+
+
Shares

चिकित्सा शिक्षा विधेयक विवादः बालुवाटार बैठकमा जुट्यो मध्यमार्गी सहमति

विधेयक अघि बढाउने र डा. केसीको अनसन तोडाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २७ गते १३:२३

२७ साउन, काठमाडौं । बालुवाटार बैठकमा चिकित्सा शिक्षा विधेयकको विवादमा मध्यमार्गी सहमति जुटेको छ । यसअनुसार विधेयक अघि बढेमा डा. गोविन्द केसीको १९ दिन लामो आमरण अनसन तोडिने स्रोतको दाबी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा विधेयकको विवाद मिलाउने सहमति भएको छ । बालुवाटारमा भएको वार्तामा शिक्षा र स्वास्थ्यमन्त्रीका साथै माओवादी नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस नेता गगन थापा, केदारभक्त माथेमा, भगवान कोइरालाका साथै केही सांसदहरुको पनि उपस्थिति थियो ।

स्रोतका अनुसार दफा १३ मा मध्यमार्गी सहमति जुटेको छ । संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिको कार्यदलले आयशपत्र पाएका, सम्वन्धित निकायले तोकेको पूर्वाधार बनेको र अनुगमन भइसकेका मेडिकल कलेजलाई सम्बन्धन दिने गरी विधेयक बनाएको छ ।

तर, डा. गोविन्द केसीले यो नमान्ने बताएका छन् । उनले आशयपत्र पाइसकेको भएपनि १० वर्षसम्म मेडिकल कलेज खोल्न दिन नहुने अडान लिएका छन् ।

स्रोतका अनुसार बालुवाटार बैठकमा उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज नखोल्ने तर, यसअघि नै आशयपत्र लिइसकेकाहरुको हकमा विधेयकले तोकेको मापदण्ड पुरा गरेमा सम्बन्धन दिन बाधा हुने छैन भन्ने भाषा राख्ने सहमति भएको छ । यसो भएमा विधेयक पास भएपछि चिकित्सा शिक्षा आयोग बन्नेछ ।

हाल आशय पत्र पाइसकेकाहरुको हकमा त्यो आयोगका साथै स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूरा भएको र दुई वर्ष अस्पताल सञ्चालन गरेका मेडिकल कलेजले सम्बन्धन पाउनेछन् ।

यो बैठकमा महिला बालबालिका समितिका सभापति रञ्जु झा पनि उपस्थित थिइन् । अब डा. केदारभक्त माथेमा र भगवान कोइराला लगायतले डा. केसीसँग वार्ता गर्ने र संसदीय समितिले दिउँसो विधेयक अघि बढाउने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?