Comments Add Comment

खास फिल्म त जिन्दगी पो रहेछः श्वेता खड्का

एक वर्षपछि फिल्ममा फर्किने तयारी

sweeta_810आफ्नो जीवनको ‘हिरो’ बिदा भएयताको दुई वर्ष नायिका श्वेता खड्काको लागि आँसु र भक्काना नै साथी भए । उनीबारेको हबरेक चर्चा र खबर दुःखकै मसीले लेखिए ।

नेपाली रजतपटमा रुचाइएका नायक श्रीकृष्ण श्रेष्ठको निधनमा देशले एउटा प्रतिभा गुमायो । श्वेताको जीवन भने फिका बनिदियो । तर, समय नै घाउ हो, समय नै औषधि । उनी पनि जिन्दगीको भयानक दुर्घटनापछि आफूलाई जसोतसो सम्हालेर जीवन कर्ममा फर्किएकी छिन् ।

जीवनसाथी गुमाएपछि श्वेता एक वर्ष त घरबाट कतै निस्किइनन् । अब त जिन्दगी नै सकियो भनेर मन पाकिरहँदा डायरी लेखेर व्यथा पोख्थिन् । काउन्सिलिङ गर्नेहरूले पनि मन हल्का पार्ने उपायमा जोड दिन्थे ।

डायरीमा वेदना खन्याउँदा शान्ति मिल्थ्यो । पीडाले घरैमा खुम्चिएको मन साथीहरूसँग घुलमिल हुँदा एकैछिन भए पनि चम्किन्थ्यो । मुस्कानको धर्सोले हाँसोको आकार लिने जमर्को गथ्र्यो ।

अभिनय गरेको पछिल्लो फिल्म ‘कोहिनुर’ मा जिन्दगीको अँध्यारो पाटो बाँचेकी उनले यथार्थमा त्यस्तै भोगिन् । बिस्तारै उही कोहिनुर भोगाइलाई जिन्दगीको हिस्सा मान्दै हाँस्न सिक्दै छिन् ।

जीवनसाथी गुमाएपछिका दिनमा साथीहरूको आडभरोसा र हौसलाले ठूलो काम गर्‍यो श्वेतालाई । दरबारमार्गका कफीसपमा साथीहरूसँग साँझ अबेरसम्म बसेर समय कटाउने बहाना खोज्थिन् उनी । एक्लै खाली बस्दा मनमा नराम्रो भाव खेल्छ भनेर साथीहरूले पनि व्यस्त बनाइरहन्थे ।

‘फिल्म त जिन्दगीमा भएको घटनालाई देखाउने सानो उदाहरण न हो । खास फिल्म त जिन्दगी नै हो । हाम्रो जिन्दगी नै ड्रामा फिल्म हो, कतिखेर के हुन्छ थाहा हुँदैन ।’

साँझ छिप्पिँदै जाँदा आँखा लोलाउन थालेपछि बल्ल उनी क्याफेबाट साथीहरूसँग बिदा भएर घर जान्छिन् । कफीसप, जहाँ मनहरू खुल्छन् । साथीहरूको भेटघाटमा कफीको चुस्कीलेे रमाइलो तरंग फैलाउँछ ।

काठमाडौंका कफीसपहरू चहार्दा श्वेता यही कुराले लोभिन्थिन् । सुरुदेखि नै फिल्म करिअरसँगै व्यवसायमा हात हालेकी उनले कफीसपलाई भेटघाट गर्ने थलो र व्यावसायिक फड्कोका रूपमा सोचिन् ।

यही सोचले दरबारमार्गको राइजिङ मलमा हिमालयन जाभा कफीसप खोलेकी छिन् । यी नायिकाको व्यावसायिक जीवनबारे बाहिर कमैलाई थाहा छ । पछिल्लो समयमा खोलेको कफीसप उनको पहिलो व्यवसाय नभई व्यवसायको विस्तार हो ।

व्यावसायिक पाटो

काभ्रेको पनौतीमा जन्मे-हुर्केकी श्वेताले एसएलसीसम्म उतै पढिन् । हुने-खाने परिवारको छोरीलाई घरमा सबैले पुलपुल्याउने नै भए । जिद्दी स्वभाव थियो । उनले जे भन्यो, त्यही हुन्थ्यो घरमा ।

एसएलसी दिएपछि परिवारले उनलाई पढाइमा फोकस होऊ भनेर सम्झाउनुपर्ने अवस्था आइसकेको थियो । कारण थियो, उनी पढाइसँगै केही काम पनि गर्न चाहन्थिन् । समाचारमा चर्चित मान्छेको नाम सुन्दा के गरी यस्तो बन्ने होला भनेर कल्पिन्थिन् ।

‘पढेर घरमै सीमित हुनु थिएन मलाई । अरुभन्दा एक्स्ट्रा बनूँ भन्ने चाहना थियो । एसएलसी दिएदेखि नै व्यक्तित्व विकासको ट्रेनिङ लिन जान थालिसकेकी थिएँ,’ उनले सुनाइन् ।


अनुभवका लागि इन्टेरियर डिजाइनिङसम्बन्धी कम्पनीमा काम गर्न थालिन् ।  राम्रो काम गरेको भनेर प्रशंसा पाउँथिन् । आर्किटेक्ट, इञ्जिनियरहरूसँग मिटिङ अनि बिलिङ बिजनेसमा विभिन्न मानिससँग भेटघाट र चिनजान हुन्थ्यो । ‘यसले मलाई आत्मविश्वास जाग्यो, आफैं बिजनेस सुरु गर्छु भन्ने लाग्यो,’ उनले आफ्नो बिजनेस वुमन अवतार सुरु हुनुअघिको आधार सम्झिन् ।

पहिले गरेकै कामको अनुभवले उनले बिजनेस सुरु गरिन् ।

यस बीचमा उनले झन्डै आधा दर्जन बिजनेसमा हात फैलाइसकेकी छिन् । एम आर एस एन्ड इञ्जिनियरिङ प्रालि खोलेकी उनको इन्द्रेणी समूहको थ्रीस्टार होटलमा पनि लगानी छ । उनको इञ्जिनियरिङ कम्पनीले भाटभाटेनी सुपर स्टोरको महाराजगञ्ज बाहेकका भवनका साथै प्रभु बैंक, ग्राण्ड बैंक लगायत भवनको एक्स्टेरियर डिजाइन गरेको छ । पछिल्लो समय कफीसप खोलेकी छन् । यसलाई अरु दुई-तीन ठाउँमा विस्तार गर्ने सोच छ ।

बालुवाटारमा रेस्टुरेन्ट र स्विमिङ पुलसहितको हेल्थ क्लब बनाउने गरी व्यावसायिक भवन निर्माणको चरणमा छ । अरु केही कम्पनीमा सेयर छ ।

त्यसो त व्यापार-व्यवसाय पैसाकै लागि गरिन्छ । तर, उनी समाजसँग सीधा सम्पर्क हुने रेस्टुरेन्ट, हेल्थक्लब, कफीसप, बुटिक टाइपका बिजनेसलाई बढाउने योजनामा छिन् ।

उनी गर्विलो लवजमा भन्छिन् – ‘मैले गरेका व्यावसायिक कामहरूबाट धेरै मान्छे कमाएँ । धेरै जनालाई सेवा दिएँ । मैले बिजनेस गरेर देखाएकोमा परिवार पनि खुसी छ । तर, सोचेको जस्तो गर्न अझै बाँकी नै छ ।’

आर्मी बन्ने सपना फिल्मले तोडिँदा

sweeta (3)श्वेताको सुरुको इच्छा रहेछ स्टाफ नर्स पढ्ने । तर, नाम ननिस्किएपछि त्यो सपना त्यत्तिकै हरायो । त्यसपछि थपियो आर्मीको सेकेन्ड लेफ्टिनेन्ट बन्ने सपना ।

परिवारमा धेरैजसो सेना र प्रहरी ब्याकग्राउन्डकै मानिस थिए । बुवा नै बि्रटिस आर्मी र नेपाली सेनामा काम गरेर रिटायर भएका थिए ।

परिवार र आफन्त सबैको जोड थियो, अफिसर बन्नुपर्छ ।

अधिकृत क्याडेट क्याप्सुल टाइपका किताबमा घोटिएर लागेकी थिइन् । नेपाल आर्मीमा सेकेन्ड लेफि्टनेन्टको टे्रनिङमा जाने दिनमै फिल्म खेल्न प्रस्ताव आयो । आर्मी बन्न शरीरको फिटनेसका लागि नृत्य निर्देशक वसन्त श्रेष्ठको डान्स सेन्टरमा पुगेकी थिइन् । वसन्तले नृत्य सिकाउँछन् भनेर त्यहाँ गए पनि १५ दिनसम्म पनि वसन्तको अत्तोपत्तो थिएन ।

त्यति बेला श्रीकृष्ण श्रेष्ठ र निर्देशक शिव रेग्मी नयाँ फिल्म ‘कहाँ भेटिएला’ को लागि आर्यन अनुहारको नायिका धुइँधुइँती खोजिरहेका थिए । एक दिन श्वेता डान्स सेन्टरमा पुग्दा श्रीकृष्ण, शिव र वसन्त तीन जना हाजिर थिए । उनी नर्भस भइन् ।  फिल्मको नायिका खोज्दाखोज्दा हैरान भएका उनीहरूको नजर श्वेतामा पुगेर अडियो ।

त्यस बेलासम्म ५१ जनाको अडिसन लिइसके पनि उपयुक्त नायिका भेटिएको थिएन । संयोग नै भन्नुपर्छ, डान्स सेन्टरमा एरोविक गर्न गएकी भर्खर १९ वर्षकी केटी कथाले खोजेको पात्र भएर देखा परिन् ।

प्रस्ताव स्विकार्न उनीमाथि सबैले दबाब दिए । १२ कक्षा पास गरेर करिअर बनाउने सोचमा रहेकी श्वेताले अनेक नाइँनास्ती गरिन् । तर, जबर्जस्ती राजी हुने अवस्था आयो । जीवनमा कहिल्यै मेकअप नगरेको उनको अडिसन लिन तत्काल शृंगार गरियो । सम्झिन्छिन् – ‘उहाँहरूले भेटेको १५ मिनेटमै अडिसन लिनुभयो । अडिसनपछि ताली बज्यो । भोलिपल्ट त ल फिल्म खेल्नुपर्छ भन्ने कुरा पो आयो ।’

त्यसको दुई दिनमै श्वेताको घरमा गएर श्रीकृष्ण र शिवले बुवा-आमालाई मनाए । अडिसन दिएको ६ दिनमा त सुटिङ नै सुरु भयो । आज सोच्दा उनलाई लाग्छ, मान्छेको जीवनमा कतिबेला के हुन्छ, टुंगो नहुँदो रहेछ !

‘कहाँ भेटिएला’ पछि ‘श्रीमान्-श्रीमती’ र ‘कोहिनुर’ फिल्ममा श्रीकृष्ण र श्वेताले सँगै अभिनय गरेका छन् । फिल्म खेल्नतिर लागे पनि उनले आफ्नो बिजनेस करिअरलाई विशेष ध्यान दिइरहिन् । भन्छिन् – ‘मेरो सबै सपना फिल्म क्षेत्र नै भएको भए धेरै फिल्म र यससम्बन्धी काम नै गर्थेँ हुँला । दर्शकबाट पाएको मायाका कारण वर्षको एउटा-दुइटा फिल्म भए पनि गरिरहेँ ।’

जिन्दगी नै ड्रामा फिल्म !

श्वेताले जति पनि फिल्म खेलिन्, संवेदनशील चरित्र र दुःखिया पात्र भएर खेलेकी छिन् । भोक र निद्रा नभनी घन्टौं फिल्मको सुटिङमा व्यस्त हुनुपर्दाको हैरानी पनि खेपिन् । तर, अरु कलाकार जस्तै उनी पनि फिल्म तयार भएर आउँदा दर्शकबाट पाउने माया र तालीका कारण सब दुःख बिर्सिन्छिन् ।

अभिनयका क्रममा अरुको जिन्दगी बाँचेकी यी नायिकालाई जिन्दगी र फिल्म के लाग्छ ?

उनले व्याख्या गरिन् – ‘फिल्म त जिन्दगीमा भएको घटनालाई देखाउने सानो उदाहरण न हो । खास फिल्म त जिन्दगी नै हो । हाम्रो जिन्दगी नै ड्रामा फिल्म हो, कतिखेर के हुन्छ थाहा हुँदैन ।’

उनको बुझाइमा मान्छेले देख्ने सपना, बुन्ने योजना र गाँस्ने मायामोह त भुलाउने बाटो मात्र हुन् ।

खासगरी पतिवियोगको चोटपछि उनलाई दुई दिनको जिन्दगीमा घमण्ड, इष्र्या, रिस बेकार रहेछ भन्ने लाग्न थालेको छ । दौडादौडमा उछिनपाछिन गर्नमा भन्दा आजका लागि सोचेर बाँच्न थालेकी छिन् ।

चोट खाएको घटनापछि उनले आफू जस्तै पीडा खेपेका धेरै मानिस भेटिन् । जहाज दुर्घटनामा श्रीमान् गुमाएका भर्खरका युवतीदेखि आफ्नो आमाको उमेरका महिलाहरू समान पीडा बाँड्छन् ।

समान पीडा भोगेको अनुभवले कतिपयलाई उनी काउन्सिलिङ गरेर चित्त बुझाउँछिन् । कतिपयले उनलाई पनि हौसला दिन्छन् ।

श्वेताले उदासी छाडेर हाँस्न थालेको देखेर त्यसमा सन्तोष मान्नेहरू धेरै छन् । आफूलाई बलियो बनाएर काममा फर्किएको देख्दा परिवार, साथीभाइ खुसी छन् ।

उनको समाजसेवामा पनि रुचि छ । रक्षा नेपालमा ०६५ सालदेखि आबद्ध भएर दुःखी, पीडित मान्छेहरूका लागि सरसहयोग गर्दै आएकी छिन् । आफैं संस्था खोल्ने चाह भने छैन । माइती नेपालकी अनुराधा कोइराला र रक्षाकी मेनुका थापामार्फत सहयोग गर्नमै सन्तुष्ट छिन् ।

sweeta (2)

फिल्ममा एक वर्षपछि

फिल्मबाट केही समय टाढा रहे पनि छिटै फिल्ममा फर्किने सोच छ उनको । फिल्म निर्माण गर्ने र उपयुक्त रोल भयो भने आफू अभिनय पनि गर्ने योजना बुनेकी छिन् ।

‘अहिले समय र परिस्थिति सबै कुराले म अझै तयार छैन । सबै कुरा बुझेर आत्मविश्वाससहित आऊँ भनेर अलि समय लिएको हो । त्यसका लागि दर्शकले एक वर्ष जति कुर्नुपर्छ,’ उनी शुभेच्छुकहरूलाई पर्खन आग्रह गर्छिन् ।

उनलाई नेपाली कलाकारमा हरिवंश आचार्य र जल शाह विशेष मन पर्छ । हरिवंश भर्सटायल कलाकार लाग्छ । चुलबुले र फूर्तिली जलको अभियनले चंगा बनाइदिन्छ । बाहिरका कलाकारमा बलिउडकी ऐश्वर्य रायको व्यक्तित्वमा आकर्षण भेटि्छन्  ।

अहिले बनिरहेका कतिपय नेपाली हेर्दा उनलाई टाउको दुखेर औषधि खानुपर्ने अवस्था आउँछ । प्रोमो गजब बनाउँछन्, तर फिल्म हेर्दा झुर हुन्छ । कथा, प्रस्तुति र निर्देशनमा ध्यान दिनुपर्ने भए पनि त्यसमा कमी देख्छिन् उनी ।
भन्छिन् – ‘सोसल फिल्म भनेर बोरिङ बनाउनु पनि भएन । दर्शकलाई दुई घन्टा सबै टेन्सन बिर्सेर हलमा बस्न सक्ने फिल्म दिनुपर्‍यो ।’

श्वेताले अब ल्याउने फिल्ममा मनोरञ्जनलाई प्राथमिकता दिनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment