२६ डिसेम्बर, सिड्नी । क्रिसमस र नयाँ वर्षको रौनक चलिरहेका बेला अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवकको मृत्यु भएको छ ।
क्रिसमसको पिकनिक खान भन्दै रोयल नेशनल पार्कको वाटामोला समुद्री किनारमा गएका २९ वर्षीय सुजन अधिकारीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
हर्सभिलको क्विन स्ट्रिटमा बस्दै आएका उनी साथीहरुसँग पिकनिक खान त्यहाँ गएका थिए । काठमाडौंको कीर्तिपुर घर भएका अधिकारी अध्ययनको सिलसिलामा अष्ट्रेलिया आएका थिए ।
उद्धार टोलीले बचाउन सकेनन्
मृतक अधिकारीका साथी अनुप न्यौपानेका अनुसार हिजो साँझतिर सो घटना भएको थियो र सबैभन्दा पहिले नाइन न्यूज टेलिभिजनले समाचार प्रसारण गरेको थियो ।
त्यसलगत्तै हेलिकोप्टर र एम्बुलेन्सबाट उद्धार टोली पठाइएको थियो । स्वास्थ्यकर्मीहरुले अधिकारीलाई बचाउने प्रयास गरे पनि सफल भएनन् ।
घटनास्थल सिड्नीको दुर्गम क्षेत्रमा पर्दछ ।
न्यौपानेले शवलाई पोष्टमार्टमका लागि क्रोनर्स कोट अफ न्यू साउथ वेल्समा राखिएको र शव नेपाल पठाउने प्रक्रियाका लागि एनआरएन लगायत सबैसँग सहयोगको अपेक्षा गरिएको बताए ।
‘अहिले सार्बजनिक विदा भएकाले केही ढिलाइ भएको छ,’ न्यौपानेले अनलाइनखबरसँग भने, ‘हामी पोष्टमार्टम रिपोर्टको प्रतिक्षामा छौं ।’
अष्ट्रेलियाबाट शव नेपाल पठाउन खर्चिलो हुन्छ । त्यसैले मृतक अधिकारीका साथीहरुले सहयोग संकलन गरिरहेका छन् ।
‘एनआरएन अष्ट्रेलिया शोकमा’
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले अधिकारीको निधनप्रति शोक व्यक्त गरेको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले मृतकप्रति श्रद्धाञ्जली र परिवाजनप्रति समवेदना व्यक्त गरे ।
‘नेपालीहरुको संख्या बढेसँगै यस्ता दुर्घटनाका खबर आउन थालेका छन् । हामी चिन्तित छौं । चाडबाडको समयमा भएको यो दुखद घटनाले गैरआवासीय नेपालीहरु शोकाकुल छन्,’ उनले अनलाइनखबरसँग भने ।
उनले आवश्यक प्रक्रिया पूरा गरी शव नेपाल पठाइने बताए ।
कसरी भयो घटना ? हेर्नुहोस् भिडियो रिपोर्ट
प्रतिक्रिया 4