Comments Add Comment

गोपाल किराँतीको घोषणाः १० वर्षभित्र पशुपतिमा नेपाली पुजारी नियुक्त गर्छौं


३१ चैत, काठमाडौं । पूर्व सँस्कृतिमन्त्री गोपाल किराँतीले आगामी १० वर्षभित्र पशुपतिनाथ मन्दिरमा मूल भट्ट पुजारी नेपाली नै नियुक्त गर्ने दाबी गरेका छन् । पशुपतिनाथ मन्दिरलाई भारतीय विस्तारवादको साँस्कृतिक अखडा बनाइएको भन्दै उनले पशुपतिमा राष्ट्रियताको लडाईं जारी रहेको बताए ।

पशुपतिनाथ मन्दिरको पहिलो नेपाली मूल भट्ट पुजारी डा. विष्णु दाहालको पुस्तक ‘पशुपतिमा सात दिन’ लोकार्पण कार्यक्रममा किराँतीले पशुपतिमा नेपाली पुजारी नियुक्तिका लागि माओवादी केन्द्रले पहल गर्ने बताए ।

भारतीय मूल भट्ट महाबलेश्वरले राजीनामा दिएपछि डा. दाहाललाई पशुपतिनाथको मूल पुजारी नियुक्त गरेका तत्कालीन सँस्कृतिमन्त्री किराँतीले भने, ‘बिग्रेको पार्टी माओवादीलाई सुधार्दै झन् बलियो बनाइँदैछ । जनताले सही स्थान दिए भने हाम्रो पहलकदमीमा नेपाली ब्राम्हणको सम्मान गर्ने काम हुन्छ र पशुपतिनाथमा मलाई लाग्छ ढीलोमा १० देखि १५ वर्ष बीचमा नेपाली ब्राम्हण पुजारी हुन्छ र त्यो बनाएर छोडिन्छ ।’

डा. दाहाल र शालिकराम ढकाल ०६५ पुस १७ गते पशुपतिनाथ मन्दिरको पुजारी बनेका थिए । तर, भारतीय मूल पूजारीलाई हटाएर नेपाली पुजारी नियुक्त गरिएको भन्दै भारतसहित नेपाली कांग्रेस र नेकपा एमालेले विरोध गरेपछि प्रचण्ड नेतृत्वको तत्कालीन सरकार पछि हट्न बाध्य भएको थियो । त्यसपछि बनेको माधवकुमार नेपाल नेतृत्वको सरकारका सँस्कृतिमन्त्री डा. मीनेन्द्र रिजालले भारतीय मूल भट्टलाई नै पुनर्नियुक्त गरेका थिए ।

नेपाली पुजारी डा. दाहाललाई हटाएर भारतीय पूजारीलाई पुनर्नियुक्त गरिएको विरोधमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र पुजारीहरुले आन्दोलन गर्दा प्रेम पाण्डे र रमेश डंगोललाई सार्बजनिक अपराधको मुद्दा लगाइएको थियो ।

माओवादी नेता किराँतीले पशुपतिनाथ मन्दिरको व्यवस्थापनको काम नेपालीले नै गर्न पाउनुपर्ने भन्दै उपयुक्त समयमा उपयुक्त निर्णय लिइने बताए । ‘पशुपतिमा राष्ट्रियताको लडाईं जारी छ । यो लडाईंको हामी शुभचिन्तक सहयोगी रहौं । आफ्नो ठाउँमा पुगेको बेला ठीक कदम उठाउने छँदैछ,’ किराँतीले भने, ‘पशुपतिनाथ मन्दिरमा भारतीय विस्तारवादको साँस्कृतिक अखाडा बनाउने काम गरिएको थियो । छिमेकी भारतप्रति हाम्रो आपत्ती होइन तर जब हाम्रो देशमा दादागिरी गरिन्छ, हेपिन्छ, उपेक्षा गरिन्छ भने त्यसको प्रतिरोधमा उभिनुपर्छ ।’

कार्यक्रममा पशुपति क्षेत्रविकास कोषका पूर्वकोषाध्यक्ष गणेशप्रसाद अधिकारीले पशुपतिमा नेपाली पुजारी नियुक्त हुनु राष्ट्रिय गौरवको कुरा भए पनि कांग्रेस एमालेले प्रक्रिया नपुगेको भन्दै निर्णय उल्टाइदिएको बताए ।

यदि पशुपतिमा नेपालीले नेपाली पुजारी राख्न गर्न सक्दैन भने नेपालको राष्ट्रियता बलियो नहुने उनले बताए । ‘गिर्वाणयुद्धको पालामा पशुपतिमा चढाइएको भेटीघाटी त्यो राज्यकोषमा दाखिला गर्नू, नखानु कसैले पनि भनिएको थियो । त्यसको कार्यान्वयन दुई सय वर्षपछि गोपाल किराँतीले गराएका थिए,’ अधिकारीले प्रश्न गरे, ‘गोपाल किराँती राष्ट्रवादी की प्रक्रिया पुगेन, यसलाई समर्थन गर्न सक्दैनौं र पशुपतिमा भारतीय भट्टहरु नै हुनुपर्छ भन्ने पार्टी राष्ट्रवादी ?’

पशुपतिमा नेपाली पुजारी नै हुनुपर्ने आफूहरुको अडान कायमै रहेको भन्दै उनले त्यसका लागि आवश्यक आन्दोलन गर्ने सामर्थ्य पनि रहेको बताए ।

यो पनि पढ्नुहोस् 

‘तीन पति’ ले मलाई बेलाबेला झस्काउँछः प्रचण्ड (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment