+
+
Shares

कोभिडपछि बन्द रहेको वाटर पार्क पुनः सञ्चालन   

रासस रासस
२०८२ चैत १२ गते १२:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाको शिवसताक्षी नगरपालिका-११ स्थित वाटर किङडम पार्क कोरोना महामारीपछि पुनः सञ्चालनमा आएको छ।
  • स्थानीय उद्यमी राजकुमार सङ्ग्रौलाले रु ५० करोडभन्दा बढी लगानी गरी सात वर्षअघि स्थापना गरेको पार्कमा मनोरञ्जनका विभिन्न संरचना छन्।
  • पार्कले आगामी वैशाखसम्ममा तीन करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य राखेको छ र स्थानीय तथा बाह्य पर्यटक आउने गरेका छन्।

१२ चैत, झापा । कोरोना भाइरस (कोभिड-१९) को महामारीपछि उत्पन्न आर्थिक सङ्कटका कारण बन्द रहेको शिवसताक्षी नगरपालिका-११ झिलझिलेस्थित पर्यटकीयस्थल ‘वाटर किङडम पार्क’ पुनः सञ्चालन भएको छ ।

स्थानीय उद्यमी राजकुमार सङ्ग्रौलाको रु ५० करोडभन्दा बढीको लगानीमा सात वर्षअघि पार्क स्थापना गरिएको थियो । पार्कमा मनोरञ्जनका लागि जिपलाइन, ‘वेभ’पुल, पौडी खेल्न ‘स्विमिङ’ पुल, बच्चाका लागि किड्स पुल, ‘वाटर एक्टिभिटी स्टेसन’, कृत्रिम गुफा, आकर्षक मूर्तिकलालगायत संरचनाहरू छन् ।

‘अहिले ती सबै संरचना पुनः सञ्चालनमा ल्याएका छौँ,’ पार्कका सञ्चालक सङ्ग्रौलाले भने, ‘पर्यटकीय विकासको सम्भावना देखेर लगानी गरेका थियौँ । कोरोना महामारीपछिको अवस्थाले बन्द गर्नुपरेको थियो । फेरि नयाँ व्यवस्थापन, सोच र आँटसहित पार्कलाई सञ्चालनमा ल्याएका छौँ । यसले स्थानीयको आर्थिकस्तर सुधार गर्नुका साथै पर्यटन प्रवर्द्धनमा महत्त्पूर्ण योष्दान पुर्‍याउने विश्वास लिएका छौँ ।’

सङ्ग्रौलाका अनुसार तीन बिघा क्षेत्रफलमा फैलिएको यस पार्कमा पर्यटकीय आवास र रेस्टुरेन्टका लागि सात वटा भूकम्प प्रतिरोधात्मक भवन, दुई वटा सुविधा सम्पन्न रेस्टुरेन्ट, ३५ वटा आधुनिक आवासीय कोठा र १५० देखि ४०० जनासम्म अट्ने चार वटा सभाहल छन् ।

‘कोरोना महामारीपछि मुलुकका कतिपय व्यवसाय बन्द भए भने कतिपय पलायन भएका छन् । आफूहरूले हार नमानी पुनरुत्थानमा लागेका छौँ,’ उनले भने ।

पार्कमा परिवारसहित आएका इलामका सुमन धितालले यहाँको भौतिक संरचना र सेवा पर्यटकमैत्री रहेको जनाउँदै बालबालिकाको मनोरञ्जनका लागि उत्कृष्ट गन्तव्यका रूपमा रहेको बताए । यहाँका जिपलाइन र बुद्धको प्रतिमाले मन लोभ्याएको उनले बताए ।

स्थानीय पत्रकार विनोद सापकोटाले निजी लगानीमा कोसी प्रदेशकै ठूलो परियोजना पुनः सञ्चालनमा आउनुले पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । पार्कको स्थापनाबाट स्थानीय क्षेत्रको आर्थिक र सामाजिक विकासमा ठूलो योगदान पुग्ने बताउँदै उनले यसबाट रोजगारी सिर्जना हुने बताए ।

सञ्चालक सङ्ग्रौलाले आगामी वैशाखसम्ममा तीन करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य राखिएको बताए । पार्कमा झापा, मोरङ, इलाम जिल्लाका स्थानीय पर्यटकका साथै भारतका विभिन्न स्थानबाट बाह्य पर्यटकसमेत आउने गरेका उनले जानकारी दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?