+
+

खुलामञ्च र लैनचौरमा भूमिगत पार्किङ बनाइँदै, एकसाथ १३ सय गाडी अटाउने (फोटोसहित)

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७३ असार १२ गते १८:५५

khulamanch-parking-5
१२ असार, काठमाडौं । न्यूरोड, ठमेल र दरवारमार्गजस्ता व्यस्त स्थानमा सवारी पार्किङ गर्न घण्टौं पालो कुर्नुपर्ने बाध्यता अब हट्ने भएको छ ।

यी व्यस्त स्थानको पार्किङ व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले खुलामञ्च र लैनचौरमुनि भूमिगत बहुतले पार्किङ स्थल निर्माण गर्ने भएको छ ।  यी दुबै ठाउँमा बजार, कफीसप र पसलसहितको बेसमेन्ट पार्किङ बनाउन सकिने प्रतिवेदन परामर्शदातृ संस्थाले दिएको छ ।

दुबै ठाउँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्राप्त भएको र छिटै सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माण गर्नेगरी प्रकृया अगाडि बढाइने महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले जानकारी दिए ।

khulamanch-parking-3
‘सवारी पार्किङको व्यवस्थापनका लागि खुलामञ्च र लैनचौरमा अण्डरग्राउण्ड संरचना विकास गर्ने परिकल्पना पुरा गर्न सकिन्छ भन्ने अध्ययनले देखायो’ तामाङलेे भने ‘अब निर्माणका लागि सरकारसमक्ष औपचारिक प्रस्ताव पेश गरिनेछ । जग्गाका लागि अनुमति र लगानीको मोडेलमा निर्णय भएपछि काम सुरु हुन्छ ।’

निजी कम्पनीलाई निर्माणको जिम्मा दिएर २५ वर्षसम्म सञ्चालन गरी महानगरलाई नै हस्तान्तरण गर्ने गरी यी परियोजनाहरु प्रस्ताव गरिएको छ । ३ देखि ५ वर्ष निर्माणका लागि समय दिइनेछ । पार्किङ र व्यापारिक स्टलहरुबाट उठेको रकम २५ वर्षसम्म निर्माता कम्पनी आफैंले राख्ने महानगरका सार्वजनिक-निजी साझेदारी महाशाखाका प्रमुख शिवराज अधिकारीले जानकारी दिए ।

khulamanch-parking-6

खुलामञ्चको पार्किङ

खुलामञ्चको ४८ रोपनी जग्गामा बन्ने भूमीगत पार्किङमा विभिन्न किसिमका सवारी पार्किङको सुविधा दिने योजना छ । अब खुलामञ्चमा ३ तल्लाको भूमिगत संरचना निर्माण हुनेछ । पहिलो तलामा मोटरसाइकल पार्किङ स्थलसहित विभिन्न व्यापारिक स्टलहरु रहनेछन् । कफीसपसहित विभिन्न व्यापारिक स्टलसहितको कम्प्लेक्स रहनेछ । पार्किङबाट मात्रै लगानी नउठ्ने देखिएपछि एक तलामा व्यवसायिक स्टल राख्न प्रस्ताव गरिएको छ ।

khulamanch-parking-7दोस्रो र तेस्रो तलामा भने पूर्णरुपमा व्यवसायिक पार्किङ गरिनेछ । खुलामञ्चमा पैदलयात्री र पार्किर्ङ  गरेर निस्कनेहरुका लागि चारवटा अण्डरग्राउण्ड सब-वे प्रस्ताव गरिएको छ । खुलामञ्चको पश्चिमतर्फको एउटा बाटो वीर अस्पताल र अर्को भोटाहिटीतर्फ हुनेछ । पूर्वपट्टी एउटा बाटो पुरानो बसपार्क र अर्को बागबजारको सडकसँग जोडिनेछ । खुलामञ्चको बाहिरी संरचनामा कुनै फेरबदल गरिनेछैन । सवारी भने वीर अस्पतालतर्फको बाटोबाट छिर्नेछन् र पुरानो बसपार्कतर्फको बाटोबाट निस्कनेछन् ।

पार्किङको भित्रसम्म घामको प्रकाश छिर्ने बनाउन र हावाको प्रवाह कायम राख्न बीचमा केही संरचनाहरु रहनेछन् । पार्किङको भूमिगत खुलामञ्चको मञ्चलाई आधुनिक र थप व्यवस्थित बनाइनेछ । खुलामञ्चमा पार्किङ निर्माण गर्न ३ अर्ब रुपैयाँ रकम लाग्ने अनुमान गरिएको कार्यकारी प्रमुख तामाङले बताए । यसमा एकपटकमा १ हजार भन्दा बढी सवारी पार्किङ गर्न सकिने छ ।

लैनचौरको पार्किङ

लैनचौरमा पनि तीनतले पार्किङ प्रस्ताव गरिएको छ । तीनै तला अण्डरग्राउण्ड हुनेछन् । लैनचौरमा यो संरचना बनेपछि चौरको उचाइ सडकबाट करिब पाँच फिट अग्लो हुनेछ ।

lainchaur-parking-1माथिका संरचनालाई यथावत राखिनेछ । खुलामञ्चमा जस्तै यहाँ पनि पहिलो तलामा व्यवसायिक बजार रहनेछ । यहाँ पनि पार्किङ शुल्कले मात्रै लगानी सुरक्षित गर्न नसक्ने देखिएको छ । मार्केट राखेर पहिलो तल्लाको केही भागमा भने मोटरसाइल पार्किङस्थल हुनेछ । लैनचौरतर्फ सोह्रखुट्टेतर्फबाट आउनेलाई सिधै पार्किङमा छिर्ने सुविधा हुनेछ ।

lainchaur underground parking (2)
तर, जमलतर्फबाट जानेहरुका लागि समाज कल्याण परिषदको जग्गा भाडामा लिएर छुट्टै बाटो राख्ने प्रस्ताव छ । पैदलयात्रुलाई हिँड्न र निस्कन अमृत साइन्स क्याम्पसतर्फ २ सय २५ मिटरको अण्डरग्राउण्ड सब-वे राख्ने योजना छ । माथिको भागलाई भने अहिलेकै स्वरुपमा राखिनेछ ।

lainchaur underground parking (1)
लैनचौरमा भूमिगत पार्किङका लागि ७५ करोड रुपैयाँ लाग्ने अनुमान छ । यसमा एकपटकमा झण्डै ३ सय कार अटाउनेछन् ।

सब-वेबारे अन्योल

दुबै पार्किङस्थलमा सर्वसाधरण आवत-जावत गर्न लिफ्टसहितको अत्याधुनिक अण्डरग्राउण्ड सब-वे प्रस्ताव गरिएको छ । तर, सब-वेको संरचना राख्दा परियोजनाहरुको कुल लागतमा ठूलो वृद्धि हुनेछ ।

khullamanxh-underground-parदुबै पार्किङस्थलमा खर्च हुने रकमको एक तिहाइ बढी सब-वेमा लाग्नेछ । त्यसैले सरकारले नै यस विषयमा आवश्यक निर्णय दिनुपर्ने पक्षमा महानगरपालिका देखिएको छ ।

‘नागरिकको सहजताका लागि सब-वे अत्यावश्यक छ’ पीपीपी महाशाखा प्रमुख अधिकारीले भने- ‘तर,  त्यसैका कारण परियोजनको लागत निकै बढ्ने देखिएको छ । यसमा सरकारले लगानी गर्नुपर्ने प्रस्ताव अघि बढाउन खोजिएको छ ।’

निर्माता कम्पनीले सब-वेमा रकम लगाउँदा लगानी उठाउन नसक्ने भएकाले त्यसका लागि सरकारले नै रकम खर्चिनुपर्ने प्रस्ताव गर्न लागिएको हो ।

बलियो संरचना

खुलामञ्च र लैनचौरको खाली जग्गाभित्रै पार्किङस्थल बन्ने भएकाले यो निकै बलियो हुनुपर्ने देखिएको छ । खुलामञ्च र लैनचौरमा विभिन्न समयमा सभा तथा समारोह हुन्छ, जसमा हजारौंको भीड लाग्ने गरेको छ ।

khulamanch-parking-2त्यसैले यी संरचनाको मजबुदीमा कुनै सम्झौता गर्न नहुने अधिकारीले बताए । बलियो संरचना बनाउनुपर्ने भएकाले यसको लागत ठूलो हुने देखिएको हो । ‘यो संरचना भूकम्प प्रतिरोधी र ठूलो भारवाहक हुन्छ । त्यसैले यसलाई मजबुद बनाउने कुरामा महानगर प्रतिवद्ध छ’ अधिकारीले भने ।

khulamanch-parking-8

ट्राफिक समस्या हल हुने

लैनचौर र खुलामञ्चमा बनाइने यी संरचनाहरुले काठमाडौंको पार्किङको समस्या धेरै घट्ने महानगरको विश्वास छ । ठमेल र लाजिम्पाट क्षेत्रको पार्किङ व्यवस्थापनमा लैनचौरको बेसमेन्ट निकै प्रभावकारी हुने देखिएको छ । हाल त्यो क्षेत्रमा पर्याप्त पार्किङ नहुँदा सडक छेउमै सवारी पार्किङ गर्नुपर्ने वाध्यता छ । भूमिगत पार्किङ सञ्चालनपछि समग्र काठमाडौंको ट्राफिक व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ ।

lainchaur-parking-4

फोटोः महानगरपालिका

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?