+
+

लघुवित्तको वियोगान्तः ऋण तिर्न नसक्दा झण्डै बेचिएँ

'त्यसपछि राति नै बच्चा र बुढोलाई लिएर साखेजुङतिर भाग्यौं'

पूजा लामगादे पूजा लामगादे
२०७३ माघ १० गते २०:१७

puja-lamagade-4
‘ऋण लिएर मोज गर्‍यौ, अहिले तिर्नेबेलामा बाहाना बनाएर हुन्छ ?’

यसो भन्दै समूह (लघु वित्त) का सरहरु दिनदिनै आउथे । तीतो बचन लगाएर गाली गर्थे । बिहान नहुँदै समूहका साथीहरु पनि ऋण उठाउन आउन थाले । बाहिर हिँडिनसक्नु भो ।

के गरौं, कसो गरौं, औडाहा हुन थाल्यो । ऋण तिरौं न त भन्दा आयस्रोत छैन । न अरुले पत्याउने । जायजेथा बेचेर पनि नपुग्ने ।

अति भएपछि आत्महत्या गर्नुपर्‍यो भन्ने सोचें । तर, दुईजना काखे बच्चाको माया लाग्यो । बुढो (पति) को ताल त्यै हो । जति रक्सीले पनि नअघाउने । घरबार लथालिंग भएको उसलाई पत्तो छैन ।

घर व्यवहार बिग्रिएपछि नै हो मैले समूहबाट ऋण लिएकी । बुढोले आरन चलाउन छाड्यो, अब आफैं सानो किराना पसल चलाएर बालबच्चा पाल्नुपर्‍यो भन्ने सोचें ।

त्यतिबेला भर्खर समूह (लघु वित्त) ले ऋण लगानी सुरु गरेको थियो । धितो पनि नचाहिने, बैंकतिर धाइरहनु नपर्ने । माग्नासाथ ऋण दिने । साह्रै सजिलो लाग्यो, समूहको ऋण खान ।

जीवन विकास लघु वित्त इलामबाट ५० हजार रुपैयाँ ऋण झिकें ।

त्यसबाट अलिकति घर खर्च गरें । अलिकति तिरोभारो गर्नु थियो, गरें । बाँकी पैसाले सौदापात लिएर पसल थापें । सानो पसल, खासै आम्दानी भएन ।

यता २८ दिनमा ऋणको पहिलो किस्ता बुझाउनुपर्ने थियो, ५ हजार । सानो लगानीबाट मासिक ५ हजार नाफा कहाँबाट हुनु ?

ऋणमाथि ऋण थपियो

समूह बस्ने दिन यसो साथीभाइसँग सरसापट गरें । उनीहरुले समूहबाटै पैसा झिकेर मेरो किस्ता तिरिदिए । त्यसवापत मैले उनीहरुलाई ब्याज पनि दिनुपर्ने भयो ।

यसरी एकातिरको ऋण टाल्न अर्कोतिर ऋण लिनुपर्‍यो । फेरि अर्को २८ दिनमा समूहको ५ हजार र साथीहरुबाट सापटी लिएको पैसा पनि तिनुपर्ने । उपाय नै छैन ।

अर्कै समूहबाट फेरि ५० हजार रुपैयाँ ऋण लिएँ, बाख्रा पालन गर्छु भनेर ।

बाख्राबाट आम्दानी लिन वर्षदिन भन्दा बढी लाग्ने । तर, किस्ता चाहिँ २८ दिनमै बुझाउनुपथ्र्यो ।

किस्ता त जसरी पनि तिर्नैपर्‍यो । कस्तो बाध्यता छ भन्ने उनीहरुले बुझ्दै नबुझ्ने । किस्ता तिर्ने भाखा पुगेपछि ऋण लिएर होस्, भाँडावर्तन बेचेर होस्, जसरी पनि तिर्नै पर्ने । नभए, उनीहरु आएर गाईवस्तु तानेर लैजान्थे ।

हरेक २८ दिनमा समूह बस्ने । समूह बसेको दिन ऋण लिनेहरुले किस्ता बुझाउनुपथ्र्यो । किस्ता बुझाउन पाँच मिनेट मात्रै ढिला भयो भने पनि जरिवाना तिर्नुपर्ने ।

laghubitta-pidit-pujako-ghaयदि समूहमा कसैले किस्ता तिरेन वा उपस्थित भएन भने अरु सदस्यले उसको ऋण तिर्नुपर्ने । यसले गर्दा छिमेकका साथीभाइ मर्कामा पर्छन् भनेर पनि हामी जे-जसरी ऋण तिथ्र्यौं ।

यसरी एकातिरबाट ऋण लिएर अर्कोतिर किस्ता तिर्ने हुँदा मलाई चार लाखभन्दा बढी ऋण लागेछ । यत्तिका ऋण तिर्न सक्ने हाम्रो परिवारको औकात नै थिएन ।

घर-परिवार छाडेर भागें

समूहबाट ऋण लिएर गरेको लगानीले खासै आम्दानी दिएन । बरु ऋणै ऋणको बोझ थपियो । दिनदिनै समूहका सरहरु ऋण उठाउन आउने । गाली गर्ने । गाँउघरमा पनि सबैले पत्याउन छाडे ।

के गरौं, कसो गरौं भइरहेका बेला मेरी काकी पर्नेले भन्नुभो, ‘हिँड् इन्डिया जाऔं, त्यहाँ पैसा कमाएर ऋण तिर्नू ।’

अरु उपाय थिएन । काकीको कुरा मानें ।

‘तर, अरु कसैलाई हल्ला नगर्नू’ काकीले भन्नुभो, ‘थाहै नदिई सुटुक्कै भाग्नुपर्छ । नभए, रोक्छ ।’

मेरी साथी धनमायालाई पनि काकीले यसैगरी इन्डिया पुर्‍याउनुभएको रहेछ । काकीले भन्नुभयो, ‘धनमायालाई मैले काम लगाइदिएकी छु, उसले अहिले राम्रो कमाइरहेकी छे ।’

केही समयअघि मात्रै धनमाया गाउँबाट हराएकी थिई, समूहकै ऋण तिर्न नसकेकाले ।

के काम, कति कमाइ हुन्छ भनेर सोध्ने बुद्धि पनि आएन मलाई । कसैले थाहा नपाउने गरी घरपरिवार, बालवच्चा सबै छाडेर म काकीको पछि लागें ।

puja-lamagade-3
काँकडभिट्टासम्म पुर्‍याएर आफ्नो भाइलाई जिम्मा लगाएपछि काकी फर्कनु भो । मलाई उनका भाइले भारतको बागडोगरा पुर्‍याए । त्यहँ उनको डेरा रहेछ ।

डेरामा त्यो भाइका ससुरा पनि थिए । त्यहाँ पुगेपछि उनीहरुको चाल ठीक लागेन । नानाभाँती गर्न थाले । मलाई शंका लाग्यो ।

मैले उनीहरुलाई भनें, ‘मेरो साथी धनमायासँग एकचोटि कुरा गर्छु, फोन लगाइदिनू ।’

सुरुमा उनीहरुले आनाकानी गरे । पछि मैले जिद्दी गरेपछि फोन लगाइदिए । उताबाट धनमायाले फोनमा सोधी, ‘ओइ, तिमीलाई एउटा कुरा भन्छु ल ?’

‘के कुरा, भनन’ मैले हतार-हतार भनें ।

‘तिमीले नरप्लान्ट झिक्यौ ?’ उनको यो प्रश्नले म झस्किएँ । धनमाया र मैले एकैसाथ नरप्लान्ट राखेका थियांै ।

‘किन र ?’ मैले सोधें ।

puja-lamagade-2
उसले मलाई सबै कुरा नढाँटी बताई । मैले त्यहाँ गएर अर्काको बच्चा जन्माइदिनुपर्ने रहेछ । भाडामा कोख दिनुपर्ने ।

सोच्दै नसोचेको कुरा गर्न परेपछि म त मरेजस्तै भएँ । मलाई थाहा भो, काकीहरुले पैसामा मलाई बिक्री गर्न लागेका रहेछन् ।

सबै कुरा थाहा पाएपछि म त्यहाँबाट उम्किएर भागें । अनि रातारात घरमा आइयो । तर, घरमा बसिसक्नु छैन । अनि राति नै बच्चाहरु र बुढोलाई लिएर हामी साखेजुङतिर भाग्यौं । र, अहिले साखेजुङकै चिया फ्याक्ट्रीमा काम गरिरहेका छौं ।

(यो पनि पढ्नुसः लघुवित्तले बिल्लीबाठः गाउँको पैसा रित्तियो, चेलीबेटी असुरक्षित भए )

(इलामको सुम्बेक निवासी लामगादेसँग अनलाइनखबरकर्मी शिव मुखियाले गरेको कुराकानी )

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?