Comments Add Comment

भैरहवा भन्सारमा झेलः एउटै प्रज्ञापन पत्रबाट दुई गाडी बाहिरिए

२९ साउन, भैरहवा । रुपन्देहीको भैरहवा भन्सार कार्यालयका कर्मचारीको मिलोमतोमा भ्रष्टाचार हुने गरेको पुष्टि भएको छ । भन्सार कार्यालयका कर्मचारीले एउटै प्रज्ञापन पत्रबाट दुई वटा मालवाहक सवारी छाड्दा कर्मचारीकै मिलोमतोमा भ्रष्टाचार हुने गरेको पुष्टि भएको हो ।

साथै भन्सारका कर्मचारीले कम सामग्रीको राजश्व लिएर बढी सामग्री लैजानमा सहयोग गरेको समेत फेला परेको छ ।

यस्तो छ भन्सारको कर्तुत

साउन २६ गते ना ६ ख ५६३५ नम्बरको ट्रकमा रेक्जिन, पर्दा र सोफाको कपडा लोड गरिएको ट्रक भारतबाट भैरहवा भन्सार कार्यालयमा भित्रियो । उक्त ट्रकमा लोड गरिएको सामग्रीमा लाग्ने दस्तुर असुल गरी भैरहवा भन्सार कार्यालयले पठाइदियो । उक्त ट्रकमा रहेको सामग्रीलाई कार्यालयले २ वटा प्रज्ञापन पत्र नम्बर एम ५६७८७ र एम ५६७९७ मार्फत पर्दाको कपडा १ हजार १७ मिटर र वुलन टप २ हजार २ सय ७० बण्डलको भन्सार राजश्व असुल गरेर पठायो ।

माँ मनकामना इन्टरनेशनल नामक कम्पनीले आयात गरेको उक्त कपडा दाहाल कमिशन एजेण्ट मार्फत भन्सार भएको थियो । यी दुवै प्रज्ञापन पत्रबाट भैरहवा भन्सार कार्यालयले ४ लाख ३७ हजार ७ सय ६१ रुपैया र ३ लाख ६२ हजार ९ सय ४३ रुपैया भन्सार राजश्व समेत असुल गरेको छ ।

त्यसपछि सोही दिन साउन २६ गते साँझ करिब ६ बजे प्रज्ञापन पत्र अनुसार सोही परिणाम बराबर पर्दा कपडा र सोफा कपडा लोड रहेको अर्को ना ४ ख ४१२६ नम्बरको ट्रक भैरहवा भन्सार कार्यालयमा भित्रियो ।

स्रोतका अनुसार भन्सार अधिकृत मनबहादुर विश्वकर्माले उक्त ट्रकमा रहेको सामग्री चेकजाँच नै नगरी हचुवाको भरमा प्रज्ञापन पत्रमा सबै ठीक रहेको भन्दै सही धस्काए । तर सही धस्काएको प्रज्ञापन पत्रको नम्बर भने उही थियो एम ५६७९७ र एम ५६७८७ । जुन ना ६ ख ५६३५ नम्बरको ट्रकमा रहेको सामग्री भैरहवा भन्सार कार्यालयले भन्सार गरेर पठाइसकेको थियो । दुवै प्रज्ञापन पत्रमा सबै विषय एउटै उल्लेख रहेपनि गाडी नम्बर मात्र फरक रहेको छ ।

विश्वकर्माले सही धस्काएको ना ४ ख ४१२६ नम्बर ट्रक राति साढे बजे भन्सार प्रांगणबाट निस्किएपछि कर्मचारी मधु खनालले उक्त ट्रकलाई पुनः भन्सार कार्यालयमा लगेर राखे ।

ना ६ ख ५६३५ नम्बरमा ट्रकमा रहेको सामग्रीको २ वटा प्रज्ञापन पत्रबाट भन्सार गरेको भैरहवा भन्सार कार्यालयले कम्प्युटरमा इन्ट्री भएको देखिएपनि ना ४ ख ४१२६ नम्बरको ट्रकमा रहेको सामग्री इन्ट्री भएको कम्प्युटरमा देखिएको छैन । जुन कर्मचारीले ना ४ ख ४१२६ नम्बरको ट्रकमा रहेको सामग्रीमा लाग्ने राजश्व खुल्ला रुपमा भ्रष्टाचार गरेको देखिएको छ ।

२६ किसिमको समान निस्कियो

२६ गतेदेखि आफ्नै नियन्त्रणमा राखेको ना ४ ख ४१२६ नम्बरको ट्रकमा रहेको सामग्री आइतबार भन्सार कार्यालयले पत्रकारहरुको दबावमा जाँच गर्दा भन्सारको असली कर्तुत बाहिर आएको छ ।

भन्सार प्रमुख भुपालराज शाक्यले पर्दाको कपडा र बुलन टप मात्र रहेको भनेको उक्त ट्रकमा बिभिन्न २६ किसिमका महङ्गा समानहरु रहेको फेला परेको छ ।

उक्त ट्रकमा १ लाख २० हजार थान सिडीका चक्काहरु, हाते आरा, हार्डवेयरका सामग्री, ऐना, महङ्गा साडी, लेडिज सुटका कपडा, पर्दाको कपडा, रेक्जीन कपडा लगायत २६ किसिमका सामग्रीहरु फेला परेको छ ।

माथीसम्मकै संलग्नतामा यस प्रकारको अवैध निकासी पैठारी हुने गरेको छ । भन्सार कार्यालयका कर्मचारीहरुको प्रत्यक्ष मिलेमतोमा हुने गरेको यस किसिमको काममा माथीसम्म नै लाइन पुग्ने गरेको स्रोत बताउँछ ।

यसैका कारण यस्तो गलत क्रियाकलाप गर्ने कर्मचारीहरुलाई अहिले पनि कुनै किसिमको पश्चाताप र कुनै डरभर छैन । घटनामा प्रत्यक्ष संलग्नता रहेका भन्सार अधिकृत मानबहादुर विश्वकर्माले आफूले हस्ताक्षर गरेको हाकाहाकी स्विकार गर्दै सञ्चारकर्मीहरुसित फोटो सेसन नै गराए । उनी भन्छन्, ‘हो मैले सही गरेको हुँ यसमा के अपराध गरे ?’

घटनाको अनुसन्धान सुरु भएको र यसबारे छानविन गरी सत्य तथ्य बाहिर ल्याउने प्रमुख भन्सार अधिकृत भुपालराज शाक्यको भनाइ छ ।

ना ४ ख ४१२६ नम्बरको ट्रकमा रहेको सामग्री नारायणघाटका राजु थापा नामक व्यक्तिको हो । उनले कर्मचारीको मिलोमतोमा विगतदेखि नै यस्तो कार्य गर्दै आएको स्रोतको दावी छ ।

माँ मनकामना इन्टरनेशनल नामक कम्पनी राजु थापाको ‘स्टाफ’ राजन तिमिल्सीनाको नाममा दर्ता छ । उक्त सामग्रीको भन्सार दाहाल कमिसन एजेण्ट (लाइनसेन्स नम्बर ४७५) का जगतराज दाहाल गरेका थिए । उनी भन्सार विभागबाट अवकाश प्राप्त कर्मचारी हुन् ।

कर्मचारीसँग स्पष्टीकरण, अख्तियारद्वारा छानबिन

भैरहवा भन्सारमा अख्तियारको टोली

भन्सार विभागले घटनामा संग्लन भैरहवा भन्सारका कर्मचारीहरुलाई घटनाको विषयमा स्पष्टीकरण माग गरेको छ ।

विभागले भन्सार अधिकृत मानबहादुर विश्वकर्मा, नासु सुबास शर्मा, खरिदारद्वय अतुल शर्मा र विनय जोशीलाई २४ घण्टा भित्र विभागमा उपस्थित भई लिखित स्पष्टिकरण दिन निर्देशन दिएको स्रोतले बतायो ।

स्रोतका अनुसार घटनामा भैरहवा भन्सार प्रमुख भुपालराज शाक्यको समेत संग्लनता रहेपनि विभागले भने उनलाई जोगाएको छ ।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालयको सम्पर्क कार्यालय बुटवलले भन्सारमा भएको नाङ्गो भ्रष्टाचारबारे अनुसन्धान सुरु भएको बताएको छ ।

छानबिनको लागि भन्सार कार्यालयमा पुगेका अख्तियारका डिएसपी ज्ञानेन्द्र बस्नेतले घटनाको विषयमा आफूहरुलाई जानकारी भएलगत्तै छानबिन सुरु गरेको र कर्मचारी दोषी पाइएमा कारबाही हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment