Comments Add Comment

काष्ठमण्डप पुनर्निर्माणको टेण्डर असारपछि मात्रै

हेर्दा दुरुस्तै, बलियो प्रशस्तै हुन्छः पुरातत्व विभाग

kasthamandap
भूकम्पबाट क्षतिग्रस्त हुनुअघिको काष्ठमण्डप

१७ असार, काठमाडौं । काठमाडौंको महत्वपूर्ण पुरातात्विक र ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माणमा लागि असार महिनापछि मात्रै टेण्डर आह्वान हुने भएको छ ।

पुनर्निर्माणका लागि आवश्यक पूर्वाधार र मापदण्डबारे पुरातत्व विभाग, काठमाडौं महानगरपालिका र परमर्शदातृ निकायबीच सहमति भएपछि टेण्डरको तयारी गरिएको हो ।

काष्ठमण्डपको पुनर्निर्माणको जिम्मा लिएको काठमाडौं महानगरपालिकालाई टेण्डर निकाल्न पुरातत्व विभागले स्वीकृति दिएको छ । अब यसको औपचारिक पुनर्निर्माणको काम असोजपछि मात्रै सुरु हुनसक्ने देखिएको छ । निर्माण सुरु भएको दुईदेखि तीन वर्षमा पुनर्निर्माण सक्ने महानगरपालिकाको लक्ष्य छ ।

पुरातत्व विभागले काष्ठमण्डपको पुनर्निर्माणका लागि आधिकारिक ‘ड्रोइङ र डिजाइन’ महानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ ।

पर्यटकीय महत्वको सम्पदा समेत मानिने काष्ठमण्डप बनाउन लाग्ने लागतबारे पुरातत्व विभागले जानकारी गराएको छैन । महानगरपालिको काष्ठमण्डप पुर्निर्माणका लागि पहिलो चरणमा ३ करोड रुपैयाँ छुट्याएको छ । बाँकी रकम निर्माण गर्दैगर्दा पछिल्ला वर्षहरुमा व्यवस्था गरिनेछ ।

हेर्दा दुरुस्तै, बलियो प्रशस्तै

काष्ठमण्डपको पुनर्निर्माण डिजाइनमा पहिलेभन्दा कुनै किसिमको फेरबदल नगरिएको विभागका महानिर्देशक भेषनारायण दाहालले बताए ।  पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्दा त्यसमा कुनै परिवर्तन गर्न नपाइने युनेस्कोको अन्तर्राष्ट्रिय मापदण्ड नै छ ।

‘हेर्दा दुरुस्तै, बलियो प्रशस्तै हुनुपर्छ । भूकम्पले ढाल्न नसकिने गरी यसको पुनर्निर्माण हुन्छ,’ दहालले भने । यसको निर्माणमा बलियो प्रविधि अपनाए पनि आधुनिक निर्माण सामाग्री प्रयोग नगरिने उनले स्पष्ट पारे ।

सालकै काठ प्रयोग हुने
kasthamandap-drowingकाष्ठमण्डपमा पुनः प्रयोग गर्न मिल्ने काठहरु जाँच गरेर मात्रै प्रयोग गर्ने सहमति दुई निकायबीच भएको छ । प्राविधिक जाँच गरेर लोड थेग्न सक्ने काठहरु प्रयोग गरिनेछ ।

सकेसम्म बजारका काठ मीलहरुमा उपलब्ध काठ नै यसको पुनर्निर्माणका प्रयोग हुनेछ । कु-काठ मानिने सिसौ, चिलाउने लगायतका रुखका काठ प्रयोग गरिने छैन ।

बलियो हुने भएकाले सखुवा अर्थात सालकै काठ प्रयोग गर्न अनिवार्य गरिएको छ । यदि बजारमा काठ नपाइए वन मन्त्रालयको सहयोग लिएर टिम्बर कर्पोरेशनमार्फत काठ आपूर्ति गर्ने बताइएको छ ।

काष्ठमण्डप एउटै रुखबाट निकालिएको काठबाट बनेको हो भन्ने प्राचिन किंबदन्ती छ । तर, पुरातत्व विभागले एउटै रुखबाट काठ निकालेर यसको पुनर्निर्माण गर्न महानगरपालिकालाई भनेको छैन ।

विभागका सिनियर डिभिजन इञ्जिनियर सम्पद घिमिरे काष्ठमण्डपको पुनर्निर्माणमा ठूला आकारका काठहरु प्रयोग गर्नुपर्ने बताउँछन् । तर, काष्ठमण्डपमा ठूला बुट्टा र जटिल किसिमका काष्ठकलाकृतिहरु नभएकाले काष्ठमण्डप बनाउन ठूलो मेहेनत भने नपर्ने उनको बुझाइ छ ।

महानगरपालिकाले काष्ठमण्डपसँगै माझु देबल र रानीपोखरीको पनि पुनर्निर्माणको जिम्मा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment