
६ मंसिर, काठमाडौं । नेपाल प्रहरीले ५९ जना एसपी (प्रहरी उपरीक्षक)को एकसाथ सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले केही जिल्ला प्रमुखसहित एसपीहरु फेरबदल गरेको हो ।
भक्तपुर प्रहरी परिसरमा किरण राणालाई पठाइएको छ । यसअघि भक्तपुरको जिम्मेवारी सम्हाल्दै आएकी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान बिभाग अन्तर्गत अपराध अनुसन्धान महाशाखामा सरुवा गरिएको छ ।
मिरा चौधरीलाई मकवानपुर जिल्ला प्रहरी कार्यालयबाट अपराध अनुसन्धान व्यूरो विशेष अपराध अपराध अनुसन्धान महाशाखामा सरुवा गरिएको छ ।
कैलालीमा एसपी अर्जुन चन्द ठकुरी गएका छन् । त्यस्तै तनहुँ जिल्ला प्रहरी कार्यालयमा उमेशराज जोशी, चितवनमा दिपक थापा र सप्तरीमा दिवेश लोहनीलाई सरुवा गरेर पठाइएको छ ।
बसन्तकुमार लामालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको जिम्मेवारी दिइएको छ । भरत बोहराले जिल्ला प्रहरी कार्यालय बर्दियाको जिम्मेवारी सम्हाल्ने छन् ।
सुर्खेत जिल्ला प्रहरी कार्यालयमा मोहनकुमार आचार्य, रौतहटमा यज्ञविनोद पोखरेल, वाग्लुङमा राजेन्द्र ढकाल, सिराहमा शेखर कोइराला, काभ्रेमा सहकुल थापा र धनकुटा जिल्ला प्रहरी कार्यालयको जिम्मेवारी सुदीपराज भण्डारीलाई दिइएको छ ।
हेर्नुहोस् सरुवा सूची
एसएसपीको सरुवा १६ महिनामा पनि भएन
एक वर्षमा एसपीहरुको सरुवा भए पनि आइजीपी र गृहमन्त्रीबीच कुरा नमिल्दा एसएसपीहरुको सरुवा भने १६ महिनादेखि भएको छैन ।
काठमाडौं प्रहरी परिसर, अपराध महाशाखा, ललितपुर परिसर लगायत महत्वपूर्ण ठाउँहरुमा आउन चाहने आकांक्षीहरु धेरै भएपछि एसएसपीहरुको सरुवा रोकिएको स्रोतले बतायो ।
काठमाडौं परिसरमा दिनेश अमात्य, धिरु बस्न्यात, छविलाल जोशी लगायतका एसएसपीहरु आकांक्षी छन् । त्यस्तै सिआइबीका मनोज न्यौपाने र केदार रिजाल मध्य कसलाई ल्याउने भन्ने विवाद चलिरहेको छ ।
उता ललितपुर परिसरमा पनि आकांक्षीहरु धेरै देखिएपछि एसएसपीहरुको सरुवा रोकिएको नेपाल प्रहरीका एक उच्च अधिकारीले अनलाइनखबरलाई बताए ।
प्रतिक्रिया 4