Comments Add Comment

सामसुङको फ्याक्ट्रीमा नेपालीका दुःखः न भनेजति तलब, न सास फेर्ने फुर्सद

labour-in-samsung-company-malaysia-photograph-pete-pattisson
६ मंसिर, काठमाडौं । मलेसियाको राजधानी क्वालालम्पुरबाट एक घन्टाको यात्रापछि पोर्ट केलाङमा रहेको औद्योगिक क्षेत्रमा पुग्दा बेलुकाको ८ बजेको छ । सामसुङको फ्याक्ट्रीबाट सयौं महिला र पुरुषहरु बाहिर निस्कछन् र, त्यसरी नै लामवद्ध भएर कामदार प्रवेश गर्छन् । रात्री सिफ्टमा काम गर्न तयार हुन्छन् ।

फ्याक्ट्रीको गेट बाहिर भर्खर आफ्नो सिफ्ट सकाएर निस्किएका कामदारहरु फुटपाथमा बस्छन् । आफ्नो मोबाइल फोन हेर्छन्, उनीहरुको अनुहारमा मोबाइलको हल्का प्रकाश पर्छ । उनीहरु आफ्नो आवासमा कोठमा जान बस कुरिरहेका छन्, जसमध्ये एक हुन् १८ वर्षका आकास भण्डारी ।

उनी निकै थकित देखिन्छन् । लगातार १२ घन्टासम्म उभिएर काम गरेकाले उनी लखतरान छन् ।

संसारभरीका मानिसहरुका लागि सामसुङले बनाउने माइक्रोवेभ ओभन उत्पादन गर्ने फ्याक्ट्रीमा कार्यरत झण्डै २ हजार कामदार मध्येका एक हुन् भण्डारी । मलेसियामा भण्डारी जस्तै झण्डै २१ लाख कामदार रहेको अनुमान छ, जो नेपालका साथै भारत, इण्डोनेसिया, बंगलादेशबाट गएका छन् ।

भण्डारी पश्चिम नेपालका हुन् र परिवारमा एकपछि अर्को विपत आइलागेपछि उनी स्कुल छाडेर रोजगारीका सिलसिलामा मलेसिया पुगेका हुन् । मलेसिया कामदारहरुका लागि त्यति राम्रो गन्तव्य मानिँदैन तर, एजेन्टले उनलाई विश्वको ब्राण्डेड कम्पनी सामसुङमा जागिर लगाइदिन्छु भन्यो ।

मलेसियामा जागिर सुरक्षित गर्न उनले ७५ हजार बुझाए । उनले भनेका छन्, ‘एजेन्टले सामसुङको मोबाइल फ्याक्ट्री हो, फोन प्याक गर्ने काम गर्नुपर्छ भनेको थियो । तर, म माइक्रोवेभ बनाइरहेको छु र यो निकै कठिन काम छ ।’

उनी चर्को ब्याजमा ऋण खोजेर मलेसिया उडेका थिए । र, एजेन्टले भनेका थिए कि राम्रो तलब पाउनेछौं, जसले ऋण तिर्नुका साथै कमाउने पनि छौं । तर, त्यहाँ पुगेपछि उनलाई कमाउनु त परै जाओस्, २ वर्ष काम गर्दा पनि ऋण तिर्न पनि नसकिने हो कि भन्ने लागेको भण्डारीले बताए ।

यहि ऋणले उनलाई फ्याक्ट्रीमा टिकाइराखेको छ । र, ऋण तिरेर घरमा पैसा पठाउनु पर्ने बाध्यता पनि छ ।

‘काठमाडौंमा एजेन्टले मलाई भनको थियो कि यदि काम मन परेन भने कम्पनी परिवर्तन गर्न सक्छौं, त्यसैले पनि म आएँ,’ उनले भने, ‘तर अहिले कम्पनी परिवर्तन गर्न उसले २० हजार माग्यो ।’ जुन उनको क्षमता भन्दा बाहिर छ ।

भण्डारी एक्ला छैनन्, सामसुङको फ्याक्ट्रीमा काम गर्ने धेरैले यही गुनासो गरे । उनीहरुमध्ये कतिलाई ३१ हजार बढी मासिक तलब हुने भनिएको थियो । तर, ओभरटाइम गर्दा पनि २६ हजारभन्दा बढी हात लागेको छैन ।

३४ वर्षका रामबहादुरले बताएअनुसार मलेसिया उड्नु अघि एजेन्टले अतिरिक्त ३४ हजार मागे । जबकी उनले यसअघि नै ८७ हजार बुझाइसकेका थिए ।

एजेन्टले थप पैसा माग्दै नजाने भए नजान भनेपछि उनी खाली हात घर फर्कन सकेनन् । उनले आफ्नो कामको समयलाई १२ घण्टाको सट्टा १४ घन्टा बनाए । भण्डारीले सेप्टेम्बरमा ३० दिनमा २९ दिन काम गरे, जसमा ६५ घन्टा ओभरटाइम छ ।

‘काम निकै गाह्रो छ,’ सामसुङ फ्याक्ट्रीका अर्का कामदार रवि तामाङले भने, ‘प्रत्येक २ घन्टामा पानी पिउन ७ मिनेट अर्थात १२ घन्टाको सिफ्टमा ८४ मिनेट पाइन्छ ।’

केही भन्यो कि कुट्नेदेखि अझ खराब काम गर्नु पर्ने कम्पनीमा पठाइदिने धम्की दिइन्छ । यो समूहका धेरै कामदार कम्पनी छाड्न चाहन्छन्, तर पासपोर्ट कम्पनीले लिइसकेको छ । माग्यो भने ७४ हजार माग्छ, जुन चार महिनाको तलब हो ।

ईआईसीसीको सदस्य भएका कारण सामसुङको कम्पनीमा काम गर्नेहरुसँग रकम लिन पाइँदैन । यसबारे सोध्दा यदि कसैले तिरेको छ भने फिर्ता गर्ने पनि सामसुङले भनेको थियो । तर, कामदारहरुले त्यो पाएका छैनन् ।

यो समाचार सार्वजनिक भएपछि सामसुङ र पानासोनिक कम्पनिले यसबारे छानविन थालेको समेत बताएका छन् ।

द गार्जियनमा छापिएको समाचारको भावानुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment