Comments Add Comment

ओली सरकारको वहिर्गमन किन ?

तपाई प्रधानमन्त्री नभए पनि पृथ्वी घुम्छ !

KP-Oliयतिखेर केपी ओली सरकारविरुद्ध माओवादी केन्द्रले कांग्रेसको समर्थनमा संसदमा प्रस्तुत गरेको अविश्वासको प्रस्तावले राष्ट्रीय र अन्र्तराष्ट्रिय राजनीतिमा नयाँ बहसको सुरुवात भएको छ । कतिपयले यसलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पदलोलुपताको रुपमा बुझेका छन् भने कतिपयले कांग्रेसको धमिलो पानीमा माछा मार्ने प्रयासका  रुपमामा बुझेका छन् । कतिपयले यसलाई ओलीको राष्ट्रवाद माथि हमलाको रुपमा लिएका छन् ।

तर, माओवादी केन्द्रले भने आफ्नो निर्णयलाई ओलीमा रहेको अन्धराष्ट्रवाद, स्वेच्छाचारिता र न्युनतम् इमान्दारी समेतको अभावका कारण जनता र राष्ट्र दुर्घटनामा पर्ने प्रष्ट देखेपछि चालिएको बाध्यात्मक कदमका रुपमा लिएको छ ।

अन्धराष्ट्रवाद र पृथकतावादमा धु्रवीकृत हुँदै दुर्घटनातर्फ उन्मूख राष्ट्रलाई यी दुई अतिवादी सोचबाट मुक्त गरेर एकतावद्ध पार्नु टड्कारो आवश्यकता हो । राष्ट्र र जनताको पक्षमा अडान लिनु राम्रो कुरा हो, तर हिटलरको अन्धराष्ट्रवादी अडान र स्वेच्छाचारी शासनले जर्मनीको नियति के भयो, सबैले हेक्का राख्न जरुरी छ ।

नेपालको सन्र्दभमा आन्तरिक राष्ट्रीयताहरु (विभिन्न जाति र समुदाय) बीच एकता कायम नगरी बाहृय राष्ट्रियता (नेपाली राष्ट्रियता) बलियो हुन सक्दैन भन्ने कुरा मनन नगर्ने व्यक्ति सच्चा राष्ट्रवादी हुन सक्दैन । ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली’ भन्ने व्याकुल माइला लिखित राष्ट्रिय गीतको मर्म यही होइन र ?

उच्चस्तरिय राजनीतिक संंयन्त्रको प्रमुखको हैसियतमा रहेर प्रम केपी ओलीलाई यति कुरा बुझाउन नसक्नु अध्यक्ष प्रचण्डको कमजोरी हो भन्ने हो भने हाम्रो भन्नु केही छैन, होइन भने शान्ति प्रक्रिया र संंविधान कार्यान्वयनलाई धरापमा पारेर जनयुद्ध र जनआन्दोलनका उपलब्धि समाप्त भएको कसैले पनि टुलुटुलु हेरेर बस्न मिल्दैन ।

haribol
हरिवोल गजुरेल

०७२ आश्विन ३ गते संंविधान जारी भएपछि प्रधानमन्त्री बन्न नेपाली काँग्रेसले  प्रस्ताव राख्दा चार नेतावीच भएको भद्र सहमति पालन गरौं भनेर अध्यक्ष प्रचण्डले इमान्दारिता प्रदर्शन गरेको यथार्थ  यति चाँडै बिर्सन मिल्दैन कि !

कतिपय वृत्तमा वामपन्थीहरुको मोर्चा तोडेर काँग्रेससँग सहकार्य गरेको कुरा उठ्ने गरेको छ । तर, यो परिस्थितिको सर्जक माओवादी केन्द्र होइन । माओवादी केन्द्र र एमालेका मुख्य नेताहरुवीच भएको भद्र सहमति प्रधानमन्त्री केपी ओलीले  पालन नगर्दा यस प्रकारको स्थिति पैदा भएको हो ।

बजेट पारित भएपछि वर्तमान प्रधानमन्त्रीले अध्यक्ष प्रचण्डलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने र यसपछि प्रचण्डले पहल गरेर यसलाई राष्ट्रियस्वरुप दिने सहमति कायम गर्न सकेको भए वर्तमान गठबन्धन तोड्नुपर्ने थिएन । एमालेको नेतृत्वमा पेश गरेको बजेट कार्यान्वयन गर्न सहज हुने कुरालाई केपी ओलीको कुर्सी मोहले हुन दिएन ।

ओलीजीको चिन्तन, सोच र एजेण्डा वामपन्थीभन्दा दक्षिणपन्थीसँग मिल्न गएको हुनाले र एकीकरणपछि माओवादी केद्र बनेर शक्ति आर्जन गरेकोले चिन्तित भएर सरकारको नेतृत्व छाड्न नचाहेको प्रष्ट छ । ०६२/६३ को आन्दोलनको गाडा चढेर अमेरिका पुगिँदैन भन्दै  विरोध गरेको  यथार्थताले यसको पुष्टि गर्छ ।

कुकुरको पुच्छर बाह्र बर्ष ढुंग्रोमा हाले पनि बाङ्गै रहन्छ भन्ने उखान चरितार्थ भयो नै, योसँगै, सरकार सञ्चालनमा देखाएको अराजकता र स्वेच्छाचारिता जोडिन पुग्दा वामपन्थका नाममा हिङ बाँधेको टालो पनि नरहेको पुष्टि हुन्छ । संघीय संविधान कार्यान्वयन गर्न बनेको सरकारको प्रधानमन्त्रीले क्याबिनेटको बैठकमै संघीयताको विरोध गरेको सुन्नु पर्दा लज्जावोधले शीर झुकाउनुपर्ने स्थिति बन्नु निश्चय नै पीडादायी थियो ।

कतिपय मानिसहरु प्रचण्डले यति खतरा किन मोलेका होलान् भनेर प्रश्न गर्छन् । यो सही प्रश्न हो । जुन नेता खतरासँग खेल्न डराउँछ त्यो यथार्थमा नेता हुन पनि सक्दैन । मेरो विचारमा  प्रचण्डले खतरासँग खेलेको नभई सहज बुद्धिले निर्णय लिएका हुन् । यो बाटो हिँड्दा गन्तव्यमा पुगिँदैन भन्ने कुरा सुनिश्चित भएपछि मूर्ख वा पागलबाहेक कसैले पनि त्यो बाटो हिँडिरहँदैन ।

यतिखेर राष्ट्रका सामु पाँच कार्यभार छन्ः महाभूकम्पपछिको पुनर्निर्माण, शान्ति, संविधान, राष्ट्रियता र विकास ।
एमालेको वर्तमान नेतृत्वले न त  शान्ति प्रक्रिया टुङ्यायाउने तत्परता देखायो, न त संविधान कार्यान्वयन गर्न । न त आन्दोलनरत पक्षलाई वार्तामा ल्याउन नै उसले पहल गर्‍यो । उसले न त राष्ट्रियता र विकासको समग्र पक्षलाई नै समेट्न सक्यो । न भूकम्पपछिको पुनर्निर्माणमा देखाउनुपर्ने तत्परता नै देखायो ।

सम्माननीय प्रधानमन्त्रीज्यू ! मेरो निवेदन छ, ‘म नभए पृथ्वी घुम्दैन’ भने जसरी प्रस्तुत भएर हाम्रो शीर निहुर्‍याउने काम नगरिदिनुस्

एमालेले एकाङ्गी राष्ट्रियता र  एकाङ्गी विकासको वकालत गर्दै आश्वासनका पोका खुब बाँड्यो, जनतालाई मनको लड्डु घिउसित खुब खुवायो । राम्रो काम गरेको जस एकलौटी लियो, नराम्रो कामको अपजस अरुलाई दियो र आत्मरति लियो । भूकम्पको सवालमा उद्घाटनमा हिरो, काममा जिरो । चोरलाई चौतारो, साधुलाई सुली संस्कृति अवलम्वन गर्‍यो  । मुखमा राम राम बगलीमा छुरा ब्यवहारमा लागु गरेर देखायो ।

भद्र सहमतिको उलंघन गरेर नौटंकी देखाउँदा पनि नपुगेर एमालेले आत्मरति लिन भीड उरालेर ‘ओली जिन्दावाद’को नारा समेत लगाउन भ्यायो । यी सबै तमासा हेरेर माओवादी केन्द्रले ओली सरकारलाई कसरी समर्थन गरिरहन सक्थ्यो ? सहजै अनुमान लगाउन सकिन्छ ।

प्रधानमन्त्री बन्ने सपना पूरा गर्न भने पनि छिटोभन्दा छिटो संविधान जारी गर्ने प्रचण्डको अडानमा केपी ओलीले साथ दिनुभयो, जबकि दिवंगत सुशील कोइराला हच्किरहनुभएको थियो । जे कारणले भए पनि परिणाम राम्रो आएपछि मान्नैपर्छ । संविधान जारी भएपछिको असहज स्थितिमा पनि सरकारको नेतृत्व गर्दै नेपालीको राष्ट्रवादी भावनाको सम्मान गरेर भूपरिवेष्टित मुलुकले पाउने अधिकार लिएर चीनसंग पारवहन सम्झौता गर्नुभयो । तर, उहाँको यो राष्ट्रवादी अडान कति दिन टिक्ने हो, परीक्षणमा नै छ ।

राष्ट्रवादको वाह-वाही कमाइरहेका बेलामा कमसे कम ‘मेरे को किसने धकेल दिया’ चाहिँ नभन्नु होला । प्रचण्डलाई प्रम बन्नबाट रोक्न ‘गुनले गुन खान्छ, तँलाई म खान्छु’ भन्ने उखान चरितार्थ गर्न नेपाली कांग्रेसका नेताद्वय शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई प्रधानमन्त्री पद बाँड्दै हिँडेबाट यस्तै भन्न सक्नुहुन्छ भनेर शंका गर्ने आधार छ ।

तपाईको नेतृत्वमा सरकारमा बसेर हामीले गरेका राम्रा काम ओझेलमा पर्न नपाओस्, राजीनामा दिएर मार्गप्रशस्त गर्नुस् यसैमा राष्ट्र र जनताको भलो छ । तपाइर्ंको सीमा व्यक्त भएको यथार्थलाई छोप्न बाहनाबाजी नगर्नुस् ।

प्रचण्डका धेरै कमजोरी छन् भन्ने कुरा जनताले बुझेका छन् । तर, राष्ट्र र जनताको चिन्ता ओलीलाई भन्दा बढी प्रचण्डलाई छ भन्ने कुरा पनि जनताले बुझेका छन् । सम्माननीय प्रधानमन्त्रीज्यू ! मेरो निवेदन छ, ‘म नभए पृथ्वी घुम्दैन’ भने जसरी प्रस्तुत भएर हाम्रो शीर निहुर्‍याउने काम नगरिदिनुस् ।

(माअोवादी नेता गजुरेल पूर्व कृषिमन्त्री हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment