Comments Add Comment

उपेन्द्र-प्रचण्ड नाताः न सम्बन्ध, न सम्बन्धविच्छेद !

पटनादेखि गौरसम्म, ठमेलदेखि सिंहदरबारसम्म !

Upendra yadav (1)

१९ साउन, काठमाडौं । भनिन्छ, मानिसले आफ्नो इतिहास आफैं बनाउँछ, तर आफूले चाहेजस्तो होइन । प्रचण्ड र उपेन्द्र यादवको ऐतिहासिक नाता सम्बन्ध पनि यस्तै पहेलीले भरिएको छ । पहाड र मधेसका यी दुई ‘विद्रोही’ नेता कहिले नदीको दोभानजस्तो बन्न खोजे, कहिले एउटै नदीका दुई भंगालो बनेर फाटिए । अहिले उनीहरुको सम्बन्ध ‘न सम्बन्ध, न सम्बन्धविच्छेद’को मझधारमा आइपुगेको छ ।

माओवादी अध्यक्ष प्रचण्ड र संघीय गठबन्धनका अध्यक्ष उपेन्द्र यादवले बुधबार नयाँ बानेश्वरमा तीनबुँदे सम्झौतामा हस्ताक्षर गर्दैगर्दा ती दिनहरु पनि सम्झनामा आउँछन्, जतिबेला माओवादीले उपेन्द्रलाई मार्नका लागि मधेसमा धुइँधुइँती खोजी गरेको थियो । पछि गौर घटना भयो, जहाँ २९ जना माओवादी एकै ठाउँमा मारिए ।

गौर नरसंहार हुँदै पहिलो संविधानसभाको निर्वाचनसम्म आइपुग्दा उपेन्द्र-प्रचण्डवीच झण्डै बोलचाल बन्दको अवस्था थियो । अचानक ठमेलको एउटा होटलमा शंकैशंका वीच दुई नेताको भेट भयो । दुबै नेतामा यति अविश्वास बढेको थियो कि एकापसमा भेट्दा दुबैले सुरक्षाका लागि बाहिरपट्टी आ-आफ्ना ‘फौज’ तैनाथ थिए ।

पटना प्रकरण र उपेन्द्रको ‘हत्या प्रयास’

प्रचण्ड र उपेन्द्र यादवको ‘प्रेम’ र ‘घृणा’ मा नियमित आकस्मिकता र संयोगको लामो सिलसिला भेटिन्छ । र, यसलाई पनि संयोग नै मान्नुपर्छ, यदि भारतको पटनामा एउटा आकस्मिक घटना नभएको भए उपेन्द्र यादव अहिले पनि माओवादीकै नेता हुने थिए ।

म डेढ महिनामा छुटेँ । सुरेश र मातृका नेपालमा सुपुर्दगी गरेपछि माओवादीले मलाई मार्ने निर्णय गर्‍यो, दुईवटा टोली नेपालमा र एउटा भारतमा खटायो । यहीँबाट माओवादीसँग मेरो सम्वन्ध ब्रेक भयो

तर, उनले त्यही एउटा घटनाबाट माओवादी मात्रै छाडेनन्, प्रचण्डसँग एक-अर्काको सत्रुमा रुपान्तरित भए । पछि त्यसैको चरम रुप गौरमा व्यक्त भयो ।

विद्यार्थी जीवनदेखि नै वामपन्थी राजनीतिबाट प्रभावित उपेन्द्र यादवले ०५४ मा एमाले छाडेका थिए । मदन भण्डारी जीवितै रहेको भए अहिले आफू एमालेमै हुन सक्ने उपेन्द्रको अनुमान छ । मधेसी र जनजातिलाई हेर्ने मदन भण्डारीमा गम्भीरता आफूले पाएको तर उनको निधनपछि एमाले गलत बाटोमा लागेको उनको विश्लेषण छ ।

एमाले छाडेपछि उपेन्द्रले मधेसी जनअधिकार फोरम नामक दबाव समूह बनाए । उनको दाबी छ, मुलुक राजतन्त्रतात्मक प्रणालीले अगाडि बढ्न सक्दैन र नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हुनुपर्छ भनेर उनले त्यसैबेला लेखेका थिए, जतिबेला माओवादीले गणतन्त्रको कुरा गरे पनि संघीयता भनिसकेको थिएन ।

पछि गणतन्त्र र संघीयताको सवालमा माओवादी अगाडि आएपछि उपेन्द्रले प्रचण्डसँग हात मिलाउन पुगे । तर, पटनाको एउटा अप्रत्यासित घटनाले उनलाई माओवादीबाट बाहिर मात्रै पारेन, प्रचण्ड र उनी एक-अर्काका ‘दुश्मन’ बन्न पुगे ।

माओवादी सशस्त्र संघर्षमै रहेका बेला सुरेश आलेमगर र मातृका यादवसँगै उपेन्द्र पनि भारतमा पक्राउ परेका थिए । उपेन्द्रका अनुसार पक्राउ पर्नुअघि उनले प्रचण्डलाई भेटेका थिए र ४/५ दिनपछि फेरि भेट्ने योजना थियो । तर, सुरेश आलेमगरको कोठाबाटै तीनैजना पक्राउ परे ।

माओवादी नेता सुरेश र मातृकाको नाम रेडकर्नर नोटिसमा थियो । त्यसैले दुबैलाई सैनिक हिरासतमा पठाइयो । उपेन्द्र जेल चलान भए । पक्राउ परेको डेढ महिनामा नै उपेन्द्र छुटे । मातृका र सुरेशलाई भारतले नेपाल सुपुर्दगी गर्‍यो । सँगै पक्राउ परेका दुई नेता नेपालमा सुपुर्दगी हुने तर, उपेन्द्र छुट्ने भएपछि माओवादीलाई लाग्यो, पक्राउ गराउने त आफ्नै नेता उपेन्द्र पो रहेछन् ।

‘त्यसपछि माओवादीले मलाई मार्ने निर्णय गर्‍यो, दुईवटा टोली नेपालमा र एउटा भारतमा खटायो’ उपेन्द्र सम्झन्छन्, ‘यहीँबाट माओवादीसँग मेरो सम्वन्ध ब्रेक भयो ।’

यसैको चरम रुप गौर घटना बन्यो । भारतीय जेलबाट छुट्ने बेला उपेन्द्रलाई २४ घण्टाभित्र भारत छाड्नुपर्ने आदेश थियो । यता नेपालमा माओवादीले खोजिरहेका कारण उनी भूमिगत भए । र, त्यहीबेला उनले मधेसमा संगठन विस्तारको काम गरे ।

मधेसमा दुई शक्तिको मारामार

माओवादी द्वन्द्व चर्किरहेकै बेला दरवार हत्याकाण्ड हुँदै माघ १९ को शाही ‘कू’ भयो । जसले तत्कालीन सात राजनीतिक दल र सशस्त्र संघर्षमा रहेको माओवादीलाई नजिक बनायो । र, ७ मंसिर ०६२ मा १२ बुँदे समझदारी भयो । दोस्रो जनआन्दोलन सफल भएसँगै ०६३ मंसिर ५ मा बृहत शान्ति सम्झौता हुँदै माओवादी संसदमा प्रवेश गर्‍यो । अन्तरिम संविधान जारी भयो ।

हामी पनि परिवर्तनकारी शक्ति, उहाँहरु पनि परिर्वतनकारी शक्ति । दुईटा परिर्वतनकारी शक्ति नमिलेसम्म अगाडि बढ्न सकिन्न भनेर हात मिलायौं

तर, प्रचण्डले संसदमा प्रवेश गर्दैगर्दा उपेन्द्रले चाँहि माइतीघर मण्डलामा अन्तरिम संविधान जलाएर मधेस आन्दोलनको उद्घोष गरे । मधेसमा माओवादी र फोरमवीच झडपका घटनाहरु हुन थाले । त्यस क्रममा ०६३ माघ ५ गते सिराहामा रमेश महतो मारिए ।

सरकारमा रहेर पनि विद्रोही सेना यथावत राखेको माओवादी पार्टी मधेसमा फोरममाथि खनियो । माओवादीले भैरहवा र नेपालगञ्जमा उपेन्द्र यादव नेतृत्वको फोरमको कार्यक्रम बिथोल्यो । सुनसरीमा झडप भयो, माओवादीले फोरम कार्यकर्तालाई खेद्यो ।

तर, रौतहटमा उपेन्द्र यादवमाथि गरेको आक्रमण माओवादीका लागि उनकै भाषामा ‘काउन्टर प्रोडक्ट’ भयो । माओवादीले झण्डै ३ सय टाक्स फोर्सलाई त्यहाँ पठाएको थियो । ‘सभा बिथोल्ने मात्र होइन, कि मार, कि पक्राउ गरेर ल्याउ भनेर पठाएको थियो’ उपेन्द्रको दाबी छ, ‘जब उनीहरुले आक्रमण गरे, जनताले प्रतिकार गरे ।’

गौरमा तपाईको चाँहि कुनै तयारी थिएन ? यो प्रश्नमा उपेन्द्र भन्छन्, माओवादीले चन्दा माग्ने, नलिए पिट्ने, मार्ने काम रौतहटमा धेरै गरेको थियो, त्यसैको रियाक्सन थियो त्यहाँ ।’

गौर घटनामा भारतबाट मानिस ल्याएर आफ्ना कार्यकर्ताको हत्या गरेको भन्ने माओवादीको आरोप उपेन्द्र अस्वीकार गर्छन् । उनी भन्छन्-‘माओवादीले पठाएका मान्छे सबै बाहिरका थिए, उनीहरुले बाटो नै चिनेका थिएनन् । उनीहरु जनताको आक्रोशको शिकार भए ।

रौतहटमा २७ भन्दा बढी माओवादी कार्यकर्ता मारिए । यो घटनाले मधेसमा माओवादीलाई ठूलो धक्का लाग्यो । यसैक्रममा ०६४ भदौ १३ मा सरकार र फोरमबीच २२ बुँदे सहमति भयो र मंसिरमा चुनाव गर्ने तयारी थियो । तर, माओवादी आफैंले मंसिरको चुनाव चाहेन ।

त्यहीबेला मधेसमा संघीयतालाई लिएर दोस्रो विद्रोह भयो र ०६४ फागुनमा ८ बुँदे सम्झौता भएपछि बल्ल संविधानसभा चुनावको बाटो खुल्यो । यो दुई चरणको मधेस आन्दोलनबाट उपेन्द्र यादव शक्तिमा उदाए ।

चुनावले मिलायो दुई ‘विद्रोही’ लाई

prachanda with upendra

पहिलो संविधानसभाको चुनाव (२८ चैत ०६४) मा प्रचण्ड नेतृत्वको माओवादी देशकै ठूलो दल बन्यो । माओवादीले मार्न खोजेका उनै उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम मधेसको ठूलो शक्ति एवं देशको चौथो शक्ति बन्यो । चुनावअघिसम्म एक अर्काका परम सत्रुका रुपमा रहेका प्रचण्ड र उपेन्द्रलाई परिस्थितिले एकैठाउँमा उभिन र हात मिलाउन बाध्य बनायो ।

पहिलो संविधानसभाको चुनाव सकिएलगत्तै ठूलो दलको हैसियतमा प्रचण्डले आफैं उपेन्द्रलाई भेट्ने प्रस्ताव पठाए । प्रचण्डको त्यो प्रस्ताव उपेन्द्रले पनि स्वीकार गरे । भेटका लागि प्रचण्डको पार्टीका नेताहरु डा. बाबुराम भट्टराई र मोहन बैद्यसहित ठमेल पुगे । उपेन्द्र पनि आफ्नो टिमै लिएका गए ।

तर, ठमेलको त्यो भेटमा दुबै पक्षसँग नेताहरु मात्रै थिएन, परेको खण्डमा भिड्न सक्ने कार्यकर्ता पनि थिए । त्यसको कारण खुलाउँदै उपेन्द्र भन्छन्, -हामी एक अर्कादेखि भयभित थियौं ।’

ठमेलको त्यही भेट प्रचण्ड र उपेन्द्रको दुश्मनीपूर्ण सम्वन्धलाई प्रेममा परिणत गर्ने पछिल्लो टर्निङ प्वाइन्ट बन्यो ।प्रचण्ड र उपेन्द्रको घृणा फेरि प्रेममा बदल्न टर्निङ प्वाइन्ट भने ठमेलको एक भेट भएको नेताहरु बताउँछन् । ‘चुनावपछि उहाँहरुले भेट्न चाहनुभो, ठीक छ भनेर भेट्यौं’ उपेन्द्र भन्छन् । गौर घटनामा आफ्नो कमजोरी भएको भनेर माओवादीको रियलाइजेशनले पनि आफूहरुलाई एकै ठाउँमा ल्याउन भूमिका खेलेको उनको विश्लेषण छ ।

रोचक के छ भने ठमेलमा भेटका लागि जाँदा दुबै पक्ष अर्का अर्काप्रति यतिसम्म सशंकित थिए कि उनीहरु ठूलो फौजसहित गएका रहेछन् । तर, त्यो भेटमा प्रचण्ड, बाबुराम भट्टराई, मोहन वैद्य र उपेन्द्र यादवको टोलीबीच सौहार्दपूर्ण कुराकानी थियो । उपेन्द्र भन्छन्- ‘हामी पनि परिवर्तनकारी शक्ति, उहाँहरु पनि परिर्वतनकारी शक्ति । दुईटा परिर्वतनकारी शक्ति नमिलेसम्म अगाडि बढ्न सकिन्न भनेर हात मिलायौं । त्यहीँबाट हिजोसम्मको लडाइँमा रहेको दुविधा सकियो ।’

चैत २८ को संविधानसभामा संसदीय शक्तिहरु कांग्रेस र एमाले निकै खुम्चिए । माओवादी सबैभन्दा ठूलो दल बन्यो । मधेसमा मधेसी जनअधिकार फोरमको उदय भयो । ठूलो दल भएपछि माओवादी नेतृत्वमा दम्भ बढ्यो । कांग्रेस र एमाले हतोत्साहित भए । यसले गर्दा उनीहरुकै शब्दमा ‘दुई परिवर्तनकारी शक्ति’ माओवादी र फोरमलाई परिस्थितिले एक ठाउँमा उभ्यायो ।

प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्दा फोरम अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं परराष्ट्रमन्त्री बने । तर, तत्कालीन प्रधानसेनापति रुकमाङगत कटवाललाई बर्खास्त गर्ने प्रयासमा प्रचण्ड असफल भए र राजीनामा दिए ।

‘धोकेबाज’ देखि ‘प्रधानमन्त्री’ सम्म

पहिलो संविधानसभा विघटनपछिका वर्षहरुमा पनि प्रचण्ड र उपेन्द्रको सम्वन्ध कहिले प्रेम त कहिले घृणाकै अवस्थामा रहँदै आएको छ । ०७० मंसिरको दोस्रो संविधानसभा चुनानमा प्रचण्डको माओवादी र उपेन्द्रको फोरमले नराम्रो हार व्यहोर्‍यो । जतिबेला दुबैका दलमा पटक-पटक फुट आइसकेको थियो ।

पटनादेखि गौरसम्म र ठमेलदेखि सिंहदरबारसम्म आइपुग्दा अहिलेसम्म उपेन्द्रको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको छ, कहिले घृणा त अहिले प्रेमका साथ

पहिलो संविधानसभामा जीतले दुबैलाई मिलाएको थियो, दोस्रो संविधानसभामा व्यहोरेको हारले फेरि प्रचण्ड र उपेन्द्रलाई नजिक्यायो ।

प्रचण्डले ३० दलको मोर्चा बनाएर आन्दोलन गरे, जसमा उपेन्द्र यादवको साथ रहृयो । तर, आन्दोलन सफल नहुँदै १२ वैशाख ०७२ को विनाशकारी भूकम्पपछि प्रचण्डले उपेन्द्रलाई सडकमै छाडेर कांग्रेस र एमालेसँग १६ बुुँदे सहमति गर्न पुगे । फेरि उनीहरुको सम्बन्ध टाढियो । प्रचण्डलाई उपेन्द्रले ‘धोकेबाज’को संज्ञा दिए ।

संविधान बनेसँगै प्रचण्डको पार्टी सरकारमा गए पनि उपेन्द्र यादव सडक आन्दोलनमै रहे । प्रचण्डले कांग्रेस र एमाले नेतृत्वसँग मिलेर संविधान बनाए । प्रचण्डले संविधान जारी भएको खुसीयाली मनाइरहँदा उपेन्द्रचाँहि मधेसका सीमानाकामा धर्ना दिइरहेका थिए ।

झण्डै ६ महिना लामो आन्दोलनपछि उपेन्द्र काठमाडौं फर्किए । सीमाको धर्ना छाडेर उनी खुलामञ्चमा अनसन बस्न थाले । यही क्रममा केपी ओलीलाई प्रधानमन्त्री बनाउने समर्थन फिर्ता लिँदै प्रचण्ड उपेन्द्रलाई भेट्न गए । खुलामञ्चमा उपेन्द्रसँग हात मिलाएपछि उनले आफूलाई माइत आएको अनुभूति भएको सुनाए ।

त्यही खुलामञ्चमा हातसँगै मन मिलेपछि प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बन्दै गर्दा उपेन्द्र यादव उनको समर्थक र भोटर बन्न पुगेका छन् ।

पटनादेखि गौरसम्म र ठमेलदेखि सिंहदरबारसम्म आइपुग्दा अहिलेसम्म उपेन्द्रको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको छ, कहिले घृणा त अहिले प्रेमका साथ । र, यसैको एक अनुपम उदाहरण हो, जेठ ०७२ मा १६ बुँदे सहमतिका बेला आफैंले धोकेबाज भनेका प्रचण्डलाई साउन १९ गते प्रधानमन्त्री बनाउन उपेन्द्र यादवले जनाएको समर्थन ।

तथापि अहिले पनि उपेन्द्रले प्रचण्डलाई शंकाको नजरले हेरेका छन् । किनभने प्रचण्ड नेतृत्वको सरकारमा नजाने उपेन्द्र यादवको निर्णय छ । प्रचण्ड र उपेन्द्र यादववीचको अहिलेको नातालाई यसो भन्न सकिन्छ-‘न सम्बन्ध, न सम्बन्धविच्छेद ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment