपको सलामी लिन जंगबहादुर सक्षम भएका हुन् ।

तिब्बत ‘फ्याक्टर’

चीनसँगको हार र बेत्रावति सन्धिपछि जंगबहादुरले बृटिश-भारतसँग सम्बन्ध सुधार गरेको पाइन्छ

आधुनिक गणतान्त्रिक चीनसँग नेपालको सम्बन्धको सुरुवात चीनले तिब्बतलाई आफूमा लिएपछि मात्रै भएको हो । अहिले दुई देशवीच सीमा विवादलगायतका विषय समाधान भएपछि पनि नेपालबाट तिब्बत मामिलामा अप्ठेरो परिरहेको कुरा चीनले बारम्बार उठाइरहेकै छ ।
केही महिनाअघि पनि नेपालको पहाडी क्षेत्रमा भइरहेको धर्मान्तरणले तिब्बतको आन्तरिक अवस्थामा खलल पुगेको गुनासो चीनले गरेकै हो ।

अर्थात, इतिहासको विश्लेषण हेर्दा चीनले नेपालसँग तिब्बतसम्बन्धी विषय बाहेकमा खास सरोकार राखेको पाइँदैन । जसरी भारतमाथि हाम्रा बार्गेनिङका लागि धेरै कुराहरु छन्, त्यसरी नै चीनमाथि हाम्रो उपल्लो हात केही पनि पनि छैन । नत चीनलाई आवश्यक कुनै प्राकृतिक स्रोत नै हामीसँग छ । त्यसैले भारतको विकल्पमा चिनियाँ कार्ड खेल्नुभन्दा पहिले यी तथ्यहरुलाई मनन गर्नैपर्ने हुन्छ ।

चीनको बनियाँ कुटनीति र हाम्रो व्यवहार

आधुनिक चीन सबैभन्दा ठूलो ब्यापारिक चाख भएको राष्ट्र हो । यस मानेमा चीनसँग निकै मामिलामा हामी जोडिएर तीता अनुभव लिइसकेका छौं । त्यसमध्ये हाम्रो व्यापारिक-कुटनीतिक अपरिपक्वताका केही उदाहरणहरु प्रस्तुत गर्नु सान्दर्भिक होला । जसका आधारमा पनि चीनले हामीलाई कसरी ग्रहण गर्ला भनेर सहजै आँक्न सकिन्छ :

दृष्टान्त एक- कचुवा (गेजुवा) र त्रिशुली थ्री ‘ए’को लफडा एउटा उल्लेख्य उदाहरण हुन सक्छ । चीनको सहयोगमा बनिरहेको उपल्लो त्रिशुली थ्री एको क्षमता वृद्धि प्राविधिक र आर्थिकरुपले ठीक कुरा थियो । तर, उक्त निर्णय ट्रेड युनियनको दबाव र त्यसमाथिको राजनीतिले कार्यान्वयन भएन ।

गेजुवा आफैंमा चीन सरकारको कम्पनी हो । तर, यो प्रकरणमा नेपालका जिम्मेवार राजनीतिज्ञहरुले गेजुवामाथि घुस लिनेदिने गरेको र अनुचित आर्थिक चलखेलबाट निर्णय गराएको आरोप लगाए । जसरी नेपालमा एउटा सरकारी कम्पनीले घुस दिनु भनेको सरकारले घुस दिनु हो, चीनमा पनि त्यस्तै नै हो । यसको सीधा आरोप हुन्थ्यो, चीन सरकार घुस दिएर आफ्ना कम्पनीलाई ब्यापार दिलाउँछ । यो प्रकरणलाई चिनियाँ संस्थापनले कसरी लियो होला ? हामीले कहिल्यै सोचेका छौं ?

दृष्टान्त दुई- त्यस्तै अर्को घटना छ, चीनलाई दिइएको मेलम्चीको ठेक्का प्रकरण । मेलम्चीको ठेक्का पारेको चीनको रेल्वे ब्युरो पनि  त्यहाँको सरकारी कम्पनी नै थियो । त्यो ठेक्कामा पुनः वार्ता गरी समस्या सुल्झाउने चिनियाँ ब्यापारिक कुटनीतिलाई नेपालले ठूलो लज्जामा पारेर पठायो । त्यसको ठेक्का तोडेर बैंक ग्यारेन्टी सरकारले लिँदा हिमालयन बैंक र बैंक अफ काठमाडौंको सवा अर्ब जति रकम डुब्न गयो । काउन्टर ग्यारेन्टी दिने नेपालका स्थानीय बैंकले उक्त रकम तिर्नुपर्‍यो । तर, चीन सरकारकै बैंक (कन्स्ट्रक्सन बैंक चाइना) ले भने उक्त बैंकहरुको दाबीलाई दिएको ग्यारेन्टी वापतको रकम भुक्तानी दिएन । यो पनि चीनसँग हाम्रो सम्बन्धको एउटा सांकेतिक मानक हो । यस्ता उदाहरणहरु थुप्रै हुन सक्छन् ।

इतिहासदेखि वर्तमानसम्म देखिएका यी प्रकरणहरुबाट चीनसँगको हाम्रो सम्बन्ध कति सघन छ होला, सहजै आंकलन गर्न सकिन्छ ।

के नेपालले भारतमाथि प्रभाव जमाउन सक्छ ?

वि.सं.२००७ सालदेखि नै नेपालमा एउटा राष्ट्रवादको ब्राण्डिङ छ । त्यो हो भारतविरोधी हुनु नै राष्ट्रवादी हुनु हो भन्ने । नेपाल- भारतबीच भएका हरेक सन्धिलाई असमान देख्ने र नेपाल हेपिएको छ भन्ठान्ने । नेपालका हरेक साना/ठूला राजनीतिक घटनाको एक्लो नियन्ता भारतलाई ठान्ने ।

विगत ६ दशकभन्दा बढीका केही घटनाक्रमले यस्तो स्थितिलाई धेरैथोरै प्रमाणित पनि गरेकै हो । तर, यो लेखक भारतलाई यस्तो शक्तिमान र नेपाललाई त्यस्तो शक्तिहीन ठान्दैन । र, भारतलाई नेपालमा भएका तमाम घटनाहरुको नियन्ता हुने हदसम्मको शक्तिशाली त झन पटक्कै मान्दैन ।

भारत त्यो देश हो, जुन देशका रिक्साचालकदेखि राष्ट्रपति, प्रधानमन्त्रीसम्मको ओहदाका मानिससँग एउटा सामान्य नेपाली नागरिक दोहोरो वार्ता गर्न सक्ने अवस्थामा रहन्छ । दिल्ली गएर केही दिनको मेहनतले जो कोही त्यहाँका मन्त्री नेतालाई भेट्न सक्छ, चित्त नबुझे झगडा गर्न सक्दछ र केही मान्छे भेला  पारेर दिल्लीमा धर्ना नै बस्न पनि सक्छ ।

भारत त्यो राष्ट्र हो, जसका धेरै राजनीतिक र उपल्ला कर्मचारीसँग नेपालका राजनीतिज्ञ र कर्मचारीको अनौपचारिक सम्बन्ध मात्र नभएर कतिपयको पारिवारिक सम्बन्ध समेत छ ।

भारत विश्वको ठूलो शैन्य शक्ति हो, १२५ करोड जनसंख्या भएको राष्ट्र हो र ठूलो अर्थतन्त्र भएको देश हो । यस्तो राष्ट्र भारतको सैन्य बलमा नेपालको उल्लेख्य उपस्थिति छ ।

नेपालका पहाडी मूलको जनसंख्या उत्तरपूर्वदेखि दिल्ली देहरादुनसम्म यथेष्ट छ । मधेसी समुदायको ठूलो जनसंख्या एउटै संस्कृति र सम्बन्धमा दुईतिरै बसेको छ । नेपालको आफ्नो प्रभाव भारतीय सेना र त्यहाँका आम जनतामाथि पनि उल्लेख छ । नेपालको हिन्दू सांस्कृतिक विरासत भारतीय आम जनताको श्रद्धा गर्ने एउटा पक्ष हो ।

यी यस्ता पक्षहरु हुन्, जसका आधारमा भारतमाथि नेपालले दह्रो पकड जमाउन सक्छ ।
भारतसँग, विशेषतः भारतको खुफिया संयन्त्र ‘रअ’ सँग नेपाल डराएको र घिनाएका धेरै प्रकरणहरु सुनिन्छ, देखिन्छ । तर, त्यत्रो ठूलो राष्ट्रको मूल खुफिया संगठनका योजनाहरुको ‘ब्लु पि्रन्ट’ सहित काठमाडौं सडकमा हिँडेको एउटा सामान्य पत्रकारले ‘डिकोड’ गरेर पुस्ताकाकारमा निकाल्छ भने त्यो संगठन कतिको डरलाग्दो अवस्थाको होला ?

यी सबै यस्ता पक्षहरु हुन्, भारतमाथि नेपालले पकड जमाउन कुनै ठूलो मेहनत गर्नुपर्दैन । यस्तो अवस्था रहँदा रहँदै पनि भारतमाथि दबाव र मैत्रीको पकड हामीले जमाउन सकिरहेका छैनौं । यसबाट हाम्रो व्यवहारिक, कूटनीतिक र रणनीतिक ठूलो कौशल विकास गर्न बाँकी रहेको कुरा छर्लङ्ग हुन्छ ।

यीबाहेक भारतसँग हाम्रो अडान क्षमता वृद्धि गर्ने अर्को सकारात्मक पक्ष पनि छ, त्यो हो- जलस्रोत र उर्जाको साझेदारी । यसबारेमा यो लेखकको ‘जल सपना’ शीर्षकको पुस्तक नै आइसकेको छ । यी तमाम पक्षहरुबीच नेपाल भारत सम्बन्धको अतीत र वर्तमान ब्याख्या गर्नुपर्ने भएन । र, त्यो यस लेखको केन्द्रीय उद्देश्य पनि होइन ।

तर, नेपाल-भारत सम्बन्ध तनावमा पर्नासाथ नेपालले खेल्ने चिनियाँ कार्डलाई राजा महेन्द्रको धूर्त घुक्र्याइँको मोडल भनी स्वप्नकारले पहिल्यै लेखेको छ ।

अहिले आएर पनि नेपालले महेन्द्रका पालामा भन्दा बढी चिनियाँ कार्ड खेल्न खोजेको प्रतीत हुन्छ । तर, नेपालले खेल्नासाथ चीन गजक्क परेर नेपालले भनेअनुसारको सहयात्री बन्ला ? भन्ने प्रश्नमा स्वप्नकारले सम्भव छैन भनी संक्षिप्त विश्लेषण गर्दा धेरैलाई नपचेको र केहीलाई नबुझे पनि बढी पचेको अवस्था देखियो । यसकारण पनि अरु व्यापक विश्लेषणात्मक लेखको अपेक्षा गरिएको हुन सक्छ पाठकहरुबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment